वीरगञ्ज । सशस्त्र प्रहरीमाथि आक्रमण गरेको अभियोगमा पर्सा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। भन्सार छली गरी भण्डारण गरिएका सामान नियन्त्रणमा लिन पुगेको सुरक्षाकर्मी टोलीमाथि भौतिक आक्रमण गरेको आरोपमा चार नेपाली र दुई भारतीय नागरिकलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा वीरगन्ज महानगरपालिका–१ छप्कैयाका ३८ वर्षीय दिपराज सहनी मलाह, वडा नं. १० घडिअर्वाका ४६ वर्षीय प्रमोद कुमार कानु, २० वर्षीय कुन्जन सर्राफ, पर्साको विन्दवासिनी गाउँपालिका–५ का ५५ वर्षीय श्रीचन्द्र प्रसाद साह, भारतको रक्सौल निवासी ४० वर्षीय प्रभु महतो तथा भागलपुर पोडियाका ३५ वर्षीय पृतम कुमार चौधरी रहेका छन्।
गत माघ २६ गते बिहान वीरगन्जको आदर्शनगरस्थित मदन ‘रुन्चे’ भनिने मदन गुप्ताको गोदाममा भण्डारण गरिएको अवैध सामान नियन्त्रणमा लिन गएको संयुक्त टोलीमाथि आक्रमण भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेत ले जानकारी दिए।
उक्त संयुक्त टोलीमा सशस्त्र प्रहरी बल नेपाल, वीरगन्ज भन्सार कार्यालय तथा अन्य सुरक्षाकर्मी सहभागी थिए।
पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको छ भने मुख्य अभियुक्त मदन ‘रुन्चे’ भनिने घडिअर्वा निवासी मदन गुप्ता फरार रहेको र उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।


