Saturday, June 6, 2026
Homeखेलकुदफागुन १ देखि गौरमा जीपीएल क्रिकेट लिग, नौ टोलीबीच प्रतिस्पर्धा

फागुन १ देखि गौरमा जीपीएल क्रिकेट लिग, नौ टोलीबीच प्रतिस्पर्धा

रौतहट । रौतहटको सदरमुकाम गौरमा क्रिकेटको माहोल फेरि तातेको छ। जिल्लाकै चर्चित तथा प्रतिक्षित ‘गौरीशंकर यादव प्रिमियर लिग (जीपीएल)’ को तेस्रो संस्करण आगामी फागुन १ गतेदेखि सुरु हुने भएको छ।

खेलकुदमार्फत युवालाई एकताबद्ध गर्ने र स्थानीय प्रतिभालाई अवसर प्रदान गर्ने उद्देश्यले आयोजना हुँदै आएको प्रतियोगिताले गौरवासीमा उत्साह थपेको छ। यस संस्करणमा गौर नगरपालिकाका विभिन्न टोल तथा क्षेत्रको प्रतिनिधित्व गर्ने नौ टोली सहभागी हुने आयोजकले जनाएको छ।

प्रतियोगिताका सम्पूर्ण खेल गौरस्थित राइस मिल खेल मैदानमा सञ्चालन हुनेछन्। गौरीशंकर यादव फाउन्डेसनको आयोजनामा तथा रौतहट जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागेको हो। आयोजकका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।

फाउन्डेसनका अध्यक्ष मोहन यादवले अघिल्ला दुई संस्करणको सफलतालाई निरन्तरता दिँदै यस पटकको प्रतियोगितालाई अझ व्यवस्थित, आकर्षक र प्रतिस्पर्धात्मक बनाइएको जानकारी दिए। उनका अनुसार जीपीएलले स्थानीय स्तरमा रहेका क्रिकेट प्रतिभालाई उजागर गर्नुका साथै युवालाई खेलतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

लामो प्रतीक्षापछि प्रतियोगिता पुनः सञ्चालन हुन लागेकाले गौरका क्रिकेटप्रेमी र स्थानीय खेलाडीहरू उत्साहित देखिएका छन्। खेलाडीहरूका लागि आफ्नो क्षमता प्रदर्शन गर्ने र राष्ट्रिय स्तरमा पुग्ने सपना देख्ने अवसरका रूपमा प्रतियोगितालाई हेरिएको छ। अघिल्ला संस्करणहरूमा झैं यस पटक पनि राइस मिल मैदानमा दर्शकहरूको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ।

जिल्ला क्रिकेट संघले प्रतियोगितालाई जिल्लाको क्रिकेट विकासका लागि महत्वपूर्ण अवसरको रूपमा लिएको छ। प्रतियोगिता अवधिभर गौरमा खेलकुदमय वातावरण सिर्जना हुने र स्थानीय व्यापार व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

भव्य उद्घाटन समारोहसँगै सुरु हुने जीपीएलले गौरको खेलकुद इतिहासमा नयाँ अध्याय थप्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका