काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले सहभागिताबिनै गरिएको विशेष महाधिवेशन विधानविपरीत रहेको दाबी गरेको छ। संस्थापन पक्षका नेताहरूले उक्त विशेष महाधिवेशनले बनाएको कार्यविधि, केन्द्रीय कार्यसमिति भंग गर्ने निर्णय तथा नयाँ नेतृत्व चयनसम्बन्धी प्रक्रिया कुनै पनि कोणबाट वैधानिक नहुने बताएका छन्।
संस्थापन पक्षका अनुसार विशेष महाधिवेशन बोलावट नै विधानसम्मत छैन भन्ने निर्णय केन्द्रीय कार्यसम्पादन समितिले पहिल्यै गरिसकेको छ। उनीहरूका भनाइमा महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर नियमित महाधिवेशनको मागका लागि गरिएको थियो, नियमित सम्भव नभए विशेष भन्ने आशय मात्र रहेको थियो। त्यसै आधारमा सहमतिबाट नियमित महाधिवेशन गर्ने निर्णय गरिएको थियो।
तर तयारीका लागि समय अत्यन्त कम भएकाले नियमित महाधिवेशन तत्काल गर्न नसकिने अवस्था आएपछि केन्द्रीय कार्यसम्पादन समितिले १५औँ महाधिवेशनको संशोधित कार्यतालिका पारित गरेको संस्थापन पक्षको भनाइ छ। त्यसपछि विशेष महाधिवेशनको नाममा अघि बढ्नु विधानको उल्लङ्घन भएको उनीहरूको ठहर छ।
संस्थापन पक्षले विधानमै केन्द्रीय समितिको प्रायोजनबिना विशेष महाधिवेशन गर्न नमिल्ने स्पष्ट व्यवस्था रहेको जनाउँदै कुनै पदाधिकारी वा सदस्यले व्यक्तिगत रूपमा यस्तो प्रक्रिया अघि बढाउन नपाउने उल्लेख गरेको छ। त्यसैले हाल गरिएको विशेष महाधिवेशन कानुनी र वैधानिक रूपमा अमान्य हुने उनीहरूको दाबी छ।
आम निर्वाचन नजिकिएको सन्दर्भमा पार्टी एकतामै ध्यान केन्द्रित गर्नुपर्ने बेला यस्तो गतिविधि राजनीतिक रूपमा पनि अनुपयुक्त भएको संस्थापन पक्षको निष्कर्ष छ। पार्टी नेतृत्वले पटक–पटक संवादको प्रयास गरे पनि विशेष महाधिवेशन पक्षधर नेताहरू छलफलमा नआएको गुनासो पनि गरिएको छ।
यसैबीच सभापति शेरबहादुर देउवाको आह्वानमा डा. शेखर कोइरालालगायत नेताहरू सहभागी बैठकमा पार्टी एकता आवश्यक रहेको साझा निष्कर्ष निकालिएको बताइएको छ। बैठकमा विशेष महाधिवेशनमार्फत अघि बढाइएको प्रक्रिया उचित नभएको र पार्टी एकताको बाटोमै फर्किनुपर्ने सन्देश दिइएको जनाइएको छ।
संस्थापन पक्षले पार्टीको संस्थागत निर्णयअनुसार वैशाखमा नियमित महाधिवेशन गर्ने र त्यसअगाडि आम निर्वाचनमा केन्द्रित हुने स्पष्ट पारेको छ। विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने प्रयास भए पनि त्यस्तो नेतृत्वलाई कुनै कानुनी वा वैधानिक मान्यता नहुने चेतावनी दिइएको छ।
यद्यपि संस्थापन पक्षले अझै पनि विशेष महाधिवेशन पक्षधर नेताहरू मूलधारमै फर्किने आशा रहेको भन्दै पार्टीको निर्णयअनुसार अघि बढ्न अपिल गरेको छ।


