बाजुरा । प्रथम बुढिगंगा ‘कबड्डी’ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। बुढिगंगा नगरपालिका–६ नम्बर वडा कार्यालयको आयोजनामा सम्पन्न यो खुला पुरुष कबड्डी प्रतियोगिता उत्साहपूर्ण माहोलमा सम्पन्न भएको हो।
वडा अध्यक्ष हेमराज जोशीका अनुसार, प्रतियोगिताको उपाधि आयोजक टिम ‘ए’ ले हात पारेको छ भने द्वितीय स्थान आयोजक टिम ‘बी’ ले प्राप्त गरेको छ।
विजेता टिमलाई क्रमशः रु ४५ हजार ५५५ र रु १५ हजार ५५५, साथै कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको वडा अध्यक्ष जोशीले जानकारी दिए।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ सञ्चालित यस प्रतियोगितामा पाँच टिम सहभागी भएका थिए। युवा खेलाडीहरूलाई प्रोत्साहन गर्ने र खेलप्रति जागरूकता बढाउने उद्देश्यले भानोदय माध्यमिक विद्यालय, नौबिसमा यो प्रतियोगिता सम्पन्न गरिएको हो।
समापन समारोहमा बोल्दै बुढिगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बाँनियाले खेलकुद क्षेत्र स्वस्थ समाज निर्माणको आधार भएको उल्लेख गर्दै नगरपालिकाले खेलकुद विकासमा निरन्तर सहयोग र प्रतिबद्धता जनाउने बताएका छन्।


