काठमाडौं। पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई पूरक अनुसन्धानका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ।
सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंमा मंगलबार र बुधबार भएको बयान तथा थुनछेक बहसपछि न्यायाधीशले थुनामा पठाउने आदेश जारी गरेका हुन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार ललितपुरको खुमलटारस्थित निवासबाट महरालाई पक्राउ गरेको थियो। उनले इलेक्ट्रोनिक सिग्रेट (भेप) मार्फत सुन तस्करीमा संलग्न भएको अभियोग लगाइएको छ।
महराविरुद्ध रु ८ करोड ५५ लाख २८ हजार ३७४ बराबरको बिगो र ३ वर्षभन्दा बढी कैद सजाय माग दाबी गरिएको छ।


