Sunday, June 7, 2026
Homeअपराध र घटनाकञ्चनपुर मानव बेचबिखनको उच्च जोखिम क्षेत्र

कञ्चनपुर मानव बेचबिखनको उच्च जोखिम क्षेत्र

कञ्चनपुर – मानव बेचबिखन तथा ओसारपसारका दृष्टिकोणले कञ्चनपुर जिल्ला उच्च जोखिम क्षेत्रका रूपमा पहिचान भएको छ।

जिल्ला भएर भारत आवतजावत गर्ने मुख्य नाका गड्डाचौकी भए पनि खुला सीमाका कारण अवैध नाकाहरू विद्यमान छन्। यस्ता अवैध बाटाहरू मानव बेचबिखन नियन्त्रणका लागि प्रमुख चुनौती बनेका छन्, भनी माइती नेपाल कञ्चनपुर संयोजक महेश्वरी भट्टले बताउनुभयो।

घटनामा वृद्धि

भट्टका अनुसार पछिल्लो समय बालबालिका, किशोरी तथा महिलालाई भारत, खाडी मुलुक र अन्य देशमा बेचबिखन हुने घटनामा वृद्धि भएको छ। गरिबी, बेरोजगारी, अशिक्षा, लैङ्गिक असमानता, घरेलु हिंसा र सामाजिक कुरीतिहरू यसका मूल कारण रहेको उहाँको भनाइ छ।

चुनौती र कारण

खुला सीमा, प्रविधिमैत्री निगरानीको अभाव, स्रोतसाधन र जनशक्तिको कमी, पीडित वा परिवारले उजुरी दिन डराउनु, मुद्दा प्रक्रियामा ढिलाइ तथा सीमापार गराउन आफन्तको संलग्नता मानव बेचबिखन नियन्त्रणमा चुनौतीका रूपमा रहेको भट्टले उल्लेख गर्नुभयो।

उहाँका अनुसार, बेचबिखनका स्वरूप समयसँगै बदलिँदै गएका छन्। वैदेशिक रोजगारी, विवाहको प्रलोभन, पर्यटनका नाममा तथा प्रविधि प्रयोग गरेर हुने ‘साइबर ट्राफिकिङ’ बढिरहेको छ। यस्ता गतिविधिमा अन्तरराष्ट्रिय अपराध सञ्जाल सक्रिय रहेको, जसअन्तर्गत बेचिएकालाई अङ्ग बेच्ने, बालश्रममा लगाउने, यौन शोषण गर्ने वा जबर्जस्ती आपराधिक गतिविधिमा प्रयोग गर्ने गरिन्छ।

तथ्याङ्क

माइती नेपालका अनुसार सन् २०२४ जुलाई १६ देखि २०२५ जुलाई १५ सम्म भारततर्फ जान लागेका २८६ जनालाई रोकिएको छ।

१२७ जना गड्डाचौकी नाकामा

४८ जना चारलेन पुलमा

३८ जना झोलुङ्गे पुलमा

रोकिएका मध्ये १२९ जना बालबालिका र १५७ जना महिला थिए। यीमध्ये २४८ जना सुदूरपश्चिम प्रदेशका र १३६ जना कञ्चनपुर जिल्लाकै थिए।

त्यसै अवधिमा भारतका विभिन्न सहरबाट बेचबिखनमा परेका ८ जनाको उद्धार गरिएको छ। माइती नेपालले १२,८३२ सवारीसाधन चेकजाँच गरी ४६,०५६ जनालाई परामर्श दिएको, २९० जनाको पारिवारिक पुनर्मिलन गराएको र ३५ जनालाई प्रत्यक्ष परामर्श दिएर घर फर्काएको जनाएको छ।

सो अवधिमा खोजतलासका लागि १८० निवेदन दर्ता भएकोमा ७३ जना भेटिएका छन्। घरेलु हिंसासम्बन्धी २२ उजुरी दर्ता भएकामा १८ वटा समाधान गरिएको र मानव बेचबिखनसम्बन्धी एक मुद्दा दर्ता भएको छ।

रोकथामका पहल

माइती नेपालले समुदायस्तरमा घरदैलो कार्यक्रम, पर्चा–पम्पलेट वितरण, किशोरीलाई कानुनी अनुशिक्षण, सडक नाटक लगायत सचेतना अभियान सञ्चालन गर्दै आएको छ।

शुक्लाफाँटा नगर उपप्रमुख कल्पना पन्तका अनुसार गाउँ–गाउँमै सचेतना कार्यक्रमले मानव बेचबिखन न्यूनीकरणमा प्रभाव पार्छ।

सहकार्य आवश्यक

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतले सीमा क्षेत्रमा मानव बेचबिखन रोकथाम चुनौतीपूर्ण भए पनि समुदायको सक्रियता र सरकारी–गैरसरकारी सहकार्यले समस्या कम गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।

“मानव बेचबिखन नियन्त्रणका लागि स्थानीय, प्रादेशिक र सङ्घीय सरकारबीच बलियो समन्वय र सहकार्य अपरिहार्य छ,” उहाँले भन्नुभयो, “न्यायिक प्रक्रियालाई छिटोछरितो बनाउन, तालिम तथा सीप विकासमार्फत रोजगारी सिर्जना गर्न र डिजिटल माध्यम प्रयोग गरेर दीगो सेवा सुनिश्चित गर्न आवश्यक छ।”

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका