काठमाडौँ- काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा संखुवासभा मकालु गाउँपालिका–४ घर भई हाल काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–१३ बस्ने ४३ वर्षीय धन बहादुर राई रहेका छन्। उनले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाई क्रोएशिया पठाइदिन्छु भन्दै ठगेका थिए।
अनुसन्धानमा राईले एक जना पीडितबाट रु. १३ लाख ५० हजार उठाएको प्रमाण भेटिएको प्रहरीले जनाएको छ। लामो समयसम्म विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितले उजुरी दिएका थिए।
उनी भदौ ९ गते बुढानिलकण्ठ–८ बाट पक्राउ परेका हुन्। उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।
प्रहरीले यस प्रकरणमा थप अनुसन्धान भइरहेको जनाएको छ।



