Sunday, June 7, 2026
Homeअपराध र घटनावैदेशिक रोजगारीमा ठगिएकाको ५५ लाख फिर्ता

वैदेशिक रोजगारीमा ठगिएकाको ५५ लाख फिर्ता

गलकोट (बागलुङ), २२ साउन – काठेखोला गाउँपालिका–७ रेशका चेतबहादुर थापा सन् २०१५ (वि.सं. २०७२) मा रोजगारीको क्रममा साउदी अरबमा निधन भएका थिए। तर, उनको मृत्यु भएको एक दशकपछि मात्र उनका परिवारले राहत रकम प्राप्त गरेका छन्। यो सम्भव भएको हो आप्रवासी स्रोत केन्द्रको सक्रिय पहल र समन्वयपछि।

थापाको मृत्युको विवरण साउदी सरकारले पत्ता लगाउन नसकेको समस्यालाई केन्द्रले सुल्झाइदियो। केन्द्रले वैदेशिक रोजगारीमा गएर मृत्यु, अङ्गभङ्ग, ठगी र अन्य समस्यामा परेका व्यक्तिहरू तथा उनीहरूका परिवारलाई सहयोग पुर्‍याउँदै आएको छ।

गत एक वर्षमा मात्रै केन्द्रमा वैदेशिक रोजगारीसँग सम्बन्धित १२८ वटा उजुरी दर्ता भएका थिए, जसमा ५८ वटा समस्या समाधान गरिएको जानकारी सूचना तथा परामर्शकर्ता गङ्गा शर्माले दिनुभयो। उहाँका अनुसार वैदेशिक ठगीसम्बन्धी ७२ उजुरीमध्ये २२ वटामा समाधान गरी पीडितलाई कुल रु ५५ लाख १५ हजार फिर्ता गरिएको छ।

विदेशमा सम्पर्कविहीन, कागजात नभएका, तथा जेल जीवन बिताइरहेका २५ उजुरी दर्ता भएका थिए, जसमध्ये १३ वटा समस्या समाधान गरिएको छ। साथै, विदेशमा मृत्यु भएका १० जनाको शव नेपाल ल्याइएको र परिवारलाई राहत रकम प्रदान गरिएको शर्माले बताउनुभयो।

दश मृत्यु र छ अङ्गभङ्गका उजुरीमध्ये १३ वटाको समाधान गरी पीडित परिवारले रु ६७ लाख ६ हजार राहत रकम प्राप्त गरेका छन्।

केन्द्रका प्रमुख मीन उपाध्यायका अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै ठगी, मृत्यु, अङ्गभङ्ग, तथा जेल परेजस्ता घटनामा वृद्धि भइरहेको छ। हालसम्म दर्ता भएका काम, दाम, कम्पनी फरक, पासपोर्ट जफतलगायत १५ उजुरीमध्ये १० वटाको समाधान गरिएको छ।

जिल्ला प्रशासन कार्यालयको सहजीकरणमा कन्सुलर सेवा विभागबाट प्राप्त रु २१ लाख ३० हजार २५४ रकम विभिन्न पीडित परिवारलाई उपलब्ध गराइएको केन्द्रले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका