Sunday, June 7, 2026
Homeअपराध र घटनाभिजिट भिसा प्रकरण: अध्यागमन अधिकृत दुर्गाले सेटिंग गर्न चलाउँथिन् दुई ओटा नम्बर

भिजिट भिसा प्रकरण: अध्यागमन अधिकृत दुर्गाले सेटिंग गर्न चलाउँथिन् दुई ओटा नम्बर

काठमाडौँ । भिजिट भिसामा नेपालीहरूलाई ‘सेटिङ’ गरेर विदेश पठाएको घटनामा मुछिएकी अध्यागमन अधिकृत दुर्गा थापालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता गरी अध्यागमन विभागमा सरुवा गरिएको छ।

थापा कांग्रेस निकट कर्मचारी संगठनमा आबद्ध छिन् र उनलाई हालै गृहसचिव गोकर्णमणि दुवाडीले विमानस्थलमा पठाएका थिए। उनी योसँगै छैटौँ पटक विमानस्थल अध्यागमन कार्यालयमा बसेको पाइएको छ।

थापामाथि बिचौलियासँग मिलेर ‘सेटिङ’ गर्ने गरेको आरोप लागेको छ। अख्तियारका अनुसन्धान अधिकृतहरूका अनुसार उनले सेटिङका लागि दुई वटा मोबाइल नम्बर प्रयोग गर्थिन्, जसमा एक युएईको नम्बर हो र अर्को नम्बर सिराहा निवासी एक व्यक्तिको नाममा दर्ता गरिएको छ। युएईको नम्बरबाट उनले ह्वाट्सएप मार्फत समन्वय गर्ने गरेको पाइएको छ।

अध्यागमन विभागका निर्देशक टीकाराम ढकालका अनुसार थापालाई करिब १० दिनअघि विमानस्थलबाट फिर्ता बोलाइएको हो। ढकालले भने, ‘उहाँलाई विभागमा कामकाज गर्ने गरी सरुवा गरिएको छ।’

गृह मन्त्रालयका एक अधिकृतका अनुसार थापा विगतमा पनि लामो समय विमानस्थल अध्यागमनमा कार्यरत थिइन्, यद्यपि यसपटकको कार्यकाल छोटो थियो।

भिजिट भिसा प्रकरणमा पूर्वमुख्यसचिव शंकरदास वैरागी नेतृत्वको समितिबाट छुट्टै छानबिन भइरहेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल अध्यागमनका तत्कालीन प्रमुख तीर्थराज भट्टराई, ट्राभल व्यवसायी बालकृष्ण पौडेल, खगेन्द्र सुवेदी र अर्की एक महिलासहित चार जनामाथि विस्तृत अनुसन्धान गरिरहेको छ। हाल दुर्गा थापा पनि अनुसन्धानको दायरामा छिन्।

यसअघि, २०८२ जेठ ६ गते गृह मन्त्रालयले सहसचिव तीर्थराज भट्टराईसहित ९ जनालाई विमानस्थल अध्यागमनबाट हटाएको थियो। त्यसपछि थप ९ जना नायब सुब्बा पनि हटाइए। हाल साउन ५ गतेदेखि नयाँ ४५ जना शाखा अधिकृतलाई विमानस्थलमा खटाइएको छ, जसमा अधिकांश हालै लोकसेवा पास गरेका कर्मचारीहरू हुन्। नयाँ प्रमुखमा भने अख्तियारमा अनुभव भएका सहसचिव नरहरि घिमिरे नियुक्त भएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका