दशरथचन्द (बैतडी): बैतडीको पुर्चौंडी नगरपालिकालाई “पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका” घोषणा गरिएको छ। नगरस्तरीय खोप समन्वय समितिले सोमबार आयोजित कार्यक्रममा ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चित हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित घोषणा गरेको हो।
स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कँुवरका अनुसार, पाँच वर्षमुनिका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअनुसारका सबै खोप लगाइसकेपछि पालिकालाई यो मान्यता दिइएको हो। यसअघि नगरपालिकाका सबै १० वडालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना वडा घोषणा गरिसकिएको थियो। हाल पालिकामा बालबालिकालाई १३ प्रकारका रोगविरुद्ध खोप दिइँदै आएको छ।
उक्त उपलब्धिमा योगदान पु¥याउने १० जना खोप कार्यकर्ता र १० जना महिला स्वास्थ्य स्वयंसेविकालाई नगरपालिकाले सम्मान गरेको छ। कँुवरका अनुसार, पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणामा उनीहरूको सक्रिय भूमिकाको उच्च मूल्यांकन गरिएको हो।
नगरपालिकाले प्रत्येक वर्ष घरधुरी सर्वेक्षणमार्फत राष्ट्रिय खोप तालिकाअनुसार पाँच वर्षमुनिका बालबालिकाले खोप पाए वा नपाएको यकीन गर्दै आएको छ। छुटेका बालबालिकालाई खोपको दायरामा ल्याइसकेपछि मात्र पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिन्छ।


