काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्च अदालतको आदेश प्रक्रियागत रूपमा त्रुटिपूर्ण रहेको निष्कर्ष निकालेको छ।
आइतबार पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकपछि कार्यवाहक प्रवक्ता मनीष झाले उक्त जानकारी दिएका हुन्। उनका अनुसार पार्टीले सर्वोच्च अदालतको आदेशलाई कानुनी रूपमा स्वीकार गर्ने स्पष्ट अडान लिएको भए पनि प्रक्रिया पक्षमा त्रुटि रहेको निष्कर्षमा पुगेको छ।
“अदालतको आदेशप्रति हाम्रो सम्मान छ, त्यसलाई कानुनी रूपमा मान्य मान्दछौं,” झाको भनाइ छ, “तर आदेशको प्रक्रियामा कमजोरी देखिएकाले यस विषयमा सार्वजनिक बहस आवश्यक ठानिएको छ।”
बैठकमा हालै अध्यागमन विभागमा देखिएको भ्रष्टाचारबारे समेत गम्भीर छलफल भएको थियो। रास्वपाले सो घटनाले वर्तमान सत्ता गठबन्धनको औचित्यमाथि गम्भीर प्रश्न उठाएको निष्कर्ष निकालेको छ। कार्यवाहक प्रवक्ता झाले भने, “अरु दलका नेतालाई प्रमाणबिना थुनामा राख्ने तर पुराना दलका नेताहरूलाई भने प्रमाणित नगरी कारबाही गर्न नसकिने प्रवृत्ति देखिएको छ।”
बैठकमा देशमा सुशासन स्थापनाका लागि आन्दोलनको आवश्यकतामाथि समेत छलफल भएको उनले जानकारी दिए। साथै, उनले आउँदो संसद् बैठकमा रास्वपा विभिन्न विषयमा सशक्त ढंगले प्रस्तुत हुने बताए। “मंगलबारको संसद् बैठक सामान्य हुनेछ भन्ने भ्रम नराख्नुस्,” उनले चेतावनी दिए।


