गोरखा: धार्चे गाउँपालिका–५ गुम्दाका ८८ वर्षीय रामबहादुर गुरुङले एक दशकपछि फेरि संसार देख्न थाल्नुभएको छ। विगत १० वर्षदेखि दुबै आँखाको ज्योति गुमाउनु भएका गुरुङलाई उहाँका ज्वाइँ कर्णमाहिला गुरुङले बोकेर विद्यालयको आँगनमा ल्याउनु भएको थियो। गुरुङजस्तै अन्य ४८ जनाले पनि शल्यक्रियापछि आँखा देख्न पाएका छन्।
गएको मङ्गलबारदेखि तीन दिनसम्म आफ्नै गाउँमा आयोजित निःशुल्क आँखाशिविरमा गुरुङको आँखाको शल्यक्रिया गरिएको थियो। वरिष्ठ आँखारोग विशेषज्ञ डा. कमलबहादुर खड्काको नेतृत्वमा सञ्चालित शिविरमा गुरुङको पालो सबैभन्दा पछि परेको थियो। जब चिकित्सकले पट्टी खोल्नुभयो, गुरुङ ढिलो-ढिलो गरी आँखा खोल्दै संसार हेर्न थाल्नुभयो। “एक दशकपछि रंगीन संसार देखेँ, ऊ, मेरो ज्वाइँ,” भन्दै उहाँले आफूलाई ल्याएका ज्वाइँतर्फ औंला देखाउनुभयो। चिकित्सकले सबैतिर हेर्न हतार नगर्न सुझाव दिँदै गुरुङलाई सावधानी अपनाउन आग्रह गर्नुभयो। गुरुङले आफूलाई संसार देखाउने चिकित्सकप्रति आभार व्यक्त गर्नुभयो।
“२०६८ सालमा हलोको फाली लागेर दाहिने आँखाको दृष्टि गुमेको थियो, त्यसको चार वर्षपछि देब्रे आँखाले पनि देख्न छाड्यो,” गुरुङले भन्नुभयो। त्यसपछि उहाँको जीवन अन्धकारमा डुबेको थियो। आफ्नो घरआँगन परदेशजस्तो, आफन्तहरू अपरिचितझैँ लाग्न थालेका थिए। जीवनका दैनिक काममा पूर्ण रूपमा अरूको भर पर्नुपथ्र्यो।
“पहिले त स्वरले मान्छे चिनेको थिएँ, तर पछि स्वर पनि बिर्सन थालेँ,” उहाँले भन्नुभयो, “बुढेसकालमा अरू केही गर्न नसके पनि आफ्ना काम आफैँ गर्न सक्ने सपना थियो, जुन आज पूरा भयो।”
शल्यक्रियापछि आफैँ हिँड्न सक्ने भएपछि गुरुङका ज्वाइँ कर्णमाहिला गुरुङले पनि सन्तोष व्यक्त गर्नुभयो। “बुढो मान्छे, त्यो पनि आँखा नदेख्ने, साह्रै दुःख पाउनुहुन्थ्यो,” उहाँले भन्नुभयो, “अब त आफूले सबै देख्नुभएको छ, आफैँ हिँड्न थाल्नुभएको छ। घरपरिवारलाई पनि धेरै राहत मिलेको छ।”
शिविर धार्चे गाउँपालिकाको आयोजना, मुटु फाउन्डेसन र मनोज एसोसिएसन फ्रान्सको आर्थिक सहयोग तथा मात्रिका आई फाउन्डेसनको प्राविधिक सहयोगमा सञ्चालन गरिएको थियो। गुम्दा, सिङ्ला, लप्सीबोट, यामगाउँ, खानीगाउँलगायत आसपासका ४०७ जनाले शिविरमा सेवा लिएका थिए। तीमध्ये ४९ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो।
वरिष्ठ आँखारोग विशेषज्ञ डा. कमलबहादुर खड्काको नेतृत्वमा कार्यरत टोलीले शिविरमा सेवा दिएको थियो। “विकट गाउँमा आएर वृद्धवृद्धालाई सेवा दिन पाउँदा धेरै खुसी लागेको छ,” डा. खड्काले भन्नुभयो, “गाउँमा सुख-दुःख मिसिएको हुन्छ, तर यति टाढा आएर सेवा दिन पाउनु आफैंमा सन्तोषको विषय हो।”


