काठमाडौँ: आजदेखि ‘विश्व खोप सप्ताह’ प्रारम्भ भएको छ। संयोगवश, आजै ‘अन्तर्राष्ट्रिय बालिका सूचना प्रविधि दिवस’ (International Girls in ICT Day) पनि परेको छ। यी दुवै कार्यक्रम संयुक्त राष्ट्रसङ्घको पहलमा प्रत्येक वर्ष एप्रिल महिनाको चौथो बिहीबार मनाइन्छन्।
विश्व खोप सप्ताहको उद्देश्य सबै उमेर समूहका मानिसलाई रोगबाट सुरक्षित राख्नु र खोपको प्रयोगलाई प्रवर्द्धन गर्नु हो। विश्व स्वास्थ्य संगठनका अनुसार, विगत ५० वर्षमा खोपको प्रयोगले १५ करोड ४० लाखभन्दा बढी मानिसको जीवन जोगिएको छ। शिशु मृत्यु दरमा ४० प्रतिशतले गिरावट आएको छ भने जोगिएका जीवनमध्ये ६० प्रतिशतमा दादुराको खोपले योगदान दिएको बताइएको छ।
औलो, इन्फ्लुएन्जा, टिटानस (गर्भवतीहरूका लागि), र एचपिभी (किशोरीहरूका लागि) जस्ता खतरनाक रोगविरुद्ध खोपले बालबालिकादेखि वृद्धहरूसम्मको प्रतिरक्षा प्रणाली बलियो बनाउन सहयोग पुर्याएको छ। यस वर्ष “सबैका लागि खोप सम्भव छ” भन्ने नाराका साथ खोप सप्ताह मनाइँदैछ।
यसैबीच, ‘अन्तर्राष्ट्रिय बालिका सूचना प्रविधि दिवस’को अवसरमा आज किर्गिस्तान र इस्लामिक गणतन्त्र मोरिटानियामा “सूचना प्रविधिमा केटीहरू: समावेशी डिजिटल रूपान्तरणको लागि” भन्ने शीर्षकमा छलफल आयोजना हुँदैछ। डिजिटल विकास र नवप्रविधिका विषयमा भौतिक उपस्थितिसहित र श्रव्यदृश्य माध्यमबाट संवाद गरिनेछ। यस दिवसले प्रविधिको क्षेत्रमा बालिकाहरूलाई पनि समान अवसर दिनुपर्ने सन्देश दिन्छ।


