काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ जिल्लाको अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई शपथ गराएको छ।
वनस्थलीस्थित पार्टी कार्यालयमा आयोजित ‘सपथ ग्रहण’ कार्यक्रममा काठमाडौँका ४१ वडाको अधिवेशनबाट निर्वाचित २९५ जना पदाधिकारी तथा सदस्यहरूले शपथ लिएका छन्। रास्वपा काठमाडौँ जिल्ला सभापति प्रदीप विष्टले उनीहरूलाई सामूहिक शपथ गराउनुभयो।
शपथपछि कार्यवाहक सभापति डोलप्रसाद अर्यालले निर्वाचित सबैलाई आफ्नो जिम्मेवारीमा केन्द्रित भएर काम गर्न निर्देशन दिनुभयो। कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले वडा समितिलाई वडास्तरमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, स्थानीय विकास योजनाहरू अघि बढाउने र वडाका गतिविधिहरूको अनुगमन गर्ने जिम्मेवारीबारे जोड दिनुभयो। साथै, उहाँले वडा पदाधिकारी तथा सदस्यहरूलाई जनताको दुःख-सुखको सारथी बन्न आग्रह गर्नुभयो।
संसदीय दलका उपनेता एवं सांसद विराजभक्त श्रेष्ठले आगामी निर्वाचनमा रास्वपालाई पहिलो पार्टी बनाउन कटिबद्ध भएर काम गर्न निर्देशन दिनुभयो। शपथ ग्रहण कार्यक्रममा कार्यवाहक सभापति अर्याल, कार्यवाहक महामन्त्री बुर्लाकोटी, संसदीय दलका उपनेता श्रेष्ठसहित केन्द्रीय सदस्य तथा सांसदहरूको उपस्थिति रहेको थियो।


