काठमाडौं: कैलाली जिल्लाको स्वास्थ्य क्षेत्रमा देखिएका विभिन्न समस्याबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. प्रकाश बुढाथोकीलाई ध्यानाकर्षण गराइएको छ।
जिल्लाका १३ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधिहरूले सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. खगेन्द्र बममार्फत सहसचिव बुढाथोकीलाई स्वास्थ्य समस्या समाधानका लागि सङ्घीय सरकारले तत्काल समन्वय गर्नुपर्ने विषयमा जानकारी गराएका छन्।
स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रका प्रमुख डा. बुढाथोकी जिल्लाको स्वास्थ्य अवस्थाको स्थलगत अनुगमनका क्रममा धनगढी उपमहानगरपालिकाद्वारा सञ्चालित ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’ र नसर्ने रोगको ‘स्क्रिनिङ’ कार्यक्रमको अनुगमन गर्न धनगढी पुगेका थिए।
अनुगमनका अवसरमा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले स्थानीय सरकारद्वारा प्रवाह भइरहेको स्वास्थ्य सेवाका बारेमा जानकारी गराउँदै हरेक वडामा सञ्चालित ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’ सफल बन्दै गएको बताउनुभयो। साथै, उहाँले सङ्घीय सरकारलाई स्वास्थ्य क्षेत्रमा थप लगानी गर्न आग्रह गर्नुभयो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’लाई नवीनतम र अनुकरणीय प्रयास भन्दै मन्त्रालयबाट थप समन्वय र सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तै, उहाँले करागार कार्यालय कैलालीमा रहेका कैदीबन्दीलाई प्रदान गरिँदै आएको स्वास्थ्य सेवाका बारेमा पनि जानकारी लिनुभयो।


