काभ्रेपलाञ्चोकमा ९५ प्रतिशत बालिकाले एचपिभी खोप लगाए
काभ्रेपलाञ्चोक: राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लामा कक्षा ६ देखि १० सम्म अध्ययनरत ९५ प्रतिशत बालिकाले पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापीलोमा भाइरस (एचपिभी) विरुद्धको खोप लगाएका छन्।
जिल्ला स्वास्थ्य कार्यालय, धुलिखेलका अनुसार १६ हजार ९७ बालिकालाई खोप लगाउने लक्ष्य राखिएकामा १५ हजार तीन सय ४४ बालिकाले खोप लगाएका छन्, जसले ९५.३२ प्रतिशत उपलब्धि दर्शाउँछ।
नेपाल सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट प्रमाणित उक्त खोप विद्यालयमा अध्ययनरत कक्षा ६–१० सम्मका बालिका तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई दिएको हो। गत माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन गरिएको खोप अभियान सफल रहँदै आए पनि अशिक्षा तथा चेतनाको कमी लगायतका कारणले पूर्ण लक्ष्य हासिल गर्न कठिनाइ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
कार्यालय प्रमुख रागिश्री कक्षपति श्रेष्ठका अनुसार, “केही बालिकाले खोप लगाउन अस्वीकार गरेको जानकारी विद्यालयबाट प्राप्त भएको छ। सम्भवतः चेतनाको कमी नै पूर्ण खोप सुनिश्चित गर्न नसक्नुको कारण हो।” तथापि, समग्रमा भौगोलिक विकटता बाबजुद खोप कार्यक्रम सफल मानिएको छ।
जिल्लाका १३ स्थानीय तहमध्ये अधिकांशमा ९९ प्रतिशत खोप लगाइएको छ। तथ्याङ्कअनुसार चौँरीदेउराली गाउँपालिकामा सबैभन्दा कम ८१ प्रतिशत र धुलिखेल नगरपालिकामा ८५ प्रतिशत बालिकाले खोप लगाएका छन्। चौँरीदेउरालीमा लक्ष्य ४५० रहँदा ३६४ जनाले मात्र खोप लगाएका छन् भने धुलिखेल नगरपालिकामा १,४१६ मध्य १,२०४ जनाले खोप लगाएका छन्।
अन्य पालिकाहरुमा खोपको स्थिति यसप्रकार छः खानीखोला, नमोबुद्ध, भुम्लु, र तेमाल गाउँपालिकामा ९९ प्रतिशत, बनेपा, पाँचखाल नगर तथा बेथान्चोक गाउँपालिकामा ९८ प्रतिशत, रोशी गाउँपालिकामा ९५ प्रतिशत, मण्डनदेउपुर र पनौती नगरपालिकामा ९४ प्रतिशत, तथा महाभारत गाउँपालिकामा ९३ प्रतिशत बालिकाले खोप लगाएका छन्।
स्वास्थ्य मन्त्रालयका तथ्याङ्क अनुसार नेपालमा हरेक वर्ष २,२०० महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गर्दछ, जसमध्ये १,३०० महिलाको निधन हुने गरेको छ। खोप अभियानले यो सङ्ख्या घटाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।


