Thursday, June 25, 2026
Homeराजनीतिलोकतन्त्रमा सुधार आवश्यक, तर ठूला राजनीतिक परिवर्तनको आवश्यकता छैन: प्रधानमन्त्री ओली

लोकतन्त्रमा सुधार आवश्यक, तर ठूला राजनीतिक परिवर्तनको आवश्यकता छैन: प्रधानमन्त्री ओली

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा आवश्यकतानुसार हेरफेर हुनसक्ने भन्दै यसलाई सामान्य रूपमा लिनुपर्ने बताएका छन्।

शनिबार उनकी पत्नी राधिका शाक्यको आत्मकथा ‘करुणा’ को लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले प्रदेशहरूको संख्या नागरिक आवश्यकताअनुसार घटबढ हुन सक्ने संकेत गरे। उनले सात वटा प्रदेशलाई नौ बनाउनु वा पाँचमा सीमित गर्नु सम्भव रहेको उल्लेख गर्दै, देशको विकास र जनताको आवश्यकताअनुसार सुधार गर्नुपर्ने धारणा राखे।

“लोकतान्त्रिक प्रणाली भनेको स्थिर रहने होइन, समयअनुसार सुधार आवश्यक पर्छ,” उनले भने, “तर यसलाई परिवर्तनका नाममा अनावश्यक डर देखाउनु वा रुवाबासी गर्नु आवश्यक छैन।”

प्रधानमन्त्री ओलीले आफ्नो राजनीतिक यात्रा सम्झँदै लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि लामो संघर्ष गरेको बताए। “२०२२ सालदेखि आन्दोलनमा लागेको थिएँ, मैले जुन लोकतान्त्रिक गणतन्त्रको परिकल्पना गरेको थिएँ, अहिले हामी त्यही व्यवस्थामा छौं। अब ठूला राजनीतिक परिवर्तन गर्नु आवश्यक छैन, तर सुधार गर्दै अघि बढ्नुपर्छ,” उनले स्पष्ट पारे।

व्यक्तिगत जीवन र सम्पत्तिको खुलासा

प्रधानमन्त्री ओलीले आफ्नो भक्तपुर बालकोटस्थित घर आफ्नै आम्दानीबाट नभई पत्नी राधिका शाक्यको कमाइबाट निर्माण भएको खुलासा गरे। “मेरा बलबुताले होइन, राधिकाको कमाइले त्यो घर बनेको हो,” उनले बताए। साथै, उक्त घर उनले नेपाल ट्रस्टलाई दान गरिसकेको जानकारी गराउँदै, “मेरो कमाइ दान गरेको होइन, उनकै कमाइ दान गरेको हो,” भने।

आफ्नो वैवाहिक जीवनबारे कुरा गर्दै उनले श्रीमती राधिका शाक्यलाई आफ्नो जीवनको अभिन्न सहयात्री बताउँदै “म जति श्रीमतीसँग खुसी मानिस अरू सायदै छन्,” भने। “राधिका नहुँदो हो भने म अहिलेसम्म बाँच्न सम्भव थिएन,” उनले भावुक हुँदै थपे।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका