Thursday, June 25, 2026
Homeराजनीति"पूर्वराजालाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजिँदैछ"- एमाले

“पूर्वराजालाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजिँदैछ”- एमाले

दाङ: नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई उचालेर राजनीतिक परिवर्तनलाई कमजोर बनाउने प्रयास भइरहेको टिप्पणी गरेका छन्।

कपिलवस्तुमा एमालेको वडा केन्द्रित अभियान शुभारम्भ गर्दै महासचिव पोखरेलले २०६२/६३ को जनआन्दोलनबाट राजसंस्थाको अन्त्य भई राजनीतिक परिवर्तन सुनिश्चित भए पनि पछिल्लो समय पुनः पञ्चायती प्रवृत्ति सक्रिय हुन खोजेको बताए।

उनले राजनीतिक परिवर्तन स्वीकार्न नसकेका केही शक्तिहरूले पूर्वराजालाई अगाडि सारेर वक्तव्यबाजी गराउने काम गरिरहेको आरोप लगाए।

‘पञ्चायतकालीन भूत फेरि सलबलाउन थालेका छन्,’ उनले भने, ‘राजालाई वक्तव्यबाजी गराएर राजनीतिक परिवर्तनलाई उल्ट्याउने प्रयास भइरहेको छ।’

महासचिव पोखरेलले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न कार्यकर्ताहरूलाई सक्रिय रहन निर्देशन दिए।

‘सामन्तवादी राजसंस्था हटाएर राजनीतिक क्रान्ति सफल बनाइएको छ,’ उनले भने, ‘अब यसलाई संस्थागत गर्दै पूर्ण क्रान्ति सफल बनाउनतर्फ लाग्नुपर्छ।’

उनले स्थिर राजनीतिको लागि बलिया राजनीतिक शक्ति निर्माण आवश्यक रहेको उल्लेख गर्दै दुई ठूला दलको अवधारणा सही भएको तर्क गरे।

‘मैले बलिया दुई राजनीतिक दल भए मात्रै अस्थिरताको अन्त्य भई स्थायी सरकार निर्माण गर्न सकिन्छ भनेको हुँ,’ महासचिव पोखरेलले भने, ‘दल खोल्न प्रतिबन्ध लगाउने कुरा होइन, थ्रेसहोल्डको प्रतिशत बढाउन आवश्यक छ।’

चुनाव जितेर सत्ता सञ्चालन गर्न कसैलाई रोक लगाउन नहुने बताउँदै पोखरेलले साना–साना दलहरूको अनियन्त्रित वृद्धि आवश्यक नरहेको धारणा राखे।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका