काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्नु अहिलेको मुख्य कार्यभार भएको बताएका छन्।
७५औँ प्रजातन्त्र दिवसका अवसरमा जारी शुभकामना सन्देशमा अध्यक्ष नेपालले लोकतन्त्रको रक्षा सबै नेपालीको साझा दायित्व भएको उल्लेख गर्दै भने, “निरङ्कुश, जहानियाँ र तानाशाही व्यवस्थाबाट देशलाई मुक्त गर्दै लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना गरिएको यस ऐतिहासिक अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। साथै, प्रजातन्त्र स्थापनाका लागि बलिदान दिनुभएका सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।”
अध्यक्ष नेपालले नेपालको इतिहासमा आजको दिन गौरवपूर्ण रहेको उल्लेख गर्दै भने, “जनताको संघर्ष र सहिदहरूको बलिदानबाट नेपालको सार्वभौमसत्ता जनतामा निहित गर्ने मान्यता स्थापित भएको छ। यही संघर्षकै जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था निर्माण भएको छ।”
उनले लोकतन्त्रको सुदृढीकरण र सामाजिक न्याय स्थापनाका लागि गरिबी, बेरोजगारी, विभेद, पछौटेपन तथा कुरीतिहरूलाई परास्त गर्न आवश्यक रहेको बताए।
अध्यक्ष नेपालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक मूल्य-मान्यताका लागि भएका विभिन्न आन्दोलनहरूमा योगदान दिने सबैप्रति सम्मान व्यक्त गर्दै प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको संकल्प गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।


