काठमाडौँ: विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयले नेपालले दक्षिण–पूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपत्कालीन कोषमा योगदान गरेकामा धन्यवाद व्यक्त गरेको छ। डब्लुएचओले जारी गरेको विज्ञप्तिमा नेपाल सरकार र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु १५ लाख (करिब ११ हजार अमेरिकी डलर) को योगदानका लागि आभार प्रकट गरिएको छ।
स्वास्थ्य आपत्कालीन अवस्थाका लागि तयारी र प्रभावकारी प्रतिकार्यमा सहयोग गर्न कोष स्थापना गरिएको हो। थाइल्याण्ड, भारत र टिमोर–लेस्टेपछि यो कोषमा योगदान गर्ने नेपाल चौथो राष्ट्र बनेको छ।
“नेपालको यो योगदान आपत्कालीन कोषप्रतिको सहयोग, स्वामित्व र प्रतिबद्धताको प्रमाण हो। यस कोषलाई पारदर्शी रूपमा सदस्य राष्ट्रहरूको हितमा व्यवस्थापन गरिन्छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
सन् २००७ मा हिन्द महासागरमा आएको सुनामीबाट सिकाइका आधारमा यो कोष स्थापना गरिएको हो। कोषले दक्षिण–पूर्वी एसियाका १० राष्ट्रमा घटेका ४९ आपत्कालीन अवस्थामा सहयोग प्रदान गरिसकेको छ।
नेपालले पनि सन् २००८ को कोशी बाढी, सन् २०१५ को विनाशकारी भूकम्प र सन् २०२३ को जाजरकोट भूकम्प प्रतिकार्यका लागि कोषबाट सहयोग पाएको थियो।
डब्लुएचओका क्षेत्रीय निर्देशक साइमा बाजेदले सदस्य राष्ट्रहरूलाई कुनै पनि ठूलो जनस्वास्थ्य आपत्कालीन अवस्थाको प्रभावकारी प्रतिकार्य गर्न सक्षम बनाउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ।


