रुपन्देही: जिल्ला अदालत रुपन्देहीले सुप्रीम सहकारीको रकम ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ।
सोमबार न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले थुनछेक बहसपछि जोशीलाई जिल्ला कारागार रुपन्देहीमा थुनामा पठाउने निर्णय गरेको हो। अदालतका श्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीका अनुसार जोशीलाई कारागार चलान भइसकेको छ।
यस प्रकरणमा सरकारी पक्षबाट जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल र सहायक न्यायाधिवक्ता गोकर्णराज घिमिरेले बहस गरेका थिए। जोशीको तर्फबाट अधिवक्ता मनोजकुमार चौधरी र अपूर्व खतिवडाले बहस गरेका थिए।
ठगी प्रकरणमा जोशीसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कका तत्कालीन अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईलगायत अन्य व्यक्ति संलग्न रहेको आरोप छ। उनीहरूलाई बुटवलको सुप्रीम सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोप लागेको हो।
यसै प्रकरणमा अदालतले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको थियो। जोशी गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष तथा सञ्चालक थिए भने लामिछाने प्रबन्ध निर्देशक थिए।


