काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुन परिमार्जनको आवश्यकता भए पनि कुनै दललाई फुटाउने वा मिलाउने काम आफ्नो जिम्मेवारी नभएको दाबी गरेका छन्।
नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रधानमन्त्री निवास बालुवाटारमा बधाई तथा शुभकामना दिँदै उनले दल विभाजन गराउने सम्बन्धी अध्यादेश ल्याउन लागेको झूटो प्रचार गरिएकोमा चिन्ता व्यक्त गरे। उनले दल विभाजन वा एकता सम्बन्धी विषय ती दलहरूको आन्तरिक मामला भएको स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले विगतमा संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशतको समर्थन चाहिने व्यवस्थाले जटिलता निम्त्याएको स्मरण गराउँदै त्यसलाई परिमार्जन गर्न अध्यादेश ल्याएको तर त्यसको विरोध भएपछि फिर्ता लिएको बताए। उनले अहिले विरोध गर्नेहरुकै पहलमा २० प्रतिशत सांसदको समर्थनबाटै दल विभाजन गर्न सकिने व्यवस्था गरिएको उल्लेख गर्दै आफूले यस्ता कुकर्मको मनसाय नराखेको दाबी गरे।
देश विकास र जनताको सेवा ध्यानमा राख्दै सरकारका विभिन्न अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरिए पनि झूठा र नकारात्मक वक्तव्यबाट गलत सन्देश प्रवाहित भएकोप्रति उनले आपत्ति जनाए। प्रधानमन्त्री ओलीले यस्ता गलत सूचनाका कारण जनताको सूचनाको हकमा बाधा पुग्ने र लोकतन्त्रको दुरुपयोग हुन नदिन पत्रकार महासंघले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए।
उनले जारी हुन बाँकी अध्यादेशलाई राति जारी गरियो भनेर गरिएको प्रचारलाई खण्डन गर्दै दिनरात नभनी देश र जनताको पक्षमा काम गरिरहेको स्पष्ट पारे। ‘हामी १०-५ को जागिरे होइनौं। देश र जनताप्रतिको जिम्मेवारी बोध गरेर दिउँसो वा राति काम गर्छौं। लुकाएर वा छलछाम गरेर होइन, देशका हितमा खुलेआम काम गर्छौं,’ उनले भने।
सञ्चार क्षेत्रमा कीर्ते र जाली काम रोक्न सरकारले कानुन ल्याउन लागेको जानकारी दिँदै उनले पत्रकारहरूको पेसागत सुरक्षामा राज्यको भूमिका रहने प्रतिबद्धता व्यक्त गरे।
सो अवसरमा महासंघका अध्यक्ष निर्मला शर्मासहितका पदाधिकारीलाई प्रधानमन्त्री ओलीले बधाई दिएका थिए। अध्यक्ष शर्माले महिला अध्यक्ष निर्वाचित हुनु पत्रकारिताको इतिहासमा नयाँ कीर्तिमान भएको भन्दै यसमा राजनीतिक दल, पत्रकार संगठन, र आम पत्रकारहरूको समर्थन रहेको उल्लेख गरिन्।


