काठमाडौं: अमेरिकाको लस भेगासस्थित ट्रम्प इन्टरनेशनल होटल बाहिर टेस्ला साइबरट्रक विस्फोट हुँदा चालकको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्।
विस्फोट भएको होटलको ५० प्रतिशत स्वामित्व अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्रम्प अर्गनाइजेसनसँग छ। होटलको नाम उनकै नामबाट राखिएको छ।
विस्फोट भएको गाडी अर्बपति एलन मस्कको कम्पनी टेस्लाको उत्पादन हो। मस्कले उक्त घटनामा साइबरट्रकको कुनै प्राविधिक त्रुटि नभएको र विस्फोट गाडीमा राखिएका विष्फोटक पदार्थका कारण भएको बताएका छन्।
बुधबार बिहान ८:३९ बजे साइबरट्रक होटलको प्रवेशद्वारमा रोकिनासाथ विस्फोट भएको थियो। प्रारम्भिक अनुसन्धानमा गाडीको पछाडिको भागमा ठूलो परिमाणमा पटाका र ग्यास क्यानिस्टरहरू राखिएको पाइएको छ।
यो घटनाको केही घन्टा अघि न्यू अर्लिन्समा एक ट्रकले भीडमा मानिसहरूलाई कुल्चिँदा १५ जनाको मृत्यु भएको थियो। दुवै घटनामा प्रयोग भएका गाडीहरू टुरो कार-शेयरिङ एपमार्फत भाडामा लिइएको पाइएको छ। यद्यपि, यी दुई घटनाबीच कुनै सम्बन्ध पुष्टि भएको छैन।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यी घटनाहरूको गहिरो अनुसन्धान भइरहेको र हालसम्म कुनै सम्बन्ध पुष्टि नभएको बताएका छन्। उनले जनतालाई संयम रहन र आधिकारिक सूचनाको पर्खाइ गर्न आग्रह गरेका छन्।


