बागलुङ: धादिङका कमबहादुर तामाङ सुन्तला खरिद गर्न बागलुङको सिगाना आइपुगेर एक हप्ता बितिसकेको छ। उनले नौ जना सुन्तला किसानसँग एकमुष्ट सुन्तला खरिद गरी नारायणगढ पठाइरहेका छन्। तामाङजस्तै अन्य व्यापारी पनि सिगानाका सुन्तला किसानका घरदैलोमा पुग्न थालेका छन्।
सिगानाको सुन्तला स्वादिलो भएकाले बगैँचाबाटै खरिद गरेर नारायणगढ पठाइएको तामाङले बताए। उनले सुन्तला खरिदका लागि किसानलाई एकमुष्ट १२ लाख रुपैयाँ बुझाएको र हालसम्म १२ गाडी सुन्तला नारायणगढ पठाइसकेको जानकारी दिए।
“सिगानाको सुन्तलाको नारायणगढमा ठूलो माग छ। यस याममा सुन्तला कारोबारबाट दुई–चार लाख कमाइ गर्न सकिन्छ,” तामाङले भने, “किसानले पैसा मात्रै बुझ्नु पर्यो। टिप्ने, स्तरीकरण गर्ने र बजारसम्म लैजाने जिम्मा हामी आफैँ लिन्छौँ। किसानलाई बसीबसी आम्दानी हुने अवस्था छ।”
तामाङले एउटै बगैँचाका सुन्तलाको लागि तीन लाख रुपैयाँसम्म तिरेर खरिद गरेको खुलासा गरे। सुन्तला गाउँको पहिचान बनाएको सिगानामा अहिले किसानहरू सुन्तला बिक्री गर्न व्यस्त छन्। सुरुमा डोके व्यापारीलाई केजीको हिसाबले बेच्ने किसानहरूले माग बढेसँगै अहिले बगैँचाका सुन्तला एकमुष्ट बिक्री गर्न थालेका छन्।
सिगानाका किसान अनन्तबहादुर खड्काका अनुसार पहिले आफैं टिपेर बजार पठाउनुपर्ने सुन्तला अहिले व्यापारीले बोटमै टिपेर लैजाने गरेका छन्। शिक्षकबाट अवकाश प्राप्त खड्काले वार्षिक पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्। उनको दुई सय बोट सुन्तलाले भरिएको बगैँचा छ।
खड्कामात्र नभई रामप्रसाद गौतम, राधा खड्का, गङ्गा केसी, रामबहादुर खत्री, टोपबहादुर खत्री र शिवकुमार खड्कालगायतका किसानहरूले उत्पादन गरेका सुन्तलाहरू चितवन, धादिङ, काठमाडौँ, पोखरा र नारायणगढका बजारमा बिक्री भइरहेको छ।
सुन्तलाको बजारको कुनै समस्या नरहेको बताउँदै किसान गङ्गा केसीले उत्पादन गर्न सकिएमा व्यापारीहरूले बगैँचासम्मै आएर खरिद गर्ने गरेकी छिन्।
धादिङ, काठमाडौँ, पोखरा र नारायणगढका व्यापारीहरूले अहिले एउटा बगैँचाका लागि एक लाखदेखि पाँच लाख रुपैयाँसम्म तिर्ने गरेका छन्। सिगानामा ठुलो मात्रामा सुन्तला उत्पादन गर्ने करिब एक सय किसान छन्। यस वर्ष सिगानाका सुन्तला छिट्टै बिक्री भएको किसान अनन्त खड्काले जानकारी दिए।
सिगानाका सुन्तला अन्य स्थानका भन्दा ठूला र गुलिया भएकाले व्यापारीहरूले महँगो मूल्य तिरेरै किन्ने गरेको खड्काले बताए।


