काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंसिर ८ गतेदेखि नयाँ चरणको आन्दोलन सुरु गर्ने घोषणा गरेको छ।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा रास्वपाले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा हिरासतमा राखिएको भन्दै आन्दोलनको दोस्रो चरण सुरु गर्ने निर्णय सार्वजनिक गर्यो।
पार्टीले सभापतिका साथै समसामयिक जनजीविकाका मुद्दाबारे प्रधानमन्त्रीलाई बिन्तीपत्र बुझाउन खोज्दा प्रधानमन्त्रीले समय नदिएको कारणले आन्दोलनको अर्को चरणको सुरुवात गर्नुपरेको जनाएको छ।
पत्रकार सम्मेलनमा पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले आन्दोलनका मुख्य एजेण्डा प्रस्तुत गर्दै, सभापति लामिछानेलाई हिरासतबाहिर राखेर निष्पक्ष अनुसन्धान गर्नुपर्ने माग गरे। साथै, सहकारी र मिटरब्याज पीडितलाई न्याय दिलाउनुपर्ने, उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गरी सार्वजनिक गर्नुपर्ने, र भ्रष्टाचार काण्डको न्यायिक छानबिनका लागि स्वतन्त्र आयोग गठन गर्नुपर्ने जस्ता माग समेत अघि सारे।
झाले संविधान परिमार्जनका लागि सर्वपक्षीय सम्मेलनको आवश्यकतामाथि जोड दिँदै, सहकारीमा ठगिएको ८७ अर्ब रुपैयाँमध्ये अधिकांश रकम राजनीतिक भ्रष्टाचारीहरूले हत्याएको आरोप लगाए। साथै, वर्तमान सरकारको प्रदर्शनलाई आक्रोश व्यक्त गर्दै उनले पहिलो र दोस्रो सरकारको गठबन्धनले देश र जनताको पक्षमा कुनै ठोस काम नगरेको आरोप पनि लगाए।
रास्वपाले उपनिर्वाचनको मनोनयनका क्रममा आफ्ना उम्मेदवारहरूलाई लक्षित गरी आक्रमणको प्रयास भएको भन्दै उपनिर्वाचन निष्पक्ष हुनेमा गम्भीर आशंका व्यक्त गरेको छ।


