Friday, April 24, 2026
Homeअन्तराष्ट्रियअमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजरायलमा- युद्धबिराम हुनसक्ने आशा

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजरायलमा- युद्धबिराम हुनसक्ने आशा

काठमाडौं: अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि प्रयासहरू अघि बढाउन इजरायलको भ्रमणमा छन्।

गत वर्ष अक्टोबरमा इजरायल र हमासबीच युद्ध सुरु भएयता ब्लिन्केन नवौं पटक यस क्षेत्रमा पुगेका छन् ।

ब्लिन्केनको भ्रमणको केही दिनअघि अमेरिकाले इजरायल र हमासबीच शान्ति स्थापना गर्न नयाँ संशोधित प्रस्ताव पेश गरेको थियो ।

गत हप्ता दोहामा भएको शान्ति वार्ताका क्रममा अमेरिकाले युद्धविराम सम्झौता हुने आशा व्यक्त गरेको थियो ।

यद्यपी हमासले युद्धविराम सम्झौताका लागि गरिएका प्रयासलाई धोकाको संज्ञा दिएको छ । हमासले इजरायली सेनालाई गाजा पट्टी पूरै छोड्न आग्रह गरेको छ।

एन्टोनी ब्लिन्केनले यो भ्रमणका क्रममा इजरायली सरकारलाई सम्झौताका लागि दबाब दिने प्रयास पनि गर्न सक्छन्।

अमेरिकाले अर्को हप्तासम्म इजरायल र हमासबीच शान्ति सम्झौता गर्न सक्ने आशा गरेको छ । तर, यस विषयमा इजरायल र हमास दुवै पक्षबाट कुनै सकारात्मक प्रतिक्रिया आएको छैन ।

दुवै पक्षले एकअर्कालाई शान्ति सम्झौतामा अवरोध गरेको आरोप लगाउँदै आएका छन् । आइतवारको एक विज्ञप्तिमा हमासले इजरायली प्रधानमन्त्रीले युद्धलाई लम्ब्याउने उद्देश्यका साथ सम्झौताका लागि नयाँ शर्त र मागहरू राखेको आरोप लगाएको छ।

हमासले शान्ति सम्झौता असफल हुनुको सबैभन्दा ठूलो कारण इजरायल भएको मानेको छ ।

हमासको एक स्रोतले साउदी अरबको मिडियासँग कुरा गर्दै शान्ति सम्झौताका सर्तहरूमा फिलाडेल्फिया करिडोरमा इजरायली सेना घटाउने कुरा पनि समावेश गरेको बताएको थियो।

फिलाडेल्फिया करिडोर इजिप्टको सिमाना छुने गाजा नजिकको जमिनको साँघुरो पट्टी हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका