Thursday, April 30, 2026
Homeखेलकुदरियल उपाधितर्फ बढ्दै

रियल उपाधितर्फ बढ्दै

मड्रिड । रियल मद्रिड उपाधितर्फ बढ्दै छ। आइतबार भएको खेलमासेल्टा भिगोलाई ४–० को शानदार जीत हासिल गर्दै टोलीले शीर्ष स्थानमा ७ अङ्कको अग्रता कायम राख्न सफल भएको हो ।

रातो कार्ड पाएका जुड बेलिङह्याम बिना नै मैदानमा उत्रेको रियललाई खेलको २१ औँ मिनेटमा भिनिसियस जुनियरले अग्रता दिलाएका थिए । पहिलो हाफमा रियलले पूर्णरुपमा नियन्त्रण बनाए पनि थप गोल गर्न सकेन।

दोस्रो हाफमा भने रियल केही फितलो देखिएको थियो । तर, विपक्षी टोलीले यसको फाइदा उठाउन सकेन । उता रियलका लागि रोड्रिगो र ब्राहिम डियाज गोलको अवसरबाट चुकेका थिए ।

अन्तिम ११ मिनेटमा ३ गोल गर्दै रियलले खेल आफ्नो पक्षमा पार्न सफल भयो । ७९ औँ मिनेटमा एन्टोनियो रुडिगरको प्रहार रिबाउन्ड भएर गोलकिपर गुआइटालाई लाग्दै आत्मघाती गोलका रुपमा पोस्टमा छिरेको थियो ।

रियलको तेस्रो गोल पनि सेल्टाभिगोका डिफेन्डर कार्लोस डोमिनग्वोजले आत्मघाती गोल गरेका थिए । खेलको इन्जुरी समयमा टर्किस युवा खेलाडी आर्डा गुलेरले गोल गर्दै टोलीलाई सहज जित दिलाए । रियलका लागि उनको पहिलो गोल थियो ।

२८ खेलबाट रियलको ६९ अङ्क रहेको छ । ६२ अङ्कसहित जिरोना दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा रहेको बार्सिलोनाको ६१ अङ्क छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका