काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपाको सिंगो टिमलाई पार्टीमा एकताबद्ध गराउने वातावरण बन्दै गएको बताएका छन्।
माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘आज बिहान मात्रै नेकपाको शीर्ष नेताहरूसँग भेटवार्ता गरेको छु। मेरो विश्वास छ उहाँहरू सोच्नुहुन्छ। सिंगै समूह नै एकताबद्ध भएर आउने वातावरण बन्दैछ। केही समयअघि नै शीर्ष तहमा कुरा गरेका थियौँ।’
हिजो सँगै बसेको साथीहरू आफ्नै घरमा फर्किंदा असहज नठान्न आग्रह गरे। प्रचण्डले भने, ‘केही साथीहरू चाहिँ हिजो छिट्टै ठूलै ‘प्रचण्ड’ हुने सपना बोकेका साथीहरूलाई लाज भएको छ। तर, क्रान्तिकारी हुने साथीहरूलाई त के लाज हुन्छ र। क्रान्तिकारी सँग असहज ठान्ने। क्रान्ति विरोधीहरूसँग सहज ठान्नेहरू पनि नजिकबाट देखेको छु।’
विप्लव नेतृत्वको नेता कार्यकर्तालाई जेलबाट छुटाउन आफूले पहल गरिरहेको समेत उनले दाबी गरे। जनयुद्धको कमान्डरको हैसियतले सबैलाई एकताबद्ध भएर लाग्न आग्रह गरे।
‘अहिले केही साथीहरू जेलमा हुनुहुन्छ। मैले विप्लवजीसँग पनि छलफल गरेको हुँ। मैले भनेर नै महत्वपूर्ण नेताहरूलाई छोड्न लगाएको हो। त्यसपछि लगातार कुरा भइरहेको छ। उहाँहरूलाई छोड्नुपर्छ’ प्रचण्डले भने, ‘केही अदालती प्रक्रिया र केहीलाई सामान्य रूपमा छाड्न सकिन्छ। सबै साथीहरू छुट्नुहुन्छ। केही समय लाग्नसक्छ।’
अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनले ल्याएको परिवर्तन उल्टाउने षड्यन्त्र भइरहेको समेत दाबी गरे। समावेशी लोकतन्त्र र गणतन्त्र धर्म निरपेक्षता जस्ता कुरा मन नपरेको देशी विदेशी शक्ति सक्रिय भएर लागिरहेका आरोप लगाए।
प्रचण्डले भने, ‘हामीले रगत पसिना बगाएर आएको परिवर्तन हो। माओवादी आन्दोलनबाट मात्रै सम्भव भएको छ। अरू कुनै पार्टीको विचारबाट भएको होइन। अरूलाई यो मन परेको पनि होइन। जुन राजनीतिक दलहरूले यसलाई स्वीकारेको भनेका छन्। माओवादी आन्दोलन कमजोर र विभाजित भयो। हामी कमजोर भएपछि त्यसमाथि कसरी प्रहार हुँदो रहेछ गत साल हामीले प्रष्टै देख्यौँ। प्रतिगमनले कसरी टाउको उठाउँदो रहेछ।’
माओवादी आन्दोलन र जनयुद्धबाट प्राप्त उपलब्धि क्षतविक्षत पार्ने षड्यन्त्र अझै कमजोर नभएको भनाइ राखे। अहिले माओवादीले स्थापित गरेको एजेण्डालाई लुकाउन खोजे पनि जनताले नस्वीकार्ने चेतावनी दिए।
देशभक्त कम्युनिष्ट शक्ति मिलाउने प्रयास जारी छ। गत साल एमालेसँग एकता गरेका थियौँ। समाजवादमा जाने कुरा गरेकाले हामीले एजेण्डा एकै ठाउँमा भएका थियौँ। जनयुद्ध, शान्ति प्रक्रियालगायको जस्तो जोखिम उठाएर मेरो प्रस्तावमा बढेको थियो’ उनले भने, ‘तर, दुर्घटनामा पर्यो।’
एमालेले ठूला समूहले माओवादीकै कारणले संघीय लोकतान्त्रिक गणतन्त्र आएको भन्नेमा स्वीकारेपछि षडयन्त्र सुरु भएको दाबी गरे।
‘बैठकमा ८/१० जना छाडेर एमालेका सबै नेता अबको नेता प्रचण्ड हो भन्नेमा पुगे त्यसपछि ठूलो षड्यन्त्र सुरु भयो। तपाईं नै हो नेता भन्न थाले मलाई। अहिले एमालेका नेता भन्छन्- केही समय छाडेको भए प्रचण्डले पार्टी खाइदिन्थ्यो नि। पूर्वमाओवादीहरू एकठाउँ भएकाले भए एमालेसँग ४० प्रतिशत हैन ६० प्रतिशत हामी हुन्थ्याैँ’ प्रचण्डकाे भनाइ छ।


