Tuesday, May 12, 2026
Home Blog Page 864

सामाजिक सुरक्षा कोषबाट आठ अर्ब भुक्तानी

0

काठमाडौँ: सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत रु आठ अर्बभन्दा बढी भुक्तानी गरेको छ । कोषले बिहीबारसम्म एक लाख ३५ हजार आठ सय ४३ योगदानकर्तालाई रु आठ अर्ब ४८ करोड भुक्तानी गरेको हो ।

कोषले सबैभन्दा बढी वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत रु सात अर्ब २५ करोड ३३ लाख एक हजार तीन सय १८ भुक्तानी गरेको छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाबापत रु ९८ करोड ४३ लाख ७६ हजार तीन सय २२, दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा रु ११ करोड ४७ लाख १९ हजार पाँच सय ४५ र आश्रित परिवार सुरक्षा योजनामा रु १३ करोड २८ लाख एक सय ६५ भुक्तानी गरेको छ ।

कोषबाट एक लाख ३५ हजार आठ सय ४३ योगदानकर्ताले विभिन्न योजनाअन्तर्गत सुविधा लिएका प्रवक्ता विवेक पन्थीले जानकारी दिनुभयो । कोषले योगदानकर्तालाई औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजनाबापत विभिन्न सुविधा उपलब्ध गराउँदै आएको छ ।

कोषमा हालसम्म ५२ अर्ब ६३ करोड योगदान रकम जम्मा भएको छ । कोषमा औपचारिक, वैदेशिक रोजगारी, अनौपचारिक र स्वरोजगार गरी कुल १२ लाख ५७ हजार सात सय ९९ श्रमिक सूचीकृत भएका छन् । सूचीकृत हुनेमा वैदेशिक रोजगारीमा रहेका श्रमिकको सङ्ख्या बढी छ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने विषयलाई अनिवार्य गरेको छ ।

बिहीबारसम्म औपचारिक क्षेत्रका चार लाख ९१ हजार दुई सय २३, वैदेशिक क्षेत्रका सात लाख ६६ हजार दुई सय ४३, अनौपचारिक क्षेत्रका दुई सय ५१ र स्वरोजगार क्षेत्रका ८२ जना सूचीकृत भएका कोषले जनाएको छ । कोषमा १८ हजार आठ सय १९ रोजगारदता आबद्ध छन् ।
–––

सडक र पदमार्गले छोटियो धार्मिक पर्यटकीयस्थल मालिकाधुरीको यात्रा

0

म्याग्दी: सडक र पदमार्ग निर्माण भएपछि म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीयस्थल मालिकाधुरीको यात्राअवधि छोटिएको छ ।

मालिका गाउँपालिका–७ बिमदेखि बिमवाङ– धौलागङ्गा हँुदै मालिकाधुरी नजिकैको नागीथलासम्म सडक पुगेको छ । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले सडक निर्माण भएपछि मालिकाधुरी पुग्न पर्यटक र भक्तजनलाई सहजका साथै यात्रा अवधि छोटिएको बताउनुभयो ।

“मालिकामा पूजाआजा, दर्शन र दृष्यावलोकन गर्नका लागि अब अघिल्लै दिन गएर टहरा, ओडारमा बास बस्नुपर्दैन”, उहाँले भन्नुभयो, “बिमदेखि नागीथलासम्म गाडीमा एक घण्टा र नागीथलादेखि मालिकाधुरीसम्म करिब ४५ मिनेट पैदलयात्रा गरेपछि पुगिन्छ ।”

मालिका गाउँपालिकाले खारा–बिम सडक स्तरोन्नति र मालिकाधुरी नजिकैको नागीथलामा सडक पु¥याउन विसं २०७८ माघमा दिव्यज्योति–नाना जेभीसँग रु एक करोड ५९ लाख ५४ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

गाउँपालिकाका पूर्वाधार शाखाका प्रमुख दीपक सापकोटाले सो योजनामार्फत नागीथलासम्म दुई किलोमिटर नयाँ मार्ग खनिएको र खारा क्षेत्रमा सडक स्तरोन्नतिको काम सकिएको जानकारी दिनुभयो । विसं २०७९ असारमा सम्पन्न हुनुपर्ने सडक निर्माण कम्पनीका प्रतिनिधिको ढिलासुस्ती र लापर्वाहीका कारण ढिलाइ भएको हो । पछिल्लो पटक काम गर्नुभएका निर्माण कम्पनीका प्रतिनिधि नारायण जिसीले अघिल्ला प्रतिनिधिले दुई वर्षसम्म नगरेको काम आफूले दुई महिनामै सकेको बताउनुभयो ।

मालिका गाउँपालिकाको वडा नं ७ र ६ तथा रघुगङ्गा गाउँपालिकाको वडा नं ६ को सिमानामा अवस्थित मालिका धुरी समुद्री सतहदेखि तीन हजार ४०० मिटरको उचाइमा अवस्थित छ । बीसभन्दा बढी हिमशृङ्खला, सूर्योदय, म्याग्दीका ३५ भन्दा बढी गाउँ, लालीगुराँस, वन्यजन्तु, पन्छीको अवलोकन गर्न सकिने मालिकाको धार्मिक महत्व छ ।

दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको मालिका क्षेत्र विकास समितिका अध्यक्ष छकप्रसाद पाइजाले बताउनुभयो । “सन्तान, रोजगारी, शिक्षा, व्यापार, व्यवसायदेखि राजनीतिमा सफलताको कामना पूरा भएकाको जेष्ठी, चण्डी पूर्णिमा र भाइतिहारका दिन पूजाअर्चनाका निम्ति आउनेको भीड लाग्छ”, उहाँले भन्नुभयो, “म्याग्दी र छिमेकी जिल्लाका साथै काठमाडौँ, पोखरालगायत ठाउँबाट पनि भक्तजन आउँछन् ।”

मालिका, कालिका र जाल्पादेवीको मूर्ति रहेको मालिका थानमा भाकल पूरा भएमा बोका र परेवा चढाउने चलन छ । लालीगुराँसको जङ्गलको बीचमा रहेको मालिकादेखि सिस्ने, गुर्जा, मानापाथी, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्र«े, मनास्लुलगायत २० भन्दा बढी हिमशृङ्खलाका साथै म्याग्दीका अधिकांश बस्तीको अवलोकन गर्न सकिन्छ ।

सडक पुगेको नागीथलादेखि मालिकाधुरीसम्म तीन वर्षअघि गण्डकी प्रदेश सरकारअन्तर्गतको भू तथा जलाधार संरक्षण कार्यालयले रु ३९ लाख २० हजार लगानीमा एक दशमलव पाँच मिटर चौडाइ फराकिलो एक हजार २७२ मिटर ढुङ्गाको सिँढीसहितको पदमार्ग निर्माण गरेको थियो ।

सडक र पदमार्ग बनेपछि मालिकाको यात्रा अवधि छोटिएको बिमका टीकाबहादुर जुग्जालीले बताउनुभयो । मालिका गाउँपालिकाले यसअघि रु ८३ लाखको लागतमा बिम हुँदै मालिकाधुरी जाने ११ किलोमिटर सडक निर्माण गरेको थियो ।

रघुगङ्गा गाउँपालिकालले ठाडाखानीदेखि पहिरेनीसम्म करिब पाँच किलोमिटर सडक र बथानडाँडादेखि सरघारीसम्मको उकालो बाटोमा तीन किलोमिटर पैदलमार्ग निर्माण गरेको छ । सदरमुकाम बेनीबाट सवारी साधनम लिएर एकै दिन र पैदलयात्रा गर्दा दुई दिनमा पुगिने मालिका क्षेत्रको जङ्गलमा पाइने वन्यजन्तु, पन्छी, विभिन्न प्रजातिका फूल, जडीबुटी र वन पैदावार पनि उत्तिकै चित्ताकर्षक छन् ।
–––

विराट गोल्डकप: मच्छिन्द्र क्लब फाइनलमा

0

मोरङ: मच्छिन्द्र फुटबल क्लब विराटनगरमा जारी आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

सहिद रङ्गशालामा बिहीबार राति सम्पन्न सेमिफाइनल खेलमा पाहुना टोली सिक्किम ड्रागनलाई १–० गोल अन्तरले पन्छाउँदै मच्छिन्द्र फाइनलमा पुगेको हो । सिक्किमविरुद्ध कठिन जित निकाल्दै मच्छिन्द्रले फाइनलमा घरेलु टोली साङ्ग्रिला मोरङ एफएसँगको भिडन्त पक्का गरेको छ ।

उपाधिका लागि भोलि मच्छिन्द्र र साङ्ग्रिलाबीच प्रतिस्पर्धा हुने छ । सशस्त्र प्रहरी बलको विभागीय टोली एपीएफलाई बुधबार सडनडेथमा पराजित गर्दै साङ्ग्रिला फाइनलमा पुगेको थियो ।

मच्छिन्द्रको जितमा आयुष घलान नायक बने । प्लेयर अफ दी म्याच बनेका उनले खेल प्रारम्भ भएको ९४ औँ मिनेटमा निर्णायक गोल गर्दै टिमको जित निश्चित गरेका हुन् । घलानले रु ११ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

गोल्डकप विजेता टोलीाई ट्रफीसहित रु ११ लाख र उपविजेतालाई रु पाँच लाख ५० हजार पुरस्कार प्रदान गरिने प्रतियोगिता आयोजक विराट गोल्डकप ट्रष्टले जनाएको छ ।

भारतको सहयोगमा खोटाङमा विद्यालय भवन निर्माण

0

काठमाडौँ:‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा रु. तीन करोड ६१ लाखको लागतमा खोटाङको रावाबेसी गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालयको विद्यालय एवं छात्रावास भवन निर्माण भएको छ ।

बिहीबार रावा बेसीमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, रावाबेसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठ र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

दुईतले विद्यालय र छात्रावास भवनका निम्ति आवश्यक फर्निचरको व्यवस्था पनि भारत सरकारले नै गरेको दूतावासले एक विज्ञप्ति निकालेर जनाएको छ । विद्यालय र छात्रावास भवन निर्माण परियोजना जिल्ला समन्वय समिति खोटाङसँगको समन्वयमा कार्यान्वयन गरिएको हो ।

सन् १९५२ मा स्थापना भएको शारदा माध्यमिक विद्यालयमा कक्षा १ देखि ‘प्लस टु’ तहसम्म अध्यापन हुँदैआएको छ । यो विद्यालयमा अध्ययनरत तीन सय ६५ जना विद्यार्थीमध्ये ५०% छात्रा छन् । सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५० वटाभन्दा बढी सामुदायिक विकास परियोजना सञ्चालन भएकामा चार सय ८८ वटा परियोजना सम्पन्न भइसकेका दूतावासले जनाएको छ । भारत सरकारको अनुदान सहयोगमा हाल कोशी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना सञ्चालन भइहेका छन् ।

उक्त कार्यक्रममा जनप्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक,शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति थियो ।
–––

मधेसको दुष्कीर्ति बालविवाह रोक्ने सामूहिक प्रतिबद्धता

0

महोत्तरी: देशका अन्य भागको तुलनमा मधेसको चुनौती बनेको बालविवाह र दहेजजस्ता सामाजिक विकृति अन्त्य गर्न सरोकारवालाहरुले सामूहिक रूपमा प्रतिबद्धता जनाएका छन् ।

बर्दिबासमा बिहीबार सम्पन्न ‘बालविवाह अन्त्यका लागि धार्मिक गुरुहरुको भूमिका’ विषयमा भएको छलफलका सहभागीले आआफ्ना ठाउँमा बाल विवाहलाई हुन नदिन नेतृत्वदायी भूमिका निर्वाह गर्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् । मधसी आयोग नेपालले प्लान इण्टरनेशनलसँगको सहकार्यमा भएको उक्त छलफलमा मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलसहितका सहभागीले प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

“हामी आफ्नो प्रयत्नबाट बालविवाह र दहेजजस्ता सामाजिक कुरीति अन्त्य गर्न सामूहिक प्रतिबद्धता व्यक्त गर्दछौं” प्रतिबद्धतापत्रमा भनिएको छ । प्रतिबद्धतापत्रमा सभामुख मण्डल, मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्त, सदस्य जीवछ साह, आयोगका सचिव वसन्त अधिकारी र कार्यक्रममा सहभागी हिन्दू, इस्लाम तथा बौद्धगुरु , सञ्चारकर्मी र सामाजिक अगुवाहरुले हस्ताक्षर गर्नुभएको छ ।

कार्यक्रममा सभामुख मण्डलले बालविवाह र दहेज अपराधमात्र नभएर मधेसको कलङ्क भएकाले यसलाई रोक्न समाजका सबै वर्गले अभियान नै सञ्चालन गर्नपर्ने बताउनुभयो । मुलुकको कानुनले २० वर्ष उमेर पूरा नभइ गरिने विवाह दण्डनीय अपराध भएको उल्लेख गरेपनि मधेसमा उमेर नपुगी विवाह गर्ने ७५ प्रतिशतभन्दा बढी देखिएको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क उद्धृत गर्दै सभामुख मण्डलले बताउनुभयो ।

मधेस प्रदेशका आठवटै जिल्लाका विभिन्न धर्म, सम्प्रदायका गुरु, मानवअधिकारकर्मी , सामाजिक अभियन्ता र सञ्चारकर्मीको सहभागितामा भएका कार्यक्रममा बालविवाह र दहेजले कैयन सामाजिक अपराध र पारिवारिक विग्रह बढाएको सहभागीले बताएका छन् । कार्यक्रममा इस्लाम धर्मगुरु रौतहटको गरुडाका इस्लाम धर्म परम्पराका मोल्वी (पुरोहित, शिक्षक) हदिस मियाँले पवित्र कुरानमा उमेर परिपक्व नभइ विवाह गर्न स्वीकृति नदिइएको बताउनुभयो । “उमेर यति नै भन्ने उल्लेख नभए पनि हाम्रो धर्मग्रन्थमा विवाहका लागि शारीरिक एवं मानसिक रुपमा यो सम्बन्ध बुझ्न सक्ने भएपछि नै गर्नपर्ने भनिन्छ” मियाँ भन्नुहुन्छ, “यो विषयमा मुलुकको कानुनले गरेको व्यवस्थाको पालनामा सबै धर्मज्ञहरुले जोड दिएका छन् ।” दहेजले नारी हत्या, भ्रुण हत्या र आर्थिक सङ्कटजस्ता घटना बढाएको वास्तविकता मियाँले सुनाउनुभयो ।

जानकी मन्दिरका महन्थ रामरोशन दास वैष्णवले रामायणकालमा मधेस नारी शक्तिको पूजक भएको उल्लेख गर्दै पछिपछि भने सामाजिक विकृति बढ्दै पितृसत्ता थोपरिदै जाँदा बालविवाह बढेको र त्यसले नारी बढी पीडित भएका बताउनुभयो । यो अवस्था अन्त्यका लागि मुलुकको कानुनले निर्दिष्ट गरेका विषयलाई राज्यका निकाय र सामाजिक सङ्घ संस्थाले सजाय र पुरस्कारको व्यवस्था कार्यान्वयनमा उहाँले जोड दिनुभयो ।

यसैगरी बौद्ध धर्मका जानकार कमला वाइबाले बालविवाह निर्मूल गर्न मुख्यतः राज्यका निकायको भूमिका प्रभावकारी हुनपर्ने बताउनुभयो ।

आयोगका अध्यक्ष डा. दत्त र सदस्य साहले आयोगले मधेसको दुष्कीर्ति बालविवाह रोक्न सरोकारवालाहरुसँग सहकार्य बढाउँदै सचेतना र कानुन कार्यान्वयनलाई केन्द्रमा राखेर काम गर्दै आएको बताउनुभयो ।

प्लान इण्टरनेशनलका कार्यक्रम अधिकृत काजल झाले मधेसमा बालविवाह र दहेजको अवस्थासम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।

विक्रम सम्वत् २०७८ को राष्ट्रिय जनगणनाले मधेसमा उमेर नपुगी विवाह गर्ने ७५ प्रतिशतभन्दा बढी देखाएको छ । राष्ट्रिय जनगणनामा प्रस्तुत तथ्याङ्कअनुसार १८ वर्षदेखि २० वर्ष पूरा हुनुअघि विवाह गर्ने ३९ दशमलव पाँच प्रतिशत छन् । यसमा ४२ प्रतिशत पुरुष र ३७ प्रतिशत महिला छन् । यसैगरी १५ देखि १७ वर्ष उमेर समूहका २७ दशमलव सात प्रतिशत, १० देखि १४ उमेर समूहका नौ दशमलव तीन प्रतिशत र १० वर्ष मुनिका शून्य दशमलव दुई प्रतिशत छन् ।
———

गायक राजेश पायल राईसहित तीन कलाकार पक्राउ

0

काठमाडौँ । लोकप्रिय गायक राजेश पायल राई सहित अन्य तीन कलाकार पक्राउ परेका छन्।
गए राति मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा गायक राजेशपायल राईसहित तीनजना कलाकारलाई अनामनगरबाट पक्राउ गरिएको हो।
मध्यरातमा मादक पदार्थ सेवन गरी होहल्ला मच्चेपछि छिमेकीले होहल्ला नगर्न अनुरोध गर्दा उल्टै धम्की दिएपछि प्रहरीलाई स्थानीयले खबर गरेका थिए।

उनीहरूलाई अहिले प्रहरी वृत्त परिसर बानेश्वरमा राखिएको छ ।

 

मकवानपुरमा सय साना सिँचाइ योजना सम्पन्न

0

मकवानपुर: कृषि उत्पादकत्व बढाउने उद्देश्यले मकवानपुरका विभिन्न भागमा सञ्चालित एकसय एक साना सिँचाइ योजना पूरा भएका छन् ।

बागमती प्रदेशको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले चालु आर्थिक वर्षमा एक सय ९१ वटा योजना पूरा गर्ने लक्ष्य रहेकामा गत फागुनसम्ममा एक सय एक योजना सम्पन्न भएका जनाएको छ । ती योजनामा रु १७ करोड ८९ लाख ४७ हजार ६७५ खर्च भएको बताइएको छ । एक सय ९१ योजनाका लागि रु ३८ करोड ९८ हजार विनियोजित रकममध्ये सम्पन्न भएका योजनामा रु १७ करोड ८९ लाख ४७ हजार ६५७ खर्च भएको छ ।

सम्पन्न योजनाअन्तर्गत नदी नियन्त्रणतर्फ चार वटा, सिँचाइसम्बन्धी ८० वटा, मझौला सिँचाइ योजना एक, तथा अन्य १५ वटा योजना सम्पन्न भएका छन् । योजनाअन्तर्गत चालु आवको हालसम्म पाँच हजार मिटर कुलो, सातवटा कल्भर्ट, दुई वटा पक्की सिँचाइ मुहान, तीनवटा सिँचाइ पुल निर्माण, एक सय २४ मि जाली निर्माण, तीन हजार एक सय ७६ जाली बाँध निर्माण, दुई हजार तीन सय ८० मिटर बाँध निर्माण, छ हजार चार सय ५० मिटर लामो पाइपबाट सिँचाइ कुलो निर्माण भएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख निर्मल दाहालले जानकारी दिनुभयो । पुरानो नहरको संरचना मर्मतबाट पाँच सय हेक्टर जमिन तथा थप नयाँ सिँचाइ योजनाबाट दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको तथा अन्य संरचनाको मर्मत र निर्माण भइरहेको छ ।

मकवानपुर जिल्लामा हालसम्म ६२ हजार १७ हेक्टर खेतीयोग्य जमिन भएपनि २० हजार हेक्टरमा मात्र सिँचाइ सुविधा पुगेको छ । चालु आवको अन्तिमसम्ममा पुराना तथा नयाँ सिँचाइ योजना सम्पन्न भएमा एक हजार ५० हेक्टर थप जमिन सिञ्चित हुने कार्यालयको जनाएको छ । बागमती प्रदेशको जलस्रोत तथा सिँचाइ विकास मन्त्रालयले दुई वर्ष अगाडि प्रदेशका १३ जिल्लामा खेतीयोग्य जमिन तथा त्यहाँ उपलब्ध सिँचाइ सुविधाबारे सर्वेक्षण गरेको थियो ।

इलामका महिलाद्वारा ‘सेनिटरी प्याड’ उत्पादन सुरु

0

इलाम: इलाम सदरमुकाममा सेनिटरी प्याड उत्पादन सुरु भएको छ । इलाम नगरपालिकाको आर्थिक सहयोगमा नारी शक्ति नेपालले सञ्चालन गरेको उद्योगबाट दैनिक तीन सय प्याकेट प्याड उत्पादन भइरहेको संस्थाकी सचिव खिनु बस्नेतले जानकारी दिनुभयो ।

उहाँले उद्योगमा महिलालाई रोजगारीको व्यवस्था गरिएको बताउँदै भन्नुभयो, “कूल रु २५ लाख लागत रहेको हाम्रो उद्योगलाई नगरपालिकाले तीन लाख २० हजार अनुदान दिएको छ । दश लाख ऋण लिएका छौँ । बाँकी सबै संस्थाको लगानी हो ।”

बुधबार एक औपचारिक कार्यक्रमका बीच नगरप्रमुख केदार थापाले उद्योगको उद्घाटन गर्नुभएको छ । महिलाका समस्या समाधानमा नगरपालिका गम्भीर रहेको बताउँदै नगरप्रमुख थापाले उद्योगले महिलालाई रोजगारीको अवसर सिर्जना गर्ने र यहाँको आवश्यकता यही उत्पादनले धान्ने विश्वास व्यक्त गर्नुभयो । “अहिलेकै उत्पादनले परिपूर्ति नहोला तर, उत्पादनमा वृद्धि गरेर ‘प्याड’मा इलामलाई आत्मनिर्भर बनाउने कुरामा सफलता मिल्छ भन्नेमा ढुक्क छु”, उहाँले भन्नुभयो, “महिलाले उद्योग सञ्चालन गरेको कुराले समाजमा सकारात्मक सन्देश प्रवाह भएकामा खुसी छु ।”

उक्त उद्योगले हाल ‘ब्रान्डिङ, प्याकेजिङ, लेवलिङ’को काम गरिरहेको संस्थाकी अध्यक्ष बबिता लिङदमले जानकारी दिनुभएको छ । उद्योगमा बजारको अवस्था हेरेर उत्पादनका सबै काम गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार उद्योगमा अहिले दुई जना महिला कार्यरत छन् । उद्घाटन कार्यक्रममा उपप्रमुख विष्णु दाहाल, वडाध्यक्षहरु नुतनदेव दुुलाल, नरेश श्रेष्ठ, गायत्रीराम बस्नेत, पत्रकार महासङ्घका अध्यक्ष विप्लव भट्टराई, औषधि व्यवसायी सङ्घका अध्यक्ष वासु घिमिरे, महिला सशक्तीकरणकी अध्यक्ष ज्योतिमाला प्रधानको उपस्थिति थियो ।
–––

विद्यार्थीलाई उत्प्रेरित गर्न पाँच लाखको अक्षयकोष स्थापना

0

खोटाङ: दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका दलसेर राई र उहाँकी श्रीमती चामकुमारी राईका छोराछोरीले जिल्लाको बाम्राङस्थित सुर्केडाँडा आधारभूत विद्यालयमा रु पाँच लाखको अक्षयकोष स्थापना गरेका छन् ।

राई दम्पतिका जेठा छोरा बेलायती सेनाका पूर्वमेजर मिलन राई, कान्छा छोरा रामचन्द्र राई र छोरीहरु अनुता राई, अविसरा राई, अन्जना राई र अम्बिका राईले आफ्ना बुबाआमाको सम्मानमा रु पाँच लाखको ‘दलसेर–चामकुमारी राई शैक्षिक अक्षयकोष’ स्थापना गर्नुभएको हो ।

अक्षयकोषमा जम्मा भएको रकमबाट प्राप्त हुने ब्याजले वार्षिकरुपमा एकजना उत्कृष्ट विद्यार्थी, सधै विद्यालयमा उपस्थित हुने विद्यार्थी र कक्षा–७ को वार्षिक परीक्षामा सबैभन्दा अधिक अङ्क ल्याउने विद्यार्थीलाई पुरस्कृत गर्नेगरी अक्षयकोष स्थापना भएको विद्यालयले जनाएको छ ।

बाम्राङमा जन्मिएर बेलायतलाई कर्मभूमि बनाउँदै आएका राई दम्पतिका सन्तानले अक्षयकोष सञ्चालनका लागि स्थानीय सहवीर राईको अध्यक्षतामा सात सदस्यीय सञ्चालक समिति गठन गरिएको जानकारी दिनु भएको छ । समितिको उपाध्यक्षमा जमानसेर राई, सचिवमा प्रदीप राई, सहसचिवमा सीता खत्री, कोषाध्यक्षमा सोही विद्यालयका प्रधानाध्यापक विमला सुन्दास तथा सदस्यहरुमा प्रेमचन्द्र थापा र राजबहादुर पाण्डे हुनुहुन्छ ।

कक्षा–८ सम्म अध्ययन–अध्यापन हुँदै आएको उक्त विद्यालयमा दलसेर राई दुई कार्यकाल विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनुभएको थियो ।

बिसे नगर्ची राष्ट्रिय सम्मान प्रदान

0

झापा: ‘बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८०’ बाट पाँच जनालाई सम्मान गरिएको छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार बिसे नगर्चीको योगदानलाई स्मरण गर्दै रु.५१ हजार नगदसहित उनीहरुलाई सम्मान गरिएको हो ।

बिर्तामोडमा बुधबार गोर्खा फाउण्डेसनद्वारा आयोजित कार्यक्रममा राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेतले वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे, नायक राजेश हमाल, प्रमुख जिल्ला अधिकारी सीता परियार, सहकारी अभियन्ता महेन्द्र गिरी र भुवनसिंह विश्वकर्मालाई नगदसहित सम्मानपत्र प्रदान गर्नुभयो ।

देशको सबैभन्दा ठूलो सहकारीको नेतृत्व गर्नुभएका गिरीले कोभिड महामारीका बेला स्थानीयस्तरमा गर्नुभएको योगदान, अभिनेता हमालले एक सय ७० भन्दा बढी चलचित्रमा अभिनय गरेर कला, संस्कृति प्रवद्र्धनका निम्ति निर्वाह गर्नुभएको भूमिका, भारतमा जन्मेर स्तरीय नेपाली सिनेमा निर्देशन गरी दर्शकको मन जित्न सफल घिमिरेको कामको कदर गर्दै सम्मान गरिएको फाउण्डेसनका अध्यक्ष बिरु दर्नालले बताउनुभयो ।

अन्टार्टिकामा पहिलो पाइला राख्ने नेपालका ७१ वर्षीय विश्वकर्मा र दलित समुदायबाट पहिलो महिला प्रमुख जिल्ला अधिकारी बन्नुभएकी परियारलाई राष्ट्रले सम्मान गर्नुपर्नेमा जोड दिँदै उहाँले राष्ट्रिय परिचय बनाएका व्यक्तिको आदर गर्नु सबैको कर्तव्य हो भन्नुभयो ।