Monday, May 11, 2026
Home Blog Page 836

आफ्नी पत्नीविरुद्ध अनुसन्धान सुरु भएपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम बन्द गरे

0

काठमाडौं । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आफ्नी पत्नी विरुद्धको अदालतले प्रारम्भिक अनुसन्धान सुरु गरेपछि आफ्नो सार्वजनिक काम रोकेका छन् । यस अवधिमा उनले पदमा निरन्तरता दिने कि छोड्ने भन्ने बारे विचार गर्नेछन्।

प्रधानमन्त्री पेड्रो सान्चेजले एक विज्ञप्तिमा भनेका छन्, “मैले सरकारको नेतृत्व गरिरहने वा यो सम्मानित पद छाड्ने भन्ने निर्णय गर्न आवश्यक छ।”

अदालतले बेगोना गोमेज विरुद्ध भ्रष्टाचारको आरोपमा कारबाही गरिरहेको बताएको छ। प्रधानमन्त्री सान्चेजले आफ्नी श्रीमतीले अदालतमा आफ्नो सम्मान र आफ्नो कामको रक्षा गर्ने बताएका छन् ।

बेगोना गोमेज विरुद्ध भ्रष्टाचार विरोधी अभियानकर्ता मानोस लिम्पियासले उजुरी गरेका थिए, जसले हालैका वर्षहरूमा धेरै उच्च प्रोफाइल अदालत मुद्दाहरूमा भाग लिएका थिए।

स्पेनका प्रधानमन्त्रीले आफुले आफ्नो भविष्यको निर्णय मे २९ मा सञ्चारमाध्यममा प्रस्तुत गर्ने बताएका छन् ।

ट्विटरमा पोस्ट गरिएको लामो कथनमा, सान्चेजले गुनासो गरे कि उनी र उनकी श्रीमतीलाई राजनीतिक र व्यक्तिगत रूपमा कमजोर पार्ने उद्देश्यले महिनौंसम्म “उत्पीडनका रणनीति” को शिकार बनाइएको थियो।

अदालतले बेगोना गोमेजमाथि लगाइएको आरोपबारे विस्तृत जानकारी दिएको छैन।

तान्जानियामा मुसलधारे वर्षा, १५५ व्यक्तिको मृत्यु, २३६ जना घाइते

0

डोडोमा, तान्जानिया। तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ।

वर्षाका कारण १५५ जनाको मृत्यु भएको छ भने अन्य २३६ जना घाइते भएको प्रधानमन्त्री कासिम मजालिवाले बिहीबार संसदलाई जानकारी गराएका हुन्।

तान्जानियाको मुख्य भूमिको २६ इलाकामध्ये १४ इलाकामा आकस्मिक बाढी आएको छ, जसका कारण दुई लाख मानिस प्रभावित भएका छन् भने १० हजार घरमा क्षति पुगेको मजालिवाले सदन समक्ष जानकारी गराए।

बाढीका कारण विद्यालयका पूर्वाधार, कृषिबाली, सडक, पुल, स्वास्थ्य संस्था र पशुचौपायामा क्षति पुगेको उनले बताए।

मजालिवाका अनुसार बाढीबाट अति प्रभावित क्षेत्रका विद्यालय बन्द गर्न आदेश दिने जस्ता थप विपत्तिपूर्ण अवस्था आउन नदिन सरकारले कदम चालेको छ। ‘तान्जानिया राष्ट्रिय सडक सञ्जाल, तान्जानिया ग्रामीण र शहरी सडक निकाय, र तान्जानिया रेलवे कर्पोरेसनलाई क्षतिग्रस्त सडकहरू र रेलवेहरूको तत्काल जीर्णोद्धारको लागि मूल्यांकन गर्न आदेश दिइएको छ,’ उनले भने।

तान्जानियाको मौसम विज्ञान प्राधिकरणका अनुसार अल–निनोको अवस्थाबाट प्रभावित भारी वर्षा मे महिनासम्म रहने अनुमान गरिएको छ।

मन्त्रिपरिषद बैठकः सहकारीका समस्या समाधानमा तत्काल प्रक्रिया सुरु गर्ने निर्णय

0

काठमाडौं। सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आवश्यक कानूनको व्यवस्था गरि सहकारीका कारण बचतकर्ताले भोग्नुपरेको समस्या समाधानका लागि प्रक्रिया तत्काल सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

त्यस्तै बैठकले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई अदालतका कामकाजसमेत हेर्ने गरि काठमाडौं उपत्यका प्राधिकरणको पुरावेदन समितिको अध्यक्ष तोक्ने निर्णय गरेको छ। त्यसैगरि देशभरका विभिन्न स्थानमा भइरहेको आगलागीको क्षति न्यूनिकरण गर्न र तत्काल आगलागी नियन्त्रण गर्न लागि सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन्।

बैठकमा लगानी सम्मेनलका विषयमा छलफल भएको भन्दै विदेशबाट देखिएको उत्साहलाई लगानीमा बदल्न सक्ने गरि सम्भावनाको खोजी गर्नुपर्ने प्रवक्ता शर्माले बताइन्।

उनले लगानी सम्मेलनको तयारी तीव्र रुपमा भइरहेको समेत जानकारी दिइन्।

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्चको अस्वीकार

0

काठमाडौं। सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ ।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अघिल्ला दुई तहका अदालतले गरेको आदेश सदर गरेको हो। योसँगै रायमाझी हिरासतमै रहने भएका छन्।

त्यस्तै सर्वोच्चले हज समितिका अध्यक्ष शमशेर मियाँलाई साधारण तारेखमा राख्न आदेश दिएको छ। उनले उच्च अदालतले लिएको १० लाख धरौटी बदर गर्न माग गरेका थिए।

पूर्व सभासद् आङटावा शेर्पासँग धरौटी माग गर्ने आदेश दिएको छ । शेर्पालाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। इजलासले पूर्वउपप्रधानमन्त्री रायमाझी, मुख्य बिचौलिया केशवप्रसाद दुलाल, सन्देश शर्मा र सानु भण्डारीसहित ७ जनालाई भने थुनामुक्त गर्न अस्वीकार गरेको छ।

मुख्यमन्त्री कँडेललाई विश्वासको मत

0

कर्णाली: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गर्नुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको आज बसेको १०औँ बैठकमा उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो ।

कुल ४० प्रदेशसभा सदस्य रहेको कर्णालीमा ३५ सदस्य उपस्थित हुनुहुन्थ्यो । उपस्थित २३ प्रदेशसभा सदस्यले मुख्यमन्त्री कँडेलको पक्षमा मतदान गर्नुभएको थियो । यस्तै १२ प्रदेशसभा सदस्यले उहाँको विपक्षमा मतदान गर्नुभएको थियो । एक सदस्य तटस्थ रहनुभयो ।

मुख्यमन्त्री कँडेलले विश्वासको मत प्राप्त गर्न सभासमक्ष राख्नुभएको प्रस्तावको पक्षमा जम्मा २३ मत परेको र उक्त सङ्ख्या प्रदेशभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमत भएकाले सभामुख नन्दा गुरुङले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम राख्नुभएको प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभयो ।

हाल कर्णाली प्रदेशसभामा नेपाली काँग्रेसका १४, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एमाले) का १० तथा नेकपा (एकीकृत समाजवादी), राप्रपा र स्वतन्त्र एक एक गरी ४० सदस्य रहेका छन् ।प्रदेशसभाको अर्को बैठक यही वैशाख १७ गते दिउसो ३ः०० बजे बस्नेछ ।

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ :प्रधानमन्त्री

0

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक रूपान्तरणका क्षेत्र पहिचान गरिएको बताउनुभएको छ । उहाँले आगामी आर्थिक वर्षदेखि लागूहुनेगरी १३ वटा रूपान्तरणका क्षेत्र पहिचान गरिएको जानकारी दिनुभयो ।

राष्ट्रिय विकास परिषद् बैठकको समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले परम्परागत शैलीको निरन्तरताबाट राष्ट्रिय विकासको लक्ष्य हासिल हुननसक्ने भएकाले रचनात्मक रूपान्तरण आवश्यक परेको बताउनुभएको हो ।

“सोह्रौँ योजनाको दस्तावेजले नेपालको विकास प्रक्रियामा देखिएका मूलभूत सवाल तथा चुनौतीहरू स्पष्टरूपमा पहिचान गरेको छ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “योजनाले पहिचान गरेका मूलभूत सवाल तथा चुनौतीहरूलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत् क्रमशः सम्बोधन गर्नेगरी काम गर्नुपर्छ।”

परम्परावादी कार्यहरूमा गरिने सामान्य सुधार र कार्यान्वयनको पुरानै परिपाटीको निरन्तरताबाट राष्ट्रिय विकासका लक्ष्य हासिल गर्न नसकिने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,“आवधिक योजनाले रूपान्तरणका क्षेत्रमा तय गरेका प्रमुख कार्यक्रमहरू कार्यान्वयन हुनुपर्छ । अनिमात्र ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ को सोच पूरा गर्न सकिन्छ ।”

सोह्रौँ योजनाले अर्थतन्त्रको वर्तमान अवस्थाको वास्तविक चित्रणसहित भावी कार्यदिशा र सोको कार्यान्वयनका लागि आवश्यकपर्ने रणनीति तय गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले योजनाअन्तर्गतका कार्यक्रम कार्यान्वयनका लागि आवश्यक स्रोत–साधनको यथार्थ अनुमान पनि समावेश गरिएको उल्लेख गर्नुभयो । उहाँले योजनाको सफल कार्यान्वयनका लागि समग्र सोच र उद्देश्यमा आधारित विषय, क्षेत्रगत सवाल, रूपान्तरणका रणनीति तथा प्रमुख कार्यक्रम तय गरिएको बताउनुभयो ।

“योजनामा उल्लेख भएका रणनीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सबैको सामूहिक जिम्मेवारी र उत्तरदायित्व रहन्छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सरकारले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमदेखि नै क्रमिक रूपमा त्यस्ता कार्यक्रमलाई समाहित गरी कार्यान्वयनमा ल्याउने छ ।” उहाँले सातै प्रदेश तथा स्थानीय सरकार, निजी क्षेत्र, सहकारी क्षेत्रलगायत विकासका सबै साझेदार निकायहरूले पनि आ–आफ्नो तहबाट सोह्रौं योजना कार्यान्वयन पक्षलाई विशेष जोड दिने आफूले विश्वास लिएको बताउनुभयो ।

योजनाले लिएको लक्ष्यप्राप्तिका लागि प्रारम्भिक चरणमा अधिक स्रोतसाधन र पुँजीगत लगानीको आवश्यकतापर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “सङ्घ, प्रदेश र स्थानीय सरकारबाट प्रभावकारीरूपमा आन्तरिक स्रोत परिचालन गर्नुपर्छ । साथै वित्तीय अनुशासन कायम गर्दै उपलब्ध स्रोत–साधनको अधिकतम् सदुपयोग गर्नुपर्ने देखिन्छ ।” उहाँले लगानी परिचालनका लागि सार्वजनिक क्षेत्रको साथै निजी, सहकारी तथा गैरसरकारी क्षेत्र, सार्वजनिक–निजी साझेदारी र वैदेशिक सहायता तथा वैदेशिक लगानीलाई जोड दिनुपर्ने बताउनुभयो ।

आवधिक योजना, नीति तथा कार्यक्रम र बजेटका बीचको सामन्जस्यताले मात्र अपेक्षित उपलब्धि हासिल गर्न सकिने बताउँदै उहाँले तीनै तहका सरकारका कार्यक्रमहरूमा एकरूपता कायम गरी कार्यान्यवनमा प्रभावकारिता र कार्यकुशलता अभिवृद्धि गर्न सबै क्षेत्रको सहयोग, सहकार्य र साझेदारी रहने विश्वास व्यक्त गर्नुभयो ।

ओलाङ्चुङगोला पुग्न सहज

0

फुङ्लिङ (ताप्लेजुङ): ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको ओलाङचुङगोला पुग्न सकिने भएको छ । सडकको पहँुच पुगेसँगै ओलाङचुङ्गोला पुग्न सहज भएको हो ।

ओलाङ्चुङगोलाान सडक पुगेसँगै स्थानीय खुसी भएका छन् । विगत वर्षमा सदरमुकाम फुङ्लिङबाट तीन दिन यात्रा गरेपछि मात्र ओलाङ्चुङगोला पुग्न सकिन्थ्यो । विस्तारै तमोर करिडोर सडकको ट्रयाक खुलाउने कार्यसँगै ओलाङ्चुङगोला पुग्न सहज हुँदै गएको थियो । केही समयअघिसम्म इलाडाँडासम्म यातायात पुग्ने गर्दथ्यो । इलाडाँडाबाट पैदालमार्ग हँुदै एक दिनमा ओलाङ्चुङगोला पुग्ने गरिन्थ्यो । अहिले भने गाडी ओलाङ्चुङगोलासम्म नै पुग्ने गरेको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाका वडाध्यक्ष छेतेन लामाले बताउनुभयो । लामाका अनुसार ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट करिब सात घण्टामा ओलाङ्चुङगोला पुग्न सकिने बताउनुभयो ।

ओलाङ्चुगोला क्षेत्र हुँदै टिप्ताला नाका क्षेत्र, पर्यटकीय क्षेत्र सिङ्जेमा ताल क्षेत्रमा भ्रमण गर्न आउने पर्यटकलाई सहज भएको पर्यटन व्यवसायीको भनाइ छ । ओलाङ्चुङगोला हुँदै ग्रेट हिमालयन ट्रेल पदमार्गमा पदयात्रा गर्न निस्कनेका लागि समेत सहज भएको छ ।

तमोर करिडोरले ओलाङ्चुङगोला हुँदै छिमेकी देश चीनलाई जोडेको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित लेलेप–ओलाङ्चुङगोला खण्डमा बाँकी रहेको ट्रयाक निर्माणको काम सम्पन्न भएसँगै तमोर करिडोरले ओलाङ्चुङगोला हुँदै चीनलाई जोडेको हो । तमोर करिडोर नेपालसँग छिमेकी देश चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो दूरी भएको सडकका रूपमा लिने गरिएको छ । तमोर करिडोरको सदरमुकाम फुङ्लिङ–ओलाङ्चुङगोला खण्डमा २०७४ फागुनदेखि ट्रयाक निर्माण सुरु भएको थियो । कोरोना महामारी र सामान्य रूपमा अन्य अवरोधका कारण ट्रयाक निर्माण सुरु भएको छ वर्षपछि मात्र काम सम्पन्न भएको हो ।

निर्माण कम्पनी एलाइट जेभी कम्पनीका आयोजना सम्पर्क अधिकृत राजीव लामिछानेका अनुसार बाँकी रहेको ट्रयाक निर्माण सम्पन्न भएसँगै चीनको स्वशासित क्षेत्र तिब्बत–नेपाल सिमाना टिप्तालालाई सडकले जोडेको छ । उहाँका अनुसार लेलेप र तापेथोकको सिमाना रानीपुलबाट ओलाङ्चुङगोलातर्फ ३७ किलोमिटर दूरी बराबर ट्रयाक निर्माण गर्ने जिम्मा एलाइट जेभी कम्पनीले पाएको थियो । उत्तर–दक्षिण (सुभाङखोला–मूलघाट–दोभान–ओलाङ्चुङगोला) सडक योजना कार्यालयमार्फत ट्रयाक निर्माण भइरहेको छ । ओलाङ्चुङगोलाबाट टिप्तालानाकासम्म ट्रयाक जोडिए पनि पहिले निर्माण भएको टिपतालासम्मको करिब २४ किलोमिटर दूरीभित्र सडक सरसफाइ, मर्मत तथा पुनःनिर्माणको काम गर्नुपर्ने भएकाले यातायात सञ्चालन हुने अवस्था नरहेको हो । टिप्तालाबाट ओलाङ्चुङगोला हुँदै जङ्गिन नजिकसम्म स्थानीयवासीले रकम सङ्कलन गरी ट्रयाक निर्माण गरेका थिए । ओलाङ्चुङगोला बस्ती, मौवाटार–टिप्तालासम्म सडक मर्मत तथा पुनःनिर्माण गर्न करिब दुई महिना लाग्ने निर्माण कम्पनीले जनाएको छ ।

ओलाङ्चुगोलाबाट टिप्तालासम्म भने ट्रयाक मर्मतका साथै पुनःनिर्माणको काम सम्पन्न भएपछि हिउँद मौसमभर यातायात सञ्चालन हुनसक्ने बताइएको छ । वर्षात्का समयमा भने तमोर नदीसहित दर्जनौँ अन्य साना–ठूला खोलामा पुल आवश्यक पर्ने भएकाले मोटर गुड्ने पुल निर्माण नभएसम्म यातायात सञ्चालन नहुने सडक योजनाले जनाएको छ ।

नेपाल, भारत र चीन जोड्ने सडक भएकाले तमोर करिडोरलाई त्रिदेशीय सडकमार्ग पनि भन्ने गरिएको छ । भारतसँगको सिमाना विराटनगरको रानीबाट धनकुटा मूलघाट हुँदै पाँचथरको सुभाङखोला–अमरपुर, ताप्लेजुङको फुङ्लिङ–ओलाङ्चुङगोला–टिपतालासम्म सडकको दूरी दुई सय ९९ किलोमिटर रहेको बताइएको छ ।

करिडोर सडकअन्तर्गत रानीदेखि मूलघाटसम्म कालोपत्र भइसकेको र मूलघाटबाट सुभाङखोलासम्म कालोपत्र गर्ने क्रम जारी रहेको छ । बाँकी सडकमा पनि स्तरोन्नति र स्तरवृद्धिको काम निरन्तर अघि बढ्ने उत्तर–दक्षिण (सुभाङखोला–मूलघाट–दोभान–ओलाङ्चुङगोला) सडक योजनाले जनाएको छ ।

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नपर्छः राष्ट्रपति

0
काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा जोड दिनुभएको छ । प्राकृतिक स्रोतमा धनी रहेको नेपालले द्रुत ऊर्जा विकासमार्फत समृद्धि हासिल गर्न सक्ने प्रवल सम्भावना रहको उल्लेख गर्दै यस्तो बताउनुभएको हो ।
‘नेपालको समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आज यहाँ सुरु हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपाल सरकारको सहजीकरण र समन्वय अनि निजी क्षेत्रको लगानीबाट यो सम्भव रहेको पनि बताउनुभयो ।
“राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ, यसका लागि नेपाल सरकारले ऐन, कानुन, नीति–नियमहरूमा सहजीकरण गर्नुपर्छ भने निजी क्षेत्रले मुलुकको हित र समृद्धिलाई सर्वोपरी मानेर लगानीलाई बढाउँदै जानुपर्छ भन्ने मलाई लाग्छ”, उहाँले भन्नुभयो ।
राष्ट्रपति पौडेलले सङ्घीयतासँगै नेपाल लोकतन्त्रको उच्च अभ्याससहित राजनीतिक स्थिरतातर्फ लम्किरहेको र यसले स्वदेशी तथा विदेशी लगानी आकर्षण बढ्दै जाने अवस्था सिर्जना हुँदैछ भन्दै सङ्घीयतापछि मुलुकले उन्नति र समृद्धि खोजेको स्पष्ट पार्नुभयो ।
“नेपालको आर्थिक समृद्धिको लागि नेपाल सरकारले मुख्य आधारको रुपमा ऊर्जा क्षेत्रलाई लिएर यसलाई विशेष प्राथमिकता दिँदै आएको छ, यसकै फलस्वरुप कुनै बेला ठूलो ऊर्जा सङ्कट भोगेको नेपालमा बढ्दो ऊर्जा उत्पादनले राष्ट्रको ऊर्जा सुरक्षालाई मजबूद बनाउँदै लगेको छ, नेपाल ऊर्जामा आयातित गर्ने राष्ट्रबाट निर्यात गर्ने राष्ट्रको रुपमा परिणत हुँदैछ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
यसले विगतमा रहेको परनिर्भरताको अवस्थालाई अन्त्य गरेर बिजुली व्यापारमार्फत नेपालको आर्थिक क्षेत्रमा सकारात्मक भूमिका निर्वाह गरिरहेको भन्ने आफूलाई लागेको बताउँदै उहाँले नेपाल छिमेकी राष्ट्रहरूका क्षेत्रीय बजारमा स्वच्छ र हरित ऊर्जा निर्यातमार्फत नवीकरणीय ऊर्जाको उपयोग अभिवृद्धिका लागि योगदान दिने सक्ने अवस्थामा पुग्नु सन्तोषको विषय भएको धारणा व्यक्त गर्नुभयो ।
“यसमा नेपाल सरकारसँगै नेपालको निजी क्षेत्रको योगदान पनि महत्वपूर्ण छ भन्ने मलाई लाग्छ, उत्पादन र निर्यात बढ्दो छ, यो हाम्रा लागि खुसीको विषय हो । नेपाल सरकार र निजी क्षेत्रको सहकार्य, समन्वय र साझेदारीकै कारण नेपाललाई यो सफलता प्राप्त भएको भन्ने पनि मलाई लाग्छ”, उहाँले भन्नुभयो ।
उहाँले विशेष गरी बहुदलीय प्रजातन्त्रपछि निजी क्षेत्रलाई ऊर्जाको लगानी र निर्माणमा संलग्न गराएसँगै यस्तो अवस्था सिर्जना भएको बताउनुभयो । नेपाल सरकारले बिजुली छिमेकी राष्ट्र भारतमा निर्यात गर्ने गरी सम्झौता गरिसकेको र विसं २०८५ भित्र १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको सन्दर्भ उल्लेख गर्दै उहाँले यसमा पनि नेपाल सरकार र निजी क्षेत्र दुवैको उत्तिकै दायित्व र जिम्मेवारी छ भन्नुभयो ।
“लक्ष्य प्राप्तिका लागि लगानी मैत्री वातावरणको आवश्यकता छ, नेपाल सरकार यस्तो वातावरण निर्माणका लागि निरन्तर क्रियाशील रहोस् भन्ने सुझाव दिन चाहन्छु”, उहाँले भन्नुभयो ।
राष्ट्रपति पौडेलले स्वदेशी तथा विदेशी लगानीकर्तालाई बिना झन्झट उत्साहका साथ लगानीको वातावरण निर्माण गर्नु नेपाल सरकारको पनि दायित्व भएको र यसले निजी क्षेत्रको उत्साह वृद्धि भई मुलुकको समग्र अर्थतन्त्रमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल सरकारले गर्न लागेको लगानी सम्मेलनको पूर्व सन्ध्यामा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट मेनेजमेन्ट सर्भिसेज प्रालिले हिमालयन हाइड्रो एक्स्पो आयोजना गर्नु सह्रानीय रहेको उहाँको भनाइ थियो ।
“यसले ऊर्जा विकासमा सहभागी सबै सरोकारवालाहरूलाई एउटै थलोमा ल्याएर एकापसमा ऊर्जा विकासमा अघि बढ्न प्रेरित गर्दछ भने सामूहिक सहकार्य र हातेमालो गर्न अवसरको पनि सिर्जना गर्नेछ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
राष्ट्रपतिले हरित ऊर्जा विकासमा स्वदेशी र विदेशी सबै लगानीकर्ता एकजुट भएर अघि बढ्न आह्वान गर्नुभएको छ ।
त्यसअवसरमा ऊर्जा जलस्रोत तथा सिचाइ मन्त्री शक्तिबहादुर बस्नेतले जलविद्युत् विकासको प्रचुर सम्भावना रहेको नेपालको उन्नतीको महत्वपूर्ण आधार रहेको बताउनुभयो ।
“आगामी १२ वर्षभित्र २८ हजार सात सय मेगावाट विद्युत् उत्पादन गर्ने कार्ययोजना सरकारले ल्याएको छ । यो महत्वाकाक्षीजस्तो देखिए पनि यथार्थ र आवश्यकतामा आधारित भएर गरिएको हो”, उहाँले भन्नुभयो ।
लगानीका लागि देशभित्रको स्रोतको उपयोग गर्दै  वैदेशिक लगानी ल्याउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।  अहिले संसदमा दर्ता भइ दफाबार छलफलमा रहेको विद्युत् विधेयक चाँडोभन्दा चााडो पारित भइ कार्यान्वयनमा आउने उल्लेख गर्नुभयो । जलविद्युत् परियोजना विकासका लागि नयाँ विद्युत् ऐनले सहजीकरण गर्ने र लगानी अझ बढेर जाने विश्वास व्यक्त गर्नुभयो ।
“परियोजनाका लागि जग्गा प्राप्ति, वन र अन्य प्रक्रियागत विषयमा पनि सरकारले अझ सहजीकरण गर्दै जानेछ”, मन्त्री बस्नेतले भन्नुभयो । अहिले जलविद्युत् परियोजना निर्माणसँगै वातावरण र जलवायुको मुद्धासमेत पेचिलो बन्दै गएको उहाँको भनाइ थियो । यस एक्स्पोले आसन्न लगानी सम्मेलनको लागि समेत टेवा पुग्ने बताउनुभयो ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले रु १३ खर्ब जलविद्युत् आयोजनामा लगानी भइसकेको बताउनुभयो । “आर्थिक वृद्धि र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेलिरहेको र दक्ष, अर्धदक्ष र अदक्ष गरी पाँच लाखभन्दा धेरै नागरिकले रोजगारी पाइरहेका छन्”, उहाँले भन्नुभयो ।
उहाँले पछिल्लो समयमा विद्युत् निर्यातमार्फत विदेशी मुद्रा आर्जन गर्नमा सफल भएको र यसलाई अझ वृद्धि हुदै जाने विश्वास व्यक्त गर्नुभयो ।  सरकारले राखेको २८ हजार सात सय मेगावाट विद्युत् उत्पादनका लागि वन,जग्गालगायतका विषयमा सहजीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले  विदेशी लगानी वृद्धि गर्नका लागि नीतिगत सुधार र प्रक्रियागत झमेलालाई सहज बनाउँदै लैजान सरकारसँग आग्रह गर्नुभएको छ । जलविद्युत परियोजना विकाससँग स्थानीय विकासमा महत्वपूर्ण सहयोग पुगिरहेको छ । आयोजाना प्रवर्द्धकले स्थानीय सडक, खानेपानी, स्वास्थ्य चौकी, खेलमैदानलगायतका पूर्वाधारमा निर्माणमा योगदान पु¥याएको उहाँको भनाइ छ ।
नेपालका लागि क्यानाडाका राजदूत क्यामरुन म्याकीले भिडियो सन्देशमार्फत नेपालको समृद्धिका लागि जलविद्युतको विकास महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । “नेपालमा जलविद्युत् परियोजना विकासका लागि क्यानाडासँग रहेको सीप ज्ञान र अनुभव उपयोगी हुने विश्वास छ”, उहाँले भन्नुभयो ।
इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले विद्युत् निर्यातभन्दा पनि देशभित्रै खपत वृद्धि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । यसका लागि  सरकार, निजी क्षेत्र अन्य सरोकारवालाको भूमिका महत्वपूर्ण हुने उहाँले उल्लेख गर्नुभयो । एक्स्पो शुक्रबार सम्पन्न हुनेछ ।

जुम्लाका बगैँचामा स्याउ फुल लाग्याे

0

जुम्ला: यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् । स्याउका बोटमा फूल लाग्न थालेपछि बगैँचो सेताम्मे भएका हुन् । कर्णाली राजमार्गमा रहेका स्याउका बगैँचा फूलले सेताम्मे भएपछि आन्तरिक पर्यटनका लागि फोटो तथा भिडियो खिच्ने र थकाइ मार्ने थलो बनेका छन् ।

तिला गाउँपालिका–१ का स्याउ किसान महेन्द्र बुढाले स्याउ बगैँचा फूलेर सेताम्मे भएपछि आकर्षक देखिएको बताउनुभयो । स्याउका बोटमा राम्रोसँग फूल लागेपछि उत्पादन पनि राम्रो हुने अपेक्षा गरिएको उहाँको भनाइ छ ।

जिल्लैभरका स्याउका बगैँचा सेताम्मे भएपछि यहाँको वातावरण रोमाञ्चक देखिएको छ । चैत–वैशाख स्याउका बोटमा फुल लाग्ने याम हो । यो स्याउ भदौसम्म पाकिसक्छ ।

तिला–१ स्थित रारामा रहेको पातिहल्ला स्याउ बगैँचा समूहका सचिव गोरीकला बुढाले बगैँचालाई आवश्यक मलको उचित प्रयोगदेखि सिँचाइ व्यवस्थापनमा किसान लागेको बताउनुभयो । सामूहिकरूपमा स्याउ बगैँचा गर्दा सम्बन्धित निकायबाट अनुदान लिन सहज भएको उहाँको भनाइ छ ।

पातिहल्ला स्याउ बगैँचामा करिब चार हजार स्याउका बिरुवा छन् । अहिलेसम्म दुई हजार बिरुवाले फल दिन थालिसकेका छन् भने एक वर्षभित्र सबै बिरुवाले फल दिने समूहका सचिव रावतको भनाइ छ । जुम्लाका विभिन्न पालिकाका ६० वटै वडामा स्याउ फल्ने गरेको छ ।

माघदेखि स्याउ बिरुवाको रेखदेख, मलखाद व्यवस्थापनलगायतका काममा किसानलाई चटारो छ । स्याउका बिरुवा फुलेपछि बगैँचामा अधिकांश किसान सिँचाइ व्यवस्थापनमा लागेका छन् । स्याउ फुलेकाले यसवर्ष लटरम्म फल्ने आशा जुम्ली किसानको छ ।

जिल्लाका १८ हजार घरधुरीमध्ये करिब १६ हजार घरधुरी स्याउखेतीमा संलग्न छन् । कृषि विकास कार्यालयका अनुसार अहिले चार हजार दुई सय ५० हेक्टर जमिनमा स्याउखेती भइरहेको छ । कार्यालयका सूचना अधिकारी शेरबहादुर भण्डारीले जानकारी जुम्लामा गोल्डेन, रेड, रोयल, जोनाथान र ओरेन्ज टिपिन, म्याकन्जलगायत जातका स्याउ उत्पादन हुने गरेको बताउनुभयो ।

 

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ

0

काठमाडौँ: वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१ लाख २० हजार ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी ईनरुवा नगरपालिका–३ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका–११ नैकाप बस्ने ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ र बागलुङ काठेखोला गाउँपालिका–५ घर भई काठमाडौँ महानगरपालिका–१६ वनस्थली बस्ने २७ वर्षीय विवेक कँडेल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेकामध्ये सत्यन्द्रले क्यानडा पठाइदिने भन्दै पीडितबाट रु ३८ लाख २० हजार ठगी गरेको र विवेकले माल्टा पठाइदिने भन्दै तीन जना पीडितबाट रु तीन लाख ठगी गरेको खुल्न आएकाले सत्येन्द्रलाई अनामनगर र विवेकलाई बागबजारबाट पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रवक्ता रेग्मीले बताउनुभयो ।