Monday, May 11, 2026
Home Blog Page 834

शान्तिपूर्ण रूपमा सकियो इलाम–२ मा मतदान

0

फिक्कल। इलाम क्षेत्र नं २ मा आज सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान शान्तिपूर्ण रूपमा सकिएको छ। उपनिर्वाचन शान्तिपूर्ण, उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट हुने क्रम जारी छ। हालसम्मको प्रारम्भिक विवरणअनुसार समग्रमा ५७ प्रतिशत मत खसेको प्रजिअ यादवले जानकारी दिए।

अहिले मतपेटिका गणनास्थलमा आउन सुरु भइसकेको छ । सबै क्षेत्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको उनले बताए। यहाँ एक लाख १५ हजार आठ सय ८९ मतादाता थिए। विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाममा ५७ दशमलव ४४ प्रतिशत मतदान भएको थियो।

मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट आज साँझदेखि नै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी हुनेछ। सबै क्षेत्रबाट राति १० बजेभित्र मतपेटिका ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइएको प्रजिअ यादवले बताए।

मतपेटिका मतगणनास्थलमा ल्याइसकेपछि राजनीतिक दल तथा उम्मेदवार सर्वपक्षीय सहमतिपछि मतगणना प्रारम्भ गरिनेछ। ‘राति १० बजेभित्र मतपेटिका सङ्कलन गरिसक्ने योजना बनाएका छौँ, मतपेटिका संकलन गरिसकेपछि सर्वपक्षीय बैठक बस्छौँ’, उनले भने, ‘सो बैठकमा सहमति भएमा तत्काल मतगणना पनि सुरु गर्नेछौँ।’ मतगणना इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सभागृह (सिटीहल)मा हुनेछ।

विसं २०७९ मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो। उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा छन्।

गत निर्वाचनमा नेम्वाङले कांग्रेसका डम्बरबहादुर खड्कालाई एक सय १४ मतको झिनो अन्तरले पराजित गरेका थिए। एमाले र कांग्रेसजस्ता ठूला र अनुभवी दलसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता भर्खर जन्मिएका दलका उम्मेदवार पनि प्रतिस्पर्धामा छन्।

यो क्षेत्रमा पहिचानवादी मुद्दा पेचिलो छ। पहिचानवादी पक्षका स्वतन्त्र उम्मेदवारसमेतको प्रतिस्पर्धाले चुनाव थप रोचक बनेको छ। इलामको उपनिर्वाचनलाई नेपाली राजनीतिका शीर्ष नेतृत्वले समेत प्रत्यक्ष चासो दिएका छन्।

 

बेमौसमी तरकारीमा विषादीको अवशेष

0

राँझा (बाँके); नेपालगञ्जस्थित रानी तलाउ तरकारी बजारमा राखिएको बेमौसमी हरियो तरकारीमा विषादी अवशेष भेटिएको छ । भान्सामा दैनिक रूपमा प्रयोग हुने रायो भाजीको सागमा सबैभन्दा धेरै विषादी अवशेष भेटिएको केन्द्रीय कृषि प्रयोगशालाका नेपालगञ्जस्थित प्रतिनिधि नायब प्राविधिक सहायक गोविन्द चौधरीले जानकारी दिनुभयो ।

“यतिबेला किसानले बेच्न ल्याएको बेमौसमी भाजी रायोको सागमा विषादीको अत्याधिक मात्रा देखिएको छ”, उहाँले भन्नुभयो, “दैनिक रुपमा नमुना परीक्षण गर्ने क्रममा रायो भाजीको सागमा खाना अयोग्य हुने गरी विषादीको अवशेष भेटिएको थियो ।”रानी तलाउ तरकारी बजारमा गरिएको नमुना परीक्षणमा रायो भाजीको सागमा अर्गानोफस्फेटको इन्हिविशन पर्सेन्टेज (रूकावट प्रतिशत) ४५ प्रतिशतभन्दा बढी पाइएको छ । यो मात्रामा विषादी अवशेष भएको तरकारी खान अयोग्य मानिन्छ ।

केन्द्रीय कृषि प्रयोगशालाका नेपालगञ्जस्थित प्रतिनिधि नायब प्राविधिक सहायक चौधरीका अनुसार केही नमुनामा रुकावट प्रतिशत ३५ देखि ४५ सम्म भेटिएको छ । यस्तो तरकारीलाई चार÷पाँच दिन क्वारेन्टाइनमा राखेर पुनः परीक्षण गरी विषादीको मात्रा कम भए खान हुन्छ । बाँकेको हिरमिनिया र बाबुगाउँ तथा भारतबाट आयात भएका तरकारीमा बढी मात्रामा विषादी अवशेष भेटिएको प्रयोगशालाको रिपोर्टले देखाएको छ ।

पुस माघको मौसमी सागमा विषादीको मात्रा नदेखिए पनि अहिले कीराबाट बचाउन किसानले विषादी प्रयोग गर्ने हुनाले बेमौसमी तरकारीमा विषादीको अवशेष देखिने गरेको चौधरीले बताउनुभयो । विषादी प्रयोग गरेको तरकारी तुरुन्तै टिपेर बजारमा ल्याउँदा विषादीको मात्रा धेरै देखिने उहाँको भनाइ छ ।

भारतबाट आउने तरकारीलाई भन्सारमा खाद्य प्रविधि गुण नियन्त्रण विभागले परीक्षण गर्ने र रानी तलाउ तरकारी बजारमा पुनः नमुना परीक्षण गर्ने गरिएको छ । रानी तलाउ तरकारी बजारमा सार्वजनिक बिदाको दिनबाहेक प्रायः दैनिक रुपमा परीक्षण हुने गरेको कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष मोतिसरा थापा क्षेत्रीले बताउनुभयो ।नमुना परीक्षणका क्रममा विषादीको मात्रा देखिएका किसानलाई सचेत गराउने गरेको उहाँको भनाइ छ । बेमौसमी तरकारी उत्पादन गर्न किसानले विषादीको मात्रा धेरै प्रयोग गर्ने गरेका छन् ।

 

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’

0

काठमाडौँ: राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाको सुरुङ खन्ने काम करिब सम्पन्न भएको र एकाध सेन्टिमिटर मात्रै बाँकी रहेको छ ।

तराई–मधेसका विभिन्न जिल्लामा बाहै्र महिना सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ सुरु गरिएको निर्माण प्रक्रियामा उल्लेख्य सफलता हासिल भएको हो । यही वैशाख २६ गते विशेष समारोहबीच सुरुङ छिचोलिने छ । सुरुङ ब्रेक थ्रू गर्ने अन्तिम तयारी भइरहेको सम्बन्धित आयोजनाले जनाएको छ ।

सुनकोसी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङमध्ये एकाध सेन्टिमिटर मात्रै खन्न बाँकी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही वैशाख २६ गते सुरुङको ब्रेक थ्रू गर्नुहुनेछ । ब्रेक थ्रूको आवश्यक तयारी भइरहेको छ ।

“प्रधानमन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री वर्षमान पुनलगायत विशिष्ट व्यक्तिहरु कार्यक्रममा सहभागी हुनुहुनेछ”, उहाँले भन्नुभयो ।

रामेछाप र सिन्धुलीका सङ्घीय तथा प्रदेश सांसद, राजनीतिक दलका नेताहरु, सरोकार भएका सबै व्यक्तिलाई कार्यक्रममा आमन्त्रण गरिएको आयोजनाले जनाएको छ । यस्तै, अटोमेटिक टनेल बोरिङ मेसिन निर्माण कम्पनी रोबिन्सन, निर्माण व्यववसायी चाइना ओभरसिज इन्जिनियरिङका उच्च अधिकारी र यहाँस्थित विभिन्न मुलुकका राजदूत पनि कार्यक्रममा सहभागी हुनुहुनेछ ।

सुरुङ निर्माणको कूल अवधि दुई वर्षको भए पनि त्यसभन्दा धेरै अगाडि झन्डै १९ महिनामा सम्पन्न भएको हो । भौगोलिक जटिलताका कारण केही समय मेसिन नरोकिएको भए अझै चाँडो सुरुङ छिचोलिने थियो । सुरुङ छिचोलिए पनि अन्य आवश्यक काम पूरा गर्न थप एक वर्ष लाग्ने आयोजना प्रमुख बरालले जानकारी दिनुभयो ।

सुरुङ निर्माणका क्रममा सामान्य भौगोलिक जटिलता उत्पन्न भएपछि त्यसलाई समाधान गरेर अगाडि बढेको जानकारी दिँदै आयोजना प्रमुख बरालले भन्नुभयो, “ग्राउटिङलगायत विधि प्रयोग गरेर समस्याको समाधान गरिएको छ । सुरुङ निर्माण निरन्तररुपमा अगाडि बढिरहेको छ ।”

सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरिएको छ । भेरी बबई डाइभर्सन आयोजनापछि सुनकोसी मरिणमा पनि टिबिएम मेसिन प्रयोग गरिएको हो । उपकरण प्रयोग गरी सुरुङ निर्माण गर्दा त्यसले सकारात्मक प्रभाव पारेको र अन्य आयोजना पनि त्यस्तै उपकरणको प्रयोग गर्न सकारात्मक वातावरण बनेको बताइएको छ । नेपाल विद्युत् प्राधिकरणले दूधकोसी र माथिल्लो अरुणमा समेत टिबिएम प्रयोग गर्ने तयारी गरेको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आयोजना प्रमुखलगायत अधिकारीलाई आयोजना स्थल नछाड्न, स्थानीयस्तरमा नै समस्या समाधान गर्न तथा आयोजनाको काममा कुनै पनि गत्यावरोध आउन नदिन निर्देशन दिनुभएको छ । सुरुङ निर्माणसँगै बाँध निर्माणको कामलाई समेत गति दिइएको छ । थप जनशक्ति परिचालन गर्न र आवश्यक समन्वय गर्न निर्माण व्यवसायीलाई उहाँले निर्देशन दिनुभएको छ ।

निर्माण व्यवसायी परिचालनमा विशेष ध्यान दिन तथा आवश्यक सहजीकरण गरी हरेक १५ दिनमा जलस्रोत तथा सिँचाइ विभाग र हरेक एक महिनामा आयोजनाको समग्र प्रगति विवरण प्रस्तुत गर्न मन्त्रालयले निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार नै सुरुङ निर्माण सम्पन्न भएको हो ।

प्रधानमन्त्री दाहालले नियमितरुपमा आयोजनाका सन्दर्भमा चासो राख्दै आएकाले पनि आफूहरुलाई काम गर्न सहज भएको आयोजनाले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको ‘एक्सन रुम’बाट आयोजनाको नियमित अनुमगन भइरहेको छ ।

आयोजना प्रमुख बरालका अनुसार २०७९ असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सो आयोजनामा कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङ रहेको छ । नेपालका विद्युत् तथा अन्य सिँचाइका आयोजनामा सुरुङ निर्माण भए पनि सो आयोजनामा टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरेर खनिएको भने दोस्रो पटक हो ।
यसअघि भेरी–बबई डाइभर्सन आयोजनामा पनि टिबिएमको प्रयोग गरिएको थियो । पहाडी भूभाग बढी भएको नेपालमा सुरुङ खन्न अब टिबिएम प्रभावकारी उपकरणका रुपमा स्थापित भएको छ ।

सुनकोसी नदीको पानी मरिण खोलामा झारेर विद्युत् उत्पादन गर्ने र तराईका एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु गरिएको सो आयोजनाको सुरुङ निर्माणमा अपेक्षितभन्दा बढी प्रगति भए पनि अन्य काममा भने सोहीअनुसार भएको छैन । बाँध तथा विद्युत् गृह निर्माणमा संलग्न निर्माण व्यवसायीले तोकिएअनुसार काम गर्न सकेका छैनन् । निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन सुधार गर्न पटक पटक निर्देशन दिइएको छ ।

विद्युत् गृह र प्रसारण लाइन निर्माणका लागि आवश्यक तयारी भइरहेको छ । प्रसारण लाइनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न भइसकेको छ । सुनकोसी मरिण डाइभर्सन आयोजनाबाट हाल सञ्चालनमा रहेको बिपी राजमार्गको केही भाग प्रभावित हुनेछ । हाल सञ्चालनमा रहेको राजमार्गलाई नौ सय मिटर ‘डाइभर्सन’ गर्नुपर्ने हुन्छ । बाँध तथा विद्युत् गृह निर्माणका लागि भारतीय कम्पनी पटेल इन्जिनियरिङ र नेपाली कम्पनी रमण कन्स्ट्रक्सनको संयुक्त उपक्रमले ठेक्का पाएको छ ।

राष्ट्रिय गौरवका आयोजना भएकाले स्रोतको कुनै अभाव नहुने प्रधानमन्त्री र ऊर्जामन्त्रीको प्रतिबद्धता भएकाले आफूहरुलाई काम गर्न सहज भएको आयोजना प्रमुख बरालको भनाइ छ । यसअघि सुरुङ निर्माणमा भौगर्भिकरुपमा रहेको जटिलताका कारण पटक पटक समस्या देखिएको थियो । सुनकोसी गाउँपालिका–७ कानढुङ्गीस्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोसी नदीलाई मरिण खोलामा पथान्तरण गरिनेछ ।

सुनकोसीको करिब ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यसपछि बाग्मती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य छ । त्यस्तै सो आयोजनाबाट ३१ दशमलव शून्य सात मेगावाट बिजुली उत्पादन हुनेछ ।

आयोजनाको सुरुङ निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले गरेको हो । बाँध र विद्युत् गृह निर्माणमा केही ढिलाइ भए पनि तोकिएको समयभित्रै पूरा गर्ने निर्माण व्यवसायीको भनाइ छ । विसं २०८४ असोजमा सो आयोजना पूर्णरुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भेरी बबई डाइभर्सन आयोजनामा सुरुङ निर्माण सम्पन्न भएको लामो समय भए पनि बाँध र विद्युत् गृह निर्माणले गति नलिँदा देखिएको व्यवधान सुनकोसी मरिणमा आउन नदिन सरकार चनाखो देखिएको छ ।

सो आयोजना सम्पन्न भएपछि अन्न भण्डारका रुपमा रहेको मध्यतराईका पाँच जिल्लामा वर्षभरि नै सिँचाइ सुविधा उपलब्ध हुनेछ । त्यसले खाद्यान्न उत्पादनमा गुणात्मक परिवर्तन आउनेछ । सो आयोजनामा प्रयोग भएको टिबिएम उपकरण प्रयोग गरी फुर्कोट–फूलबारी सुरुङ निर्माण गर्ने प्रारम्भिक तयारी गरिएको छ । टिबिएमलाई केही परिवर्तन गरी सडक पूर्वाधारमा प्रयोग हुने सुरुङ निर्माण गर्न सकिने बताइएको छ ।

अव्यवस्थित वधशालाले अस्वस्थकर मासु किनबेच

0

मन्थली (रामेछाप): रामेछाप सदरमुकाम मन्थलीमा पशु वधशाला व्यवस्थित नहुँदा उपभोक्ता अस्वस्थकर मासु उपभोग गर्न बाध्य छन् ।

सदरमुकाममा २० वटा मासु पसल छन् । वधशाला व्यवस्थित नहुँदा सबै मासु पसलले स्वस्थकर मासु बिक्री गर्न सकेका छैनन् । केही पसलले वधशाला व्यवस्थित गर्न खोजे पनि पर्याप्त हुनसकेको छैन ।

मासु व्यापारीले तामाकोसी नदी किनारमा पशु वध गर्ने गरेका छन् । मासुमा बालुवा, माटो टाँसिएर खानयोग्य नहुने, वध गर्नासाथ चिसो ठाउँमा राख्न नपाइने समस्या छ । नदी किनारलाई वधशालाका रुपमा प्रयोग गर्दा मन्थली विमानस्थलमा उड्ने विमानमा काग र गिद्ध ठोक्किने जोखिम बढेको छ ।

नदीको पानी समेत दूषित र दुर्गन्धित बनाएको छ । नगरपालिकाले व्यवस्थित वधशाला नबनाइदिएका कारण नदी किनारमै वध गर्न बाध्य भएको मासु व्यवसायी पशुपति शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्ष नगरले तीन लाख छुट्याएको थियो, त्यो पैसा कामै नगरी ‘फ्रिज’ भयो । हामीलाई ठाउँ खोज भन्नुहुन्छ, हामीले कहाँ खोज्ने ।”

तत्कालीन पशु सेवा केन्द्र र मन्थली नगरापालिकाले मन्थली–१ स्थित हाटेचउर नजिकै दश वर्षअघि वधशाला बनाएको थियो । त्यो वधशाला प्रभावकारी रुपमा सञ्चालन हुन सकेन । व्यवस्थित वधशाला नहुँदा सरसफाइ गरी फ्रिजमा मासु राखेर बिक्री गर्न नसकेको मासु व्यवसायी हजारसिं तामाङ बताउनुभयो । “पशु वध गर्ने ठाउँमा न त पानीको सुविधा छ, न त फोहोर विसर्जन गनै ठाँउ नै”, उहाँले भन्नुभयो, “त्यसैले हामीले भुइँमै पशु वध गरेर मासु बेच्ने गरेका छौँ ।”

मन्थली नगरपालिकाका नगर प्रमुखले पशु वधशाला यसअघि बनाइदिएको तर सदुपयोग नभएको बताउनुभयो । उहाँले मासु पसलेहरुसँग लागत साझेदारीमा उपयुक्त स्थान छनौट गर्न सके आगामी आर्थिक वर्षमा व्यवस्थित वधशाला निर्माण गरिने बताउनुभयो ।

मध्यवर्ती क्षेत्रका स्थानीयले होमस्टेबाट लिँदैछन् बहुआयामिक लाभ

0

माडी (चितवन): चितवनको माडी नगरपालिका–८ स्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे (घरबास) कि सञ्चालक पम्फा श्रेष्ठ हाल आयआर्जनमा वृद्धि भएकामा निकै खुसी देखिनुुहुन्छ । होमस्टे सञ्चालन अघि चितवन राष्ट्रिय निकुञ्जबाट आउने वन्यजन्तुले बालीनाली क्षति गरेर वर्षभरी खानसमेत नपुग्ने अवस्थाको स्मरण गर्दै उहाँ भन्नुहुन्छ, “अहिले होमस्टेबाट आम्दानी बढेको छ, खेतबारीका अन्न र सागतरकारी समेत गाउँमै खपत भएका छन् ।”

स्थानीयले निकुञ्जबाट वन्यजन्तु बस्तीमा पस्ने स्थानका खेतमा माछापोखरी बनाएपछि वन्यजन्तु निकुञ्ज बाहिर आउन पनि कम भएको छ । साथै पाहुनाका लागि माछापोखरीमा पालेका माछा खपत हुँदा आम्दानीमा थप वृद्धि भएको छ ।

“पहिले वर्षायामभरी दुःख गरेर खेती ग¥यो, हिउँद लागेपछि हात्ती, गैँडा, चित्तल, बँदेल, मजुरलगायत वन्यजन्तुले खाइदिन्थ्यो,” श्रेष्ठ भन्नुहुन्छ, “अहिले होमस्टेबाट भएको आम्दानीले घरखर्च चलेको छ, वन्यजन्तुको आक्रमण नियन्त्रण भएको छ, गाउँमै बत्ती, सडक, ग्यास र यातायातको सुविधा पुगेको छ, घाँसदाउराका लागि जङ्गल जानुपर्दैन ।”

विसं २०७२ मा १० घरधुरीबाट सुरु गरिएको यहाँ हाल १४ घरमा होमस्टे सञ्चालन गरिएका छन् । अयोध्यापुरी होमस्टे व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर पुनमगरका अनुसार होमस्टेमा ८८ पाहुना राख्न सक्ने क्षमता छ । समितिले छिट्टै २५ घरधुरीमा होमस्टे पु¥याउने लक्ष्य रहेको जनाएको छ । निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको बस्तीमा वन्यजन्तुबाट पीडित भएपछि होमस्टे बनाउनुपरेको अध्यक्ष पुनमगरको भनाइ छ । पर्यापर्यटनको अवधारणाअनुसार वन्यजन्तुलाई नै देखाएर आयआर्जन गर्न होमस्टे सुरु गरिएको हो ।

“यस मध्यवर्ती क्षेत्रमा काम गर्दै आएको तराई भू–परिधि कार्यक्रम (ताल)ले यो अवधारणा ल्यायो । अमलटारीको थारु होमस्टेबाट उत्साही भएर हामीले पनि सुरु ग¥यौँ,” उहाँ भन्नुहुन्छ, “सुरुमा आफ्नै लगानीमा ग¥यौँ, पछि ‘ताल’ र अन्य संस्थाले घरको रङरोगन, तातोपानीको व्यवस्था, सिलिङमा जिप्सन, डबल बेड, शौचालयमा कम्बोड, टायललगायत सामग्री सहयोग गरिदिनुभयो ।” कुनै बेला जीविकोपार्जनका लागि आफै पनि विदेश जाने गरेको सुनाउँदै उहाँ हाल गाउँमै बसेर घरखर्च चलाउन सहज भएको बताउनुहुन्छ ।

होमस्टेमा स्वदेशी तथा विदेशी पाहुना मध्यवर्ती सामुदायिक वन क्षेत्रमा जङ्गली जनावर अध्ययन अवलोकन गर्न, स्थानीय मगर संस्कृति र धार्मिकस्थल हेर्न, सामुदायिक पोखरी, साइकिलिङ, पर्यटकस्थलको भ्रमण गर्न यहाँ आउने गरेका छन् । समितिले आम्दानीको १० प्रतिशत रकम जैविक विविधता संरक्षण तथा पर्यापर्यटन प्रवद्र्धनमा छुट्ट्याउने गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज चितवन, पर्सा, मकवानपुर र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा फैलिएको छ । यस निकुञ्जको क्षेत्रफल ९५२.६३ वर्ग किमी रहेको छ भने मध्यवर्ती क्षेत्रको क्षेत्रफल ७२९.३७ वर्ग किमी छ ।

निकुञ्जकै मध्यवर्ती क्षेत्रमा पर्ने नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेका अध्यक्ष प्रेमशङ्कर मर्दनिया थारु होमस्टे सञ्चालनपछि स्थानीय जनता र सङ्घ संस्थाको पहलमा वनको संरक्षण र वन्यजन्तुको बासस्थान राम्रो भएको बताउनुहुन्छ ।

होमस्टे सञ्चालनले जीवनशैलीमा सकारात्मक परिवर्तन

“संरक्षणका लागि स्थानीय नै लाग्नुपर्ने अभियान चलाएपछि थोरै रकमबाट व्यवसाय गरेर तिनै वन्यजन्तु देखाएर आयआर्जन गर्नुपर्छ भन्ने उद्देश्यले नै होमस्टे सुरु गरेका हौँ,” उहाँ भन्नुहुन्छ , “अहिले स्थानीयमा वन, वन्यजन्तु र प्राकृतिक स्रोत हाम्रै सम्पत्ति हो भन्ने अपनत्व बढेको छ । घर आगन सरसफाइ, बोलीचाली, व्यवहार, बसाइ तथा जीवनशैली, जिउने कला सबैमा सकारात्मक परिवर्तन भएको छ ।”

पहिले वन्यजन्तुले गर्ने क्षतिका कारण स्थानीय बसाइँसराइ गरेर गाउँ नै खाली हुने अवस्था रहेको उल्लेख गर्दै अध्यक्ष थारु अहिले सबै आफ्नो थातथलोमा खुसीका साथ बसेका बताउनुहुन्छ । अहिले वन्यजन्तु आउने स्थानमा तारजाली र पिसिसी पर्खाल लगाएका कारण मानव–वन्यजन्तु द्वन्द्वसमेत न्यूनीकरण भएको छ । यस होमस्टेमा थारु र बोटे समुदायको संस्कृति अवलोकन, स्थानीय परिकार, खानपिन, सूर्यास्तको दृश्य, थारु सङ्ग्रहालय, वन्यजन्तु अवलोकलन, हात्ती सफारी, नारायणी नदी डुङ्गामा बोटिङ, गिद्ध रेष्टुराँ अवलोकन आदि पर्यटकका आकर्षक गन्तव्य हुन ।

विसं २०७० जेठ ५ गते विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालको २०औँ वार्षिकोत्सव कार्यक्रममा उद्घाटन गरेर अमलटारीको होमस्टे सुरु गरिएको हो । होमस्टे महासङ्घका केन्द्रीय अध्यक्षसमेत रहनुभएका थारुका अनुसार यहाँ हाल ३१ घरधुरीमा एक सय २४ बढी पाहुना राख्ने क्षमता छ । पहिला वन्यजन्तु देखेपछि लखेट्ने यहाँका स्थानीय अहिले संरक्षण गर्न अग्रसर भएका छन् ।

अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेकै अर्का सञ्चालक धनमाया महतो होमस्टे सञ्चलनपछि आर्थिक अवस्थामा धेरै सुधार आएको बताउनुहुन्छ । “पहिला परिवार पाल्न अधिकांश पुरुष कि विदेश जान्थे, नसक्ने भारत जानुपर्ने अवस्था थियो । घाँसदाउरा र काठको बढ्दो प्रयोगले वन विनाश भएको थियो,” उहाँ भन्नुहुन्छ, “अहिले होमस्टेको आम्दानीबाट घरखर्च चलेको छ, पहिला वन धेरै भयो भने जङ्गली जनावर बढेर मानव बस्तीमा क्षति गर्छ भन्ने मानसिकतामा परिवर्तन भएको छ । हाल वन्यजन्तु बढ्यो भने अवलोकन गर्न पाहुना आउँछन् र आयआर्जनमा थप टेवा पुग्छ भन्ने सोचको विकास भएको छ ।”

महिला समूहमार्फत शिक्षा र चेतनाको स्तर बढेको र सहकारी खोलेर आर्थिक व्यवस्थापन गर्न सिकेको महतो बताउनुहुन्छ । कुनै बेला दुर्गम अवस्थामा रहेको आफ्नो गाउँ हाल सडक, यातायात, बिजुलीलगायत अन्य सुविधायुक्त भएको उहाँको भनाइ छ । डब्लुडब्लुएफ नेपालले पर्यापर्यटनबाट आम्दानी गर्न सकिन्छ भन्ने सचेतना, तालिम र केही सामग्री सहयोग गरेपछि आफूहरुले होमस्टे सञ्चालन गरेको महतो बताउनुहुन्छ ।

निकुञ्ज र मध्यवर्ती क्षेत्रको संरक्षण एवं विकासका लागि डब्लुडब्लुएफ नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष, जिओलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) नेपाल मुख्य साझेदारका रुपमा रहेका छन् । नेपाल सरकारले मध्यवर्ती क्षेत्रमा डब्लुडब्लुएफ नेपालको आर्थिक सहयोगमा तराई भू–परिधि कार्यक्रममार्फत विभिन्न संरक्षण र सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

मध्यवर्ती कार्यक्रममार्फत वैकल्पिक जीविकोपार्जनको आधार सिर्जना गर्न मध्यवर्ती क्षेत्रमा हुने स्रोतको २० प्रतिशत वैकल्पिक पेसा व्यवसाय गर्न नीतिगत व्यवस्था गरिएको छ । निकुञ्जको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका पूर्व अध्यक्ष वासु ढुङ्गानाले स्थानीयको सकारात्मक सोच र अपनत्वले नै निकुञ्जको दीर्घकालीन संरक्षण हुने उल्लेख गर्दै निकुञ्जबाट लाभ पाएपछि मात्र स्थानीयमा अपनत्वको अनुभव हुने बताउनुभयो ।

निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन मध्यवर्ती क्षेत्रका स्थानीय आदिवासी÷जनजातिलाई नियमानुसार उनीहरुको पूर्खाैली पेसा तथा प्राकृतिक स्रोतमा पहुँच उपलब्ध गराउँदै आएको बताउनुहुन्छ । साथै उहाँ स्थानीयले पेसागत विविधता गरेर जीवकोपार्जनमा सुधार गर्नुपर्ने सुझाव दिनुहुन्छ । नेपालमा संरक्षित क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख गन्तव्य स्थानको रुपमा रहेका छन् । नेपालमा आउने पर्यटकको ६० प्रतिशतले संरक्षित क्षेत्रको भ्रमण गर्ने गरेका पाइएको छ ।

घाइते अवस्थामा बाघ देखापरेपछि वन प्रवेश निषेध

0

कञ्चनपुर; शुक्लाफाँटा नगरपालिका–८ बैजनाथ सामुदायिक वन क्षेत्रमा घाइते अवस्थामा बाघ देखापरेपछि वन क्षेत्र प्रवेशमा रोक लगाइएको छ । सामुदायिक वनको सलिमा ताल क्षेत्र नजिक बाघ घाइते अवस्थामा देखा परेकाले वन क्षेत्र प्रवेशमा रोक लगाइएको सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताउनुभयो ।

“घाइते बाघले जुनसुकै बेला पनि आक्रमण गर्नसक्ने भएकाले उपभोक्तालाई वन क्षेत्रमा जान रोक लगाएका हौँ”, उहाँले भन्नुभयो, “बाघ के कति कारणले घाइते भएको हो भन्ने बारे जानकारी हुन सकेको छैन ।” चुरे क्षेत्र र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको वन बाघ लगायतका जनावरको बासस्थानका रुपमा रहेको छ ।

शुक्रबार मात्रै सो सामुदायिक वन क्षेत्रसँग जोडिएको भगवती सामुदायिक वनमा घाँस काटन गएका अन्दाजी २८ वर्षीय रवीन्द्र धामीलाई बाघले आक्रमण गरी घाइते बनाएको थियो । धामीको टाउको र हातमा गम्भीर चोट लागेपछि उपचारका लागि धनगढीस्थित निसर्ग अस्पतालमा भर्ना गरिएको छ ।

सुरक्षाकर्मीलाई अग्निनियन्त्रण सामग्री हस्तान्तरण

0

ढोरपाटन (बागलुङ): डिभिजन वन कार्यालय बागलुङले वनमा लागेको डढेलो नियन्त्रणका लागि अग्निनियन्त्रण सामग्री हस्तान्तरण गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई अग्निनियन्त्रण सामग्री हस्तान्तरण गरिएको हो । पछिल्लो समय बागलुङमा दिन प्रतिदिन आगलागीका घटना बढ्दै गएपछि नियन्त्रणमा सघाउ पु¥याउने उद्देश्यले सुरक्षाकर्मीलाई उपकरण हस्तान्तरण गरेको डिभिजन वन कार्यालय बागलुङका प्रमुख सरोज पन्थीले बताउनुभयो ।

डिभिजन वन कार्यालयले नेपाल प्रहरीलाई ब्याक वाटर पम्प आठ थान, फायर सटर चार थान, जम्प सुइट २० थान, फायर हेल्मेट २० र साबेल १४ वटा हस्तान्त्रण गरेको छ । नेपाली सेना, सशस्त्र प्रहरी र प्रदेश प्रहरी गुल्मलाई ब्याक वाटर पम्प दुई÷दुई थान, फायर सटर तीन÷तीन थान, जम्प सुइट छ÷छ थान, फायर हेल्मेट छ÷छ थान र सावेल पाँच÷पाँच थान हस्तान्तरण गरेको प्रमुख पन्थीको भनाइ छ ।

यी सामग्रीको प्रयोगले आगो नियन्त्रणमा सहज हुने हुँदा कार्यालयले उपलब्ध गराएको उहाँको भनाइ छ । उहाँका अनुसार बागलुङमा आगलागीबाट एक हजार दुई सय हेक्टर जङ्गल नष्ट भएको छ । करिब ३८ वटा सामुदायिक वनमा लागेको आगो अधिकांश नियन्त्रणमा आए पनि अझै केही स्थानमा लागेको आगो नियन्त्रण बाहिर रहेको प्रमुख पन्थीले बताउनुभयो ।

जिल्लामा रहेका हरेक प्रहरी चौकी, नेपाली सेनाको गण र सशस्त्र प्रहरीलाई पुग्ने गरी सामग्री वितरण गरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “आगलागीले वन जङ्गल सखाप हुँदै गएका छन्, नियन्त्रणका लागि स्थानीय र सुरक्षाकर्मी पनि खटिनुभएको छ, आगो नियन्त्रण गर्ने क्रममा विभिन्न ठाउँमा सुरक्षाकर्मी र स्थानीय घाइते भएका सूचना पनि आइरहेका छन्, त्यसबाट बच्नका लागि र नियन्त्रण सहज रुपमा गर्नका लागि अग्निनियन्त्रण सामग्री उपलब्ध गराएका हौँ ।”

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले ग्रामीण क्षेत्रमा आगलागीका घटना बढ्दै गएको भन्दै वन कार्यालयले दिएका सामग्रीले आगो नियन्त्रण गर्न ठूलो टेवा पुग्ने बताउनुभयो । अग्निनियन्त्रण अभावमा धेरै ठाउँमा आगोले ठूलो क्षति पु¥याएको उहाँको भनाइ छ । उहाँले वन डढेलोले जैविक विविधतामा ठूलो असर पु¥याउने हुँदा वन कार्यालयले दिएको सामग्रीलाई सही रुपमा प्रयोग गरि अग्निनियन्त्रणमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी

0

काठमाडौँ : हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशका केही स्थानका साथै सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदली हुने तथा देशका बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका केही स्थानमा हुरी बतासको सम्भावना छ ।

आगामी २४ घण्टामा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली हुने तथा कोशी र बागमती प्रदेशका पहाडी भागमा पनि आंशिक बदली रही देशके बाँकी भागमा मौसम सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आज इलाम र बझाङमा उपनिर्वाचन हुँदै

0

काठमाडौँ: आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क)मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।

दुवै निर्वाचन क्षेत्रमा सम्पूर्ण तयारी पूरा भएको जनाउँदै निर्वाचन आयोगले निर्धक्क भएर मतदानमा भाग लिन मतादातालाई आह्वान गरेको छ । निर्वाचन कार्यक्रमअनुसार मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।

इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते हृदयाघात तथा बझाङ–१ का प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार २५ गते सडक दुर्घटनामा निधन भएपछि रिक्त भएका ती स्थानमा आज चुनाव हुन लागेको हो ।

आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा मतदाताको नाम हुनुपर्नेछ ।

इलाम उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूलगायत १९ जना चुनावी मैदानमा उत्रनुभएको छ ।
यसैगरी, बझाङमा नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेकपा (एमाले) बाट दमन भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट जनक बुढा र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर सिंहसहित १२ जना प्रतिस्पर्धामा हुनुहुन्छ ।

सवारी व्यवस्थापन

यसैबीच, आयोगले बिरामी बोकेको एम्बुलेन्स, खानेपानी र दूध बोक्ने गाडी, दमकल, परिचयपत्र वाहक सञ्चारकर्मी र स्वास्थ्यकर्मी, दुरसञ्चार तथा केबल सेवा, शव वाहनलाई निर्वाध रूपमा सञ्चालनको अनुमति दिइएको छ ।

आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अनुगमनकर्ता, फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारीसाधन, तरकारी, फलफूल तथा विद्युत् सेवा, कूटनीतिक नियोग, संयुक्त राष्ट्रसङ्घीय निकाय तथा द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थामा कार्यरत पदाधिकारी तथा कर्मचारीले प्रयोग गर्ने नीलो नम्बर प्लेट भएका सवारी साधन, विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएका सवारी साधन, सुरक्षाकर्मी, आफु खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदानमा खटिएका कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारी साधनलाई सञ्चालनको अनुमति दिइएको छ ।

पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा

0
काठमाडौँ: नेपाल पुलिस क्लब राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिस क्लबले फाइनलको यात्रा तय गरेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको खेलमा पुलिस क्लबले आर्मी क्लबलाई ३–१ सेटले पराजित गरेको हो । जितसँगै पुलिसले  ६ अङ्क बटुलेको छ । पराजित भएको आर्मी प्रतियोगिताबाट बाहिरिएको छ ।
खेलको पहिलो सेटमा पुलिस २५–१९ अङ्कले विजयी भयो । पुलिसले दोस्रो सेट १७–२५ अङ्कले गुमाउन पुग्यो । तेस्रो सेटमा पुलिस क्लब २५–१५ अङ्कले विजयी भयो । निर्णायक सेटमा पनि पुलिस क्लबले आर्मीलाई २५–१३ अङ्कले हरायो ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भएको उक्त प्रयोगिताको विजेता टोलीले रु चार लाख ९९ हजार तथा उपविजेता टोलीले रु दुई लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछ।त्यस्तै तेस्रो हुने टोलीले रु एक लाख २५ हजार र चौथो हुने टोलीले रु ६२ हजार पुरस्कार प्राप्त गर्नेछ ।