Sunday, May 10, 2026
Home Blog Page 829

गैरकानुनी बाटोबाट रोजगारीमा नजान दूतावासको आग्रह

0

काठमाडौँ: इस्लामावादस्थित नेपाली राजदूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर केही समययता धेरै नेपाली ठगिएका तथा त्यहाँ पुगेकाहरू अलपत्र परेका जनाउँदै वैदेशिक रोजगारीका निम्ति कानुनी बाटोमात्र प्रयोग गर्न सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

दूतावासले ठगीमा परेकामध्ये केहीलाई किर्गीस्तानको बाटो प्रयोग गरी अन्य मुलुकमा पठाउने आश्वासन दिइएको जानकारी प्राप्त भएको बताउँदै अलपत्र परेकामध्ये केहीलाई उद्धार गरी नेपाल फर्काइएको, केही फर्कने क्रममा रहेका तर त्यहाँ नेपाली पुग्ने क्रम नरोकिएकामा चिन्ता व्यक्त गरेको छ ।

दूतावासले मङ्गलबार जारी गरेको सूचनामा भनिएको छ, “नेपालीलाई आकर्षक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने र अलपत्र पार्ने काममा संलग्नहरूमा केही नेपाली र केही विदेशीसमेत रहेका जानकारी प्राप्त भएको छ । यसरी गलत प्रलोभनमा नेपाली नागरिकलाई विदेश पुर्याएर अलपत्र पार्ने गैरकानुनी काममा संलग्न हुने व्यक्ति÷समूहले प्रचलित कानुनको सामना गर्नुपर्ने हुन्छ । ठगी गर्ने गिरोहको प्रलोभनमा नफस्न र वैदेशिक रोजगारीमा जानका लागि नेपाल सरकारले व्यवस्था गरेको स्थापित र कानुनी बाटोमात्र प्रयोग गर्नुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ ।”

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

0

काठमाडौँ: आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँदैछ ।
विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा यस दिवसलाई लिने गरेका छन् । मर्यादित काम र मुनासिब ज्यालाको अधिकार स्थापनाका लागि हालसम्म भएका आन्दोलन र उपलब्धिलाई यस दिवसले स्मरण गराउँदै मजदुरका पक्षमा लाग्न प्रेरित गर्नेछ ।

नेपालको संविधानले नागरिकको रोजगारीको हक सुनिश्चित गरी प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत प्रत्याभूत गरेको छ । मजदूर दिवसका अवसरमा संयुक्त ट्रेड युनियन समन्वय कमिटीले आज भृकुटीमण्डपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख अतिथ्यमा विशेष कार्यक्रम आयोजना गर्दैछ । समारोहअघि नयाँ सडकबाट र्यालीको आयोजना गरिने समितिका महासचिव प्रेमप्रसाद खनालले जानकारी दिनुभयो । सन् १८८१ मे १ मा अमेरिकामा भएको आम हडतालको स्मरणमा दिवसको थालनी भएको हो ।

 

निर्वाचन परिणाम पछि सुहाङ्गले भने, ‘मतदाताको शिर झुक्न दिने छैन’

0

फिक्कल (इलाम): इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ नेम्बाङले मतदाताको शिर झुक्ने कुनै पनि काम नगर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नेम्बाङले मतदाताको मतलाई शिरोपर गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज यहाँ आयोजना गरेको प्रमाणपत्र वितरण कार्यक्रममा सांसद नेम्बाङले इलामेली मतदातालाई कुनै प्रकारको सङ्कोच नुहुने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

“म मेरो बुबा (सुवासचन्द्र नेम्बाङ) को अपूरो र अधुरो सपना पूरा गर्न राजनीतिमा आएको हुँ, इलामे जनतालाई कुनै सङ्कोच नहुने गरी काम गर्नेछु,”उहाँले भन्नुभयो, “मलाई निर्वाचित गराउनुभएकामा सम्पूर्ण मतदातामा धन्यवाद ज्ञापन गर्दछु ।”

कार्यक्रममा सांसद नेम्बाङलाई मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले प्रमाणपत्र प्रदान गर्नुभयो । कार्यक्रममा सांसद महेश बस्नेत, कोशी प्रदेशसभा सदस्य रामबहादुर मगर राना, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो ।

डढेलो निभाउने क्रममा घाइते भएका एकको मृत्यु

0

पाटन (ललितपुर): ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको मृत्यु भएको छ । आगलागी निभाउने क्रममा घाइते भएका दुईजनालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि पठाइएकामा एकजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले राससलाई जानकारी गराउनुभयो ।

“आगो निभाउने क्रममा घाइते भएका शङ्कर पहरी र रमेश पहरीलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको थियो । घाइतेमध्ये शङ्कर पहरीको मृत्यु भएको उहाँले बताउनुभयो । ललितपुरको गोदावरीस्थित लेले जङ्गलमा तीन÷चार दिनदेखि लागेको डढेलो आनन्द वनमा पनि फैलिएको छ । आनन्द वनमा डढेलो फैलिएसँगै त्यहाँ सञ्चालित कुष्ठरोग अस्पताल जोखिममा परेको छ । आगो अस्पताल नजिकै पुगेपछि त्यहाँका बिरामीलाई अन्यत्र सारिएको छ । ९३ जना बिरामीलाई सुरक्षित ठाउँमा सारिएको सुवेदीको भनाइ छ । यस्तै, डढेलोमा फसेका १५ जनाको पनि उद्धार गरिएको छ ।

बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गरिने

0

काठमाडौँ: महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

सामाजिक सुरक्षा नागरिक समाज सञ्जालले आज यहाँ आयोजना गरेको ‘नेपालमा सामाजिक सुरक्षा र बाल अनुदान’ विषयक नीतिगत बहस कार्यक्रममा मन्त्री चौधरीले सरकारले नीतिगतरूपमा नै सामाजिक सुरक्षाको विषयमा केही महत्वपूर्ण व्यवस्था गरी काम गरिरहेको जानकारी दिनुभयो । नेपालको संविधान २०७२ को धारा ४३ मा सामाजिक सुरक्षालाई नागरिकको अधिकारको रूपमा स्थापित गरेको उल्लेख गर्दै उहाँले नेपालभरका दलित परिवारका पाँच वर्ष मुनिका बालबालिका र मानव गरिबी सूचाङ्क कमजोर भएका २५ जिल्लामा मासिक रु पाँच सय ३२ का दरले बाल पोषण भत्ता वितरण गर्दै आएको छ ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापा, कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचेतक सुनिता बराल, सांसदलगायत सहभागी कार्यक्रममा मन्त्री चौधरीले ती व्यवस्था सबै जनताको पहुँचमा भने पुग्न नसकेको उल्लेख गर्दै तिनलाई जनताको पहुँचमा लैजान सरकार कटिबद्ध रहेको स्पष्ट गर्नुभयो ।

बालबालिकाका सन्दर्भमा सरकारले सबै बालबालिकालाई विद्यालयसम्म पु¥याउन कक्षा पाँचसम्म दिवा खाजा कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै मन्त्री चौधरीले उक्त कार्यक्रमलाई क्रमशः माध्यमिक तहसम्म नै लैजाने विषयमा सरकार सकारात्मक र प्रतिबद्ध रहेको बताउनुभयो ।

“लामो समयदेखि सरकारले सामाजिक सुरक्षा भत्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । यद्यपि यस विषयमा अझै बढाउनुपर्ने आवश्यकता छ’’, मन्त्री चौधरीले भन्नुभयो, “बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ । यस विषयमा नेपाल सरकार सामाजिक सुरक्षा सबैको पहुँचमा लैजान प्रतिबद्ध छ ।’’

संविधान, नीति, कानून, कार्यविधि, संरचना, दिगो विकासका लक्ष्य एवं ८७ भन्दा बढी सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रम १३ सङ्घीय मन्त्रालयबाट सञ्चालित हुँदै आएको उहाँले बताउनुभयो । स्थानीय निकायले काम गर्दा बालबालिकाको क्षेत्र, महिलाको क्षेत्र, अपाङ्गता विशेषगरी आर्थिक रूपले पछाडि परेका, भूमिहीन, सकुम्बासीको तथ्याङ्कका लागि मापदण्ड बनाउनुपर्नेमा जोड दिनुभयो ।

हालसम्म दलित र अन्य बालबालिका गरी करिब ११ लाख बालबालिकाले बाल पोषण भत्ता पाइरहेको भन्दै उक्त कार्यक्रम विस्तार गर्ने सन्दर्भमा सरकार गम्भीर र प्रतिबद्ध भएर लागेको समेत स्पष्ट पार्नुभयो । महिला मन्त्रालय ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति लगायतको संरक्षणमा क्रियाशील रहेको मन्त्री चौधरीले बताउनुभयो ।

नेपालमा सामाजिक सहायताअन्तर्गत भत्ता वितरण, योगदानमा आधारित पेन्सन वितरण तथा सीप विकास तथा रोजगार प्रवद्र्धन अन्तर्गत तालिम, प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन हुँदै आएको उहाँले बताउनुभयो । मन्त्री चौधरीले भन्नुभयो, “अहिलेसम्म सञ्चालनमा आएका कार्यक्रम छरिएको अवस्था छ । त्यस्तै दोहोरोपनाको समस्या पनि छ । आवश्यकता पहिचान नहुने तथा त्यसको अभिलेखीकरणको अभाव छ । यी सबै कुरालाई समाधान गर्दै अगाडि बढ्नुपर्ने अवस्था छ ।’’

स्रोतको दिगोपनाको जटिलता बढेको उल्लेख गर्दै मन्त्री चौधरीले बजेटको सीमितताका कारण खर्च धान्न गाह्रो भए पनि त्यसका विकल्पबारे बहस न्यून भएको बताउनुभयो । अन्य उपायको खोजी गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । स्वास्थ्यमा सबै नागरिकको पहुँच पु¥याउन तथा विशेष गरी बालबालिकाको स्वास्थ्य बीमाको सन्दर्भमा सरकार संवेदनशील रहेको समेत मन्त्री चौधरीले बताउनुभयो ।

बालबालिकालाई उचित स्याहारसुसार गर्ने र अभिभावक तथा बालबालिकाबीचको सम्बन्धलाई बलियो बनाउन सकारात्मक वातावरण सिर्जना गर्नु आजको आवश्यक भएकाले त्यसका लागि अभिभावक सचेतना कार्यक्रमलाई पनि सँगसँगै लैजान आवश्यक रहेको उहाँले बताउनुभयो ।

विकासका उपलब्धि जोगाउन सार्थक सहयोगका लागि उपप्रमको जोड

0

काठमाडौँ: उपप्रधानमन्त्री एवं स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिलाई जोगाइराख्न संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास साझेदारहरूको सार्थक सहयोग अपरिहार्य भएको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको न्युयोर्कमा जारी ५७औँ बैठकमा भाग लिने सिलसिलामा त्यहाँ रहनुभएका उपप्रधानमन्त्री यादवले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिोनियो गुटेरेससँग आज भएको भेटवार्तामा जलवायु परिवर्तन र विश्वमा बढ्दो द्वन्द्वका कारण नेपालले दिगो विकासका लक्ष्यहरूका साथै स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धि जोगाइराख्न चुनौतीपूर्ण भएकाले राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास सहायता अपरिहार्य भएकामा जोड दिनुभएको हो ।

संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा भएको भेटवार्तामा उपप्रधानमन्त्री यादवले संयुक्त राष्ट्रसङ्घको बडापत्र एवं सिद्धान्तप्रति नेपाल प्रतिबद्ध रहेको बताउँदै देशको सामाजिक–आर्थिक विकासमा राष्ट्रसङ्घले गरेको योगदानको सराहना गर्नुभएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

नेपालले गरिबी निवारण, स्वास्थ्य सेवाको विकास, प्रजनन दर र मातृ मृत्युदर घटाउनेलगायत जनस्वास्थ्यका क्षेत्रमा प्रगति गरेको जानकारी दिँदै भूवरिवेष्टित एवं अतिकमविकसित राष्ट्र नेपाललाई विकासका निम्ति बाह्य सहायता आवश्यक भएको उपप्रधानमन्त्री यादवले बताउनुभयो ।

महासचिव गुटेरेसले नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सम्बन्ध र सहयोग प्रगाढ रहेकामा प्रशन्नता व्यक्त गर्दै हालैको आफ्नो नेपाल भ्रमणको स्मरण गर्नुभयो । उहाँले मानवअधिकार, विश्व शान्ति र सुरक्षा एवं दिगो विकासका लक्ष्यहरू प्राप्तिमा नेपालले गरेको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।

महासचिव गुटेरेसले शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसङ्घअन्तर्गत शान्ति सेना परिचालन गर्ने मुलुकहरूमा नेपाल अग्रस्थानमा रहेको बताउँदै नेपाली शान्ति सेनाले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभयो । साथै उहाँले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिको प्रशंसा पनि गर्नुभयो । स्वास्थ्य क्षेत्रका निम्ति राष्ट्रसङ्घीय निकायहरूमार्फत थप सहयोग प्रदान गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

उक्त नियोगका अनुसार महासचिव गुटेरेसले नेपालले जलवायु परिवर्तनका असर भोग्नुपरेकाले त्यसलाई सम्बोधन गर्न सम्बद्ध पक्षबाट सहयोग हुनुपर्नेमा जोड दिँदै नेपालले सहायता पाउनु उसको अधिकार हो भन्नुभयो । हरित ग्यास उत्सर्जनमा नगण्य गोयदान गरेको नेपाललाई ‘जलवायु न्याय’का आधारमा न्यूनीकरण तथा अनुकूलन सहायता प्रदान गर्नुपर्नेमा उहाँले जोड दिनुभएको हो ।

त्यस अवसरमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापासहित नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरूको उपस्थिति थियो ।

आचार्य र हुमागाईँलाई मोती पत्रकारिता पुरस्कार प्रदान

0

झापा: नेपाल पत्रकार महासङ्घ झापा शाखाले तीन दशकदेखि पत्रकारितामा सक्रिय पत्रकार केशव आचार्य र कृष्ण हुमागाईँलाई मोती पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

सभामुख देवराज घिमिरेले रु एक लाख एक हजार एक सय ११ को उक्त पुरस्कार सोमबार उहाँहरूलाई संयुक्त रूपमा प्रदान गर्नुभयो । देशका प्रथम पत्रकार मोतीराम भट्टको स्मृतिमा स्थापित उक्त पुरस्कार शाखाको १४औँ अधिवेशनका अवसरमा प्रदान गरिएको हो ।

हरेक तीन वर्षमा यो पुरस्कार प्रदान हुँदै आएको छ ।
सोही अवसरमा झापाको पहिलो पत्रिका ‘केटो’का नाममा उक्त शाखाले स्थापना गरेको रु २५ हजार राशिको ‘केटो पत्रकारिता पुरस्कार’ पूर्वाञ्चल दैनिकको अनलाइन संस्करणका सम्पादक नरेन्द्र ढकाललाई प्रदान गरिएको छ ।

 

यसैगरी, हेम–सरिता फाउण्डेशनले स्थापना गरेको रु ५० हजार पाँच सय ५५ को ‘टङ्कप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार’ पत्रकार राजबाबु शङ्करलाई प्रदान गरिएको छ ।

यसैगरी, लैङ्गिक समानता पत्रकारिता पुरस्कारबाट बिराट एफएमकी लीला अनमोल र जनआन्दोलन साप्ताहिककी रेजिना गौतम, समावेशी सक्रिय पत्रकारिता पुरस्कारबाट कान्तिपुर टेलिभिजनका गणेशमान, कार्टुन पत्रकारिता पुरस्कारबाट पवन राजवंशी, अनलाइन पत्रकारिता पुरस्कारबाट शब्दपत्र डटकमका सम्पादक उद्धव पुरी, छापा पत्रकारिता पुरस्कारबाट मेची साप्ताहिकका सम्पादक झुलन रेग्मी, टेलिभिजन पत्रकारिता पुरस्कारबाट हिमशिखर टेलिभिजनका सुदीप अधिकारी र रेडियो पत्रकारिता पुरस्कारबाट रेडियो भिजनका पुष्प बराललाई सम्मान गरिएको छ ।

उदीयमान पत्रकारिता पुरस्कारबाट आँगन एफएमका चन्द्र बस्नेत र खबर मञ्चका सम्पादक प्रकाश पौडेललाई पुरस्कृत गरिएको छ । मेची–महाकाली साइकलयात्री पत्रकार मुक्ति पौडेललाई पनि सम्मान गरिएको छ ।

झापा शाखाले अधिवेशन पत्रकारहरू नकुलकाजी, गोविन्दचन्द्र छेत्री, गञ्जबहादुर दाहाल, शिरोमणि खतिवडा, लीला बराल, लेखनाथ परदेशी, गोपाल गिरी, चिन्तामणि दाहाल, नेत्र पाठक, केशव आचार्य र लक्ष्मण ढकाललाई दीर्घ सेवा सम्मान प्रदान गरेको छ ।

सभामुख घिमिरे, प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो, नेपाल पत्रकार महासङ्घकी केन्द्रीय उपाध्यक्ष वाला अधिकारी र महासङ्घका पूर्वमहासचिव चन्द्र भण्डारीले अधिवेशन सफलताको कामना गर्नुभएको थियो ।

लुम्बिनी, मधेस, सुदूरपश्चिम र कोशी प्रदेशमा हुरीबतासको चेतावनी

0

काठमाडौँ: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । लुम्बिनी, मधेस, सुदूरपश्चिम र कोशी प्रदेशका केही स्थान र बाँकी भागका केही स्थानमा हुरीबतासको सम्भावना छ ।

यसैगरी आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी, मधेस, सुदूरपश्चिम र कोशी प्रदेशका केही स्थान र बाँकी भागका केही स्थानमा हुरीबतासको सम्भावना छ ।

आगामी २४ घण्टामा देशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

लुम्बिनी, मधेस र कोशी प्रदेशका केही र बाँकी भागका केही स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

उपनिर्वाचन विशेष: इलाममा एमालेको क्लिन स्विप: १६ उम्मेदवारको जमानत जफत

0

काठमाडाैँ । इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपा एमालेले क्लिन स्विप गरेको छ ।
एमालेले क्लिन स्विप गर्दा १६ जना उम्मेदवारको भने जमानत जफत भएको छ।

त्यस्तै बझाङ प्रदेशसभा १ मा पनि नेकपा एमालेले विजय हासिल गरेको छ।

इलाम २ मा मंगलबार बिहान सार्वजनिक मतगणनाको अन्तिम नतिजाअनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७७२ मतका साथ विजयी भए भने उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत पाए । यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ११ हजार ४५७ मत पाउँदा अन्य उम्मेदवारले भने जमानत पनि जोगाउन सकेनन् ।

त्यस्तै, बझाङ प्रदेशसभा १ मा पनि एमालेकै उम्मेदवार दमन बहादुर भण्डारी ११ हजार ६१३ मतका साथ विजयी भए भने उनका निकटम प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंह ११ हजार ३४६ मत ल्याएर पराजित भए।
त्यस्तै, माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ८३१ मत पाए । यसबाहेक सो क्षेत्रमा अन्य उम्मेदवारले भने जमानत जोगाउन सकेनन् ।

उपनिर्वाचनमा इलाम २ मा माओवादीले एमालेलाई सघाएको थियो भने बझाङमा भने कुनै तालमेल थिएन । बझाङ्गमा यस अघिको निर्वाचनमा कांग्रेसले उपनिर्वाचनबाट एमालेले कांग्रेसको एक सिट खोस्न सफल भएको छ ।

 

चलचित्र माइतीघरका अभिनेता सिपी लोहनीको निधन

0

काठमाडौँ: निजी क्षेत्रबाट निर्मित पहिलो चलचित्र ‘माइतीघर’ का अभिनेता सिपी लोहनीको ८६ वर्षको उमेरमा आज दिउँसो काठमाडौँमा निधन भएको छ ।

अल्जाइमर रोगबाट पीडित लोहनीलाई निमोनियाको समस्या देखिएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा उहाँको निधन भएको भतिज एवं पत्रकार विकासप्रसाद लोहनीले जानकारी दिनुभयो ।

गीतसङ्गीत क्षेत्रमा विशेष रुचि राख्ने लोहनीले सरकारी सेवाअन्तर्गत अर्थ र उद्योग मन्त्रालयमा समेत काम गर्नुभएको थियो । उद्योग मन्त्रालयमा रहँदा विराटनगर जुटमिल र रघुपति जुटमिलमा निर्देशकको जिम्मेवारीमा रहनुभएको थियो । वास्तविक नाम चिदम्बरप्रसाद लोहनी भएपनि छोटकरीमा सिपी लोहनीका नाममा चलचित्र तथा गीतसङ्गीत क्षेत्रमा उहाँ परिचित हुनुहन्थ्यो । माइतीघर चलचित्रका अभिनेत्री माला सिन्हासँग विवाह गर्नुभएका स्वर्गीय लोहनीको एक छोरी हाल संयुक्त राज्य अमेरिकामा रहनुभएको पत्रकार लोहनीले जानकारी दिनुभयो । लोहनीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गर्ने परिवारले जनाइएको छ ।