Sunday, May 10, 2026
Home Blog Page 822

कीर्तिपुरमा बस दुर्घटना: त्रिविका प्राध्यापकको निधन

0

काठमाडौँ । आज कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको मृत्यु भएको छ । कीर्तिपुर- रत्नपार्क रुटमा चल्ने बा.३ख २०२७ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको हो । दुर्घटनामा परेर प्रा.डा. गोविन्द रिजालको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता (एसएसपी) दिनेशराज मैनालीले बताए ।

घाइते हुनेमा बैतडी घर भएका २४ वर्षीय डम्बर पन्त, २४ वर्षीया विमला श्रेष्ठ र बस चालक २७ वर्षीय रमेश लामा घाइते भएका छन् । उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रा.डा. रिजाल त्रिभुवन विश्वविद्यालय कृषि अध्ययन संस्थाका आंशिक प्राध्यापक हुन् ।

बाजुराको खापरमा आगलागी, तीन घर नष्ट

0

बाजुरा: जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । सोही गाउँपालिका–३ जुकोटको जुकुमा स्थानीय अमर कट्टेलको गोठबाट सुरु भएको आगो प्रकाश कट्टेल र पदम कट्टेलको घरमा सल्किएको थियोे ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट मानवीय र पशु चौपाया क्षति नभए पनि तीनवटै घरका सरसामान नष्ट भएका छन् । क्षतिको विवरण सङ्कलन भइरहेको छ । स्थानीय र प्रहरीको सक्रियतामा आगो निभाइएको थियो ।

गत बिहीबार दिउँसो बुढीगङ्गा नगरपालिकास्थित सामुदायिक वनमा लागेको आगोले सोही पालिकाको वडा न ४ का मोहन नेपालीको घर खरानीमा परिणत गरेको थियो । आगलागीका घटना दैनिक बढ्दै गए तापनि जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय पालिकाले विपद् प्रतिकार्यमा कुनै चासो नदेखाएका तथा आफूहरूलाई सहयोग नगरेको आरोप पीडितहरूले लगाएका छन् ।

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

0

काभ्रेपलाञ्चोक: जङ्गलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनुभयो ।

पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जङ्गलमा आगो झोसेको अभियोगमा मण्डनदेउपुर नगरपालिका–११ का ३१ वर्षीय मैते तामाङ, २५ वर्षीय विकास भुजेल र सविन सुनार, नमोबुद्ध नपा–१ को कासकोट सामुदायिक जङ्गलमा आगो लगाएको अभियोगमा ८० वर्षीय आइतीमाया तामाङ र चौँरीदेउराली गाउँपालिका–६ को आरुबोट सामुदायिक जङ्गलमा आगो लगाएको आशङ्कामा सोही वडाका ४९ वर्षीय लालकुमार सेन ठकुरीलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका पाँचमध्ये नमोबुद्ध–१ का तामाङलाई हिरासतमुक्त गरिएको र अन्यलाई प मुद्दा चलाइएको उहाँले बताउनुभयो ।

डढेलो मानवबस्तीमा पस्दा रोशी, महाभारत र खानीखोला गाउँपालिकाका विभिन्न ठाउँमा धनमालको क्षति भएको छ । रोशी गाउँपालिका–४ सानोपोटा गाउँका १५ घर नष्ट हुँदा रु दुई करोड २६ लाख ३० हजार बराबरको क्षति भएको थियो ।

मौरीपालनका निम्ति अनुदान बढाउन किसानको माग

0

नवलपुर (नवलपरासी): नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण भए तापनि सरकारी निकायले ध्यान नदिँदा पछाडि परेको गुनासो गरेका छन् । तीन तहकै सरकारबाट मौरीपालक किसानलाई प्रोत्साहन नहुँदा आफूहरू मर्कामा परेको उनीहरूको गुनासो छ ।

गैँडाकोट नगरपालिकामा सञ्चालित आधारभूत मौरीपालन तालिममा सहभागी किसानले मौरीपालन व्यवसायमा तीन तहकै सरकारले दिने अनुदान बढाउनुपर्ने माग गरेका छन् । तालिममा सहभागी प्रदीप सापकोटाले घरायसी प्रयोजनका लागि मात्र मौरीपालन गर्दै आएको भन्दै तालिमका कारण मौरीपालनलाई व्यावसायिक रूपमा अगाडि बढाउने प्रेरणा मिलेको बताउनुभयो । पछिल्लो समय तोरी फुल्ने बेलामा किसानले विषादीको प्रयोग बढी मात्रामा गर्नाले मौरीपालक किसानलाई समस्या भएको उहाँले बताउनुभयो ।

“जिल्लामा मौरीपालनको वातावरण छ”, उहाँले भन्नुभयो, “मौरीले फूलको रसमात्रै सेवन नगरी बालीमा परागसेचनको कामसमेत गर्ने हुँदा यसबारे चेतना फैलाउन आवश्यक छ ।” जिल्लामा विभिन्न समयमा फलफूलखेती हुने गरेको र त्यसबाहेकको समयमा जङ्गली फूलबाट मौरीले मह उत्पादन गर्ने उहाँले बताउनुभयो । स्थानीय, प्रदेश र सङ्घीय सरकारले मौरीपालक किसानका समस्या समाधान गर्दै मह आयातमा प्रतिबन्ध लगाउनुपर्ने सापकोटाले बताउनुभयो ।

व्यावसायिकरुपमा मौरीपालन गर्दै आउनुभएका किसान चन्द्रबहादुर केसीले आफूहरूको समस्या कुनै पनि सरकारले नसुनेको गुनासो गर्दै गैँडाकोट नगरपालिकालाई किसानको समस्या सुन्न र समाधानमा सहयोग गर्न आग्रह गर्नुभयो । “किसानले उत्पादन गरेको मह बजारीकरणमा समस्या छ”, उहाँले भन्नुभयो, “गुणस्तरहीन मह खुला रूपमा बिक्री हुँदा उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलवाड भइरहेको छ ।” सरकारको गलत नीतिका कारण आफूहरूले उत्पादन गरेको मह बिक्री नभएको केसीले गुनासो गर्नुभयो ।

सागर मौरीपालन उद्योगका प्रबन्ध निर्देशक करुणासागर सुवेदीले मौरीपालनका समस्या समाधान गर्न सामाजिक सङ्घसंस्थासँग मिलेर वृक्षरोपण गर्न आवश्यक भएको बताउनुभयो । साथै उहाँले गैँडाकोट नगरपालिकाले नगरपालिकाको जम्मा बजेटको शून्य दशमलव ५८ प्रतिशत बजेटमात्र कृषिमा छुट्याउनु दुःखद भएको बताउनुभयो । आगामी वर्षको बजेटमा कृषि क्षेत्रको समग्र बजेट बढाउँदै मौरीपालक किसानका समस्या सम्बोधन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

गैँडाकोट नगरपालिकाकी उपप्रमुख शान्ति कोइरालाले कृषि क्षेत्रमा कम रकम परेकामा आफू जानकार रहेको भन्दै आगामी वर्ष कृषिको बजेट बढाउन प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुुभयो । मौरीपालक किसान लक्ष्यित कार्यक्रम सञ्चालन गर्ने तयारीमा नगरपालिका रहेको उहाँले जानकारी दिनुभयो ।

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

0

तनहुँ: व्यास नगरपालिका–१ र २ जोड्नेगरी कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा सवारीसाधन सञ्चालन गर्न मिल्नेगरी पुल निर्माण सुरु भएको छ ।

व्यास नगरपालिकाको समपूरक योजनाअन्तर्गत रु छ करोड ११ लाख तीन सय २४ को लागतमा निर्माण सुरु भएको हो । पुल २५ मिटर लम्बाइ र आठ दशमलव ४० मिटर चौडाइको हुनेछ । निर्माणमा करिब २० प्रतिशत भौतिक प्रगति भएको छ । व्यास नगरपालिका–२ क्षेत्रतर्फ पिलर निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

पुल बनेपछि आवागमन सहज हुनुका साथै खोला किनारका करिब एक सय घर संरक्षण हुने सामुदायिक टोल विकास संस्था कराङकाठ बसपार्कका अध्यक्ष सोमनाथ पौडेल बताउनुहुन्छ । विसं २०८२ भदौ २२ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनी ज्वालामुखी कन्स्टक्सनसँग सम्झौता भएको व्यास नगरपालिकाको योजना शाखा अधिकृत भेषराज तिवारीले बताउनुभयो ।

दोदा नदीमा डुबेर दुईजनाको मृत्यु

0

महेन्द्रनगर (कञ्चनपुर): कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिनुभयो ।

शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट घाइते भएका छन् । घाइतेमध्ये एक जनाको धनगढी र अर्काको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । दुवै शव परीक्षणका लागि बेलौरी स्वास्थ्य केन्द्रमा राखेको जनाएको छ ।

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

0

सिमकोट (हुम्ला): ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ नाराका साथ सञ्चालन भएको ४५ दिने आधारभूत कम्प्युटर तालिम सम्पन्न भएको छ ।

लक्ष्मी मल्टिमिडियाको आयोजना र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको आर्थिक सहयोगमा बेरोजगार युवायुवतीका लागि कम्प्युटर तालिम आयोजना गरिएको हो । सिमकोट, खार्पुनाथ र सर्केगाड गाउँपालिकाका २४ युवती र दुई युवा गरेर २६ जनालाई कम्प्युटर तालिममा प्रदान गरिएको प्रशिक्षक रेशमराज रोकायाले बताउनुभयो ।

तालिम समापन कार्यक्रम उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख प्रदीपकुमार रेग्मीको अध्यक्षता र सिमकोट गाउँपालिका–६ का वडाध्यक्ष रावतको प्रमुख आतिथ्यमा भएको थियो । त्यस अवसरमा हुम्ला कारागारका प्रमुख जीवन रुपाखेती र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका लेखापाल केशव न्यौपानेलगायत विभिन्न सरकारी कार्यालयका कर्मचारीले प्रशिक्षार्थीलाई सिकेको सीपको उपयोग गर्न सुझाव दिनुभएको थियो ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने

0

काठमाडौँ: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा मौसम सफा रहने छ । कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हुरीबतासको सम्भावना छ ।

त्यसैगरी आज राति देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदलीसम्म हुने तथा बाँकी भूभागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ । मधेस प्रदेशलगायत कोशी प्रदेशका तराईका केही स्थानमा हुरीबतासको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी प्रदेशका केही स्थानमा तथा बाँकी पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावनाका साथै मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हुरीको सम्भावना पनि रहेको जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

 

जापानका परराष्ट्रमन्त्री आज नेपाल आउँदै

0

काठमाडौँ: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै हुनुहुन्छ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा आउन लाग्नुभएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । आफ्ना नेपाली समकक्षी श्रेष्ठसँग उहाँले द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जापानको परराष्ट्रमन्त्री नियुक्त भएपछि उहाँको यो पहिलो नेपाल भ्रमण हो । जापान नेपालको समृद्धिका लागि निरन्तर सहयोग गर्ने मुलुकको सूचीमा अग्रस्थानमा छ । नेपाल र जापानबीचको सम्बन्ध सरकारी तहमा मात्र नभई जनस्तरमा पनि सुमधुर छ । हाल जापानमा एक लाख ६३ हजार नेपाली नागरिक अध्ययन, रोजगारी र व्यापार–व्यवसायको सिलसिलामा रहेका बताइएको छ ।

नेपाल–जापान सम्बन्ध

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध सन् १९५६ सेप्टेम्बर १ मा स्थापना भएको हो । दुई देशबीचको सांस्कृतिक, सामाजिक, धार्मिक र जनस्तरको सम्बन्ध भने एक सय २५ वर्ष पुरानो हो । सन् १८९९ मै जापानका बौद्धभिक्षु इकाइ कावागुची बौद्ध ग्रन्थ र धर्मको अनुसन्धान गर्ने सिलसिलामा नेपाल आउनुभएको थियो ।

नेपालबाट सन् १९०२ मा आठ जना नेपाली विद्यार्थी उच्च शिक्षाका लागि जापान गएका थिए । जापान–नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको नौ वर्षपछि सन् १९६५ मा नेपालले टोकियोमा राजदूतावास स्थापना गरेर कूटनीतिक माध्यमबाट आपसी सम्बन्धलाई अझ घनीभूत बनायो । त्यसको तीन वर्षपछि जापानले नेपालमा राजदूतावास खोलेको हो । नेपालको शिक्षा, स्वास्थ्य, सञ्चार, कृषि, पूर्वाधार, ऊर्जा, नागरिक उड्डयनलगायत क्षेत्रमा सहयोग गर्दै आएको छ । सिन्धुली–बर्दिवास सडकदेखि नागढुङगा–सिस्नेखोला सुरुङमार्गमा पनि जापानले सहयोग गरेको छ । जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी भन्नुहुन्छ, “नेपालको कुनै त्यस्तो क्षेत्र छैन, जहाँ जापानी सहयोगले नछोएको होस् । नेपालको आर्थिक–समाजिक विकासमा केन्द्रित भएर जापानले सहयोग गरिरहेको छ ।”

जापानी नागरिक नेपाल आएर यहाँको धर्म, संस्कृति, कला, सङ्गीत र प्रकृतिको अध्ययन गरिरहेको छन् भने केही नेपाली पनि जापानका विभिन्न क्षेत्रमा महत्त्वपूर्ण ओहोदामा रहेर काम गरिरहेका छन् । राष्ट्रिय ध्वजावाहक विमान नेपाल एयरलाइन्सले जापानमा नियमित उडान गरेर भौगोलिक दू्री कम गर्दै सम्पर्क विस्तारमा सेतुको काम गरेको छ । दुई देशबीचको सम्बन्ध विस्तारमा जापानमा रहेको नेपाली समाजले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका राजदूत सुवेदी बताउनुहुन्छ । जापानका परराष्ट्रमन्त्रीको यो भ्रमणले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ तुल्याउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

इजरायलले हमासलाई युद्धविरामको जवाफ दिन एक साताको समय दियो

0
BERLIN, GERMANY - MARCH 16: Israeli Prime Minister Benjamin Netanyahu and German Chancellor Olaf Scholz (not pictured) speak to the media following talks at the Chancellery on March 16, 2023 in Berlin, Germany. Netanyahu's one-day visit to Berlin is being accompanied by protests, including both by people angry over Israel’s policies towards Palestinians as well as those critical of possible new legislation in Israel supported by Netanyahu that would undermine the independence and the power of Israel's Supreme Court, effectively curtailing democracy in Israel. (Photo by Sean Gallup/Getty Images)

काठमाडौं। इजरायलले हमासलाई युद्धविराम र बन्धकहरूको रिहाइको पछिल्लो प्रस्तावको जवाफ दिन एक हप्ताको समय दिएको छ ।

इजरायल र हमासबीच शान्ति वार्ता सञ्चालन गर्ने इजिप्टका मध्यस्थकर्ताहरूले यस्तो जानकारी दिएका हुन् । इजरायलले हमासको प्रस्ताव स्वीकार नगरे गाजाको रफाह क्षेत्रमा जमिन आक्रमण गर्ने बताएको छ ।

हमासका एक शीर्ष अधिकारीले यो शान्ति प्रस्तावलाई सकारात्मक दृष्टिकोणका साथ अध्ययन गरिरहेको बताएको मध्यस्थकर्ताहरुले बताएका छन् ।

हमासका अधिकारी होसम बद्रनले इजरायलका प्रधानमन्त्री नेतन्याहुले रफाहमा सैन्य कारबाही अघि बढ्छ भनेर बारम्बार भन्दै सम्झौताको सम्भावनालाई हानी गरेको आरोप लगाएका छन्।

यसैबीच विश्व स्वास्थ्य सङ्गठनले इजरायलले रफाहमा आक्रमण गरेमा ठूलो जनधनको क्षति हुने र मानवीय सङ्कट झन् गम्भीर हुने चेतावनी दिएको छ ।