Sunday, May 10, 2026
Home Blog Page 819

मेरो विरुद्ध छानबिन समिति बनाउने कुनै आधार छैन: गृहमन्त्री लामिछाने

0

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध छानबिन समिति बनाउने कुनै आधार नभएको बताएका छन् ।

सभामुखले बोलाएको सर्बदलीय बैठकमा लामिछानेले महान्यायाधिवक्ता कार्यालयले नै मेरो विरूद्व केही छैन भनेपछि छानबिन समिति बनाउने आधार नै नभएको बताएका हुन् ।

उनले आधार नभई किन छानबिन समिति बनाउने भन्दै भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका संसदमा आउने र कुनै आधार नभएको उजुरीमा छानबिन गर्नुपर्ने भन्दै प्रश्न गरेका थिए ।

उनले भने- “रूपन्देहीमा मुद्दा चल्ने, नचल्ने आधार हेरियो होला । आधार हेर्दा मुद्दा नचल्ने देखियो । नाम सहभागी हुँदैमा दोषी हुने होइन । प्रतिपक्षले सदन चल्न दिन जिम्मेवार हुनुपर्छ । संसदीय अभ्यास अगाडि बढाउन दिनुपर्छ ।”

उनले सहकारी समस्या समाधान गर्न सरकार संवेदनशील छ, नीतिगत र संरचनागत रूपमा फास्ट ट्रयाकमा व्यवस्था गर्न लागिरहेको बताउदै बचतकर्ताको पैसा फिर्ता प्राथमिकतामा रहेको र यसलाई प्रतिपक्षीले साथ दिनुपर्ने बताए ।

उनले जिबी राईका सम्बन्धमा मलेसियामा गृहमन्त्रीसँग सकारात्मक छलफल भएको बताउदै उनलाई नेपाल ल्याउन निरन्तर प्रयास गरिरहेको बताए ।

 

सरकारले सञ्चारसम्बन्धी ऐन चांडै ल्याउँदै

0

काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार जतिसक्दो चाँडो मिडिया काउन्सिल, सामाजिक सञ्जालसम्बन्धी र आमसञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा रहेको बताउनुभएको छ । यहाँ आज आयोजित सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा आफ्नो धारणा राख्दै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री शर्माले मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा छलफलको क्रममा रहेको र अन्य विधेयक पनि ल्याउने क्रममा रहेको बताउनुभयो ।

मन्त्री शर्माले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’को ६ नं बुँदामा उल्लेख गरिएको परिषद् गठनबारे प्रस्ट पार्दै परिषद्को नेतृत्व सञ्चार मन्त्रालयले नै लिनुपर्नेमा जोड दिनुभयो । परिषद्को अध्यक्ष सञ्चार तथा सूचना प्रविधिमन्त्री वा राज्यमन्त्री हुने र अन्य सम्बन्धित मन्त्रालयका सचिव र अन्य सम्बन्धित निकायका प्रतिनिधि सदस्य रहने गरी अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

“विधेयक एक ढङ्गले आयो, हामीले विकसित देशको उदाहरण पनि दिइरहेका छौँ, तर हामी हाम्रो सन्दर्भमा छौँ, हामीले अहिलेसम्म पनि सार्वजनिक सेवा प्रसारणको अभ्यास गरेका छैनौँ, धेरै वर्षभयो, यो विधेयक समितिमा छ, राष्ट्रिय सभामा उत्पत्ति भएर यहाँ आएको सन्दर्भ पनि हो, त्यसकारण हामीले अरुको देखासिकी गर्नेभन्दा पनि हाम्रो सन्दर्भमा काम गर्नुपर्ने हुन्छ”, मन्त्री शर्माले भन्नुभयो । सरकारप्रति अविश्वासभन्दा पनि विश्वास गरेर अगाडि बढ्नुपर्ने उहाँको धारणा थियो ।

सञ्चार मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले समग्र कानुनलाई समेट्नेभन्दा पनि रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभ्ने हिसाबले सार्वजनिक सेवा प्रसारण विधेयक ल्याएको उल्लेख गर्दै सञ्चार मन्त्रालयलाई नै विश्वास गरेर जिम्मेवारी दिनुपर्ने धारणा राख्नुभयो ।

हेटौँडा कला महोत्सव जेठमा

0
काठमाडौँ: कला क्षेत्रको महत्व बुझाउने उद्देश्यले आगामी जेठमा ‘हेटौँडा कला महोत्सव’ आयोजना हुने भएको छ । स्यार्टडे प्लेन आर्टको आयोजना हुने महोत्सवको संरक्षकमा बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय हुने काठमाडौँमा आज पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । आयोजक प्रमुख दिवेस प्रधानका अनुसार हेटौँडा महोत्सवमा स्थानीयसहित करिब ५० कलाकारको सहभागिता हुनेछ । आगामी जेठ ३ देखि जेठ ५ गतेसम्म आयोजना हुने महोत्वसमा खुलास्थल चित्रकला कार्यशाला, कलासम्बन्धी संवाद, वरिष्ठ कलाकारको सम्मान, कलाकै विषयमा कार्यपत्र प्रस्तुतिलगायतका गतिविधि हुनेछन् । प्रधानका अनुसार प्रादेशिक राजधानी हेटौँडामा एउटा पनि कला प्रदर्शनी गर्ने ग्यालरी छैन । यस्तो अवस्थामा कला र संस्कृतिप्रतिको जागरण फैल्याउन आवश्यक भएकाले महोत्सव गर्न लागिएको उहाँको भनाइ छ । महोत्सवमा कूल बिक्रीको ५० प्रतिशत रकम मानव सेवा समाजलाई सहयोग गरिने जनाइएको छ ।

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी

0

काठमाडौँ: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरुले बैङ्कभन्दा बढी कारोबार गर्ने प्रतिस्पर्धा गर्दा समस्या सिर्जना भएको बताउनुभएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन)ले आज यहाँ आयोजना गरेको दोस्रो लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा मन्त्री अधिकारीले सहकारीहरु आफ्नो मूल्य मान्यता र सिद्धान्त विपरीत अस्वस्थ प्रतिस्पर्धामा लाग्दा समस्या सिर्जना भएको बताउनुभयो। जुन उद्देश्यका साथ सहकारी स्थापना भएका थिए त्यसको खिलाफमा काम भइरहेको उहाँको धारणा छ ।

“सहकारीहरु बैङ्कभन्दा ठूलो कारोबार गर्ने अभ्यासमा लागे, सहकारीको मूल्य मान्यता विपरीत काम गर्न थाले, बचतकर्ताको बचतलाई दुरुपयोग गर्ने अधिकार कसैलाई पनि हुँदैन, सहकारीमा आबद्धहरुले नै समाधान गर्ने हो, सरकारले सल्लाह दिने हो, यो बाटो जाउ भन्ने हो, सरकारले समस्या समाधान गर्ने होइन”, मन्त्री अधिकारीले भन्नुभयो । सदस्यले पनि सबै कुराको जिम्मा सञ्चालकलाई दिन नहुने उहाँको धारणा छ ।

“शिक्षक, डाक्टर तथा वकिल सबै यो क्षेत्रमा छन्, सर्वप्रथम मेरो कर्तव्य के हो भन्ने बुझ्नुपर्छ, त्यो बुझ्न सकियो भने यो समस्या आउँदैन”, मन्त्री अधिकारीले भन्नुभयो । लेखा सुपरीवेक्षण समितिमा पनि खोट रहेको उल्लेख गर्दै उहाँले अहिलेको समस्या समाधान गर्न अहिलेदेखि नै लाग्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बामा धमिरा लागेको धारणा राख्नुभयो । उहाँले सहकारी अभियान भुमरीमा परेको बताउनुभयो ।

सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीको खोल आढेर बदमासी गर्नेलाई कानुनी कारबाही गरेरै छाड्ने बताउनुभयो । उहाँले सहकारीको प्रभावकारी नियमनका लागि यही वैशाख मसान्तभित्रै ऐनको मस्यौदा सार्वजनिक गर्ने उल्लेख गर्दै अब सहकारी देखाएर गलत गर्नेलाई कारबाही गरेरै छाड्ने बताउनुभयो ।

उपराष्ट्रपति यादवसँग संयुक्त अधिराज्यका राजदूतको शिष्टाचार भेट

0

काठमाडौँ: उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त अधिराज्यका आवासीय राजदूत रोवर्ट डोमिनिक रुसेल फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा उहाँहरुबीच नेपाल र बेलायतबीच सदियौँदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउँदै द्विपक्षीय हितलाई अझ प्रवद्र्धन गर्ने विषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

सो अवसरमा उपराष्ट्रपति यादवले संयुक्त अधिराज्य नेपालको एक प्रमुख विकास साझेदार भएको र दुई देशबीच राजनीतिक, आर्थिक तथा सांस्कृतिक सम्बन्ध तथा जनस्तरमा अद्वितीय मित्रता कायम रहेको उल्लेख गर्नुभएको थियो ।

उहाँले अन्तर्राष्ट्रिय मञ्चहरुमा पनि नेपाल र संयुक्त अधिराज्यले मानव कल्याणसँग सम्बन्ध राख्ने र साझा चासोका विविध क्षेत्रहरु राष्ट्रसङ्घीय शान्ति सेनामार्फत विश्वशान्ति स्थापनामा सहयोग, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण तथा महिला सशक्तीकरणका लागि सहकार्य गर्दै आएकामा खुसी व्यक्त गर्नुभएको थियो ।

उपराष्ट्रपति यादवले नेपाल र नेपाली नागरिकहरूका तर्फबाट राजा चाल्र्सको व्यक्तिगत सुख एवं सुस्वास्थ्यको शुभकामना सन्देश प्रेषित गरिदिन आग्रहसमेत गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । राजदूत फेनले नेपालको हरेक क्षेत्रमा संयुक्त अधिराज्यले सहयोग गर्न चाहेको बताउनुभएको थियो ।

सगरमाथा आरोहण गर्न चार सय १४ जनाले लिए अनुमति

0

काठमाडौँ: सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार हालसम्म ४१ आरोही समूहका ७५ महिला र तीन सय ३९ पुरुष गरी चार सय १४ ले अनुमति लिएका हुन् । अघिल्लो वर्ष हालसम्मकै सर्वाधिक चार सय ७८ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए ।

विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत चुनबहादुर तामाङका अनुसार यो याममा सगरमाथासहित ३० हिमाल आरोहणका लागि एक सय १२ आरोही समूहका नौ सय ७१ आरोहीले अनुमति लिएका छन् । हिमाल आरोहणको अनुमतिवापत हालसम्म रु ६७ करोड ४७ लाख १४ हजार ६१ रोयल्टी जम्मा भएको छ । सगरमाथाबाट मात्रै रु ५९ करोड २३ लाख पाँच हजार आठ सय ४९ रकम उठेको छ ।

वसन्त यामको सगरमाथा आरोहणका लागि चौथो शिविर (साउथ कोल, ७९५० मि.) सम्म बाटो खुलिसकेको छ । आरोहणका लागि डोरी टाँग्ने (रोपफिक्सिङ) काम चौथो शिविरसम्म सम्पन्न भएको हो । यसअघि सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म आइसफल डाक्टरको टोलीले बाटो बनाएको थियो ।

जुम्लामा भीरबाट लडेर ७० भेडा मरे

0
सांकेतिक तस्बिर

जुम्ला: जुम्लाको तातोपानी गाउँपालिका-७ बारागाउँको थुमलचौरमा भालुले लखेट्दा भीरबाट लडेर ७० भेडा मरेका छन् । स्थानीय मगे रावत र सिउल रावतका ७० भेडा गए राती भीरबाट लडेर मरेको बारागाउँका शिक्षक अमर रावतले जानकारी दिनुभयो ।

मगे र सिउल दाजुभाइ हुन् । अस्थायी प्रहरी पोस्ट ताम्ती टोप्लाका अनुसार उनीहरुका एक सय दुई भेडामध्ये भीरबाट लडेर मरेको ७० वटा भेडा भेटिएका छन्।३१ भेडा बेपत्ता छन् । गोठ रित्तो भएपछि भेडापालक रावत दाजुभाई घरखर्च कसरी धान्ने भन्ने चिन्तामा छन् ।

पीडित भेडा रावत दाजुभाईलाई राहतका लागि आवश्यक सहयोगका लागि समन्वय गरिरहेको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिनुभयो ।

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख

0

काठमाडौँ: यही वैशाख २८ गते प्रारम्भ हुने बजेट अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सचिवालयले अधिवेशनका लागि गर्नुपर्ने आन्तरिक व्यवस्थापन र तयारीका सबै काम पूरा गरेको छ ।

अधिवेशनमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनका साथै आर्थिक, विनियोजन र राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत हुने जानकारी उहाँले दिनुभयो ।
निर्वाध सदन सञ्चालनका निम्ति परामर्श गर्न सभामुख देवराज घिमिरेले आज संसद्मा प्रतिनिधित्व गरेका पाँच राजनीतिक दलका शीर्ष नेतासँग बैठक गर्दै हुनुहुन्छ । संसद् सचिवालयले सदन सञ्चालनका लागि बनाएको ‘क्यालेण्डर’ अनुरूप संसदीय गतिविधिमा सबै राजनीतिक दललाई सहयोग गर्न सभामुखले बैठकमा पुनः अनुरोध गर्नुहुने बताइएको छ ।
सरकारले प्रत्येक वर्ष जेठ १५ गते वार्षिक आयव्ययको अनुमानित विवरण प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गर्नुभएको हो ।
विगतमा ‘प्रि–बजेट’ छलफल हुने गरेकामा यस वर्ष बजेटका प्राथमिकता र सिद्धान्तमा हिउँदे अधिवेशनमा नै त्यो कार्य पूरा भइसकेको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी २६ वटा विधेयक विचाराधीन छन् । राष्ट्रियसभामा मिडिया काउन्सिल विधेयक दर्ता भएको छ । प्रतिनिधिसभामा दर्ता भएका २४ वटा विधेयकमध्ये १४ वटा विषयगत समितिमा र १० वटा राष्ट्रियसभामा विचाराधीन छन् ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले जनताले बचत गरेको रकम विभिन्न सहकारीले हिनामिना गरेकालगायत विषयमा छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै लामो समयसम्म संसद् अवरोध गरेपछि संसद्को हिउँदे अधिवेशन अन्त्य भएको थियो ।

यसैबीच, रासस प्रतिनिधिसँग सङ्क्षिप्त कुरा गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक महेश बर्ताैलाले अधिवेशनलाई परिणामुखी तुल्याउन संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सांसदले जिम्मेवारीबोधका साथ भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अबका चुनौती पार लगाउँदै नागरिकमा आशा जगाउने र युवाशक्ति देशभित्रै रहने वातावरण सिर्जना गर्नेगरी नीति तथा कार्यक्रम सदनमा पेस गर्न सरकारले गृहकार्यमा जुटेको छ, त्यसका आधारमा बजेट पनि आउँछ ।”

दुग्ध विकास संस्थानलाई सघाउँदै मधेस प्रदेश कृषि मन्त्रालय

0

जनकपुरधाम:सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, जनकपुर दुग्ध वितरण आयोजना ढल्केवरद्वारा उत्पादित घ्यूले बजार नपाएपछि मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खरिद गर्न थालेको छ ।

आयोजना प्रमुख दिनेशकुमार जोशीका अनुसार आयोजनाबाट उत्पादित घ्यू नबिकेपछि भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेको निर्देशनमा त्यहाँका कर्मचारीले प्रतिमहिना रु एक लाख बराबरको घ्यू खरिद गर्न थालेका हुन्। गत फागुनदेखि घ्यू खरिद सुरु भएको हो । गुठी संस्थानले पनि घ्यू खरिद गर्न थालेको छ ।

पशुपालन तथा दुग्ध व्यवसाय गर्ने किसानसँग उधारोमा दूध खरिद गर्दै आएको आयोजनाले साउनदेखि मङ्सिरसम्मको बक्यौता रकम तिरेको भए तापनि पुस–माघको रु एक करोड ३१ लाख तिर्न बाँकी छ ।

उक्त आयोजनाअन्तर्गत १२ हजार किसान प्रत्यक्ष रूपमा आबद्ध भई आर्थिक लाभ लिन थालेका छन् । धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली तथा उदयपुरका सङ्कलन केन्द्रमार्फत दूध सङ्कलन हुन गरेको छ । जाडो याममा चार हजार लिटर तथा सुक्खा याममा प्रतिदिन दुई हजार लिटर दूध सङ्कलन हुने गरेको छ ।

दूध तथा दुग्धजन्य पदार्थ उत्पादन गर्दा आयोजनाको मापदण्डअनुसार गुणस्तर निर्धाण गरेर मात्र बिक्री गर्ने गरिएको छ ।

आयोजनाले उत्पादन गरेको दुग्धजन्य पदार्थ दैनिक रु तीन लाख मूल्य बराबरको बिक्री भइरहेको छ । आयोजनाले दूध, दही,घ्यू, पनिर, आइसक्रिमलगायत सामग्री उत्पादन गर्दै आएको छ ।
गर्मी याममा यहाँबाट उत्पादित दैनिक एक हजार दुई सयदेखि एक हजार पाँच सय लिटरसम्म दही बिक्री हुँदै आएको छ ।

अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको पशुपालनलाई तीनै तहका सरकारले प्राथमिकतामा राखेर व्यावसायिक उत्पादन वृद्धि गर्न अभिप्रेरित गरेमा किसानको जीवनस्तर सुधार हुनका साथै आर्थिक समृद्धितर्फको यात्रमा सफलता मिल्ने आयोजनाप्रमुख जोशी बताउनुहुन्छ ।

खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग

0

खोटाङ: हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप रु एक लाख ७६ हजार प्रदान गरिएको छ ।

यही वैशाख १४ गते जङ्गलमा लागेको डढेलो गाउँमा फैलदा घर जलेर विस्थापित भएका सात परिवारलाई जिल्लाका एक सय ५२ शिक्षकसहित एक सय ६७ जनाबाट चन्दा सङ्कलन गरेर उक्त रकम प्रदान गरिएको हो ।

पीडितलाई क्षतिको मूल्याङ्कन गरेर रु १२ देखि ४५ हजारसम्म प्रदान गरिएको सहयोग सङ्कलन अभियानका संयोजक एवं कालिका आधारभूत विद्यालय नवलपुरका शिक्षक दिलीप वाम्बुलेले जानकारी दिनुभयो ।

आगलागीमा घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएका लाई रु ४५ हजार उपलब्ध गराइएको छ । सङ्कलित रकम सल्लेका वडाध्यक्ष काशीराज राईको उपस्थितिमा प्रदान गरिएको हो ।
आगलागीबाट रु एक करोड ३३ लाख बराबरको धनमाल नष्ट भएको स्थानीय प्रशासनले जनाएको छ । जिल्लामा गत साउनदेखि हालसम्म ९९ वटा घर जलेका प्रहरीले बताएको छ ।