Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search

Logo

Sunday, May 10, 2026
Facebook

Logo

  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Home Blog Page 817

‘विज्ञान र प्रविधिको विकासबिना मुलुकको समृद्धि असम्भव’

By
Himalayan Tribune
-
May 9, 2024
0

कर्णाली: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विज्ञान र विकासबिना कुनै पनि मुलुकको समृद्धि सम्भव नभएको बताउनुभएको छ ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहकार्यमा मध्यपश्चिम विश्वविद्यालय ग्रयाजुएसन अफ साइन्स एण्ड टेक्नोलोजीद्वारा आज वीरेन्द्रनगर, सुर्खेतमा आयोजित ‘युवा वैज्ञानिक सम्मेलन’को उद्घाटन समारोहमा मुख्यमन्त्री कँडेलले अहिलेको विश्वको विकास र समृद्धिको उपज विज्ञान तथा प्रविधि भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विश्वको लागि विज्ञान र प्रविधि विकास एवं समृद्धिको मूल औजार बनेको छ। समृद्धिका सुचकाङ्क देखिनुमा यसकै ठूलो योगदान छ ।”

विज्ञान र प्रविधिको क्षेत्रमा भएका अध्ययन अनुसन्धानलाई प्रोत्साहित गर्नुका साथै यसलाई अझ फराकिलो बनाउने काममा सम्मेलनले सहयोग पुर्याउने मुख्यमन्त्री कँडेलको भनाइ थियो । उहाँले भन्नुभयो, “विज्ञान र प्रविधिका क्षेत्रमा नवीनतम् सिर्जना हासिल गर्न विद्यार्थीलाई यसैमा उत्साहित भएर लाग्न प्रेरणा मिल्नुपर्दछ । आशा छ, यो सम्मेलनले युवा वैज्ञानिकहरूमा भएको विशिष्टीकृत ज्ञान, सीप, प्रविधि र नवीन विचारमार्फत उनीहरुलाई नवीनतम् कामका लागि अभिप्रेरित गर्नेछ ।”

विज्ञान र प्रविधि क्षेत्रको कार्यले नीति निर्माण तहमासमेत महत्त्वपूर्ण सुझाव र राय प्राप्त हुने उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले युवा वैज्ञानिकका कार्य प्रशंनीय भए पनि राज्यको लगानी यसमा पर्याप्त नभएको टिप्पणी गर्नुभयो । “राज्यको ध्यान यसमा जान सकेको छैन। स्रोत साधनको अभावमा पनि नेपालका कैयन युवा वैज्ञानिकले विश्वस्तरमा प्रतिस्पर्धा गरेको खबरले हर्षित तुल्याएको छ”, उहाँले भन्नुभयो ।

विज्ञान प्रविधिमा आधारित विकासले मात्र आर्थिक एवं सामाजिक रुपान्तरण हुनसक्छ भन्दै मुख्यमन्त्री कँडेलले युवाको ज्ञान, सीप र सिर्जनालाई प्रोत्साहन गर्न सकेमात्र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा हुने बताउनुभयो । देशलाई समुन्नत बनाउन र आर्थिक विकासका निम्ति उत्पादनसँग जोड्न तथा जनताको स्तर उकास्न नवप्रवर्तन एवं नवीनतम् प्रविधि आवश्यक पर्ने औँल्याउँदै उहाँले अनुसन्धानकर्तासँगको सहयोग र सहकार्यमार्फत प्रविधिको विकासलाई संवर्द्धन गर्न कर्णाली सरकार विश्वविद्यालयसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

प्रदेशका सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले मध्यपश्चिम विश्वविद्यालयले विज्ञान र प्रविधिको सहयोगले विश्व प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले विश्वविद्यालयको उन्नयन गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा ध्रुवकुमार गौतमले विश्वविद्यालय सरोकारवालासँग सहकार्य गरेर अगाडि बढ्ने साझा थलो भएको बताउनुभयो । सम्मेलनमा प्राध्यापक रामेश्वर अधिकारीले ‘विज्ञान, प्रविधि र आजको युवा’सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो । सम्मेलन दुई दिनसम्म चल्नेछ ।

विद्यालय शिक्षा र उच्च शिक्षाबीचको खाडल अन्त्य गरिने

By
Himalayan Tribune
-
May 9, 2024
0

काठमाडाैँ: शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा र उच्च शिक्षाबीच ठूलो खाडल रहेकाले उक्त खाडललाई अन्त्य गर्ने गरी कार्य प्रारम्भ गरेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री श्रेष्ठले विद्यालय शिक्षा र उच्चशिक्षाको साझा गन्तव्य मुलुकका दक्ष जनशक्ति उत्पादन गरी रोजगारी सिर्जना रहेकाले त्यासअनुसार योजना बनाउन विश्वविद्यालयहरुका नेतृत्वलाई आग्रह गरिएको जानकारी दिनुभयो ।

मन्त्री श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा भइरहेका विकृति र विसङ्गति रोक्न सरकारले पहल गरिरहेको पनि स्पष्ट गर्नुभयो ।

सो विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजङ्ग बरालले विश्वविद्यालयमा राजनीतिक दलहरुले भातृ सङ्गठन सञ्चालन गर्दासम्म प्राज्ञिकलगायत समग्र सुधार गर्न कठिन हुने बताउनुभयो । उपकुलपति डा बरालले आगामी वर्षदेखि विश्वविद्यालयको शैक्षिक पात्रो कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दै उच्चशिक्षाका नाममा विदेश जाने युवा विद्यार्थीलाई रोक्ने योजना रहेको बताउनुभयो ।

बैठकमा समितिमा सदस्यहरुले त्रिविमा समयमा परीक्षा सञ्चालन र नतिजा प्रकाशन नभएको, अति राजनीतिकरण भएको, विभिन्न समयमा हुने परीक्षाका प्रश्नपत्र बाहिरिने समस्या देखिएको र अनियमितता हुने गरेका कारणले विश्वद्यालयप्रति विद्यार्थीको अकर्षण घटेको बताउनुभएको थियो ।

सांसदहरुले बंगलादेशमा एमबिबिएस अध्ययन गर्न छात्रावृत्तिमा नाम निकालेका आठ विद्यार्थीको सट्टा राजनीतिक पहुँचका आधारमा अन्य विद्यार्थी पढ्न पठाएको भन्दै नाम निस्किएका विद्यार्थीलाई पठाउन माग गर्नुभएको थियो ।

खोटाङको जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना

By
Himalayan Tribune
-
May 9, 2024
0

खोटाङ: दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना भएको छ । अस्पताल स्थापनासँगै विशेषज्ञ डाक्टरबाट सेवा प्रवाह भएको छ । जनसेवा समाज नेपाल जालपाले सञ्चालन गर्दै आएको १५ शय्याको जनसेवा सामुदायिक अस्पताललाई नगर अस्पतालमा रुपान्तरण गरेर सेवा प्रवाह गरिएको वडा नं.–१२ का अध्यक्ष दानबहादुर राईले बताउनुभयो ।

जालपाका स्थानीयले २०६९ सालमा चन्दा सङ्कलन तथा श्रमदान गरेर स्थापना गरेको १५ शय्याको सामुदायिक अस्पतालको भौतिक संरचना तथा उपकरण नगरपालिकालाई हस्तान्तरण गरेर सोही ठाउँमा नगर अस्पताल सञ्चालन गरिएको हो । जनसेवा सामुदायिक अस्पतालको नाममा रहेको चार रोपनी एक आना दुई दाम जग्गामा निर्माण गरिएका भौतिक संरचना तथा उपकरण नगरपालिकालाई हस्तान्तरण गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ध्रुव श्रेष्ठले राससलाई जानकारी दिनुभयो । जालपामा सञ्चालित स्वास्थ्य चौकीको सेवासमेत सोही नगर अस्पतालबाट प्रवाह गर्नेगरी एकीकृत गरिएको जनाइएको छ ।

जनसेवा सामुदायिक अस्पताल व्यवस्थापन समितिले नगरपालिकालाई रु तीन करोड ५० लाख बढीको भौतिक संरचना तथा उपकरण नगरपालिकालाई हस्तान्तरण गरेपछि बुधबारदेखि सेवा प्रवाह प्रारम्भ भएको हो । निकट भविष्यमा १५ शय्यामा स्तरोन्नति गर्नेगरी स्थापना गरिएको नगर अस्पतालको उद्घाटन पूर्वसांसद टङ्क राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई र प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले संयुक्तरूपमा सेवा प्रारम्भ गर्नुभएको हो । यसैबीच, नगर अस्पताल स्थापनाका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जनसेवा सामुदायिक अस्पताल जालपाबीच भएको दुई पक्षीय सम्झौतापत्र आदानप्रदान भएको छ ।

सम्झौतापत्रमा नगर प्रमुख भट्टराई र सामुदायिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । नगर अस्पतालमा सेवा प्रारम्भ भएको अवसरमा निःशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गरिएको थियो । नगरपालिका र करुणा फाउण्डेशन नेपालले संयुक्तरुपमा आयोजना गरेको शिविरमा एक सय २४ जनाले सेवा लिएका नगर स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले बताउनुभयो ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा हुने

By
Himalayan Tribune
-
May 9, 2024
0

काठमाडौँ : हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारण बदली रहेको तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ ।

कोशी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका बाँकी पहाडी भागका केही स्थानमा मेघगर्जन एवं चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै देशका बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा देशका कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत मुलुकका बाँकी पहाडी भागका केही स्थानका साथै बाँकी तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान विभागले गरेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

तनहुँ कारागारमा क्षमताभन्दा बढी बन्दी

By
Himalayan Tribune
-
May 9, 2024
0

दमौली (तनहुँ): जिल्ला कारागारमा तीन सय २३ कैदीबन्दी छन् । दैनिकरुपमा कैदीबन्दी थपिने क्रम बढेसँगै व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । कारागारका प्रमुख नारायणप्रसाद अधिकारीका अनुसार हाल एक सय ६८ कैदी र एक सय ५५ थुनुवा गरी तीन सय २३ जना कारागारमा छन् ।

कारागारमा महिलातर्फ २० र पुरुषतर्फ एक सय १४ जनाको क्षमता रहे पनि क्षमताभन्दा बढी कैदीबन्दी व्यवस्थापन गर्नुपरेको छ । कारागारमा कर्तव्य ज्यानका ४८, ज्यान मार्ने उद्योगका दश, सवारी ज्यानका २३, चोरीका ३२, बहुविवाहका पाँच, लागुऔषधका ६९, डाकाचोरीका १३, ठगीका तीन, मानव बेचबिखनका चार, जबर्जस्ती करणीका ९०, जबर्जस्ती करणी उद्योगका सात, अपहरणका तीन, भ्रष्टाचारका एक, हातहतियार खरखजानाका चार र अन्य नखुलेका ११ कैदीबन्दी छन् ।

नारायणगढ–मुग्लिन सडकमा चार पुल धमाधम बन्दै

By
Himalayan Tribune
-
May 9, 2024
0
चितवन: नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी धमाधम काम भइरहेको छ । यो खण्डका १५ पुलमध्ये ११ वटा सञ्चालनमा छन्भने चार वटा निर्माणाधीन छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यका अनुसार मुग्लिन बजार नजिकैको खहरे, नाम्चे, कालीखोला र तुइन खोला पुलबाहेक अन्य पुल सञ्चालनमा आइसकेका छन् ।
निर्माण भइरहेका चार पुलमा तीन वटाको पहुँच सडक निर्माणको काम जारी छ । यी दुई पुल असार मसान्तभित्र सञ्चालनमा ल्याउने गरी धमाधम काम भइरहेको उहाँले बताउनुभयो । खहरे खोलामा निर्माण गरिएको पुलका लागि पहुँच सडक निर्माण गर्न अग्लो पर्खाल उठाउनुपर्ने भएकाले धेरै समय लाग्ने भएको हो ।
इन्जिनियर आचार्य कात्तिक मसान्तसम्ममा तुइन खोलाको काम सकिने बताउनुहुन्छ छ । यो सडकखण्डमा १९ वटा पुल छन् । विश्व बैंकको ऋण सहयोगमा ती पुल निर्माण गरिएका हुन् । इन्जिनियर आचार्यका अनुसार सडक चौडा भएपछि पुलको काम थालिएको हो । यो सडक नौदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ । पुलसमेत ११ मिटर फराकिलो बनाइएको छ । तुइन खोलामा भित्तो काट्नुपर्ने भएकाले र खहरेमा मुआब्जाका कारण काम ढिलो भएको हो । विगतका वर्षहरुमा पहिरोको कारण वर्षायाममा धेरै सास्ती बेहोर्नुपर्ने भए पनि पछिल्लो समय सडक र पुल फराकिला भएसँगै केही सहज हुँदै आएको छ ।

प्रदेश प्रमुख खापुङद्वारा कोशीमा सरकार गठनको आह्वान

By
Himalayan Tribune
-
May 9, 2024
0

मोरङ: कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गर्नुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार बुधबार राति उहाँले नयाँ सरकार गठनको आह्वान गर्नुभएको हो । प्रदेश प्रमुखको कार्यालयबाट बुधबार राति जारी विज्ञप्तिमा नयाँ सरकार गठनका लागि यही वैशाख २८ शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिइएको छ । “संविधानबमोजिम कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नका लागि कोशी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्र्न सक्ने कोशी प्रदेशसभाका कुनै सदस्यलाई मिति २०८१ साल वैशाख २८ गते शुक्रबार अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गर्नुभएको छ ।” प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ ।

चक्रपथमा मनै लोभ्याउने जाकाराण्डा फूल

By
Himalayan Tribune
-
May 8, 2024
0

ललितपुर: ललितपुर महानगरपालिका–१४ महालक्ष्मीस्थानस्थित चक्रपथ छेउमा फुलेको बैजनी रङ्गको जाकाराण्डा फूलले त्यहाँ जाने हरेकलाई लोभ्याउने गरेको छ । यो वर्षमात्रै होइन हरेक वर्ष वसन्त ऋतुमा सातदोबाटोदेखि एकान्तकुनासम्मको सडक छेउमा जाकाराण्डा यसरी नै ढपक्कै फुलेको देखिन्छ । जसले चक्रपथ क्षेत्रको शोभासमेत बढाएको छ ।

महालक्ष्मीस्थान चोक, चापागाउँ दोबाटो चोक र थसीखेल चोकमा जाकाराण्डा फूलका ठूला रूखहरु छन् । अहिले हरेक दिन बेलुकापख फूललाई पृष्ठभूमिमा पारेर फोटो खिच्नेहरुको लामलाग्ने गरेको छ । बैजनी रङ्गमा फुलेको जाकाराण्डा फूलको सुन्दर दृश्यमा धेरै जना रमाइरहेका देखिन्छन् ।

थसीखेल चोकमा फुलेको जाकाराण्डा देखेर मनै प्रफुल्ल हुने गरेको बताउनुहुन्छ स्थानीय वीरेन्द्र तितुङ । उहाँ भन्नुहुन्छ, “हरेक वर्षको एकपटक जाकाराण्डा फुलेको देख्दा मन आनन्द हुन्छ । जाकाराण्डाले चक्रपथको मात्र नभएर वरपरको बस्तीको पनि शोभा बढाएको छ ।”

सोही फूलको दृश्य नियालिरहेका सर्जु रिजाल पनि जाकाराण्डा फूलले वर्षको एकपटक भए पनि वसन्त ऋतुको सम्झना गराउने गरेको बताउनुहुन्छ । विश्वका विभिन्न देशको भ्रमण गरिसकेको बताउने सर्जु अन्य देशमा फरक फरक रङ्गका जकाराण्डा देखिने भए पनि यहाँ एकै रङ्मा सजिएका दृश्य थप मनमोहक रहेका धारणा राख्नुहुन्छ । रिजाल भन्नुहुन्छ, “जर्मनलगायत अन्य देशमा जाकाराण्डा विभिन्न रङ्गको हुन्छ तर यो चक्रपथमा एकै रङ्गको छ । हुन त यो पनि राम्रै देखिएको छ तर फरक–फरक रङ्गको भयो भने झन् शोभनीय देखिन्थ्यो ।”

ललितपुर महानगरपालिकाले चक्रपथ छेउमा जाकाराण्डा फूलका बिरुवा रोपेका छन् । तिमध्ये केही फुल्न सुरूगरेका छन् भने केही भर्खर हुर्कंदैछन् । केही रूखहरु फुलेर सडक ढपक्कै ढाकेका छन् । अहिले ललितपुरको जावालाखेल, लगनखेल, कुपण्डोललगायत विभिन्न स्थानमा जाकाराण्डा फुलेका देख्न सकिन्छन् ।

प्रधानमन्त्रीद्वारा सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’(तस्बिरसहित)

By
Himalayan Tribune
-
May 8, 2024
0

कमलामाई (सिन्धुली): सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गर्नुभएको हो ।

प्रधानमन्त्री दाहालले टिबीएम स्विच थिचेपछि आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका–२ कुसुमटारबाट सुरुङ खन्न पसेको टिबीएम मेसिन सुनकोशी नदी किनार कानढुङ्ग्रीबाट बाहिर निस्किएको थियो । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनअन्तर्गत कमलामाई–२ कुसुमटारदेखि सुनकोशी–७ कानढुङ्ग्रीसम्म सुरुङ रहेको छ । यसको क्षेत्रफल १३ दशमलव ३ किलोमिटर छ ।

लक्ष्यभन्दा एक वर्षअघि नै सुरुङ ब्रेक थु्र गर्न सफल भएको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिनुभयो । खन्न सुरु भएको १९ महिनामा सुरुङ ब्रेक थु्र भएको छ । एकैदिन ७२ मिटरसम्म सुरुङ खनिएको आयोजनाले जनाएको छ । विसं २०७९ असोज २८ गतेदेखि सुरुङ खन्ने काम आरम्भ भएकामा यसबीचमा ६ पटक अवरोध भएको प्रमुख बरालले बताउनुभयो । सुरुङभित्र सुक्खा पहिरो खस्ने, लेदोसहित पाखो नै खस्ने हुँदा सुरुङ खन्ने टिबीएम मेसिन अगाडि बढ्न नसक्दा काम रोकिएको थियो ।

उच्च प्रविधिबाट ५.५ डायमिटरको सुरुङ मार्गमा गुणस्तरीय सेगमेन्ट प्रयोग भएको आयोजनामा कानढुङ्ग्रीस्थित सुनकोशी नदीमा ३० मिटर उचाइ र एक सय ५८ मिटर लम्बाइको बाँध निर्माण गरी सुरुङमार्फत पानी कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यहाँ ६६ मिटर उचाइबाट पानी झारेर ३१.०७ मेगावाट विद्युत् उत्पादन गरिनेछ ।

सुरुङ निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनीयरिङ (कोभेक) ले पाएको हो । यस कम्पनीले यसअघि भेरी बबई डाइभर्सनमा सुरुङ निर्माणको काम गरिसकेको छ । सुनकोशी मरिणमा सुरुङ खन्न मात्र कोभेकले रु १० अर्ब पाँच करोड ६८ लाखमा ठेक्का लिएको प्रमुख बरालले जानकारी दिनुभयो ।

नदीमा बाँध बाँधेर सुनकोशीको पानी मरिण खोलामा खसाली मधेसका पाँच जिल्लामा वर्षैभरि सिँचाइ तथा विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार काम सुरु भएको हो । आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ । आयोजनाको कुल लागत रु ४९ अर्ब ४२ करोड रहेको आयोजनाले जनाएको छ ।

पहाडी र तराई क्षेत्रका केही स्थानमा वर्षा हुने

By
Himalayan Tribune
-
May 8, 2024
0

काठमाडौँ: हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले देशभर आंशिक बदली रहेको तथा गण्डकी बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा कतै हल्का त कतै मध्यम वर्षा भइरहेको बताएको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ । देशका पहाडी भेगका केही स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्का वर्षाको सम्भावना छ । साथै तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

आज राति देशभर आंशिक बदली हुनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा देशका पहाडी भागको केही स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

 

1...816817818...1,299Page 817 of 1,299

हिमालयन ट्रिब्युनको लागि

  • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
  • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
  • सम्पादक: गजे घले
  • व्यवस्थापक: आशिष पोखरेल
  • CONTACT
  • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
  • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune