Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search

Logo

Monday, May 11, 2026
Facebook

Logo

  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Home Blog Page 810

नेपाली कांग्रेसका पूर्व सांसद रेग्मीको निधन

By
Himalayan Tribune
-
May 14, 2024
0

वालिङ (स्याङ्जा): पूर्व सांसद खगेन्द्रराज रेग्मीको निधन भएको छ । नेपाली कांग्रेस स्याङ्जाका पूर्व सभापतिसमेत रहनुभएका उहाँको ७५ वर्षको उमेरमा आज आफ्नै निवास भीरकोट–७ गेझबासमा निधन भएको हो । रेग्मी २०५८ सालमा राष्ट्रियसभाको सांसद बन्नुभएको थियो ।

उहाँ लामो समयसम्म शिक्षण पेसामासमेत सक्रिय रहनुभएको थियो । रेग्मी केही समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । काठमाडौँमा क्यान्सरको उपचार गराइरहनुभएका रेग्मीको उपचारमा सुधार नदेखिएपछि उहाँलाई भीरकोट ल्याइएको थियो । नेपाली कांग्रेस स्याङ्जाका सचिव दामोदर लम्सालका अनुसार रेग्मीको आजै स्याङ्जा र पाल्पाको सङ्गमस्थलमा रहेको रामनदीधाम (राम्दी) स्थित कालीगण्डकी नदीमा अन्त्येष्टि गरिने छ ।

दश महिनामा ६० प्रतिशत बजेट खर्च

By
Himalayan Tribune
-
May 14, 2024
0

काठमाडौँ: चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट खर्च ६० प्रतिशत हाराहारी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्ममा वार्षिक विनियोजनको ६० दशमलव ३५ प्रतिशत अर्थात् रु १० खर्ब ५६ अर्ब ८९ लाख २४ हजार बराबर खर्च भएको जनाएको छ ।

सरकारले चालु आर्थिक वर्षका लागि रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । वैशाख मसान्तसम्ममा चालुगततर्फ वार्षिक विनियोजनको ६५ दशमलव ९१ प्रतिशत खर्च भएको छ । चालु शीर्षकमा रु ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर वार्षिक विनियोजन भएकोमा हालसम्म रु सात खर्ब ५२ अर्ब ५५ करोड ७३ लाख बराबर खर्च भएको छ । पुँजीगत शीर्षकमा रु तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख बराबर वार्षिक विनियोनज भएकोमा वैशाख मसान्तसम्म वार्षिक लक्ष्यको ३७ दशमलव ०४ प्रतिशत अर्थात् रु एक खर्ब ११ अर्ब ८८ करोड २९ हजार बराबर खर्च भएको छ ।

त्यसैगरी, वित्तीय व्यवस्था शीर्षकमा ६२ दशमलव ६ प्रतिशत खर्च भएको छ । यो शीर्षकमा रु तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाख बराबर विनियोजन भएकोमा वैशाख मसान्तसम्ममा रु एक खर्ब ९२ अर्ब ४५ लाख २२ हजार बराबर खर्च भएको हो । सो अवधिको कुल सरकारी राजस्व सङ्कलन वार्षिक लक्ष्यको ५८ दशमलव दुई प्रतिशत छ ।

चालु आवमा रु १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ बराबर राजस्व उठाउने लक्ष्य रहेकोमा वैशाख मसान्तसम्ममा रु आठ खर्ब ५७ अर्ब दुई करोड ८० लाख बराबर असुली भएको छ । कर राजस्वतर्फ रु १३ खर्ब पाँच अर्ब ४७ करोड ९६ लाख बराबरको वार्षिक लक्ष्य रहेकोमा हालसम्म ५७ दशमलव २१ प्रतिशत अर्थात् रु सात खर्ब ४६ अर्ब ८३ करोड २८ लाख बराबर उठेको छ । त्यस्तै, गैरकर राजस्वतर्फ रु एक खर्ब १७ अर्ब छ करोड २१ लाख बराबर लक्ष्य रहेकोमा ७२ दशमलव सात प्रतिशत अर्थात् रु ८५ अर्ब १० करोड चार लाख बराबर असुली भएको छ । त्यस्तै, रु ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान लिने सरकारी लक्ष्य रहेकोमा हालसम्म लक्ष्यको पाँच दशमलव ५२ प्रतिशत अर्थात् रु दुई अर्ब ७५ करोड ८० लाख बराबर अनुदान लिइएको छ ।

पुनःनिर्माणका लागि रु ६३ अर्ब ५८ करोड लाग्ने

By
Himalayan Tribune
-
May 14, 2024
0

काठमाडौँ: विभिन्न समयमा गएका तीन वटा भूकम्पका कारण क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि रु ६३ अर्ब ५८ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको प्रारम्भिक क्षति मूल्याङ्कनमा झण्डै रु ५८ अर्बको क्षति भएको र त्यसको पुनःनिर्माणका लागि साढे रु ६३ अर्बभन्दा बढी लाग्ने अनुमान गरिएको हो ।

प्राधिकरणका नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख भरतमणि पाण्डेका अनुसार प्रारम्भिक रुपमा अध्ययन गरेर पुनःनिर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइसकिएको जानकारी दिनुभयो । विसं २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर छ दशमलव चार रेक्टर स्केलको भूकम्प गएको थियो ।

उक्त भूकम्पमा परेर १५४ जनाको मृत्यु भएको थियो भने ३६६ जना घाइते भएका थिए । विसं २०८० असोज १६ गते बझाङमा पाँच दशमलव तीन रेक्टरस्केलको भूकम्प जाँदा एक जनाको मृत्यु र ३० जना घाइते भएका थिए । त्यसअघि २०७९ कात्तिक २२ मा डोटीमा छ दशमलव छ रेक्टरको भूकम्प जाँदा छ जनाको मृत्यु र आठ जना घाइते भएका थिए । ती तीनै वटा भूकम्पबाट ९५ हजार ७८७ घर क्षति भएको विवरण छ । ती घरमा कुल रु ४३ अर्ब ३९ करोड क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

त्यसबाहेक दुई सय चार वटा विद्यालय भवन, ७० सरकारी र सार्वजनिक भवन, ११ वटा साँस्कृतिक सम्पदा, झण्डै दुई सय किलोमिटर सडक र एक सय २१ वटा सिंचाई आयोजनामा क्षति पुगेको थियो । सबैभन्दा बढी मानवीय र भौतिक क्षति जाजरकोट भूकम्पले गराएको थियो । उक्त भुकम्पमा मात्रै ८६ हजार बढी घर क्षति भएको छ । प्राधिकरणले गरेको प्रारम्भिक मूल्याङ्कनमा निजी आवास, सरकारी भवन, स्वास्थ्य, शिक्षा र तथा साँस्कृतिक भवनको पुनःनिर्माणका लागि रु ५२ अर्ब ४६ करोड, अन्य पूर्वाधार क्षेत्र पुनःनिर्माणका लागि रु सात अर्ब १८ करोड, उत्पादनशिल क्षेत्रका लागि रु एक अर्ब ७३ करोड र अन्य गरेर कुल रु ६३ अर्ब ५८ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।

सोही आधारमा पुनःनिर्माणको आवश्यक प्रक्रिया अघि बढाउन थालिएको छ । जाजरकोट, बझाङ्ग र डोटीलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण क्षति भएका निजी आवास, सार्वजनिक भवन र अन्य भौतिक संरचनाहरुको प्रबलीकरण, पुनःनिर्माण र पुनःस्थापनाको योजना तर्जुमा गर्न विस्तृत क्षति आकलनको अवधारण स्वीकृत गरी बजेटका लागि अर्थ मन्त्रालयमा सहमति माग्ने निर्णय यसअघि नै भइसकेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यसअघि गृहमन्त्री अध्यक्ष रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले ‘विपद् प्रभावितको निजी आवास प्रवलिकरण, पुनःनिर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि, २०८१’ स्वीकृत पनि गरिसकेकाले अब पुनःनिर्माणका काम अघि बढाइने जानकारी दिनुभयो । यसपटक लाभग्राही कायम गरी ‘क’, ‘ख’ र ‘ग’मा वर्गीकरण गरिने र आवास पुनःनिर्माणको काम अघि बढाइने उहाँले बताउनुभयो । कार्यविधिमा स्थानीय तहलाई बढी जिम्मेवार बनाइएको छ । क्षतिको प्रारम्भिक लेखाजोखा स्थानीय तहले गर्ने छ । क्षति आकलन पनि पहिलो प्राथमिकतामा स्थानीय तहलाई नै दिइएको छ । उसले नसकेमा स्थानीय तहलाई प्रदेश र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समन्वय गर्ने छ ।

स्थानीय तहबाट आएको विवरणका आधारमा विश्लेषण गरी स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले लाभग्राही पहिचान र कायम गर्नेछ । त्यसपछि लाभग्राही र वडाध्यक्षबीच सम्झौता हुने छ । सम्झौताको २ वर्षभित्रमा पुनःनिर्माण सक्ने गरी कार्यविधि तयार पारिएको छ ।

सदनका बैठक निर्वाध सञ्चालनका लागि सभामुखद्वारा प्रमुख सचेतकसँग छलफल

By
Himalayan Tribune
-
May 14, 2024
0

काठमाडौँ: सभामुख देवराज घिमिरेले निर्वाध रुपमा सदन सञ्चालनको वातावरण बनाउने विषयमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको छलफलमा उहाँले दलहरुबीच सहमति नहुँदा आगामी बैठक प्रभावित हुने अवस्था आएकामा चिन्ता व्यक्त गर्नुभएको थियो । सभामुख घिमिरेले दलहरूबीच सहमति नहुँदा नीति तथा कार्यक्रममाथिको छलफल, आगामी बैठकहरु र बजेट प्रभावित हुने अवस्था आउनु राम्रो नभएको बताउनुभयो ।

बैठक अवरुद्ध हुँदा संसद्का बिजनेश प्रभावित तथा संवैधानिक संकटको अवस्था सिर्जना हुनेतर्फ उहाँले दलहरुको ध्यानाकर्षण गराउनुभएको थियो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी अनियमितताका विषयमा संसदीय छानबिन समिति माग गर्दै संसद्का बैठकमा अवरोध गर्दै आएको छ । सो दलले राष्ट्रपति रामचन्द्र पौडेलबाट आज सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आवको नीति तथा कार्यक्रमको प्रस्तुत गर्न दिने र त्यसपछिका बैठकमा विरोध जारी रहने जनाएको छ । कांग्रेसका सचेतक सुशीला थिङले कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत हुन सहयोग गर्ने तर त्यसपछि धन्यवाद प्रस्ताव टेबुल गर्ने प्रयोजनका लागि बोलाइएको बैठकमा विरोध जारी रहने सभामुखलाई जानकारी गराउनुभयो । “छानबिन समिति नबनेसम्म हाम्रो संसदीय विरोध कार्यक्रम रहिरहन्छ”, उहाँले भन्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार संसद्मा विरोध गर्ने निर्णयलाई कांग्रेसले पुनर्विचार गर्नुपर्नेमा जोड दिनुभएको थियो । “उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई गएको बैठकमा सभामुखले बोल्न समय दिनुभएको थियो, अवरोधका कारण बोल्न पाउनुभएको छैन ।

आजको बैठकमा त्यसको निरन्तरतास्वरुप बोल्न दिनुपर्छ”, सभामुखसँगको छलफलमा उहाँले भन्नुभयो । छलफलमा सभामुखले आजको संयुक्त सदन र प्रतिनिधिसभाको बैठकका कार्यसूचीबारे जानकारी दिनुभएको थियो । उहाँले नीति तथा कार्यक्रममाथिको छलफलको तयारीबारे पनि जानकारी गराउनुभएको थियो । प्रमुख सचेतकसँगको छलफल सकिएपछि सभामुखले अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक राख्नुभएको छ ।

छलफलमा उप सभामुख इन्दिरा राना, कानुन न्याय तथा र्ससदिय मामिला मन्त्री पदम गिरी, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तैला नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे सहभागी हुनुहुन्थ्यो । यसैबीच, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रम, प्रतिनिधिसभामा जारी अवरोधकाबीच राष्ट्रियसभालाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतासँग छलफल गर्दै हुनुहुन्छ ।

धितोपत्र व्यवसायीको कमिसन घट्यो

By
Himalayan Tribune
-
May 14, 2024
0

काठमाडौँ: नेपाल धितोपत्र बोर्डले आजबाट लागू हुनेगरी धितोपत्र व्यवसायीको सेवाशूल्क (कमिसन) घटाएको छ । अर्थमन्त्रालयको स्वीकृतिपछि कमिसन घटाइएको बोर्डले जनाएको छ । “धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ४३ बमोजिम अनुसूची १४ मा रहेको धितोपत्र दलाली वापत लिनसक्ने सेवा शूल्क हेरफेरका लागि स्वीकृति प्रदान भई आएकोमा उक्त हेरफेर २०८१ जेठ १ गतेदेखि लागु हुने निर्णय भएको छ”, बोर्डले भनेको छ ।

यसअघि रु ५० हजारसम्मको कारोबारमा शून्य दशमलव ४० प्रतिशत सेवा शूल्क लिन पाउने व्यवस्था रहेकोमा त्यसलाई घटाएर शून्य दशमलव ३६ प्रतिशत कायम गरिएको छ । त्यस्तै, रु ५० हजारदेखि रु पाँच करोडसम्मको कारोबारमा शून्य दशमलव ३७ प्रतिशत सेवा शूल्क रहेकोमा त्यसलाई घटाएर शून्य दशमलव ३३ प्रतिशत कायम गरिएको छ ।

बोर्डका अनुसार रु पाँच लाखदेखि रु २० लाखसम्मको कारोबारमा शून्य दशमलव ३४ प्रतिशत सेवा शूल्क लाग्दै आएको त्यसलाई शून्य दशमलव ३१ प्रतिशतमा झारिएको छ । रु २० लाखभन्दा माथि रु एक करोडसम्मको कारोबारमा शून्य दशमलव ३० प्रतिशत सेवा शूल्क लाग्दै आएकोमा त्यसलाई शून्य दशमलव २७ प्रतिशतमा झारिएको छ । त्यसैगरी, रु एक करोडभन्दा माथिको कारोबारमा शून्य दशमलव २७ प्रतिशत सेवा शूल्क लाग्दै आएकोमा शून्य दशमलव २४ प्रतिशतमा झारिएको धितोपत्र बोर्डले जनाएको छ ।

किसानलाई एक सय तीस क्विन्टल उन्नत जातको बीउ वितरण

By
Himalayan Tribune
-
May 14, 2024
0
कञ्चनपुर: उत्पादन वृद्धि गरी किसानको आयस्तर बढाउन शुक्लाफाँटा नगरपालिकाले एक सय ३० क्विन्टल उन्नत जातको धानको बीउ वितरण गरेको छ । चालु आर्थिक वर्षको स्वीकृत खाद्यान्न बालीको बीउबिजन उत्पादन कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा किसानलाई धानको बीउ वितरण गरिएको हो ।
नगरपालिकाका १२ वटै वडाका सहकारी, समूह र कृषि फार्ममार्फत किसानलाई अनुदानमा धानको बीउ वितरण गरिएको नगरपालिकाको कृषि विकास शाखाका प्रमुख करनसिंह बुढाऐरले बताउनुभयो । “किसानलाई साँवा मन्सुली २० क्विन्टल, सुक्खा तीन २३ क्विन्टल, राधा चार ४२ क्विन्टल र सर्जु बाउन्न ४२ क्विन्टल धानको बीउ किसानलाई वितरण गरिएको छ”, शाखा प्रमुख बुढाऐरले भन्नुभयो, “चालिस बिघा खेतमा पुग्ने गरी धानको बीउ वितरण भएको छ ।” उन्नत जातको धानको क्षेत्र विस्तार गरी उत्पादन बढाउन प्रत्येक वर्ष शाखाले माटो सुहाउँदो बीउ अनुदानमा वितरण गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

दिगो विकासका लक्ष्य प्राप्तिमा स्वीडेनले सघाउने

By
Himalayan Tribune
-
May 14, 2024
0

काठमाडौँ: स्वीडेनले दिगो विकासका लक्ष्य प्राप्तिका निम्ति नेपाललाई सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । युरोपेली सङ्घ–नेपाल व्यापार मञ्चको बैठकमा भाग लिन काठमाडौँ आउनुअघि नेपालका लागि स्वीडेनका गैरआवासीय राजदूत जान थेसलेफले नयाँदिल्लीबाट जारी गरेको वक्तव्यमा उक्त प्रतिबद्धता व्यक्त गरिएको छ ।

यही जेठ २ र ३ गते यहाँ आयोजना हुने युरोपेली सङ्घ–नेपाल व्यापार मञ्चको बैठकमा भाग लिने स्वीडिस प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान राजदूत थेसलेफ काठमाडौँ आउँदै हुनुहुन्छ । “स्वीडेन र नेपालबीचको व्यापार प्रवर्द्धनका साथै नेपालमा स्वीडिस कम्पनीहरूको व्यापार साझेदारीका सम्भावनाहरूको खोजी गर्न बैठकमा मेरो सहभागिता उपयोगी हुने विश्वास गरेको छु”, उहाँले वक्तव्यमा भन्नुभएको छ ।

राजदूत थेसलेफले स्वीडेन–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफ्नो भ्रमण उपयोगी हुने विश्वास व्यक्त गर्दै जलवायु पहल र दिगो विकासका लक्ष्य हासिल गर्ने नेपाल सरकारको लक्ष्यमा सघाउन स्वीडेन प्रतिबद्ध रहेको बताउनुभएको छ । राजदूत थेसलेफ नेतृत्वको प्रतिनिधिमण्डलमा स्वीडेनका उद्यमी, व्यवसायी, सरकारी प्रतिनिधिका साथै ऊर्जा निकायका पदाधिकारी सहभागी हुनुहुन्छ । स्वीडेन र नेपालबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता दुई देशबीचको आपसी सम्मान, समझदारी र मित्रतामा आधारित सम्बन्ध निरन्तर प्रगाढ बन्दै आएको छ ।

म्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

By
Himalayan Tribune
-
May 14, 2024
0

म्याग्दी: म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । छवटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीका सबै लक्षित बालबालिकाले तोकिएको खोपको सबै मात्रा लगाएपछि सोमबार एक समारोहका बीच पूर्णखोप घोषणा गरिएको हो ।

म्याग्दीमा रहेका १५ महिनाभित्रका एक हजार पाँच सय ६७ बालबालिकाले नियमित र पाँच वर्षमुनिका चार हजार आठ सय ६९ जना बालबालिकाले पूर्णखोप लगाएका स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताउनुभयो । बालबालिकाले बिसीजी, डिपिटी, पोलियो, दादुरा, रुवेला, जेईलगायत १३ प्रकारका खोपको पूर्णमात्रा पाएको उहाँले बताउनुभयो । म्याग्दीमा एउटा जिल्लास्तरीय अस्पताल, एउटा आधारभूत अस्पताल, ३९ स्वास्थ्य चौकी, चार सहरी स्वास्थ्य केन्द्र, २८ सामुदायिक स्वास्थ्य एकाइ, एक सय १७ खोप केन्द्र, ६८ गाउँघर क्लिनिक रहेका छन् । बालबालिकालाई पूर्णखोप लगाउनका लागि तीन सय ७२ महिला स्वास्थ्य स्वयंसेविका परिचालन भएका थिए ।

यसअघि वडा र पालिकास्तरमा पनि पूूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरिएको थियो । घोषणा अघि स्वास्थ्यकर्मीले घरदैलो गरेर खोप लगाएको नलगाएको विषयमा अध्ययन गरेका थिए । यस वर्ष गण्डकी प्रदेशका ११ मध्ये पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गर्ने म्याग्दी पहिलो जिल्ला बनेको जिसस म्याग्दीका प्रमुुखसमेत रहनुभएका जिल्ला खोप समन्वय समितिका प्रमुख राजकुमार थापाले बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री सीताकुमारी सुुन्दासले खोप कार्यक्रमले नवजात शिशुको मृत्युघर घटाउन र रोग लाग्नबाट बचाउन महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो । खोप कार्यक्रमलाई सरकारले प्राथमिकता दिएको र सर्वसाधारणले पनि यसलाई महत्वका साथ लिनुपर्ने मन्त्री सुन्दासले बताउनुभयो । एकजनालाई पूर्णखोप प्रदान गर्न रु ४० हजार खर्च लाग्ने र म्याग्दी जिल्लाका सबै बालबालिकाको पूर्णखोप सुनिश्चितताका लागि वार्षिक रु ७० लाख ८४ हजारभन्दा बढी रकम खर्च लाग्ने गण्डकी प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले बताउनुभयो ।

राष्ट्रिय भलिबल खेलाडी सम्मानित

By
Himalayan Tribune
-
May 14, 2024
0

वालिङ (स्याङ्जा): गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडीहरूलाई सम्मान गरिएको छ । भलिबल खेलका माध्यमबाट जिल्लाका साथै प्रदेशको प्रतिष्ठा बढाएकामा उनीहरूसम्मान गरिएको हो ।

स्याङ्जाको वालिङ–७ वनकट्टामा अवस्थित मनकामना युवा क्लबको १६औँ वार्षिकोत्सव तथा वैशाख पञ्चमीको अवसरमा आयोजित पुरुष भलिबल प्रतियोगिताका अवसरमा पूर्वराष्ट्रिय खेलाडी तथा गण्डकी प्रदेश भलिबल टिमका प्रशिक्षक रमेश केसी, गण्डकी प्रदेशका टिम क्याप्टेन खोमप्रसाद पाण्डेय (हरि), खेलाडीहरू राजन दर्लामी, सुजन चोखाल, हिमाल सुनारी र सरोज बर्देवालाई सम्मान गरिएको हो । गण्डकी टिमका भलिबल प्रशिक्षक तथा खेलाडीलाई नेपाली कांग्रेसका उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले सम्मान गर्नुभएको थियो ।

जापानको सहयोगमा ‘भट्टेडाँडा सडकमा हरियाली अभियान’

By
Himalayan Tribune
-
May 14, 2024
0

धुलिखेल: काभ्रेपलाञ्चोकको जिल्ला सदरमुकाम धुलिखेलस्थित वडा नं ८ स्थित भट्टेडाँडा (पर्यटकीय पदमार्ग)मा नगरपालिका र जापानस्थित सरोमा सिटीको साझेदारीमा ‘हरियाली अभियान’ अनुरुप बिरुवा रोप्न थालिएको छ ।

धुलिखेल नगरपालिका उपप्रमुख निराजन जङ्गम र नेपाल भ्रमणमा रहनुभएका सरोमा सिटीका प्रमुख हारु टोमोले सोमबार संयुक्त रूपमा साकुरा र असारे फूलको बिरुवा रोपेर अभियानको थालनी गर्नुभएको हो ।

भट्टेडाँडा सडकखण्ड क्षेत्रका बासिन्दाको आर्थिक स्रोतका रूपमा पर्यटन व्यवसाय रहेको र सो क्षेत्रलाई पर्यटकीय पदमार्गका रूपमा विकास गर्न बिरुवा रोपिएको वडाध्यक्ष विनोद गौतमले बताउनुभयो । “पर्यटकको प्रमुख गन्तव्य धुलिखेल नगरपालिकाको वडा नं ८ पिपलबोट चोकबाट भट्टेडाँडा र हिमाल देखिने देवीस्थानडाँडा क्षेत्रमा पर्ने भएकाले हामीले सडक फराकिलो बनाउनेदेखि दायाँबायाँ हरियाली बगैँचा बनाउने उद्देश्यका साथ अभियान थालेका हौँ”, उहाँले भन्नुभयो ।

यसअघि साँघुरो सडकलाई सङ्घीय सरकार र नगरपालिकाकोरु दुई करोड ८७ लाख बजेटमा विस्तारसँगै पक्की बनाइएको थियो । अहिले सो सडकखण्डलाई थप व्यवस्थित बनाउन वडाको सक्रियतामा सो क्षेत्रका होटल पर्यटन व्यवसायी र स्थानीय बासिन्दाको सहयोगमा हरियाली बनाउन ‘बिरुवा रोपण’ थालिएको वडाध्यक्ष गौतमले बताउनुभयो ।

1...809810811...1,300Page 810 of 1,300

हिमालयन ट्रिब्युनको लागि

  • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
  • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
  • सम्पादक: गजे घले
  • व्यवस्थापक: आशिष पोखरेल
  • CONTACT
  • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
  • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune