Monday, May 11, 2026
Home Blog Page 806

विद्यालयमा विद्यार्थी शून्य, शिक्षक चार

0

ढोरपाटन (बागलुङ): सुनसान गाउँ, वरपर केही घर, चारैतिर बढ्दै गरेको झाडी । त्यही झाडी छेउमा दुई जीर्ण भवन छन् । खिया लागेका जस्ताले छाएको छानो । मक्किएका झ्याल ढोका । लेखिएको भित्ते लेखन र झ्यालमा अड्याएर राखिएको झन्डामा यहाँ पुग्ने हरेकको नजर ठक्क रोकिन्छ । भित्तामा राष्ट्रिय गान, राष्ट्रिय जनावर गाई, झन्डालगायत चित्र कोरिएको छ । यो जैमिनी नगरपालिका–४ सकुर्वा मौलाछमा रहेको सर्वोदय प्राथमिक विद्यालय हो । विसं २०१२ मा स्थापना भएको यस विद्यालयमा अघिल्लो वर्षसम्म आठ विद्यार्थी थिए । अहिले एकजना पनि विद्यार्थी छैनन् ।

विद्यालयमा विद्यार्थी नभए पनि चार शिक्षक दैनिक आउँछन् । दुई स्थायी र बाल विकास सहजकर्तासहित दुई अस्थायी शिक्षक यस विद्यालयमा कार्यरत छन् । विद्यार्थी नभएपछि शिक्षकलाई दिन कटाउनै मुस्किल हुन्छ । गाउँ बसाइँसराइले रित्तिँदै गएपछि विद्यार्थीको सङ्ख्या शून्य भएको हो । केही वर्षअगाडिसम्म यस गाउँमा ८८ घर थिए । हाल ३३ घर मात्रै छन् । ती घरमा पनि बूढापाका मात्रै छन् । सेवा, सुविधा र विलासिताको खोजीमा सहर बजार भार्नेको लर्को लागेपछि विद्यालय बन्द हुनाका साथै गाउँ नै सुनसान बनेको छ । विद्यालयमा चिटिक्क परेका कक्षाकोठा छन्। शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन बनाइएको सामग्रीले विद्यार्थी पर्खिरहेका छन् ।

विद्यालयमा विद्यार्थीको चहलपहल हुनुपर्ने हो । दैनिक पठनपाठन हुनुपर्ने हो । विद्यार्थी नभए पनि विद्यालय सुनसान बनेको छ । डेस्क बेञ्चदेखि सबै किसिमका सुविधा छन् । विद्यार्थीविहीन विद्यालयमा शिक्षकले भने नियमित तलब खाइरहेका छन् । बागलुङका विभिन्न स्थानीय तहले विद्यार्थी कम भएका विद्यालयलाई समायोजन, तह मिलान तथा स्थगन गरिरहेका छन् भने जैमिनी नगरपालिकाले अहिलेसम्म गरेको छैन ।

यस विद्यालयका प्रधानाध्यापक लेखनाथ शर्माले विद्यार्थी नहुँदा दिन बिताउनै गाह्रो हुने गरेको बताउनुभयो । गाउँमा वृद्धवृद्धाबाहेक अरू नभएको हुँदा विद्यालय रित्तिएको उहाँको भनाइ छ । अझै आफूहरुले शिक्षाको गुणस्तर बढाएर छिमेकी गाउँबाट र बोर्डिङ पढ्ने विद्यार्थीलाई ल्याउन सकिन्छ कि भनेर प्रयास गरेको प्रधानाध्यापक शर्मा बताउनुहुन्छ ।

शर्माले भन्नुभयो, “एक दशक अगाडिसम्म झन्डै एक सय कुरिया (घर परिवार) रहेको गाउँमा अहिले घटेर निकै थोरै छन्, दिनदिनै बसाइँसराइ गरे तराई झर्ने गर्दा गाउँमा बूढापाका मान्छे मात्रै छन्, बालबालिका छैनन्, बालबालिका हुँदै नभएपछि विद्यालय रित्तिने अवस्था आयो, अझै पनि छिमेकी गाउँबाट विद्यार्थीलाई लिएर पढाउन सकिन्छ भनेर प्रयास गरिरहेका छौँ, विद्यार्थी नहुँदा हामी शिक्षकलाई पनि दिनभरि यत्तिकै बस्दा गाह्रो भएको छ ।”

विद्यालय नजिकैकी स्थानीय हिरा पौडेलले दकश अगाडिसम्म यस विद्यालयमा विद्यार्थीको चापले गर्दा डेस्क, बेञ्च नपुगेर भुइँमै बसेर पढ्ने गरेको बताउनुभयो । अहिले विद्यालयमा धेरै सेवासुविधा हुँदा पनि पढ्ने बालबालिका कोही नभएको उहाँको भनाइ छ । विद्यालय स्थापित गर्नका लागि गाउँलेले ठूलो योगदान पु¥याएको भन्दै अहिले विद्यार्थी नभएर रित्तो हुँदा दुःख लागेको पौडेलले बताउनुभयो ।

यहाँका अधिकांश चितवन, गैँडाकोटा, नवलपरासीलगायत ठाउँमा बसाइँसराइ गरेर गएपछि अचेल गाउँमा बालबालिका भेट्टाउनै मुस्किल पर्ने उहाँको भनाइ छ । पहिलेको तुलनामा अहिले विद्यालयको अवस्था निकै फेरिएको पौडेल बताउनुहुन्छ । “हाम्रो छोराछोरीले पढ्ने बेला एउटा कुर्चीसमेत हुँदैनथ्यो, केटाकेटी भुइँमै धुुलोमै बसेर पढ्थे, अहिले कोही पनि भुइँमा बस्न पर्दैन, बस्ने ठाउँ पनि कति राम्रो बनाएका छन्, नजिकै चर्पी, धारा बनेका छन् तर त्यो सुविधा लिने कोही छैन”, पौडेलले भन्नुभयो, “यो अवस्था देख्दा निकै वैराग लाग्छ, यो ठाउँ पहिला कस्तो रमाइलो थियो, जताततै मान्छे भेटिन्थेँ, केटाकेटी भेटिन्थेँ, अहिले त न ठूला मान्छे भेटिन्छन्, न बालबालिका, गाउँमा भएका अलिअलि पनि बजार झर्ने सुरसार गर्दै छन् ।”

जैमिनीका शिक्षा शाखा प्रमुख खेमप्रसाद आचार्यले विद्यार्थी कम भएका विद्यालयलाई समायोजन, तह मिलान र स्थगन गर्नका लागि सूचना जारी गरेको र वडा शिक्षा समितिले अध्ययन गरिरहेको बताउनुभयो । यही जेठ १२ गतेसम्म कुन कुन विद्यालय समायोजन गर्ने, कुन कुन विद्यालयको तह घटाउने र स्थगन गर्ने भन्ने विषयमा वडा शिक्षा समितिले प्रतिवेद बुझाउने तथा सोहीअनुसार नगरपालिकाले काम गर्ने उहाँको भनाइ छ ।

नगर शिक्षा अधिकारी आचार्यले भन्नुभयो, “नगरपालिकाले १० वटै वडाका विद्यालयको अवस्था बुझ्ने र तह मिलान, समायोजन तथा स्थगन गर्ने विषयमा हामीहरु गम्भीर छौँ, वडा शिक्षा समितिमार्फत सबै वडाका विद्यालयका बारेमा अध्ययन गरिराख्नु भएको छ, यही जेठ दोस्रो साता उहाँहरुले प्रतिवेद ल्याउनुहुन्छ र सोही अनुसार नगरपालिकाले विद्यालय समायोजन गर्ने, तह घटाउने अथवा अरू के गर्ने भन्ने विषय निक्र्यौल हुन्छ ।”

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

0

काठमाडौँ: पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा खाना तथा हस्तकला मेला हुने भएको छ ।

ठमेल पर्यटन विकास परिषद्को आयोजनामा काठमाडौँ महानगरपालिका–२६ स्थित सञ्चयकोष भवनअगाडि त्रिदेवी मार्गमा भोलि खाना तथा हस्तकला मेला आयोजना हुन लागेको हो ।

परिषद्का महासचिव राजीव पाण्डेले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि एकदिने सडक खाना तथा हस्तकला मेला आयोजना गर्न लागिएको जानकारी दिनुभयो । मेला बिहान १० बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ । मेलामा हस्तकलाका सामग्री, तयारी पोशाक सिल्क, पश्मिन, गरगहनालगायत उत्पादनका ३० प्रदर्शनीकक्ष रहने छन् । मेलामा सांस्कृतिक कार्यक्रम पनि हुनेछ ।

 

कृषि यान्त्रिकीकरणः किसानलाई अनुदानमा हाते ट्र्याक्टर

0

गोदावरी (कैलाली): जिल्लाको चुरे गाउँपालिकाले व्यावसायिक रुपमा कृषिमा आबद्ध किसानलाई हाते ट्र्याक्टर वितरण गर्ने भएको छ ।

गाउँपालिकाले चालु आर्थक वर्षमा २३ जना किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गर्ने भएको हो । गाउँपालिकाका छवटै वडाबाट ५८ जना किसानले हाते ट्र्याक्टर अनुदानका लागि निवेदन दिएकामा २३ जनालाई ट्र्याक्टर वितरण गरिने कृषि शाखा प्रमुख दीपकराज पाण्डेयले बताउनुभयो ।

सङ्घीय सरकारको अनुदान कार्यक्रमअन्तर्गत सो गाउँपालिकाका छवटै वडाबाट छनोट भएका ती किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरिन लागेको उहाँले बताउनुभयो । किसानलाई अनुदानमा प्रति किसान रु एक लाख २५ हजारको लागतमा हाते ट्र्याक्टर वितरण हुन लागेको हो ।

कृषिको आधुनिकीकरण तथा उत्पादन लागत घटाई उत्पादन बढाउने उद्देश्यले किसानलाई हाते ट्र्याक्टर उपलब्ध गराइने कार्यक्रमलाई प्राथमिकता राखेको गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले बताउनुभयो ।

चुरे गाउँपालिका अदुवा, सुन्तला, कृषि, पशुपालनको पकेट क्षेत्रका रुपमा चिनिँदै आएकाले कृषकलाई व्यावसायिक रुपमा कृषिमा आत्मनिर्भर बनाउने नीति गाउँपालिकाले लिएको उहाँले बताउनुभयो । कृषि शाखाले चुरे गाउँपालिकाका कृषकलाई अनुदानमा उन्नत जातका बीउबिजन, तरकारी राख्ने क्यारेट, विषादीलगायत सामग्री वितरण गरिसकेको जनाइएको छ ।

यसैगरी गाउँपालिका र जिआइजेडको लागत साझेदारीमा किसानको मागलाई ध्यानमा राखेर गाउँपालिकामा माटो परीक्षण ल्याब सञ्चालन गर्ने भएको छ ।

लागत साझेदारीमा चालु आवभित्रै सिँचाइका लागि गाउँपालिका छवटै वडामा दुई सय वटा सिमेन्ट ट्याङ्की, दुई वटा पोखरी, दुई वटा हाइटेक नर्सरी निर्माण गरिने चुरे गाउँपालिकाले जनाएको छ ।

जेठ ७ गते विश्वासको मत लिन प्रधानमन्त्रीद्वारा पत्राचार

0

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिनुहुने भएको छ ।

प्रधानमन्त्री दाहालले यही जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राख्न सङ्घीय संसद् सचिवालयलाई पत्र पठाउनुभएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले राससलाई जानकारी दिनुभयो ।

सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले गत वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिन लाग्नुभएको हो ।

प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लाग्नुभएको हो । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष दाहाल नेतृत्वको वर्तमान सरकारलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लगायत दलको समर्थन छ ।

 

बागमती प्रदेशः दश महिनामा ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व सङ्कलन, दुई सय ६१ जनाको मृत्यु

0

बागमती: सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा एक लाख ८४ हजार तीन सय १६ सवारी चालकमाथि कारबाही गरेको छ ।

सो कारबाहीबाट रु १४ करोड ३३ लाख ६४ हजार राजस्व सङ्कलन भएको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ । पूर्वपचिम राजमार्गमा जडान गरिएको सिसीटिभी र ‘रडार गन’बाट सवारी साधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले चालु आवको १० महिनामा एक लाख ८४ हजार तीन सय १६ सवारी साधनमाथि नियम उल्लङ्घन गन कारबाही गरेको हो ।

दुई सय ६१ जनाको मृत्यु

उक्त अवधिमा बागमती प्रदेशका १० वटा जिल्लामा भएका एक हजार एक सय ७६ सवारी दुर्घटनामा दुई सय ६१ जनाको मृत्यु भएको तथा दुई हजार पाँच सय ८६ जना घाइते भएका सो कार्यालयले जनाएको छ ।

उक्त कार्यालयले गत आवमा दुई लाख ९१ हजार दुई सय ९३ सवारीमाथि कारबाही गरी रु २६ करोड ३६ लाख ८३ हजार पाँच सय राजस्व सङ्कलन गरेको थियो । उक्त आवमा एक हजार तीन सय ६२ सवारी दुर्घटनामा तीन सय चार जनाको मृत्यु भएको थियो । आव २०७८÷७९ मा दुई लाख ५० हजार नौ सवारी साधनमाथि कारबाही गरी रु दुई करोड ४१ लाख ७० हजार राजस्व सङ्कलन गरेको थियो ।

लागूऔषधसहित तीन विदेशी महिला पक्राउ

0

काठमाडौँ: नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले अवैध लागूऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई काठमाडौँ महानगरपालिका–१७ ठमेलबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरूमा इथियोपियाबाट कतार एयरवेजबाट काठमाडौँ ओर्लिएका युगाण्डा घर भएका केभिना मुगाला, र लिलियन सुशान वानयेन्ज तथा उक्त बरामद भएको कोकिन लिन भारतबाट आएकी ३३ वर्षीय देवाजनी पाल रहेको लागूऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कतार एयरवेजबाट काठमाडौँ ओर्लिएका युगाण्डा घर भएका केभिना मुगाला र लिलियन सुशान वानयेन्जेबाट आगुऔषध कोकिन बरामद गरिएको छ, जसको तौल दुई केजी छ सय ५४ ग्राम रहेको छ ।” पक्राउ परेकाहरूमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताउनुभयो । बरामद गरिएको अवैध लागूऔषध कोकिनको बजार मूल्य रु सात करोड ९६ लाख हुन आउने ब्यूरोले जनाएको छ ।

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

0

काठमाडौँ: प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको छ ।

बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदले रोष्टम घेराउ गर्दै विरोध जनाएपछि सभामुख देवराज घिमिरले अर्को बैठक भोलि शुक्रबार बिहान ११ बजे बस्नेगरी स्थगित गर्नुभएको हो ।
आजको बैठकमा प्रमुख प्रतिपक्षी दलको अवरोधविरुद्ध सत्तारुढ दल नेकपा (एमाले) पनि रोष्टममा उत्रिएको थियो ।

सभामुख घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बोल्नका लागि समय माग गर्नुभएको जानकारी गराउँदै समय दिनुभएको थियो तर कांग्रेसले विरोध जारी राखेपछि बैठक स्थगित भएको हो ।

नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ ।

पर्यटकको मन लोभ्याउँदै राताम्य शिरीषको फूल

0

झापा: झापाको तराई छिचोलेर उकालो जाँदै गर्दा इलामको सीमा पुग्नुअघि बर्नेको चिया बगानमा सडकको किनारैभरि राताम्य भएर ढकमक्क फुलेका शिरीषका फूलले कसको मन नलोभ्याउला । झापाको बुद्धशान्ति–४ मा रहेको बर्ने चिया बगानको बिचमा मेची राजमार्गको किनारमा फुलेका शिरीषका फूलले दशौँ हजार मौसमी पर्यटकको मन जितेको छ। शिरीषको फूलकै कारण यो स्थान विगत वर्षदेखि नै रमणीय पर्यटकीय क्षेत्र बनेको छ ।

सामाजिक सञ्जालमा ‘भाइरल शिरीष’को रुपमा चर्चा भएपछि टाढादेखि पर्यटक यहाँ आउने गरेका छन् । फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न युवायुवतीको घुइँचो नै लाग्ने गरेको छ । झापालाई इलाम, पाँचथर र ताप्लेजुङ जिल्लासँग जोड्न चार दशकअघि सडक निर्माण गर्दा मेची राजमार्गको बर्ने क्षेत्रमा फूल फूल्ने प्रजातिका शिरीष लहरै हुर्काइएको थियो । राजमार्गका यात्रुको ध्यान चैतदेखि फूल्ने यिनै शिरीषको फूलले तानेपछि विगत केही वर्षयता स्थानीय पालिकाले नै यसलाई पर्यटकीय क्षेत्र घोषणा गरेको छ ।

शिरीष फूलेको क्षेत्र प्राकृतिकरुपमै सौन्दर्ययुक्त भएकोले पर्यटकीय क्षेत्रको रुपमा विकसित गरिएको गाउँपालिकाका अध्यक्ष मनोज प्रसाइँले बताउनुभयो । उहाँका अनुसार पालिका र वडाले पर्यटकलाई सुविधा पु¥याउनका लागि रु १२ लाख बढी रकम खर्चेर बस्ने चौतारो, शौचालय र पार्किङस्थलको निर्माण गरेको छ । उहाँले हाल बर्ने चिया बगानको दुई सय मिटर सडक किनारमा तीन सय गुलमोहर शिरीषको बिरुवासमेत लगाइसकेको बताउनुभयो । सो स्थानमा पालिकाले ‘बेलकम टु यू बुद्धान्ति’ नै लेखे दुई वटा बगानको बीचमा ब्लक विच्छ्याएर टिकटिक रोडसमेत बनाइसकेको बनाउनुभयो ।

“शिरीष फुलेको सिजनमा मात्र होइन वर्षैभरि पर्यटकलाई आकर्षण गर्ने गरी सो क्षेत्रमा विकास गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “अब चाँडै पालिकाकामा बसोबास गर्ने विभिन्न जातजातिका ड्रेससहित घोडा ल्याउने तयारीसमेत भइरहेको छ ।”उहाँले पालिकाले यस क्षेत्रमा भएको खानेपानीको अभावलाई तत्काल व्यवस्थापन ट्याङ्की निर्माण र टाइल विच्छ्याउने कार्य तीव्ररुपले भइरहेको जानकारी दिनुभयो । उहाँले सामाजिक सञ्जालमा भाइरल शिरीषको फूल देखेर बुधबार काठमाडौँबाट चन्द्रगढी विमानस्थलहुँदै श्रीकेश तेलका प्रोपाइटर टीका बुढाथोकीसमेत आएको बताउनुभयो ।

उहाँले समेत यस क्षेत्रलाई पर्यटकीय हबको रुपमा विकास गर्न सक्दो सहयोग गर्ने आश्वासन दिएको उहाँले राससलाई जानकारी दिनुभयो । झापामा पर्यटकीय आकर्षणकास्थल प्रशस्त रहेको र फूलको सौन्दर्यले मानिसको मनलाई उत्साहित बनाउने भएकाले फूलेका शिरीषका रुख सामाजिक सञ्जालमासमेत भाइरल भइरहेका छन् । यतिबेला बर्ने चिया बगान, दोमुखा धार्मिक पर्यटकीय क्षेत्र र थोप्लेविरान सामुदायिक वनभित्र फुलेको शिरीषको फूलले आन्तरिक तथा बाह्य पर्यटकको मन लोभ्याउन थालेको हो ।

शिरीषको फूलको सौन्दर्यले मोहित भएका पर्यटक व्यक्तिगत, सामूहिक तस्बीर खिचाउने र टिकटक बनाउन व्यस्त देखिन्छन् । बर्षाँै पुराना ती रुख वर्षमा एकचोटी फूलेर राताम्य हुँदा पर्यटकीय आकर्षणको केन्द्र बन्ने गरेको थोल्लेविरान सामुदायिक वन उपभोक्ता समितिकी सचिव जानुका ओलीले बताउनुभयो । उहाँले थोप्लेविरान सामुदायिक वन परिसरको पार्कमा फूलेको शिरीषको फूलमा तस्बीर खिचाउन दैनिकजसो भीड लाग्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो “हरियाली वनभित्र राताम्मे फूलेको शिरीषको फूल नै अहिले पर्यटकको रोजाइमा परेको छ ।”दोमुखा धार्मिक पर्यटकीय क्षेत्रभित्र शिरीषकै फूलको कारण पर्यटकको थप आकर्षण बढेको छ । पूर्व–पश्चिम राजमार्गको माईधार चोकदेखि करिब पाँच किलोमिटर उत्तरमा रहेको यस स्थानका अन्य क्षेत्रमा भन्दा शिरीषकै फूलमा तस्वीर खिच्नेको भीड लाग्न थालेको छ ।
गर्मीको मौसममा शिरीषको बोटमुनि शीतल छायाँ पाइने र त्यसमाथि फूलको सौन्दर्यले मानिसको ओइरो लाग्नु स्वाभाविक भएको सचिव ओलीको भनाइ छ । पूर्व–पश्चिम एसियन हाइवे निर्माण सुरुसँगै सडक आसपास क्षेत्रका रुख कटान गरिएको छ । दुई लेनको सडकलाई चार लेनमा रुपान्तरण गर्ने उद्देश्यले बन्दै गरेको सडक किनारामासमेत स्थानीय सरकारले शिरिषको बिरुवा लगाउन सके भविष्यमा सडक नै सुन्दर देखिने जिल्ला सामुदायिक वन महासङ्घका अध्यक्ष बेदप्रकाश भण्डारीले बताउनुभयो ।

द्विपक्षीय व्यापार र आर्थिक सहयोग अभिवृद्धिबारे छलफल

0

काठमाडौँ: नेपाल उद्योग परिसङ्घ र युरोपेली सङ्घका पदाधिकारीबीच द्विपक्षीय व्यापार र आर्थिक सहयोग अभिवृद्धिलगायत विषयमा छलफल भएको छ । परिसङ्घका पदाधिकारी र युरोपेली आयोगका उपमहानिर्देशक मिरियाम फेरान तथा नेपालका लागि युरोपेली सङ्घ (इयू) का राजदूत भेरोनिक लोरेन्जोलगायतबीच आज भएको छलफलमा दुई पक्षबीच व्यापार सम्बन्ध सुदृढ गर्ने तथा नेपाली उत्पादनलाई युरोपेली बजारमा निर्यात क्षमता वृद्धि गर्ने बारेमा कुराकानी भएको थियो ।

छलफल सन् २०२६ सम्ममा नेपाललाई अतिकम विकसितबाट विकासोन्मुख राष्ट्रमा स्तरउन्नोति गरेपछिको अवस्था, नेपालको उत्पादन र सूचना प्रविधि क्षेत्रको सम्भावनालगायत व्यावसायिक लाभ र आर्थिक विकासका विषमा केन्द्रित रहेको परिसङ्घले जनाएको छ ।

छलफलमा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले नेपाल र युरोपेली सङ्घबीचको आर्थिक र व्यावसायिक सम्बन्धका विविध आयामबारे चर्चा गर्दै नेपालको आर्थिक विकासका लागि इयूले आगामी दिनमा गर्न सक्ने सहयोगका क्षेत्रका विषयमा जानकारी गराउनुभयो । उहाँले युरोपेली मुलुकमा सिधा हवाई उडान पुनः सञ्चालन गराउन आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो ।

सो क्रममा नेपालका लागि इयूका राजदूत लोरेन्जोले युरोपेली सङ्घ नेपालको आर्थिक वृद्धि र विकासको यात्रामा सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो । यसप्रकार छलफलले दुवै राष्ट्रहरूबीच सहयोग र व्यापार बढाउने सम्भावनालाई उजागर गरेको उहाँको भनाइ थियो ।

नेपालीबीचको हार्दिकता र सौहार्द सम्बन्धलाई थप सुदृढ तुल्याउन भूमिका खेल्नुस्: मन्त्री जोशी

0

काठमाडौँ: सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सामाजिक सहिष्णुताका साथ नेपालीबीचको हार्दिकता र सौहार्द सम्बन्धलाई थप सुदृढ तुल्याउन संवैधानिक आयोगका पदाधिकारीले प्रधावकारी भूमिका खेल्नपर्ने बताउनुभएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समन्वय गर्ने आयोगका अध्यक्षसहितका पदाधिकारीसँगको छलफलमा उहाँले राजनीतिक अस्थिरतासँग जोडिएर आएका विविध खाले गुनासालाई सम्बोधन गर्दै अघि बढ्नुपर्ने आवश्यकतासमेत औँल्याउनुभयो । मन्त्री जोशीले भन्नुभयो, “सवैधानिक आयोग आफैँमा स्वतन्त्र छन् । आयोगले आफ्नो विषय क्षेत्रमा रहेका समुदायका अपेक्षा सम्बोधनलाई प्राथमिकतामा राख्नुपर्छ । आयोगको क्षमतालाई थप प्रभावकारी बनाउन जरूरी छ ।”

त्यसअवसरमा आयोगका अध्यक्ष एवम् पदाधिकारीले सामाजिक न्यायका विषयमा गरेका काम र दिएका सुझावलाई राज्यले कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले बजेट र साधनस्रोतको सीमितताका बीच थुप्रै काम भए पनि राज्यले त्यसको सम्मान गर्न नसकेको गुनासो गर्नुभयो ।

राष्ट्रिय समावेशी आयोगका कार्यवहाक अध्यक्ष विष्णुमाया ओझाले आयोगका वार्षिक प्रतिवेदन संसद्मा छलफल गराउन तथा दिएका सुझाव कार्यान्वयन गर्न सरकारलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो “बजेट अभावका कारण आयोगले आवश्यक काम पनि गर्नसकेको छैन । लक्षित समुदायलाई सशक्तिकरण र क्षमता अभिवृद्धिका लागि बजेट छैन । प्रदेश तहमा आयोगका सम्पर्क कार्यालय नहुँदा काम गर्न सकिएको छैन । त्यसैले आयोगलाई हौसल्ला बढाउने काम राज्यबाट हुनुपर्छ ।”

त्यस्तै, आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले सरकारका संयन्त्र र आयोगबीच समन्वय तथा सहकार्यको अभाव रहेको बताउनुभयो । उहाँले आदिवासी जनजातिको हकअधिकार र ज्ञान प्रवर्द्धनमा राज्यले लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

मधेसी आयोगका कार्यवहाक अध्यक्ष जीवछ शाहले जातजाति र समुदाय विशेषको हकअधिकार र संस्कृतिको जर्गेनाका लागि आयोगबाट महत्वपूर्ण काम भइरहेको जानकारी दिनुभयो । त्यसैगरी थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले थारु समुदायमा ठूलो स्वास्थ्य समस्याका रुपमा रहेको सिकलसेल एनिमिया रोगको प्रभावकारी उपचारमा ध्यान पु¥याउन आग्रह गर्नुभयो । उहाँले सङ्घीय निजामती ऐन जारी नहुँदा राज्यका निकायमा आफ्नो समुदायको प्रवेशमा परेको कठिनाइबारे मन्त्रालयलाई जानकारी गराउनुभयो ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आर्थिक र जनशक्तिको अभावमा आयोगहरु सञ्चालन गर्न कठिनाइ परेको हुँदा राज्यलाई बलियो बनाउने हो भने विभिन्न जातजाति र समुदायलाई माथि उठाउने कार्यक्रम ल्याउनुपर्छ भन्नुभयो ।

मन्त्रालयका सचिव मुकुन्द निरौलाले आगामी दिनमा मन्त्रालयले आवश्यक समन्वय र सहकार्य गरी आयोगका कामकारवाहीलाई नियमित र प्रभावकारी तुल्याउन कोसिस गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले पछिल्लो समय विभिन्न आयोगका पहल र प्रयासमा लोक सेवाका परीक्षामा समावेशी र समानुपातिक प्रतिनिधित्वको नतिजा राम्रो देखिएको बताउनुभयो ।

त्यस अवसरमा आयोगका सचिवहरूबाट आआफना आयोगबाट भएका कार्यप्रगति, समस्या र भावि कार्यदिशासम्बन्धी प्रस्तुति भएको थियो । उहाँहरूले आयोगका फरक भूगोल र बेग्ला–बेग्लै खाले कार्य जिम्मेवारी भएकाले कानुन निर्माणमा त्यस कुरालाई विचार गर्न आवश्यक रहेको बताउनुभयो ।