Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search

Logo

Tuesday, May 12, 2026
Facebook

Logo

  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Home Blog Page 792

नेपाल प्रहरी अस्पताल र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा फाउन्डेसनबीच सहकार्य

By
Himalayan Tribune
-
May 29, 2024
0

काठमाडौं: नेपाल प्रहरी अस्पताल महाराजगञ्ज र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा उपेन्द्र देवकोटा फाउन्डेसन बाँसबारीबीच न्यूरो सेवा आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी अस्पतालका मेडिकल निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंह र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा फाउन्डेसनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मिलन गुरूङले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । त्यसअवसरमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र फाउन्डेसनका कार्यकारी अध्यक्ष प्राडा मधु दिक्षित देवकोटाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले समझदारीबाट बहालवाला, अवकाश प्राप्त प्रहरी कर्मचारी र तिनका परिवारलाई न्यूरोसम्बन्धी उपचारमा थप सहजता हुने विश्वास व्यक्त गर्नुभयो । “समझदारीका लागि फाउन्डेसनलाई धन्यवाद छ, अब यसको कार्यान्वयनमा जोड दिनुपर्छ । त्यसका लागि दुवै निकायको समन्वय र सहकार्यमा दुवै पक्षलाई लाभ हुने गरी अगाडि बढाउनुपर्छ । साथै नेपाल प्रहरी भविष्यमा पनि यस्ता सेवामूखी काममा हातेमालो गर्न तयार छ”, महानिरक्षक कुँवरले भन्नुभयो ।

कार्यक्रममा फाउन्डेसनका कार्यकारी अध्यक्ष प्राडा देवकोटाले समझदारीबाट गुणस्तरीय सेवा, शिक्षा र अनुसन्धानका काममा सहयोग पुग्ने बताउनुभयो । उहाँले फाउण्डेसनसँग सहकार्यका लागि नेपाल प्रहरीको नेतृत्व र प्रहरी अस्पताल व्यवस्थापन पक्षलाई धन्यवाद दिनुभयो ।

फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत गुरूङले समझदारीलाई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दै नेपाल प्रहरी अस्पतालको न्यूरो क्षेत्रमा विकास र सम्बन्धित विषयमा तालिम दिन फाउन्डेसन तयार रहेको बताउनुभयो ।

सम्झौताअनुसार अस्पतालको सेवा सुविधाअन्तर्गत विशेषज्ञ सेवाहरू आदानप्रदान गर्ने, आवश्यकताको आधारमा तालिम तथा सेमिनारमा सहभागी गराइने, बहालवाला प्रहरी कर्मचारी र पूर्वप्रहरी कर्मचारी तथा तिनका आश्रित परिवारलाई औषधी र बहिरङ्ग सेवा (ओपिडी), बेड भर्ना, शल्यक्रियालगायत सेवामा हाल लिइरहेको दरमा ७५ प्रतिशत शुल्क तथा नेपाल प्रहरी अस्पतालबाट रिफर हुने अन्य जोकोहीलाई ती सेवामा ९० प्रतिशत शुल्क मात्र न्यूरो अस्पतालले लिने उल्लेख गरिएको छ । साथै नेपाल प्रहरी अस्पतालबाट रिफर हुने बहालवाला र सेवा निवृत्त प्रहरी, तिनका परिवारको नेपाल प्रहरी अस्पतालबाट उपलब्ध रिपोर्टहरू न्यूरो अस्पतालले स्वीकारी उपचार गर्ने लगायतका सुविधा उपलब्ध हुनेछन् । सम्झौता पाँच वर्षसम्म लागू हुनेछ ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूलगायत उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा फाउन्डेसनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस

By
Himalayan Tribune
-
May 29, 2024
0

काठमाडौँ: आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । यस अवसरमा काठमाडौँमा प्रभातफेरी गरिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको ७१ वर्ष पुगेको अवसरमा उक्त दिवस मनाउने गरिएको छ । यस वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको नारा ‘विश्वको सर्वोच्च शिखर सगरमाथा, नेपालको पहिचान र गौरव’ रहेको छ ।

नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिख अर्थात् आजकै दिन पहिलोपटक सगरमाथामा पाइला राखेका थिए । शेर्पा र हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेको स्मरण गर्दै सगरमाथा आरोहणको ७१औँ वर्ष पुगेको अवसरमा नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को मुख्य आयोजनामा प्रभातफेरी गरिएको हो ।

प्रभातफेरीमा ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएसन टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), ठमेल पर्यटन विकास परिषद्लगायतका विभिन्न पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाका अध्यक्ष एवं सदस्यहरुको सहभागिता रहेको थियो । सगरमाथामा मानव पाइला पुगेसँगै नेपालमा पर्वतीय पर्यटनको सुखद् सुरुआत भएको थियो । अर्थमन्त्री वर्षमान पुनद्वारा मङ्गलबार सङ्घीय संसद्का दुवै सदनको बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा प्रत्येक वर्ष मे २९ लाई सगरमाथा अन्तर्राष्ट्रिय विशेष दिवसका रुपमा मनाइने र हिमाली पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने स्वदेशी तथा विदेशी व्यक्ति, सङ्घसंस्थालाई सम्मान गरिने उल्लेख छ ।

महासचिव गुटेरेससँग सचिव लम्सालको भेट

By
Himalayan Tribune
-
May 29, 2024
0
न्युयोर्क: परराष्ट्रसचिव सेवा लम्सालले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग मङ्गलबार भेटघाट गर्नुभएको छ । भेटका अवसरमा नेपाल र राष्ट्रसङ्घको बीचमा सहकार्य, नेपालले अल्पविकसित देशबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशमा जाने योजना, राष्ट्रसङ्घले नेपालको विकासमा खेलेको भूमिकालगायतका विषयमा छलफल भएको न्युयोर्कस्थित स्थायी नियोगले जनाएको छ ।
भेटका अवसरमा उहाँहरुबीच जलवायु परिवर्तनलगायत बहुपक्षीय चासोका विषयमा छलफल भएको बताइएको छ । सचिव लम्सालले वरमुडामा आयोजित चौथो अन्तर्राष्ट्रिय विकासशील साना टापु राष्ट्रहरूको सम्मेलनमा नेपालको तर्फबाट भाग लिन यहाँ आउनुभएको छ । सोही सम्मेलनको साइड लाइन बैठकमा सचिव लम्सालले महासचिव गुटेरेससँग शिष्टाचार भेट गर्नुभएको हो ।

नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालन

By
Himalayan Tribune
-
May 29, 2024
0

नवलपुर (नवलपरासी): दुई दिनदेखि अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–९ थुम्सीमा पुलको पहुँच मार्ग भासिएर अवरुद्ध भएको सडक मङ्गलबार दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको थियो भने अवरुद्ध दाउन्नेखण्ड आज बिहानदेखि सञ्चालनमा आएको छ ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक हस्तबहादुर सुनारले सडक दुईतर्फी सञ्चालनमा आएसँगै यातायातका साधन सहज रुपमा सञ्चालन भइरहेका बताउनुभयो । दाउन्ने डाँडाँमा लेदो माटोका कारण सडक अवरुद्ध भएको थियो । गए रातीदेखि अवरुद्ध उक्त खण्ड आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरी निरीक्षक सुनारले जानकारी दिनुभयो । विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्डमा पानी परेपछि यात्रुले सधैँ सास्ती खेप्दै आएका छन् । यही स्थानमा गत वर्ष पनि डाइभर्सन बगाउँदा दुई दिनसम्म सडक अवरुद्ध भएको थियो । समयमै सडक विस्तार नगरिँदा यात्रुले बर्सेनि दुःख पाउने गरेका छन् ।

‘स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्ने बजेट’

By
Himalayan Tribune
-
May 29, 2024
0

वीरगञ्ज (पर्सा) : औद्योगिक नगरी वीरगञ्जका उद्योगी-व्यवसायीले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्ने रहेको प्रतिक्रिया दिएका छन् । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा आव २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै उद्योगले पैठारी (आयात) गर्ने कच्चा पदार्थमा लाग्ने महसुलभन्दा तयारी वस्तुको पैठारीमा लाग्ने महसुल कम्तीमा एक तह कम गरी स्वदेशी उद्योगलाई प्रथामिकता र प्रश्रय दिने नीतिको यहाँका उद्योगी, व्यवसायी तथा शैक्षिक क्षेत्रका अगुवाले स्वागत गरेका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले बजेटलाई सरसर्ती हेर्दा स्वदेशी उद्योगी–व्यवसायीलाई प्रवर्द्धन र संरक्षण गर्ने आएको प्रतिक्रिया दिनुभयो । “स्वदेशी उद्योगले पैठारी (आयात) गर्ने कच्चा पदार्थमा लाग्ने महसुलभन्दा तयारी वस्तुको पैठारीमा लाग्ने महसुल कम्तीमा एक तह कम गरी स्वदेशी उद्योगलाई प्रथामिकता र प्रश्रय दिने नीति लिएको छ । यो सकारात्मक छ”, उहाँले भन्नुभयो, “बजेटले करका दरमा के–के परिवर्तन गरेको छ भन्ने कुरा आर्थिक ऐन नहेरीकन थाहा पाउन सकिँदैन ।” अध्यक्ष अग्रवालले आगामी आवको बजेटमा उद्योग–व्यवसायीको अधिकांश मागलाई समेट्ने प्रयास गरिएको बताउनुभयो । आलु, प्याज र स्याउको मूल्यअभिवृद्धि कर घटाउनु स्वागतयोग्य अर्थमन्त्री पुनले आगामी आवको बजेटमा आलु, प्याज स्याउलगायतका तरकारी एवं फलफूलमा लागेको मूल्य अभिवृद्धि कर खारेज गर्ने घोषणा गर्नुभएको छ । वीरगञ्ज कलेजका कार्यकारी अध्यक्ष तथा अर्थशास्त्री डा दीपेन्द्रकुमार चौधरीले सरकारले बजेटमार्फत ल्याएको आलु, प्याज र स्याउको मूल्य अभिवृद्धि कर हटाउने नीति सकारात्मक रहेको बताउनुभयो । “हामीले एक वर्षदेखि आलु, प्याजमा लगाएको मूल्य अभिवृद्धि कर खारेज हुनुपर्छ भन्ने माग राख्दै आएका थियौँ”, उहाँले भन्नुभयो, “अहिले सरकारले बजेटमार्फत मूल्य अभिवृद्धि कर हटाएर सकारात्मक सुरुआत गरेको छ ।” उहाँले संसदीय विकास कोषमार्फत संसद्लाई बजेट बाँड्ने वितरणमुखी कार्यक्रम रोकेर सकारात्मक काम गरेको बताउनुभयो । कृषि क्षेत्र प्रथामिकतामा अर्थमन्त्री पुनले आगामी आवको बजेटमा मधेस प्रदेशको कृषि क्षेत्रलाई प्रथामिकतामा राखेर बजेट विनियोजन गर्नुभएको छ । एक सय बिघाभन्दा ठूला चक्लामा वासनादार धानखेती गर्ने सात नमूना परियोजनालाई सहज रूपमा मल, बीउ, प्राविधिक सेवा तथा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने र बीमा प्रिमियममा छुट दिने व्यवस्था मिलाइएको छ । तराई मधेसमा आँप र केराको उत्पादन तथा निर्यात प्रवर्द्धनका लागि विशेष कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ । मधेस विश्वविद्यालयका उपकुलपति दीपक शाक्यले सरकारले आगामी आवको बजेटमा कृषि क्षेत्रलाई प्रथामिकतामा राखेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो बजेटले मधेस क्षेत्रको कृषि क्षेत्रको प्रवर्द्धन गर्न सहयोग पुग्ने आशा गरेका छौँ ।” सरकारले आगामी आवको बजेट वक्तव्यमा निजी क्षेत्रसँगको सहकार्यमा प्रदेशलाई विशिष्टकृत आर्थिक केन्द्रका रूपमा विकास गरिने बजेटमा उल्लेख छ । सरकारले प्रत्येक प्रदेशमा छुट्टाछुट्टै गर्ने कार्यक्रम अघि सारेको छ ।

मधेसलाई कृषि हबका रूपमा विकास गर्ने घोषणा गरेको छ । आगामी आवको बजेटमा सरकारले निजगढबाट ढल्केबरसम्मको पूर्वपश्चिम राजमार्ग आसपासको क्षेत्रलाई नेपाली गलैँचा करिडोरका रूपमा विकास गर्ने उल्लेख छ । सार्वजनिक निकायले नेपालमा बनेको गलैँचा खरिद गर्नुपर्ने कुरा बजेटमा समेटेको छ । उपकुलपति शाक्यले यो व्यवस्थाले पनि उत्साहजनक काम गर्ने बताउनुभयो । बाराको कोल्बीबाट सिमरौनगढ सडक आसपास क्षेत्रलाई माछा करिडोरका रूपमा विकास गर्ने योजना समावेश छ ।

बजेटमा तराई मधेस भूमिगत जलसिँचाइ कार्यक्रममार्फत कृषियोग्य पकेट क्षेत्रमा क्लष्टरमा आधारित स्यालो तथा डिप ट्युवेलबाट सिँचाइ सुविधा विस्तार गर्न थप चार सय ५० डिपबोरिङ जडान गरी करिब १५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने योजना समावेश गरिएको छ । “तराई–मधेस क्षेत्रमा खानेपानीको हाहाकार छ, तर बजेटले सो कुरालाई भने सम्बोधन गर्न सकेको छैन”, उपकुलपति शाक्यले भन्नुभयो, “भूमिगत सिँचाइबारे बजेटमा उल्लेख गरिँदा किसानलाई राहत मिलेको छ ।” ‘भन्सारलाई व्यवस्थित गरिने’ अर्थमन्त्री पुनले भन्सार कार्यालयमा विभिन्न उपकरण जडान गरी आधुनिक प्रविधियुक्त बनाइने घोषणा गर्नुभएको छ ।

नेपाल राष्ट्रिय एकद्वार प्रणालीको कार्यान्वयनलाई प्रभावकारी बनाई एकीकृत प्रणालीमार्फत करदाताको व्यावसायिक समय र लागत घटाइने बजेटमा उल्लेख छ । भन्सार प्रज्ञापनपत्रमा भन्सार अधिकृतको डिजिटल सिग्नेचर कार्यान्वयनमा ल्याइनेछ । आयातमा हुने मालवस्तुको मूल्याङ्कनका लागि नियमित बजार सर्वेक्षण गरी सङ्कलन गरिएको सूचना आधारमा सुदृढ, तथ्यपरक र वास्तविक भन्सार मूल्याङ्कन प्रणाली विकास गरिनेछ । सङ्घका अध्यक्ष अग्रवाल यो प्रावधानले भन्सारका गतिविधिलाई सहज र सरल बनाउन सकिने बताउनुहुन्छ ।

वीरगञ्ज कलेजका सञ्चालक अध्यक्ष डा चौधरीले बजेटमा पर्सालाई धेरै नसमेटिएको गुनासो गर्नुभयो । “पर्साको नारायणी अस्पताललाई मेडिकल कलेजको रुपमा स्थापना गर्ने कुरा बजेटमा उल्लेख गरिनुपथ्र्यो”, उहाँले भन्नुभयो, “निजगढदेखि ढल्केबरसम्मको पूर्वपश्चिम राजमार्ग आसपासको क्षेत्रलाई नेपाली गलैँचा करिडोरको रूपमा विकास गर्ने योजना सकारात्मक छ । बाराको कोल्बीबाट सिमरौनगढ सडक आसपास क्षेत्रलाई माछा करिडोरको रूपमा विकास गर्ने योजना पनि राम्रो छ ।”

एमाले चितवनको अध्यक्षमा पाठक

By
Himalayan Tribune
-
May 29, 2024
0

भरतपुर (चितवन): नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित हुनुभएको छ । पार्टीको ११औँ जिल्ला अधिवेशनबाट उहाँ अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । आज बिहान सम्पन्न मतगणनाअनुसार उपाध्यक्षमा श्यामकुमार विष्ट, सचिवमा प्रकाश ढुङ्गाना, उपसचिव (खुला) मा मीनबहादुर परियार तथा उपसचिव (महिला)तर्फ ज्वाला पुरी वन निर्वाचित हुनुभयो । प्रमुख निर्वाचन अधिकृत जगन्नाथ भण्डारीका अनुसार मतदानमा कुल सात सय २९ मत खसेको थियो । अधिवेशनमा जिल्लाका सातै पालिका, पार्टीको जनवर्गीय सङ्गठन, सम्पर्क मञ्चलगायतबाट गरी सात सय ३२ र मनोनित २९ गरी जम्मा सात सय ६१ प्रतिनिधि सहभागी थिए ।

बजेटमा कर्णालीः मार्सीधान, करिडोरदेखि आधुनिक सहर निर्माण

By
Himalayan Tribune
-
May 29, 2024
0

कर्णाली: सङ्घीय सरकारले मङ्गलबार ल्याएको बजेटमा कर्णाली प्रदेशमा नयाँ परियोजना तथा कार्यक्रम सञ्चालन हुने भएका छन् । सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि रु १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गर्दा जुम्लाको हिमा र तिला आसपासको क्षेत्रलाई मार्सीधान करिडोर, सल्यान र रुकुमको शारदा नदी आसपासको क्षेत्रलाई कृषि करिडोरका रूपमा विकास गर्ने नयाँ परियोजना समेटेको छ । कर्णालीसहित मधेस प्रदेशको पूर्वाधार विकासका लागि रु एक अर्ब ५० करोड छुट्याएको छ ।

हिमाल समृद्धि कार्यक्रमअन्तर्गत हिमाली क्षेत्रमा भेडा, च्याङ्ग्रा, चौरीलगायतको पशुपालन र स्याउ ओखर, जडीबुटीका फार्म सञ्चालन गर्ने तथा कर्णाली प्रदेशको कृषि र वन पैदावरमा आधारित समृद्ध कर्णाली उद्यमशीलता कार्यक्रम सञ्चालन गर्ने बजेटमा उल्लेख गरिएको छ । त्यस्तै कर्णालीका दशवटै जिल्लामा सञ्चालन हुने एकीकृत सिँचाइ विकास आयोजनाका लागि रु ८२ बजेट छुट्याएको छ । सुर्खेतको भेरीगङ्गा उपत्यकालाई पहाडी क्षेत्रको आधुनिक सहर बनाउन गुरुयोजना तर्जुमा गर्ने उल्लेख छैन ।

अर्थमन्त्री पुनका अनुसार हवाई यातायातका क्षेत्रमा सुर्खेत र जुम्ला विमानस्थलको स्तरोन्नति गरिनेछ । भेरी करिडोर चार सय केभी प्रसारण लाइनको निर्माण प्रक्रिया अगाडि बढाइनेछ । कर्णालीलाई जडीबुटीको आर्थिक हबका रुपमा विकास गरिने छ । जुम्लाको हिमा र तिला नदी किनार आसपास क्षेत्रलाई मार्सीधान करिडोर र स्थानीय तथा प्रदेशको सल्यान–रुकुममा कृषि करिडोर बनाइने बजेटमा उल्लेख छ ।

कर्णाली एकीकृत सिँचाइका लागि रु ८२ करोड विनियोजन गरिएको छ । कर्णालीमा कृषि र वन पैदावारमा आधारित समृद्ध कर्णाली उद्यमशीलता कार्यक्रम सञ्चालन गरिने छ । कर्णाली र भेरी करिडोरको निर्माण कार्यलाई निरन्तरता दिइनेछ । उक्त करिडोरमा पाँच पुल र ५० किलोमिटर सडक स्तरोन्नति गरिनेछ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पाँच सय शय्याको बनाइने छ । आगामी बजेटमा सुर्खेत मेडिकल कलेज स्थापनाको पुरानो योजना सङ्घीय सरकारले अघि बढाउने छ ।

कर्णाली प्रदेशको वन कार्बन आकलन गरी रेड कार्यक्रमलाई निरन्तरता दिइनेछ । सरकारले जाजरकोट र रुकुमपश्चिममा भूकम्पका कारण भएको क्षतिबाट ध्वस्त संरचना पुनःनिर्माणका लागि रु २१ अर्ब ६० लाख छुट्याएको छ । सरकारले भूकम्पबाट क्षतिग्रस्त भएका निजी भवनको तथ्याङ्क निकालेर पुनःनिर्माण प्रक्रिया अघि बढाउने उल्लेख छ । विद्यालय भवन शीघ्र पुनःनिर्माण गरिने छन् । भेरी–बबई बहुउद्देश्यीय आयोजनाका लागि रु दुई अर्ब विनियोजन गरिएको छ । आयोजनाबाट बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने छ । दिवा खाजाको बजेटमा वृद्धि गरिएको छ भने स्वास्थ्यतर्फ सुर्खेतमा मेडिकल कलेज निर्माण कार्यले निरन्तरता पाउने छ । यो कार्यक्रम विगत १० वर्षदेखि हरेक वर्षको बजेटमा समावेश हुँदैआएको छ ।

कर्णाली प्रदेशका हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोटमा दिइँदै आएको दिवा खाजा वृद्धि गरिएको छ । यस्तै उपल्लो डोल्पा र हुम्लाको लिमी उपत्यकालाई नयाँ नमूना बस्ती निर्माण गरी आर्थिक तथा पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने योजना सरकारले ल्याएको छ । विसं २०८१ मङ्सिर कर्णाली प्रदेशमा आयोजना गरिने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रु ६० करोड विनियोजन गरिएको छ । विद्युत् उत्पादनतर्फ चार सय १७ मेगावाटको नलसिंगाड र एक सय ६ मेगावाटको जगदुल्ला आयोजना निर्माण गरिने बजेटमा उल्लेख छ । भेरी करिडोर चार सय केभी विद्युत् प्रसारण लाइन निर्माण गरिने छ ।

बजेट वक्तव्य : एक लाख युवाको रोजगारी सुनिश्चित

By
Himalayan Tribune
-
May 28, 2024
0

काठमाडौँ: सरकारले विश्वविद्यालयबाट अध्ययन सम्पन्न गरी कामको खोजीमा रहेका एक लाख युवालाई रोजगारीको सुनिश्चित गर्ने भएको छ ।

सङ्घीय संसद्को सुंयुक्त बैठकमा आज अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा विश्वविद्यायबाट अध्ययन पूरा गरेका युवालाई विभिन्न सार्वजनिक निकाय र निजी क्षेत्रसँगको सहकार्यमा उद्योग, व्यवसाय, कृषि तथा पशुपंक्षी फर्म, होटल, पर्यटन, निर्माण क्षेत्रलगायत कार्यस्थल तालिम प्रदान गरी कम्तीमा एक लाख युवालाई रोजगारी सुनिश्चित गर्ने सरकारको योजना रहेको उल्लेख छ । उक्त कार्यक्रमका लागि रु तीन अर्ब विनियोजन गरिएको छ ।

यसैगरी ८२ युवाको क्षमता अभिवृद्धि गरी अन्तरनिहित प्रतिभा सार्वजनिक सेवा प्रवाह र उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न राष्ट्र निर्माणमा युवा परिचालन कार्यक्रम सञ्चालन गर्ने सरकारको लक्ष्य रहेको छ ।

राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम सञ्चालन गरिने

By
Himalayan Tribune
-
May 28, 2024
0

काठमाडौँ: सरकारले राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

“जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरणका कार्यक्रम सञ्चालनका साथै विपद् व्यवस्थापन र जलवायु अनुकूलनका कार्यक्रमलाई एकीकृतरूपमा सञ्चालन गर्ने व्यवस्था मिलाइने छ”, वक्तव्यमा उल्लेख छ, “जलवायु परिवर्तनबाट परेको असरलाई एकीकृत र सन्तुलितरूपमा सम्बोधन गर्न राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम सञ्चालन गरिनेछ ।”

वक्तव्य अनुसार जलवायु परिवर्तनबाट हिमाली र पर्वतीय क्षेत्रमा परेको प्रभावका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा संवाद गरी ‘हिमाल जोगाऔँ, मानवता बचाऔँ’ अभियानलाई निरन्तरता दिइने छ ।

भौतिक पूर्वाधार निर्माण गर्दा जलवायु परिवर्तन अनुकूलित पूर्वाधार निर्माण गरिने सरकारको लक्ष्य रहेको छ। सङ्घ, प्रदेश र स्थानीय तहबाट हुने भवन निर्माणमा जलवायु अनुकूलन तथा ऊर्जा दक्षता अभिवृद्धि गरिने लक्ष्य रहेको छ ।

यसैगरी जलवायु परिवर्तनबाट कृषि क्षेत्रमा परेको प्रभाव न्यूनीकरण र अनुकूलन हुने गरी उपयुक्त प्रविधिको प्रयोग गरिने बजेट वक्तव्यमा उल्लेख छ ।

बजेटमा बागमती प्रदेश : स्थानीय उत्साहित

By
Himalayan Tribune
-
May 28, 2024
0

बागमती: सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट मार्फत बागमती प्रदेशका थुप्रै योजनाहरुलाई समेटेका सर्वसाधारण उत्साहित बनेका छन् ।

आगामी आव २०८१/८२ का लागि कूल रु १८ खर्ब ६० अर्ब ३० करोड बजेट सार्वजनिक गरेकामा सूचना प्रविधि हबको विकास गरिने बजेट वक्तव्यमा उल्लेख गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आव २०८१/८२ को बजेट सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री वर्षमान पुनले नेपाललाई सूचना प्रविधि हवको रुपमा विकास गर्न आगामी वर्षबाट सूचना प्रविधि दशक मनाउने घोषणा गर्नुभयो । सार्वजनिक-निजी साझेदारीमा अत्याधुनिक सूचना प्रविधि हब सञ्चालनका लागि काठमाडौँको डिल्लीबजारस्थित चारखालमा बहुतले संरचना निर्माण गरिने र ललितपुरको खुमलटारमा ज्ञान पार्क निर्माणका लागि रु १७ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री पुनद्वारा प्रस्तुत बजेट वक्तव्यमा भनिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण आगामी आवदेखि सुरु गरिने घोषणा गर्नुहुँदै अर्थमन्त्री पुनले आगामी वर्षभित्र चितवन विमानस्थल विस्तार सम्पन्न गर्न रु ३६ करोड विनियोजन गरिएको उल्लेख गर्नुभएको छ ।

सरकारले बन्द रहेको हेटौँडा कपडा उद्योग सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ । बजेट वक्तव्य प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री पुनले रूग्ण तथा बन्द रहेका विराटनगर जुट मिल, हेटौँडा कपडा उद्योग र गोरखकाली रबर उद्योग सार्वजनिक-निजी साझेदारी ढाँचामा सञ्चालनमा ल्याइने घोषणा गर्नुभयो ।

चितवनमा मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन अघि बढाइने उल्लेख गर्नुहुँदै अर्थमन्त्री पुनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी आर्थिक बर्षदेखि कलेजो प्रत्यारोपन सेवा सञ्चालन गरिने र पाटनस्थित मानसिक अस्पतालको स्तरोन्नति गरिने उल्लेख गर्नुभयो ।

सरकारले आगामी आवमा काठमाडौँ विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ न्याचुरोप्याथी एण्ड यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेको छ। काठमाडौँस्थित वीर अस्पतालमा जलनको सघन उपचारका लागि आधुनिक कक्ष विस्तार र कीर्तिपुरस्थित ‘बर्न’ अस्पतालको पूर्वाधार विकास गरिने बजेट वक्तव्यमा उल्लेख छ ।

आगामी आव २०८१/८२ मा राष्ट्रियस्तरको ८० खेल आयोजना गर्ने घोषणा गरेको सरकारले काठमाडौँको मूलपानी क्रिकेट रङ्गशाला र विराटनगरस्थित गिरिजाप्रसाद कोइराला रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण गरिने जनाएको छ ।

यस्तै आगामी आवमा चितवनको भरतपुरस्थित निर्माणाधीन गौतमबुद्ध रङ्गशाला तीनै तहका सरकारको साझेदारीमा निर्माण सम्पन्न गर्ने घोषणा गरेको छ । कीर्तिपुरस्थित क्रिकेट रङ्गशालाको स्तरोन्नति र फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई तीव्रता दिएको सरकारले खेल पूर्वाधारतर्फ रु एक अर्ब ३० करोड बजेट बिनियोजन गरेको जनाएको छ ।

सडक भौतिक पूर्वाधारलाई उच्च प्राथमिकता दिएको सरकारले आगामी आवमा पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटबल सडकखण्डलाई चार लेनमा विस्तार गरिने, काठमाडौँ तराई मधेस फास्ट ट्रयाकको महादेवटार, धेद्रे र लेनडाँडा सुरुङ आगामी वर्ष सम्पन्न गरिने बजेटमा भनिएको छ ।

काठमाडौँ तराई मधेस द्रूत मार्ग निर्माणलाई तीव्रता दिइने जनाइएको छ । नागढुङ्गा–नौबिसे–मुग्लिङ खण्डको थप ४० किलोमिटर स्तरोन्नति गरिने र मुग्लिङ–आँबखैरेनी सडक विस्तारलाई सुरु गरिने भएको छ । आगामी आवमा सिस्नेखोला–नागढुङ्गा सडक निर्माण सिद्धबाबा सुरुङमार्ग र ग्वार्को फ्लाइओभर सम्पन्न हुने भएको छ ।

स्वदेशी उद्योगलाई प्राथमिकता र प्रश्रय दिन औषधि, इन्डक्सन चूल्हो, धागो उद्योग, हेल्मेट, अगरवती, सेनेटरी प्याड, काजु र बदाम प्रशोधन, स्पिड पत्ता बनाउने उद्योगलगायतका उद्योगको कच्चा पदार्थमा लागेको पैठारी महसुल र अन्तः शुल्क घटाएको सरकारले आगामी आवमा रसुवाको टिमुरेमा सुक्खा बन्दरगाहको कार्य सम्पन्न गर्ने घोषणा गरेको छ ।

विगतको तुलनामा सरकारले बागमती प्रदेशका थुप्रै र महत्वपूर्ण योजनालाई बजेट मार्फत सम्बोधन गरेको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् । “सरकारले प्रदेशमा शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार क्षेत्रका भौतिक संरचना लगायतका कार्यलाई प्राथमिकता दिएको घोषणा गर्नु आफैँमा स्वागतयोग्य छ”, हेटौँडा उपमहानगरपालिकाका व्यवसायी सुजन श्रेष्ठले भन्नुभयो, “यसबाट बागमती प्रदेशमा पर्यटन प्रवर्द्धनसँगै आर्थिक सम्बृद्धिको बाटो खुल्ने छ ।” यसलाई तत्काल कार्यान्वयनमा लैजानुपर्ने उहाँको भनाइ छ ।

 

1...791792793...1,301Page 792 of 1,301

हिमालयन ट्रिब्युनको लागि

  • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
  • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
  • सम्पादक: गजे घले
  • व्यवस्थापक: आशिष पोखरेल
  • CONTACT
  • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
  • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune