Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search

Logo

Tuesday, May 12, 2026
Facebook

Logo

  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Home Blog Page 786

अमरगढी किल्लामा राष्ट्रिय विभूति थापाको पूर्णकदको सालिक अनावरण

By
Himalayan Tribune
-
June 4, 2024
0

डडेल्धुरा: डडेल्धुरा जिल्ला सदरमुकाममा रहेको ऐतिहासिक अमरगढी किल्लामा राष्ट्रिय विभूति अमरसिंह थापाको पूर्णकदको सालिक अनावरण गरिएको छ । अमरगढी किल्लामा रहेको काजी थापाको पुरानो सालिकलाई हटाएर नयाँ सालिक राखिएको हो ।

अमरगढी नगरपालिकाद्वारा सोमबार आयोजित कार्यक्रममा नगरप्रमुख डिल्लीराज जोशीले बडाकाजी थापाको पूर्णकदको नयाँ सालिक अनावरण गर्नुहुँदै किल्लामा यसअघि राखिएको सालिकको अनुहार बडाकाजी थापाको अनुहारसँग मेल नखाने गुनासो आएपछि नयाँ पूर्णकदको सालिक राखिएको बताउनुभयो । “धेरैले बडाकाजी थापाको अनुहारसँग किल्लामा रहेको सालिकको अनुहार नमिल्ने गुनासो गरेका छन्”, उहाँले भन्नुभो, “एक वर्षको प्रयासपछि अहिले नयाँ सालिक अनावरण गर्न सफल भएका छौँ ।” अङ्ग्रेजहरूसँगको लडाइँ लड्न तयार भएको किल्लामा अमरसिंहको सेनाको फौज लामो समयसम्म बसेको इतिहासकार बताउँछन् ।

अमरगढी किल्ला, अजयमेरुकोटलगायतका धार्मिक क्षेत्र पनि यस जिल्ल्लामा अवस्थित छन् । अमरगढी किल्ला जीवन्त किल्लाका रूपमा रहेको छ । नेपाल एकीकरणका बेला बडाकाजी थापाले डोटेली राज्यको डडेल्धुरालाई आधार क्षेत्र बनाइ कुमाउ गडवालसम्म युद्ध लडेको इतिहास छ । रणबहादुर शाहको शासनकाल विसं १८४७ मा नेपाल एकीकरण सिलसिलामा डोटेली राज्यको नारी दाङमा युद्ध भएपछि विशाल डोटी राज्य नेपाल अधिराज्यमा गाभिएको इतिहास जानकार बताउँछन् । युद्धमा गोर्खाली फौजसँग डोटेली फौज पराजित भइसकेपछि यस भूभागको सुशासनलाई सुदृढ र विस्तार गर्न बडाकाजी थापा प्रथम प्रशासकका रूपमा यहाँ आएको बताइन्छ । ढुङ्गे किल्लाको निर्माण अमरसिंह थापा, काजी जगत पाण्डे, कप्तान गोलैया, कप्तान रणवीर खत्री, सुब्बा जोगनारायण मल्ल, सुब्बा फौदसिंह, सुग्विर खत्रीलगायतका सैनिक कमाण्डरले १८औँ शताब्दीमा गरेको बताइन्छ ।

विसं २०५४ मा अमरगढी किल्लाको नामबाट स्थापना अमरगढी नगरपालिकाले विसं २०५६ मा किल्लालाई आफ्नो मातहतमा लिएको थियो । विसं २०५८ मा तत्कालीन नेकपा माओवादी युद्धका कारण जिल्लालाई सुरक्षा दिन सो किल्ला पुनः नेपाली सेनाले आफ्नो मातहतमा लिएपछि अवलोकन तथा हिँडडुलमा प्रतिबन्ध लगाइएको थियो । हाल सर्वसाधारणका लागि खुला गरिएको छ । दैनिक किल्ला अवलोकनका लागि बाह्य र आन्तरिक पर्यटक आउने गर्दछन् ।

सो अवसरमा परशुराम नगरपालिकाका प्रमुख भरत बडायर जोशी, सहायकरथी मनोज थापा, डडेल्धुरा अमरगढी नगरपालिकाका पूर्वप्रमुख मोहनराज पाठक, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजकर्मी, सञ्चारकर्मीलगायतको उपस्थिति थियो । किल्लामा नेपाली सेनाको सहयोगमा ढुङ्गा छाप्ने काम पनि सम्पन्न भएको छ ।

असहाय उपचारका लागि ५२ अस्पतालमा तीन सय ७४ शय्या सुनिश्चित

By
Himalayan Tribune
-
June 4, 2024
0

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले अशक्त, गरिब र असहाय बिरामीको निःशुल्क उपचार गर्नका लागि तय गरेको प्रणालीमा ५२ अस्पतालका तीन सय ७४ शय्या सुनिश्चित भएको छ । कामपाले रहेको निजी अस्पतालले विपन्न, बेवारिसे र असहाय बिरामीका लागि १० प्रतिशत शय्या अनिवार्य एवं निःशुल्क रूपमा उपलब्ध गराउनुपर्ने प्रावधानअनुसार अस्पतालले उक्त शय्या विपन्न र असायका लागि छुट्याएका हुन् ।

कामपा स्वास्थ्य विभागका जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार विसं २०८० फागुनबाट सुरु गरिएको उक्त सेवाबाट अहिलेसम्मा ७० बिरामी लाभान्वित भइसकेका छन् । यसरी सेवा लिन आउनेमा काठमाडौँ उपत्यकाको भन्दा पनि उपत्यका बाहिरका नागरिक बढी रहेका उहाँले जानकारी दिनुभयो । कानुनी व्यवस्थालाई निजी अस्पतालले अटेर गरेपछि कामपाले निःशुल्क स्वास्थ्य उपचारसम्बन्धी कार्यविधि, २०८० पास गरेर उक्त व्यवस्था कडाइका साथ कार्यान्वयनमा ल्याएको हो । कामपाले कुन अस्पतालमा शय्या उपलब्ध छ ? र कुन सेवा प्राप्त गर्न सकिन्छ ? भनेर विस्तृत विवरण अनलाइनबाटै पाउन सकिनेगरी व्यवस्था गरिसकेको छ ।

निःशुल्क उपचार सेवा लिएकामध्ये केही निको भएर घर फर्किसकेका छन् भने केही उपचाररत रहेको कामपाले जानकारी दिएको छ । यसरी सेवा लिनेमा नाक, कान, घाँटी र मिर्गौलाका बिरामी बढी रहेका छन् । त्यस्तै दम, क्षयरोग छाती र आँखासम्बन्धी सेवा लिएका बिरामी रहेको पनि श्रेष्ठले जानकारी दिनुभयो ।

उपचार लिनका लागि समस्या भए वा थप जानकारी आवश्यक परेमा कामपाको स्वास्थ्य विभागमा वा कामपाको हटलाइन नम्बर ११८० मा सम्पर्क गरेर पनि आवश्यक जानकारी लिन सकिने श्रेष्ठले बताउनुभयो । यसरी लिन सकिन्छ निशुल्क उपचार सेवा सरकार/प्रदेश सरकार/स्थानीय सरकारले लक्षित वर्ग हो भनी जारी गरेको कागजात/परिचयपत्र, त्यस्तै राष्ट्रिय परिचयपत्र/नेपाली नागरिकता प्रमाणपत्र/जन्मदर्ता प्रमाणपत्र प्रतिलिपि र हालसालै खिचिएको फोटो, रोग पहिचान भएमा सोको कागजपत्र, सम्बन्धित स्थानीय तहको वडाले लक्षित वर्ग हो भनी अनुसूची–४ अनुसारको सर्जमिन गरेको कागज र सम्बन्धित स्थानीय तहको वडा कार्यालयले उपचारको लागि अनुसूची–३ अनुसारको सिफारिस गरेको पत्र आवश्यक पर्ने बताइएको छ । बेवारिसे बिरामीको हकमा आकस्मिक कक्षमा आएका बखत उपचार खर्च नभएका गरिब, विपन्न तथा बेवारिसे बिरामीलाई प्रारम्भिक स्वास्थ्योपचार निःशुल्क प्रदान गर्नुपर्नेछ ।

विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाद्वारा श्रीलङ्का पराजित

By
Himalayan Tribune
-
June 4, 2024
0

काठमाडौँ: आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘डी’को पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलङ्कालाई पराजित गरेको छ । अमेरिकाको न्युयोर्कस्थित नासौं काउन्टी इन्टरनेशनल क्रिकेट रङ्गशालामा गए राति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले श्रीलङ्कालाई छ विकेटले हराउँदै विजयी भएको हो ।

अठहत्तर रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६ दशमलव दुई ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । दक्षिण अफ्रिकाका लागि क्विन्टन डी ककले २७ बलमा एक चौकासहित सर्वाधिक २० रन जोडे । त्यस्तै हेनरिक क्लासेनले अविजित १९ रन बनाए । उनले २२ बलमा एक चौका र एक छक्कासहित १९ रन बनाएका हुन् । त्यस्तै, ट्रिस्टन स्टब्सले १३ तथा एडेन माक्ररमले १२ रन जोडे । श्रीलङ्काका कप्तान वानिन्दु हसरङ्गाले दुई विकेट लिए भने दासुन शानका र नुवान थुसराले समान एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको श्रीलङ्काले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ७७ रनमा समेटिएको थियो । श्रीलङ्काका लागि कुशल मेन्डिसले ३० बलमा एक चौकासहित सर्वाधिक १९ रन जोडे भने एन्जिलो म्याथ्युजले १६ बलमा दुई छक्कासहित १६ रन बनाए । त्यसैगरी कामिन्दु मेन्डिसले ११ रन जोडे ।

श्रीलङ्कालाई सस्तैमा समेट्ने क्रममा दक्षिण अफ्रिकाका एनरिच नोर्कियाले चार विकेट लिए भने कागिसो रबाडा र केशव महाराजले समान दुई–दुई विकेट लिए । समूह ‘डी’ अन्तर्गतको दोस्रो खेल नेपाली समयअनुसार आज राति ९ः३० बजे अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी रङ्गशालामा नेपाल र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

झापा बाढीको उच्च जोखिममा

By
Himalayan Tribune
-
June 4, 2024
0
झापा: जिल्लाका अधिकांश पालिकाहरू बाढीको उच्च जोखिममा रहेकाले विपद् व्यवस्थापनको तयारी तीव्रगतिमा भइरहेकोे जिल्ला विपद् व्यवस्थापन समिति झापाले जनाएको छ । समितिले आपत्कालीन आश्रयस्थल तोक्ने, राहत वितरणको मापदण्ड बनाउने, जोखिममा पर्नसक्ने घरधुरीको तथ्याङ्क सङ्कलन गर्ने, पालिकाहरूमा ‘फोकल पर्सन’ तोक्ने र विपद् व्यवस्थापनकार्यलाई प्रभावकारी बनाउने प्रयास भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले बताउनुभयो ।
जिल्लाका १५ पालिकामध्ये बाढीको उच्च जोखिममा छवटा पालिका रहेका छन् । गौरीगञ्ज, कचनकवल, बाह्रदशी, कमल गाउँपालिका, शिवसताक्षी र भद्रपुर नगरपालिका बाढीको उच्च जोखिममा रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार मेचीनगर, गौरादह, अर्जुनधारा, कनकाई, दमक नगरपालिका बाढीको मध्यम जोखिममा रहेका छन् भने हल्दिबारी, बुद्धशान्ति गाउँपालिका र विर्तामोड नगरपालिका न्यून जोखिममा रहेका छन् ।
यस वर्ष अत्यधिक वर्षा हुने मौसम विभागको प्रक्षेपणअनुसार समितिले जिल्लामा करिब आठ हजार नौ सय १९ घरधुरी बाढीका कारण प्रभावित हुने आकलन गरेको छ । जिल्लामा बाढीबाट विस्थापित हुनसक्ने परिवारलाई राख्न सम्बन्धित स्थानका विद्यालय, सामुदायिक भवन, रेडक्रस, स्वास्थ्यचौकीलगायतका दुई सय ५० वटाभन्दा बढी स्थानलाई आकस्मिक आश्रयस्थल तोकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “समितिले विपद् प्रतिकार्य योजना नै बनाएर अघि बढेको छ । जनधनको क्षति हुन नदिन सबै प्रकारका उपाय अलवम्बनको तयारी छ ।” प्रहरी, सेना, रेडक्रस र स्थानीय पालिका प्रमुखहरूसँग समन्वय गरेर विपद् व्यवस्थापनका लागि एकीकृत योजना बनाइएको उहाँले जानकारी दिनुभयो । जिल्ला विपद् व्यवस्थापन समिति झापाले मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना नै तयार गरेर सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँग आवश्यक सामग्रीको तयारी गर्न आग्रह गरेको छ ।
जिल्लामा धेरै प्रकारका विपद् भएता पनि प्राथमिकीकरणका आधारमा पहिलो नम्बरमा बाढी प्रकोप भएकाले यसबाट जनधनको क्षतिलाई न्यूनीकरणका लागि स्थानीय सरकार, नेपाल रेडक्रस सोसाइटी, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तयार रहेको उहाँले बताउनुभयो । उहाँले जिल्लाका मेची, निन्दा, रतुवा, मावा, कनकाई, विरिङलगायत दर्जनौँ नदीबाट हुनसक्ने बाढी र डुबान प्रभावितलाई उद्धारका लागि लाइफ ज्याकेट, रबर बोट, रेस्क्यू हेल्मेट, प्लास्टिकजन्य ट्युब र एम्बुलेन्स तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई आग्रह गरिएको बताउनुभयो । बाढीका कारण जिल्लामा प्रत्येक वर्ष ठूलो धनजनको क्षति व्यहोर्नु परिरहेको छ ।
नेपाल रेडक्रस सोसाइटी झापा शाखाको तथ्याङ्कअनुसार सात वर्षमा बाढीकै कारण ६० जनाको मृत्यु भएको छ । विसं २०७३ देखि २०७९ सम्ममा ६० जनाको मृत्यु र छजना बेपत्ता भएको तथ्याङ्कमा उल्लेख छ ।

लोकतन्त्रले थिचोमिचो स्वीकार्दैन : पूर्वराष्ट्रपति डा यादव

By
Himalayan Tribune
-
June 3, 2024
0

काठमाडौँ: पूर्वराष्ट्रपति डा रामवरण यादवले लोकतान्त्रिक गणतन्त्रको उपलब्धि बहुआयामिक रहेको बताउनुभएको छ ।

गणतन्त्र दिवस, २०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस) द्वारा आयोजित तस्वीर प्रदर्शनीको आज अवलोकनपछि प्रतिक्रिया दिनुहुँदै पूर्वराष्ट्रपति डा यादवले संसारमा भएका शासन प्रणालीमध्ये सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था नै सबैभन्दा उत्कृष्ट रहेको बताउनुभयो । जनताको आन्दोलनको उपलब्धिका रुपमा रहेको गणतन्त्रलाई संस्थागत गर्ने कार्य जिम्मेवारीका साथ अघि बढिरहेको उल्लेख गर्दै उहाँले यस व्यवस्थालाई बलियो तुल्याउन खम्बाका रुपमा राजनीतिक दलले सहमति, समन्वय र सुझाबुझपूर्णरुपमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

गणतन्त्र प्राप्तिपछि मुलुकका विभिन्न क्षेत्रमा सुरुङमार्गलगायत विकास निर्माणले तीव्रता पाएको उल्लेख गर्दै पूर्वराष्ट्रपति डा यादवले भौतिक विकाससँगै नवीनतम प्रविधिको विकासले देश र संसारलाई जोडिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “गणतन्त्रपछि शिक्षा र स्वास्थ्यका क्षेत्रमा विस्तार भएको छ । तर पनि गुणस्तरीय शिक्षामा भने हामीले जोड दिनुपर्नेछ । जनप्रतिनिधिको ध्यान त्यसमा हुनुपर्छ ।” राजनीतिक व्यवस्थापनसँगै आर्थिक व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले द्वन्द्व भएको मुलुकमा आर्थिक व्यवस्था राम्रो भएन भने पुनरावृत्ति हुनसक्ने पाटोमा ध्यान पुर्याउनुपर्छ भन्नुभयो ।

जुन देशमा शिक्षाको विकास हुन्छ त्यो देश अरु क्षेत्रमा योजनाबद्धरुपमा अघि बढ्ने उल्लेख गर्दै पूर्वराष्ट्रपति डा यादवले राजनीतिक, आर्थिक र सामाजिक विकासले लोकतन्त्रको गतिलाई निर्धारण गर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “विगतमा द्वन्द्व भयो, दलको सहमतिमा संविधान बनाउने काम भयो, संविधान जारी गर्ने क्रममा केही असन्तुष्टि व्यक्त भए, पछि आएर सबैले संविधान मान्दै आफ्ना कुरा उठाइरहेका छन् । यो नै लोकतन्त्रको सबैभन्दा ठूलो उपलब्धि हो ।”

लोकतन्त्रको जहाज जस्तो चुनौतीका बाबजूद पनि परिपक्क ढङ्गले अघि बढिरहेको भन्दै पूर्वराष्ट्रपति डा यादवले लोकतान्त्रिक व्यवस्थामा हतारमा काम र छिटो परिणाम प्राप्त नहुने भएकाले राजनीतिक दलको दुरदर्शिताको खाँचो औँल्याउनुभयो ।

पूर्वराष्ट्रपति डा यादवले भन्नुभयो, “गणतन्त्र प्राप्तिपछि आर्थिक पाटोमा धेरै गर्न नसके पनि भौतिक उपलब्धि भने धेरै भएको छ ।” लोकतन्त्र पारदर्शी व्यवस्था भएकाले संविधान, कानुन र विधिअनुसार चल्ने उल्लेख गर्दै उहाँले लोकतन्त्रले थिचोमिचो स्वीकार नगर्ने भएकाले विधिको शासन खोज्छ भन्नुभयो ।

“लोकतन्त्रको गाडी सुस्त हुने भएकाले विस्तारै अघि बढ्छ । लोकतन्त्रलाई व्यवस्थित गर्दै आर्थिक र सामाजिक व्यवस्थालाई अघि बढाउनुपर्छ”, उहाँले भन्नुभयो । ठूलो बलिदानीबाट महत्वपूर्ण उपलब्धिका रुपमा लोकतन्त्र आएकाले लोकतन्त्र फलाउने र फुलाउने काममा सहभागी हुन पूर्वराष्ट्रपति डा यादवले सबै तह र तप्काका नागरिकलाई आह्वान गर्नुभयो ।

संसदीय अभ्यास बुझ्न विद्यार्थी पुगे दर्शकदीर्घामा

By
Himalayan Tribune
-
June 3, 2024
0

काठमाडौँ: काठमाडौँको न्यू होली क्रस इङ्लिस सेकेन्डरी स्कूलकी छात्रा इरिका अधिकारीले संसदीय प्रक्रियासम्बन्धी किताबमा पढेका विषय व्यावहारिक रुपमा अवलोकन गरी जान्नेबुझ्ने अवसर पाएपछि खुसी लागेको बताइन् । इरिकासँगै सङ्घीय संसद्का बैठक अवलोकन गर्न काँडाघारीस्थित न्यू होली स्कूल र नागार्जुन नगरपालिका–१ स्थित नागार्जुन भ्याली एकेडेमी स्कूलका एक सय १५ जना छात्रछात्रा सङ्घीय संसद् भवन नयाँ बानेश्वर पुगेका थिए । अरू विद्यार्थीको प्रतिक्रिया पनि इरिकाको भन्दा फरक छैन । उनीहरुले प्रत्यक्षरुपमा संसदीय गतिविधिलाई नियाल्ने अवसर जुटेकामा निकै फलदायी भएको प्रतिक्रिया दिएका छन् ।

सङ्घीय संसद्का गतिविधिको अवलोकनमा आएका छात्रछात्रा सदनमा उठाइने राष्ट्र, राष्ट्रियता, समसामयिक तथा राजनीति र जनसरोकारका विषयमा प्रत्यक्ष छलफल गरी जानकारी लिन पाएपछि खुसी देखिन्थे । संसद् बैठकबाट विद्यार्थी बाहिरिएपछि शिक्षक र विद्यार्थीसँग प्रतिनिधिसभा, राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडाले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा संवाद गर्नुभएको थियो । संवादका क्रममा विद्यार्थीले राखेका जिज्ञासालाई सभापति खतिवडाले अन्तरक्रियात्मक ढङ्गबाट सम्बोधन गर्नुभयो । सभापति खतिवडासँग विद्यार्थीले संसद्मा उठेका जनसरोकारका विषय सम्बोधन हुनेमा कति विश्वस्त हुन सकिन्छ ?, आर्थिक वृद्धिदर हासिल गरी सुखी नेपाली समृद्ध नेपालको नारा कहिलेसम्म सफल होला ?, वैदेशिक ऋणको भारले गाँजिदै गर्दा के अर्थतन्त्र उकास्न सकिएला ? लगायत प्रश्न सोधेका थिए ।

इरिकाले देशमा कसरी कानुन निर्माण हुन्छ, सदनमा सांसदले के–कस्ता कुरा उठाउँनु हँुदोरहेछ भन्ने जानकारी पाएको बताइन् । सदनलगायत औपचारिक मञ्चमा कस्तो पोसाक लगाएर आउने, कसरी प्रस्तुत हुनेलगायत विषयका बारेमा जानकारी पाइएको उनले प्रतिक्रिया दिइन् । संसद् अवलोकनमा आएका विद्यार्थीले कतिपय विषयमा परेको द्विविधाबारे सांसदसँगको छलफलबाट स्पष्ट भएको प्रतिक्रिया दिए । उनीहरुका अनुसार संसदीय अभ्यास, सभामुखको स्थान, जिम्मेवारी र भूमिका, सभाका प्रक्रिया, मर्यादापालकका जिम्मेवारी, सुरक्षा मापदण्ड, दर्शकदीर्घा रहनेले पु¥याउनुपर्ने ध्यान, गर्नुपर्ने नियमको पालना, अनुशासनलगायत विषयका बारेमा जानकारी प्राप्त भएको छ । अवलोकनमा जाँदा संसद् भवन प्रवेश गर्ने बेला साथमा लिएर जान नहुने सामग्री तथा जनप्रतिनिधिले बोलेका विषयमा तत्काल सङ्केत गर्न नपाइने विषयमा विद्यार्थीले प्रत्यक्ष अनुभव लिएका छन् ।

सभापति खतिवडाले मुलुकमा भएका समसामयिक विषयमा सरकारका कुरा जनताका बीचमा र जनताका कुरा सरकारलाई बुझाउने दायित्व सांसद र संसद्को भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “संसद्ले जहिले पनि सरकार र जनताका बीच पुलको काम गर्छ । सरकार पनि संसद्बाटै चुनिन्छ । चाहेर पनि साधन र स्रोतको अभावमा सांसद र जनताले भनेका सबै सम्बोधन गर्न सक्ने अवस्था हुदैँन ।” विपन्न, सीमान्तकृत समुदाय, पछिपरेका समुदायका आवाज सरकारमा पु¥याउने काम सांसदले गर्ने र त्यसबारे प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीले सदनमा स्पष्ट गर्ने परम्परा रहेको सभापति खतिवडाले जानकारी दिनुभएको थियो । विद्यार्थीलाई कानुन निर्माणको प्रक्रियाबारे जानकारी दिँदै सभापति खतिवडाले भन्नुभयो, “कानुन मस्यौदाका रुपमा सदनमा प्रवेश पाएका विधेयकमाथि सभा र विषयगत समितिमा सैद्धान्तिक र दफावार छलफल हुन्छ । त्यसमा सांसदबाट संशोधन हालिन्छ । उक्त विधेयक सहमति र बहुमतका आधारमा पारित हुन्छ । त्यसलाई सभामुखले प्रमाणित गर्नुहुन्छ र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐन बन्छ । ऐन भनेको कानुन हो ।” माध्यमिक विद्यालय तह कक्षा १० अन्तर्गत सामाजिक विषयको पाठ्यक्रममा व्यवस्थापिकाका बारेमा पढाइ हुन्छ ।

पुस्तकमा चतुर्भजेश्वर माध्यामिक विद्यालय कक्षा १० का विद्यार्थीले सङ्घीय संसद् भवनमा प्रतिनिधिसभाको बैठक अवलोकन गरेको प्रसङ्ग उल्लेख छ । सामाजिक शिक्षकको सहयोगमा उनीहरुलाई संसद्को गतिविधि अध्ययन, अवलोकन गराइएको विषय पाठमा उल्लेख गरिएको छ । विद्यार्थीसहित बानेश्वर पुग्नुभएका नार्गाजुन भ्याली एकेडेमी स्कूलका प्राचार्य उद्धवनारायण हुमागाईंले सामाजिक शिक्षामा सङ्घीय संसद्बारे पढाइ हुने भएकाले विद्यार्थीलाई प्रत्यक्षरुपमा अवलोकन गराउन यहाँ ल्याइएको बताउनुभयो । उक्त विद्यालयबाट ३७ जना विद्यार्थी अवलोकनका लागि आएका थिए । सहकारीको रकम अपचलन भएको भन्ने विषयमा संसदीय छानबिन गठनको विषय लिएर लामो समयदेखि अवरुद्ध हुँदै आएको सदन आइतबारदेखि नियमितरुपमा सञ्चालन भएको हो ।

मुलुकको आर्थिक र पूर्वाधार विकाससँग प्रत्यक्ष जोडिएको बजेटसम्बन्धी छलफलको पहिलो दिन सांसदको उपस्थिति न्यून देखिएको प्राचार्य हुमागाईंले बताउनुभयो । उहाँले भन्नुभयो, “विनियोजित बजेट र उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्दै देश बनाउने लाग्नुपर्दछ । राजनीतिका मतभेद् भए पनि विकास निर्माणका विषयमा एकजुट हुनुपर्दछ ।” संसद् भनेको देशको नीति निर्माण गर्ने र कार्यान्वयनमा ल्याउन बाटो देखाउने ठाउँ भएकाले दलगतभन्दा माथि उठेर बहस पैरवी हुनुपर्नेमा उहाँले जोड दिनुभयो । “राष्ट्रका वास्तविक कुरामा छलफल हुनुपर्छ । देश बनाउने विषयमा लाग्नुपर्छ,” प्राचार्य हुमागाईंले भन्नुभयो । न्यू होली क्रस इङ्लिस सेकेन्डरीका प्राचार्य दिनेशकुमार कार्कीले विद्यार्थीले पहिलो पटक सङ्घीय संसद्को बैठक अध्ययन र अवलोकन गरेका बताउनुभयो । उहाँले भन्नुभयो, “माध्यामिक तहमा संसद्बारे पढाइ हुन्छ । विद्यार्थीलाई कक्षाको सैद्धान्तिक ज्ञान मात्र होइन, अवलोकनमार्फत यहाँका विधि र प्रक्रियाबारे जानकारी दिने उद्देश्यले ल्याएका हौँ ।” विधायकले जनसरोकारका विषयलाई कसरी उठान गर्छन् भन्ने विषयमा प्रत्यक्ष जानकारी पाइएको जनाउँदै उहाँले यहाँबाट सिकेका आधारमा विद्यालयमा नमूना संसद्को अभ्यास गर्ने जानकारी दिनुभयो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको सम्बन्ध, कार्यसम्पादन र शक्तिसन्तुलनको पाटोमा ज्ञान दिलाउन यस्ता अवलोकन निकै व्यावहारिक हुने कार्कीको प्रतिक्रिया छ । नेपाली जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने सबैभन्दा माथिल्लो निकायका रुपमा रहेको सङ्घीय संसद्को मुख्य जिम्मेवारी कानुन र नीति निर्माण गर्ने रहेको जानकारी पाइएको उहाँको भनाइ छ ।

विधेयक प्रस्तुत, छलफल तथा बहस, आवश्यकताका आधारमा परिमार्जन गरी पारित गर्ने र राष्ट्रपतिसमक्ष प्रमाणीकरका लागि सिफारिसलगायत कानुनी जिम्मेवारी संसद्को रहेको कार्कीले बताउनुुभयो । यी विषयमा विद्यार्थीलाई प्रत्यक्ष जानकारी दिइएको उहाँको भनाइ छ । “सरकार गठन, जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण, सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने र महाभियोगलगायत प्रशासनिक कार्य विधायिकाको कार्यक्षेत्रभित्र पर्छ । करको दर निर्धारण, सरकारी बजेट स्वीकृत, बजेटमाथि नियन्त्रण, आर्थिक कार्य जिम्मेवारीसँगै संविधान र कानुन संशोधन गर्ने कार्य ससदको भएको सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले बताउनुभयो । बालबालिकाको संसद् अवलोकनलाई व्यवस्थित गर्न संसद् सचिवालयले संस्थागतरुपमा कार्य अघि बढाएको सहप्रवक्ता धमलाको भनाइ छ । विद्यार्थीबाट संसद्को अवलोकन विगतमा दर्शकका रुपमा मात्र सीमित रहेकामा पछिल्लो समय संसद्–नागरिक सम्बन्धको अभिन्न अङ्गका रुपमा ‘दर्शक–दीघ’ को व्यवस्था गरिएको उहाँले बताउनुभयो । यहीँबाट संसद्को गतिविधि अवलोकन गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । राष्ट्रियसभामा भने दर्शक दीर्घास्थल साँघुरो रहेकाले व्यवस्थापन चुनौती हुने भएपछि विद्यार्थीले अवलोकन गरेका छैनन् । सचिवालयले आगामी दिनमा दर्शक र विद्यार्थीको अवलोकनका लागि सहजता प्रदान गर्ने योजना बनाएको जनाएको छ ।

‘विपत्तिका बेला नागरिकको ज्यान जोगाउन ऐनकानुन नखोजौँ’

By
Himalayan Tribune
-
June 3, 2024
0

काठमाडौँ: उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपत्तिका बेला नागरिकको ज्यान जोगाउने महत्वपूर्ण दायित्व विद्यमान ऐनकानुनका कारण जटिल भएको भन्न नमिल्ने बताउँदै विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्न नपाइने उल्लेख गर्नुभएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा उहाँले नियम, कानुन, कार्यविधि, काम गर्नका लागि भएकाले तिनले अधिकार प्रत्यायोजन गरेका छैनन् भनेर विपद् व्यवस्थापनका काम रोक्न नहुनेमा जोड दिनुभयो । उहाँले त्यस्ता कानुन, कार्यविधिले व्यवधान भएको भए आफूलाई जानकारी दिन अनुरोध गर्दै मन्त्री लामिछानेले कानुनी एवं प्रक्रियागत जटिलता सरकारले अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘ऐननियमले दिँदैन भनेर विपत्तिका बेला राहत र उद्धारका काममा ढिलासुस्ती गर्न पाइँदैन ।” गृहमन्त्रीले विपद्मा नागरिकको ज्यान जोगाउने जस्तो महत्वपूर्ण काम अरू केही हुननसक्ने बताउँदै यो वर्षको मनसुन अगावै विपद् व्यवस्थापनसम्बन्धी जटिल नीतिनियम कार्यविधिले सच्च्याउन निर्देशन दिनुभयो ।

विपद्का बेला पत्रकार तथा स्वयंसेवकका लागि पनि जोखिम हुने भएकाले विपद् क्षेत्रमा जाँदा आवश्यक तालिम दिन जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो । बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले आफ्नो मन्त्रालयबाट हुनुपर्ने काममा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो । स्थानीय तहले पाउने बजेट रोकिँदा उनीहरु आन्दोलित भएका जानकारी दिँदै उहाँले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले गृह मन्त्रालयसँगको समन्वयमा यथासक्य चाँडो बैठक गरेर स्वास्थ्यसम्बन्धी पूर्वतयारी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गृहमन्त्री अध्यक्ष रहेको उक्त बैठकले संशोधनसहित मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१ स्वीकृत गरेको छ ।

हावाहुरीले दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति

By
Himalayan Tribune
-
June 3, 2024
0

चितवन: जिल्लामा लगाइएको केरामा केही दिनअघि आएका हावाहुरीले ठूलो क्षति पु¥याएको छ। चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेका अनुसार केही दिनयता आएको हावाहुरीका कारण जिल्लामा लगाइएको दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति पुगेको हो ।

पूर्वी चितवनमा लगाइएको केरामा बढी मात्रामा क्षति पुगेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पूर्वी चितवनको रत्ननगर, कालिका र खैरहनी नगरपालिकामा लगाइएको केरामा ठूलो क्षति भएको छ ।” जिल्लामा लगाइएको ४० लाख ८७ हजार पाँच सय केरामा क्षति पुगेको उहाँले बताउनुभयो । उहाँका अनुसार पसाएर फल लाग्ने समयका केरामा हावाहुरीका कारण क्षति पुगेको छ ।

सङ्घका महासचिव जनक पन्तका अनुसार हावाहुरीका कारण केरामा रु १२ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । सत्तरी जना व्यावसायिक किसानको केरा पूर्णरुपमा क्षति भएको छ भने अन्यको आंशिक क्षति भएको उहाँले बताउनुभयो । ९० प्रतिशत किसानले केराको बिमा गरेको र १० प्रतिशत किसानले बिमा नगरेको उहाँले जानकारी दिनुभयो ।

बिमा गरेका किसानले क्षति भएबापत केही रकम पाउने भए पनि बिमा नगरेका किसानको पूर्ण क्षति हुने उहाँले बताउनुभयो । जिल्लामा हाल तीन हजार पाँच सय बिघाा क्षेत्रफलमा केरा खेती गरिँदै आएको छ । उहाँका अनुसार यहाँ सात सय जना किसानले केरा खेती गरेकोमा हावाहुरीले एक सय ६५ जना किसानको केरामा क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । वास्तविक तथ्याङ्क आउने केही समय लाग्ने उहाँले जानकारी दिनुभयो ।

जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान

By
Himalayan Tribune
-
June 3, 2024
0

काठमाडौँ: उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ निर्माण सुरु गर्न लागिएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणका लागि आवश्यक ठेकेदार छनोटका लागि विश्वव्यापी बोलपत्र (ग्लोबल टेण्डर) आह्वान भएको छ ।

जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले मुख्य निर्माण कार्य लट २ सिभिल तथा हाइड्रोमेकानिकल कार्यका लागि विश्वव्यापी रुपमा बोलपत्र आह्वान गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिनुभयो । कम्पनीले आइतबार (जेठ २० गते) विश्वव्यापी बोलपत्रको सूचना प्रकाशित गरेको हो । सूचनाअनुसार, निर्माण व्यवसायीले १ अगस्ट, २०२४ सम्म आवेदन दिनसक्ने छन् ।

कम्पनीले वित्तिय व्यवस्थापन गरेको केही दिनभित्रै विश्वव्यापी बोलपत्र आह्वान गरेर कामको गतिलाई तीव्र पारेको हो । कम्पनीले यही जेठ २ गते मात्रै आयोजना निर्माणका लागि आवश्यक वित्तीय व्यवस्थापनको काम गरेको थियो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा द्विपक्षीय ऋण सम्झौतामा हस्ताक्षर गरिएको थियो ।

आयोजनामा नबिल बैंकको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् । नबिल बैंकले रु चार अर्ब ४० करोड लगानी गर्नेछ । सहवित्तीयकरणमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसीएल), कर्मचारी सञ्चयकोष, लक्ष्मी सन्राइज र एभरेष्ट बैंकले लगानी गर्नेछन् ।

यस्तै, एचआइडिसीएलले रु चार अर्ब लगानी गर्नेछ भने कर्मचारी सञ्चयकोषले रु चार अर्ब, लक्ष्मी सन्राइज बैंकले रु दुई अर्ब र एभरेष्ट बैंकले रु एक अर्ब ५० करोड लगानी गर्नेछन् । यो आयोजना निर्माणका लागि रु २३ अर्ब लाग्ने अनुमान गरिएको छ । जसमध्ये करिब रु १६ अर्ब ऋण र रु सात अर्ब स्वपुँजीबाट जुटाउन लागिएको छ ।

वित्तीय व्यवस्थापन भएसँगै आयोजना निर्माणको बाँकी प्रक्रिया अघि बढाउने बाटो खुलेको थियो । “हामीले समयमै महत्वपूर्ण काम अगाडि बढाएका छौँ । यसले आयोजना तोकिएको समयमा सम्पन्न गर्न मार्ग प्रशस्त गरेको छ”, प्रमुख कार्यकारी अधिकृत सापकोटाले भन्नुभयो ।

कुनै एउटा परियोजना कुन हदसम्म महत्वपूर्ण हुन्छ भन्ने उदाहरणसमेत बन्न लागेको छ कर्णाली प्रदेशका लागि जगदुल्ला । प्राकृतिक साधन र स्रोतले सम्पन्न भएपनि लगानीको अभावका पछाडि परेको सो प्रदेशमा दर्जनौ जलविद्युत् आयोजना पहिचान भएका छन् । निर्माणमा भने कुनै पनि आयोजना अगाडि बढ्न सकेको थिएनन् । डोल्पा जिल्लामा आयोजनास्थल रहेका जगदुल्लाको कूल क्षमता एक सय छ मेगावाट हो ।

सरकारको अध्ययनअनुसार कर्णाली प्रदेशको कूल ऊर्जा उत्पादन क्षमता (कर्णाली, भेरी, तिलालगायतका नदी करिडोरमा) १८ हजार मेगावाट बराबर छ । हाल आठ दशमलव ५५ मेगावाट बिजुली मात्रै दैलेखमा उत्पादन भएको छ । सबैभन्दा कम डोल्पा र जुम्लाबाट समान शून्य दशमलव २० मेगावाट मात्रै उत्पादन भएको छ । दैलेखको पदम खोला र द्वारी खोला साना जलविद्युत् आयोजनाबाट क्रमशः चार दशमलव आठ मेगावाट र तीन दशमलव ७५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

सो आयोजनाको आवश्यक तयारीको काम पूरा भइसकेको छ । जग्गा अधिग्रहण कार्यअन्तर्गत दुई सय ५५ रोपनी जग्गाको मुआब्जा वितरणको काम पूरा भएको छ । आयोजनाका कर्मचारीलाई आवश्यक पर्ने आवास तथा कार्यालय प्रयोजनका लागि १४ कोठे अस्थायी प्रिफ्याब भवनको निर्माण सम्पन्न भएको छ ।

विद्युत्गृह स्थलमा थप जिओलोजिकल अध्ययनका लागि चार सय ६० मिटर बराबरको टेसट अडिट टनेलका साथै २५ मिटरको च्याम्बरको निर्माण सम्पन्न भएको छ । यसले निर्माण व्यवसायीलाई काम गर्न थप सहज हुनेछ । उत्पादन अनुमतिपत्र प्राप्त गरी उद्योग दर्ता र लगानी बोर्डबाट लगानी स्र्वकतिको लागि आवश्यक कागजातसहित निवेदनसमेत कम्पनीले पेस गरिसकेको छ ।

आयोजनाले विद्युत् विकास विभागबाट विद्युत् उत्पादन अनुमतिपत्र समेत पाइसकेको छ ।भौतिक पूर्वाधार विकासले पछाडि परेको कर्णाली प्रदेशको डोल्पा जिल्लामा सो आयोजनाका कारण विकास पुगेको छ । सडक सञ्जाल विस्तार भएको छ ।

दूरसञ्चारको पहुँचबाट टाढा रहेको स्थानमा नेपाल टेलिकमले सेवा विस्तार गरेको छ । केन्द्रीय प्रसारण लाइनको बिजुलीसमेत पुगेको छ। आयोजनाका कारण स्थानीय उत्पादनको बिक्री वितरण बढ्दो क्रममा छ । रोजगारीको खोजीका काला पहाड चहार्नुपर्ने डोल्पालीले थोरै मात्रामा भए पनि घरआँगनमा नै रोजगारीको अवसर पाउनेछन् । आयोजना डोल्पाको मुडकेचुला र जगदुल्ला गाउँपालिकामा निर्माण हुनेछ । आयोजनाबाट उत्पादित बिजुली एक सय ३२ केभी क्षमताको प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने बाफिकोट सवस्टेसनमा जोडिनेछ ।

यस्तो छ शेयर संरचना

सो आयोजना निर्माणपछि सबैभन्दा बढी कर्णाली प्रदेशले नै लाभ हासिल गर्ने गरी शेयर संरचना तय गरिएको छ । पहिलोपटक प्रसारण लाइन प्रभावितका लागि शेयर लगानी गर्न सक्ने गरी शेयर ढाँचा तय गरिएको छ । संस्थापक शेयरधनीका रुपमा विद्युत् उत्पादन कम्पनीको २६ प्रतिशत बराबरको शेयर स्वामित्व छ ।

यस्तै, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) को १० प्रतिशत, नेपाल विद्युत् प्राधिकरण नौ, कर्णाली प्रदेश सरकारको पाँच प्रतिशत, जगदुल्ला र मुड्केचुला गाउँपालिकाले समान एक/एक प्रतिशत बराबरको शेयर स्वामित्व छ ।

सर्वसाधारण शेयरधनीका रुपमा सर्वसाधारण नागरिकले ३३ प्रतिशत, आयोजना प्रभावित डोल्पाका बासिन्दाले १० प्रतिशत, प्रसारण लाइन प्रभावित बासिन्दा र आयोजनाका कर्मचारीले समान तीन/तीन प्रतिशत बराबरको शेयर लगानी गर्न पाउने व्यवस्था गरिएको छ ।

कम्पनीको अधिकृत पुँजी रु आठ अर्ब, जारी पँुजी रु सात अर्ब एक करोड र चुक्ता पुँजी रु एक अर्ब एक करोड बराबर छ। सो आयोजनाले २०७४ असार १८ गते विद्युत् उत्पादनको सर्वेक्षणपत्र प्राप्त गरेको थियो । विद्युत् प्रसारण लाइनको सर्वेक्षण अनुमतिपत्र २०७६ पुस १६ गते प्राप्त गरेको थियो । आयोजनाबाट उत्पादित बिजुली खरिद बिक्रीसम्बन्धी सम्झौतामा गत वैशाख २७ गते हस्ताक्षर भएको हो ।

अर्धजलाशयुक्त प्रकृतिको सो आयोजनाको ग्रस हेड सात सय ८९ दशमलव छ मिटर छ । आयोजनाले छ सय २३ दशमलव ३२ गिगावाट प्रतिघण्टा बराबरको ऊर्जा उत्पादन गर्छ । आयोजनामा कूल २३ मिटर उचाइ र ९३ मिटर लम्बाइ भएको बाँध निर्माण हुनेछ । यस्तै, जगदुल्ला गाउँपालिका–१ को हुरिकोटमा बाँध निर्माण गरी छ दशमलव एक किलोमिटर लामो सुरुङमार्फत लगिएको पानी मुड्केचुला गाउँपालिका–४ इलमा निर्माण हुने विद्युत् गृहमा खसालेर बिजुली निकालिने छ ।

आयोजनाको सम्पूर्ण अध्ययन तथा डिजाइनको काम प्राधिकरणकोे सहायक कम्पनी एनइए इञ्जिनियरिङ कम्पनीले गरेको हो । यसकारण पनि आयोजना स्वदेशी प्रविधि र लगानीमा निर्माण हुन लागेको हो ।

आयोजनाको निर्माण अवधि पाँच वर्ष रहेको छ । आयोजना आगामी आवदेखि निर्माणमा जाने गरी आवश्यक बनदोबस्ती गरिएको प्रमुख कार्यकारी अधिकृत सापकोटाले जानकारी दिनुभयो ।

आयोजना निर्माणका लागि भेरी करिडोरको त्रिवेणीबाट भेरी नदी पार गरी मुडकेचुलाको इल पुग्नका लागि सडक निर्माण भएको छ । त्रिवेणीबाट इलसम्म पुग्ने एक दशमलव पाँच किलोमिटर सडक निर्माणका लागि नेपाली सेनाको सहयोगमा विष्फोटनको काम भइरहेको छ । कडा चट्टान भएकाले अहिले विस्फोटक पदार्थको प्रयोग गरी सडक निर्माण भइरहेको छ । चालु आवको अन्त्यसम्म सडक निर्माण सक्ने तयारी छ ।

सो आयोजनासँगै एक सय २० मेगावाट क्षमताको जगदुल्ला ए जलविद्युत् आयोजनाको पनि अध्ययन जारी छ । विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) र वातावरणीय अध्ययनको काम भइरहेको छ । यस्तै, लगानीको ढाँचा तय गर्ने काम पनि सँगसँगै भइरहेको छ । सो आयोजनाको कूल लागत रु २७ अर्ब जति रहने अनुमान गरिएको छ । यस्तै, २० मेगावाट क्षमताको अर्को आयोजनाको पनि अध्ययन कार्य सुरु भएको छ ।

आयोजनाको निर्माणपछि वार्षिकरुपमा रु चार अर्ब ८० लाख बराबरकोे आम्दानी हुनेछ । त्यसबाट सङ्घीय सरकारले वार्षिकरुपमा रु १९ करोड २३ लाख बराबरको रोयल्टी प्राप्त गर्नेछ । कर्णाली प्रदेश सरकारले रु नौ करोड ६१ लाख र मुड्केचुला र जगदुल्ला गाउँपालिकाले रु नौ करोड ६१ लाख बराबरको रोयल्टी प्राप्त गर्नेछ ।

प्रसारण लाइन प्रभावितले समेत आयोजनाको शेयर पाउने भएकाले थप सहज हुने र स्थानीयवासीमा आयोजनाप्रति अपनत्वको महसुससमेत हुने विश्वास लिइएको छ । भौतिक विकासमा पछाडि परेका ती स्थानीय तहले एउटा आयोजनाबाट प्राप्त गर्ने रोयल्टीले आर्थिक समृद्धिको नयाँ ढोका खोल्नेछ । त्यस्तै, एक सय २० मेगावाट क्षमताको जगदुल्ला ए आयोजनाको निर्माणपछि रोयल्टी बढेर रु २० करोड बराबर पुग्नेछ ।

आयोजनाले रु एक अर्ब बराबरको सामाजिक उत्तरदायित्वको कामसमेत गर्नेछ । त्यसबाट हरेक हिसाबले पछाडि परेको डोल्पामा विकासको नयाँ आयाम स्थापित हुनेछ । आयोजनाका कारण पुगेको सडक, सञ्चार सम्पर्क, स्वास्थ्य शिक्षाका कार्यक्रमले महत्वपूर्ण योगदान गरेको प्रमुख कार्यकारी अधिकृत सापकोटाको भनाइ छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आयोजना तोकिएको समयमा पूरा गर्न सरकारका तर्फबाट सबै प्रकारको सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो । जनताको जलविद्युत् कार्यक्रममा समावेश भएको सो आयोजनामा पहिलोपटक प्रसारण लाइन प्रभावित नागरिकलाई शेयर उपलब्ध गराउने प्रावधान राखिएको छ । कर्णाली प्रदेशको विकासका लागि आयोजना असाध्यै महत्वपूर्ण रहेकाले यसलाई तोकिएको समयमा पूरा गराउन सरकारले महत्वपूर्ण सहयोग गर्ने जानकारी दिँदै मन्त्री बस्नेतले सबै राजनीतिक दल र सरोकारवालाई आवश्यक सहयोगका लागि आग्रह गर्नुभयो ।

उहाँले क्यास्केड आयोजनाका रुपमा रहेको जगदुल्ला ए को समेत आगामी असारभित्र विस्तृत अध्ययन प्रतिवेदन तयार हुने जानकारी दिँदै वित्तीय व्यवस्थापनका लागि समेत आवश्यक तयारी भइरहेको छ ।

भारतीय कम्पनी ग्रान्धी माल्लिाकार्जुन राव (जिएमआर)ले जिम्मा लिएको नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको काम अगाडि बढ्न नसकेको अवस्थामा जगदुल्ला नै कर्णाली प्रदेशको पहिलो ठूलो आयोजनाका रुपमा निर्माण सुरु हुन लागेको हो । सो आयोजना डोल्पा जिल्लाको मात्रै नभई कर्णाली प्रदेशको विकास र समृद्धिको यात्राका लागि महत्वपूर्ण मानिएकाले पनि त्यसको आफ्नै महत्व छ ।

हाल कोहलपुर सुर्खेत प्रसारण लाइनबाट समग्र कर्णाली प्रदेशभर नै बिजुली प्रवाह भइरहेको छ । लामो र कम क्षमताको प्रसारण लाइनका कारण गुणस्तरीय बिजुली कर्णाली प्रदेशवासीले पाउन सकेका छैनन् । जगदुल्ला जलविद्युत् आयोजनाको निर्माणपछि गुणस्तरीय र भरपर्दो बिजुलीसमेत कर्णालीवासीले पाउनेछन् ।

आयोजना जनताको जलविद्युत् कार्यक्रममा समेत समेटिएको र निर्माण सुरु हुन लागेको खास आयोजना हो । आर्थिक वर्ष २०७७ र ०७८ को नीति तथा कार्यक्रममा ‘नेपालको पानी जनताको लगानी’ शीर्षकमा समेटिएको सो आयोजनाले दैनिक करिब रु एक करोड २० लाख बराबर आम्दानी गर्नेछ । राज्यलाई वार्षिकरुपमा करिब रु २९ करोड बराबरको राजस्वसमेत उपलब्ध गराउनेछ ।

आयोजनाले रु एक अर्ब बराबरको सामाजिक उत्तरदायित्वको कामसमेत गर्नेछ । त्यसबाट हरेक हिसाबले पछाडि परेको डोल्पामा विकासको नयाँ आयाम स्थापित हुनेछ । आयोजनाका कारण पुगेको सडक, सञ्चार सम्पर्क, स्वास्थ्य शिक्षाका कार्यक्रमले महत्वपूर्ण योगदान गरेको प्रमुख कार्यकारी अधिकृत सापकोटाको भनाइ छ ।

“एउटा आयोजना सुरु हुँदा विशुद्ध आयोजना मात्रै अगाडि बढ्दैन । त्यसबाट विकासका नयाँ आयाम समेत अगाडि बढ्छन् । सडक निर्माण भएको छ । पुल निर्माण भएको छ । बिजुली पुगेको छ । यसले समग्र कर्णाली प्रदेशको भाग्य र भविष्यसमेत सुनिश्चित गरिदिएको छ”, प्रमुख कार्यकारी अधिकृत सापकोटाले भन्नुभयो ।

जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा

By
Himalayan Tribune
-
June 3, 2024
0

म्याग्दी: नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७४ वर्ष पूरा भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आड हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ ।आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ। सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिज हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो ।

नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्म भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाको रुपमा आज विविध कार्यक्रम गरी अन्नपूर्ण आरोहण दिवस मनाउन लागिएको पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख नवीन पोखरेलले बताउनुभयो ।

हर्गोजको टोलीबाट भएको अन्नपूर्ण आरोहणले नेपालको पर्वतारोहणको सम्भावना अन्तर्राष्ट्रियकरण भएकाले महत्वका साथ दिवस मनाउन लागिएको उहाँले बताउनुभयो । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले अन्नपूर्ण आरोहण भएको ७४ वर्ष पुगेको अवसरमा प्रथम पर्वतारोही हर्जोगको सालिक बनाएर आधार शिविरमा राख्न लागिएको बताउनुभयो ।

नारच्याङका तेज गुरुङको अगुवाइमा विसं २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले ‘मौरिस हर्जोग’ नामकरण गरेको छ ।

पदमार्गको प्रचारप्रसार गर्न प्रवेश विन्दुमा पर्ने नारच्याङमा विसं २०७७ मा गाउँपालिकाले अन्नपूर्ण पर्यटन महोत्सव आयोजना गरेको थियो । कास्की र म्याग्दीका दुई वटा स्थानीय तहको नामकरण अन्नपूर्ण हिमालबाट गरिएको छ । अन्नपूर्ण हिमाललाई फन्को लगाउने अन्नपूर्ण चक्रीय पदमार्ग विश्वको प्रसिद्ध पदमार्ग मानिन्छ ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन (टान) गण्डकीका उपाध्यक्ष कृष्ण आचार्यले मौरिसले अन्नपूर्ण आरोहणको अनुभव समेटेर लेखेको पुस्तकले नेपालको पर्वतारोहण पर्यटनलाई विश्व बजारमा उजागर गर्नमा महत्वपूर्ण योगदान पुगेको बताउनुभयो ।

चौहत्तऔँ अन्नपूर्ण आरोहण दिवसको अवसरमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजनामा नेपालमा आइतबार कास्कीको माछापुच्छे« गाउँपालिकाको धम्पुसदेखि धिताल हँुदै अस्तामसम्म नेपालस्थित नौ देशका राजदूतको पदयात्रा गरिएको थियो ।

आज पोखरामा आयोजना गर्न लागिएको समारोहमा अन्नपूर्ण हिमाल आरोहण गरेका पर्वतारोही पूर्णिमा श्रेष्ठ, दावा योङजोम शेर्पा र लाक्पा डेन्डी शेर्पालगायतलाई सम्मान गर्ने कार्यक्रम तय भएको छ । सो कार्यक्रममा गण्डकी प्रदेशको सांस्कृतिक विविधता झल्काउने मौलिक गीत र नृत्य प्रदर्शन गरिने पर्यटन बोर्ड गण्डकीका प्रमुख पोखरेलले बताउनुभयो ।

अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आधार शिविरदेखि कास्कीको घान्द्रुकसम्म म्याराथन प्रतियोगिताको आयोजना गरेको छ । टान गण्डकीले आज पोखराको ‘भ्यु फेवा राउन्ड फेवा’ पदमार्गमा पदयात्राको आयोजना गरेको अध्यक्ष धर्म पन्थीले बताउनुभयो ।

1...785786787...1,301Page 786 of 1,301

हिमालयन ट्रिब्युनको लागि

  • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
  • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
  • सम्पादक: गजे घले
  • व्यवस्थापक: आशिष पोखरेल
  • CONTACT
  • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
  • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune