Wednesday, May 13, 2026
Home Blog Page 776

साम्तुङ–सोता सिँचाइ आयोजनाको पक्की नहर निर्माण

0

म्याग्दी: म्याग्दीको बेनी नगरपालिका–४ मा ४३ वर्षअघि निर्माण गरिएको ककच्ची नहरलाई पक्की बनाउन थालिएको छ । साम्तुङ–सोता सिँचाइ आयोजनाको विसं २०३८ मा निर्माण भएको कच्ची नहरलाई पक्कीमा रुपान्तरण गर्न थालिएको हो । गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत पछिल्लो दुई आर्थिक वर्षयता एक किलोमिटरभन्दा बढी पक्की नहर निर्माण गरिएको उपभोक्ता समितिका उपाध्यक्ष सोमबहादुर आलेले जानकारी दिनुभयो । “चार किलोमिटर कुलोमध्ये गत वर्ष पाँच सय ७० मिटर र चालु आर्थिक वर्षमा पाँच सय ६५ मिटर पक्की नहर निर्माण भएको छ”, उहाँले भन्नुभयो, “सोताबाट मुहानतर्फ आगोवाङ भन्ने ठाउँसम्म पक्की नहर बनाइएको छ ।

थप तीन किलोमिटर बढी पक्की नहर बनाउन आवश्यक छ ।” साम्तुङ–सोता सिँचाइ आयोजनालाई गण्डकी प्रदेश सरकारले आव २०७९/८० र २०८०÷८१ का लागि रु २०–२० लाख बजेट विनियोजन गरेको थियो । मङ्गला गाउँपालिकाको सिमाना भएर बग्ने अर्चेखोलाको मुहानबाट पठाएको पानी सोता पुग्दा सोसिएर थोरैमात्र पुग्ने समस्या भएपछि पक्की नहर बनाउन थालिएको सोतावासी सर्वलाल थापाले बताउनुभयो । यो आयोजनाबाट अर्चेखोला, आगोवाङ, सोतामा एक सयजनाभन्दा बढी किसानको एक हजार रोपनी क्षेत्रफल जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुग्ने उहाँले बताउनुभयो ।

गत फागुन महिनादेखि सुरु गरेको नहर निर्माणको सम्झौताअनुसारको काम सकेर सोमबार बिहानदेखि पानी चलाउन थालिएको उपभोक्ता समितिले जनाएको छ । पक्की नहर बनेपछि धानको ब्याड राख्न, मकै, गहुँमा सिँचाइ गर्न र समयमै रोपाइँ गर्न पाएको उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर रोकाले बताउनुभयो । साम्तुङ–सोता सिँचाइ आयोजनालाई पञ्चवर्षीय योजनाका रूपमा पूर्णता दिन गण्डकी प्रदेश सरकारसँग बजेट व्यवस्थापनका लागि पहल गरेको बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्काले बताउनुभयो । खानेपानी जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले चालु आवमा जिल्लामा ६० वटा सिँचाइ आयोजना सञ्चालन गरेको छ ।

अधिकांश आयोजनामार्फत कच्ची कुलोलाई पक्की बनाइएको र पाइप लाइन जडान भएको कार्यालय प्रमुख झलकमोहन ओझाले बताउनुभयो । अन्ठाउन्न योजना उपभोक्ता समिति र दुईवटा बहुवर्षीय ठेक्कामार्फत कार्यान्यन्वयन गरिएको छ । उपभोक्ता समितिसँग सम्झौता भएका सबै योजना सम्पन्न हुने चरणमा रहेका कार्यालयका सबइन्जिनियर अञ्जन खत्रीले बताउनुभयो ।

राष्ट्रपति आज साँझ जेनेभा जानुहुँदै

0
फाइल फोटो

जम्मु कश्मीरया यात्रुवाहक बसमा आतंकवादी हमलामा ९ जनाको मृत्यु

0

काठमाडौं । जम्मू कश्मीरको रियासीमा चरमपन्थीहरुले श्रद्धालु बोकेको बसमा आक्रमण गरेका छन् । प्रहरीका अनुसार यसमा ९ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।

रियासी एसएसपी मोहिता शर्माले सञ्चारमाध्यमसँग कुरा गर्दै भने, ‘शिवखोरीबाट कटरातर्फ गइरहेको बसमा आतङ्ककारीहरूले आक्रमण गरी गोली चलाएको प्रारम्भिक रिपोर्ट आएको छ ।’

“आक्रमणका कारण चालकले सन्तुलन गुमाए र बस खाल्डोमा खस्यो। उद्धार कार्य पूरा भइसकेको छ। अहिलेसम्म ९ जनाको मृत्यु भएको छ। ३३ जना घाइते भएका छन्। घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ।”

उनले भने, “प्रारम्भिक जानकारीमा उत्तर प्रदेशका मानिसहरु बसमा यात्रा गरिरहेको खुलेको छ।”


युक्रेन मुद्दामा स्वीट्जरल्याण्डमा शान्ति सम्मेलन, ९० देश सहभागी हुँदा रुसलाई निमन्त्रणा छैन

0

काठमाडौं । स्वीट्जरल्याण्ड सरकारले युक्रेनको मुद्दामा ‘शान्ति सम्मेलन’ गर्न हालसम्म ९० देश सहमत भएको जनाएको छ ।

यो ‘शान्ति सम्मेलन’ लेक लुक्रिनमा हुने जी–७ देशका राष्ट्रप्रमुखको बैठकपछि लग्जरी रिसोर्टमा आयोजना गर्ने प्रस्ताव गरिएको छ ।

स्विट्जरल्याण्डका विदेशमन्त्रीले यस शान्ति सम्मेलनको प्राथमिकतामा युद्धबन्दी आदानप्रदान, खाद्य सुरक्षा र आणविक सुरक्षा जस्ता विषयमा छलफल हुने बताएका छन् ।

यस ‘शान्ति सम्मेलन’मा रुसलाई निमन्त्रणा नगरिएको र यस सम्मेलनमा चीन पनि सहभागी नहुने विश्वास गरिएको छ ।

यस सम्मेलनको सुरक्षा व्यवस्थाका लागि स्वीस सेनाले चार हजार सैनिक परिचालन गर्ने भएको छ । स्विट्जरल्याण्ड सरकारले साइबर हमलाको निशाना बनिरहेको बताएको छ ।

गैरखाद्यभन्दा खाद्यवस्तुमा चर्को मूल्यवृद्धि

0

काठमाडौँ: गैरखाद्य वस्तुभन्दा खाद्य वस्तुमा मूल्यवृद्धि बढी देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दश महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति छ दशमलव २७ र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति दुई दशमलव ९६ प्रतिशत छ । गत वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ४० प्रतिशत छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव ४१ प्रतिशत थियो । राष्ट्र बैंकका अनुसार गत वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति छ दशमलव २७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति दुई दशमलव ९६ प्रतिशत छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २३ दशमलव ११ प्रतिशत, दाल तथा गेडागुडीको १० दशमलव ८५ प्रतिशत र मरमसलाको आठ दशमलव ९८ प्रतिशत छ ।

त्यस्तै, खाद्य तथा खाद्यजन्य पदार्थको मूल्य सात दशमलव ४२ प्रतिशत र चिनी तथा चिनीजन्य वस्तुहरुको सात दशमलव २५ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क सात दशमलव १३ प्रतिशतले घटेको छ । गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरु उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२ दशमलव २६, शिक्षाको पाँच दशमलव ६४ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको तीन दशमलव ४६ प्रतिशतले बढेको छ ।

त्यस्तै सञ्चार उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क शून्य दशमलव ४८ प्रतिशतले घटेको छ । गत वैशाखमा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ३०, तराईको चार दशमलव ३२, पहाडको चार दशमलव ७० र हिमालको चार दशमलव २२ प्रतिशत रहेको छ ।

विदेशी विनिमय सञ्चिति करिब साढे १९ खर्ब पुग्यो

0

सवारी दुर्घटना न्यूनीकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेको छः उपप्रधानमन्त्री महासेठ

0

काठमाडौँ: बर्सेनि बढ्दो सवारी साधन दुर्घटनाका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न निरोधात्मक उपायको खोजी गर्ने उद्देश्यका साथ राष्ट्रियसभाको आजको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भएको छ । राष्ट्रियसभाका सदस्य सोनामा गेल्जेन शेर्पा प्रस्तावक र जगप्रसाद शर्मा, कृष्णबहादुर रोकाया, भगवती न्यौपाने, मदनकुमारी शाह (गरिमा) र शेखरकुमार सिंह समर्थक रहनुभएको सो प्रस्तावमाथि छलफल भएको हो ।

छलफलमा सहभागी हुँदै सदस्य श्रीकृष्णप्रसाद अधिकारीले सवारी दुर्घटनाका कारण मानव र भौतिक क्षतिको मात्रामा बढोत्तरी भएकाले त्यसलाई नियन्त्रण गर्न सडक सुधार गर्नुपर्ने, ट्राफिक नियम पालनामा कडाइ गर्नुपर्ने, सवारी साधनलाई तन्दुरुस्त राख्नेलगायतका विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । सांसद पदमबहादुर परियारले सडक दुर्घटनाका कारण अकालमा ज्यान गुमाउने नागरिकको परिवारमा ठूलो मानसिक आघात हुने, अपाङ्गता हुने क्रममा वृद्धि भएको उल्लेख गर्नुभयो ।

सांसद इन्दिरादेवी गौतमले सडक सञ्जालभन्दा बढी सवारीसाधन उपलब्ध भएको र दुर्घटनाका घटनामा बढोत्तरी भएकाले कानुन कार्यान्वयनमा विशेष जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । सांसद जयन्तीदेवी राईले औसत दैनिक आठ जनाका दरले सवारी दुर्घटनामा ज्यान जाने गरेको तथ्याङ्क पेस गर्दै विद्यमान कानुनको प्रभावकारी कार्यान्वयन नभएको, सवारी परीक्षणमा ध्यान नदिइएको तथा सक्षम चालकको अभावका कारण समस्या जटिल भएको बताउनुभयो ।

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले सवारी दुर्घटना न्यूनीकरणका लागि कानुनी, संरचनागत सुधार गर्दै त्यसको व्यावहारिक कार्यान्वयन गर्ने बताउनुभयो । उहाँले सडक सुरक्षाका लागि काम गर्ने निकायका रुपमा ‘रोड सेफ्टी काउन्सिल’ले आवश्यक काम गर्ने उल्लेख गर्नुभयो । सडक तथा सवारीसँग जोडिएका हरेक विषयलाई केन्द्रित गरेर आवश्यक कानुनी प्रबन्ध गर्न लागिएको उहाँले जानकारी दिनुभयो । हचुवाका भरमा सडक पूर्वाधार निर्माण गर्ने, सुरक्षाको कुनै पनि उपाय अवलम्बन नगर्ने प्रवृत्ति मौलाएकाले त्यसलाई नियन्त्रण गर्न कठिनाइ भएको बताउनुभयो । सवारी दुर्घटना न्यूनीकरणका लागि सरोकार भएका निकायलाई जिम्मेवार बनाउने, यात्रुले पनि विशेष चनाखो हुनुपर्ने र क्षमताभन्दा बढी यात्रु नराख्नेतर्फ सबैको सचेत पहल जरुरी रहेको बताउनुभयो । हाल निर्माण भइरहेको सडकमा सुरक्षाका सबै उपकरण राखिएको तथा सडक सुरक्षालाई विशेष ध्यान दिइएको उहाँको भनाइ छ । निर्माण भएका सडकको मर्मतसम्भार हुन नसक्दा पनि दुर्घटना बढेको, पहाडी क्षेत्रमा घुम्ती बढी भएकाले पनि दुर्घटना बढेको पाइएकाले त्यसलाई सरकारले ध्यान दिने विश्वास दिलाउनुभयो ।

दुर्घटना न्यूनीकरणका लागि जनचेतना बढाउने तथा आवश्यक सुरक्षाका उपाय अवलम्बन गर्ने प्रक्रियालाई पनि उत्तिकै ध्यान दिइएको उपप्रधानमन्त्री महासेठको भनाइ छ । राष्ट्रियसभा र सांसदहरुको सुझावका आधारमा सरकारले सवारी दुर्घटना न्यूनीकरणका लागि सरकारले आवश्यक निर्णय गर्ने र चाँडै दुई वटा विधेयक सङ्घीय संसद्मा पेस गर्ने जानकारी दिनुभयो ।

बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभालाई जानकारी गराई टेबल गर्नुभयो । त्यस्तै बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘मिडिया काउन्सिल विधेयक, २०८०’ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो प्रस्तावलाई सभाको सर्वसहमतिले स्वीकृत गरेको थियो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ २९ गते मङ्गलबार १.१५ बजे बस्नेछ ।

सङ्घीय अस्पतालका सघन उपचार कक्ष सुधार गर्न संसदीय समितिको निर्देशन

0

शास्त्रीय एवं परम्परागत नृत्यको संरक्षणका लागि मौलिक प्रस्तुति

0

काठमाडौँ: नेपाल सङ्गीत तथा नाटय प्रज्ञा–प्रतिष्ठानले शास्त्रीय एवं परम्परागत नृत्य संरक्षणका लागि मौलिक प्रस्तुति सुरु गरेको छ । आज काठमाडौँमा आयोजित कार्यक्रममा प्रतिष्ठानले चर्या, कत्थक, महाभारतको चीरहरण, बङ्गलामुखी स्तुतिलगायत नृत्य प्रस्तुत गर्यो । सनम र सङ्गीता खड्गीले चर्या, नम्रता केसीले कत्थक, सौजन रघुवंशी र प्रमिला श्रेष्ठले महाभारतको चीरहरण एवं बङ्गलामुखी स्तुतिलगायत नृत्य प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले परम्परागत चित्र र मूर्ति जस्तै नृत्य पनि आनन्ददायक हुने भएकाले यसको संरक्षण गरिनुपर्ने बताउनुभयो । सङ्गीत र ललितकला प्रतिष्ठान मिलेर संयुक्तरुपमा यस्ता कार्यक्रम गर्न सकिने उहाँको भनाइ थियो । सङ्गीत प्रतिष्ठानका उपकुलपति शम्भु राईले ओझेलमा परेका संस्कृतिलाई जनसमक्ष ल्याउन कार्यक्रम गरिएको बताउनुभयो । उहाँले नेपाली मौलिक संस्कृति लोप हुन थालेकामा सरोकार भएका निकायले संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो ।

जनता र देशहितका लागि दलीय स्वार्थबाट माथि उठेर बहस गरौँः उपसभामुख राना

0

काठमाडौँ: उपसभामुख इन्दिरा रानाले संसद्मा हुने छलफललाई जनताले नजिकबाट नियाली रहेकाले व्यक्ति, परिवार र दलीय स्वार्थबाट माथि उठेर बहस गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

सङ्घीय संसद् मानव संसाधन विकास महाशाखाद्वारा आज यहाँ आयोजित संसदीय प्रभावकारिता सम्बन्धमा पूर्वसांसद मञ्चसँगको अन्तरक्रियामा उहाँले सविधानको मर्म र भावनाअनुरुप समानता, समावेशी र विविधतालाई पनि सबैले आत्मसात् गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

उपसभामुख रानाले भन्नुभयो, “पूर्वसांसदका अनुभव, विज्ञता र ज्ञानको विश्वविद्यालय भएकाले उहाँहरुको सुझावका आधारमा संसद्लाई जनताको बहसको थलो बनाउनुपर्छ ।” पूर्वसांसद शिवजी यादवले सांसद भनेको व्यक्ति मात्र नभई संस्था भएकाले उसको पहिचान र मर्यादाका लागि अध्ययन र अनुसन्धान गर्ने सचिवालयको खाँचो रहन्छ भन्नुभयो ।

पूर्वसांसद विष्णुबहादुर राउतले सबै विधायकको ऊर्जालाई जनता र राष्ट्रको हितमा लगाउन निर्वाचन क्षेत्र, जिल्ला र राष्ट्रका समसामयिक विषय निरन्तर उठाउनुपर्नेमा जोड दिनुभयो । पूर्वसासद धना खतिवडाले सांसदलाई उद्योगी तथा व्यापारी जस्तो धनी बन्नेतर्फ नभई जनता र देशप्रतिको दायित्व निर्वाहका लागि कोसिस गर्न सुझाव दिनुभयो ।

विषय विज्ञका रुपमा संविधानसभा सदस्य खिमलाल देवकोटाले स्वार्थ बाझिने, भ्रष्टाचार बढाउने र मुलुकलाई चुनौती खडा गर्नेजस्ता काममा सांसद लाग्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “संसद्ले नै सरकार चलाउने र नियन्त्रण गर्ने हो, लोकतान्त्रिक शासन प्रणालीमा सरकारले संसद्लाई खुम्च्याउन सक्दैन । त्यसका लागि संसद् र सांसद प्रभावकारी बन्नुपर्छ ।”

कार्यक्रममा सांसदहरु प्रेम सुवाल, सीता मिजार, शिव नेपाली, नारायणी शर्मा, रोशन कार्की, पूर्वसांसद अजय द्ववेदीलगायतले संसद् सरकारको नियन्त्रणमा रहेको तथा सदनमा उठाइएको विषय सम्बोधन नभएको भनी असन्तुष्टि प्रकट गर्नुभयो ।

उहाँहरुले संसद् र सांसदको मुख्य जिम्मेवारी बजेट स्वीकृति, संसदीय खबरदारी, नीति र विधि निर्माण तथा अनुगमन नियन्त्रण भएपनि अझै पनि मूल विषयमै अलमलमा परेको धारणा राख्नुभयो ।

सङ्घीय संसद् सचिवालयका सचिव सुदर्शन खड्काले जनताका सर्वाेच्च जनप्रतिनिधिमूलक संस्था संसद्लाई प्रभावकारी र जनउत्तरदायी तुल्याउन सांसदमा अध्ययनशिलता र धैर्यताको खाँचो औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “जनप्रतिनिधिका रुपमा संसद्मा आएका विधायक मुख्यरुपमा कानुन निर्माणको भूमिकामा रहनुपर्ने भएकाले कसैको पक्ष, विपक्ष नभई निष्पक्ष भएर काम गर्नुपर्छ ।”