Wednesday, May 13, 2026
Home Blog Page 772

नारायणगढ–मुग्लिन सडकः पच्चीस ठाउँमा पहिरोको जोखिम

0

चितवन: नारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको यहाँस्थित डिभिजन सडक कार्यालयले जनाएको छ । उक्त कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार तीमध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखिममा छन् । मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्रमा पहिरोको उच्च जोखिम छ ।

सडकको नाम्सी, कालीखोला र तुइन खोलाको पहिरो नियन्त्रणका लागि रु ५२ करोड खर्च हुने अनुमानित लागत छ । ती ठाउँमा ‘स्लोप स्टेवलाइजेसन’ र ‘रक नेटिङ’को काम गर्नुपर्नेछ । यसैगरी, पहिरोको कम जोखिम भएका गाईघाट, डुम्रे पुल, घुमाउने, सिमलताल, जलवीरे र पाँच किलोमा पनि सडक व्यवस्थापन गर्नुपर्नेछ । विसं २०८० को वर्षामा यो सडकमा ३० र २०७९ मा ३६ पटक भूक्षय हुँदा पटक–पटक सवारी आवागमन अवरुद्ध भएको थियो । कार्यालयका इञ्जिनियर सागर कार्कीले पानी परेपछि जुनसुकै बेला भूक्षयको जोखिम रहेकाले सेती दोभान, मौरी पुल र चार किलोमा उपकरण तम्तयार गरिने बताउनुभयो ।

हेटौँडास्थित हेवी इक्युप्मेन्ट डिभिजन र डुम्रेको यान्त्रिक कार्यालयबाट पनि उपकरणको प्रबन्ध गरिनेछ । सोही सडक खण्डको केराबारीमा नेचरबेस सोलुसन नामको संस्थाले बायो इञ्जिनियरिङ प्रविधिबाट पहिरो नियन्त्रण अध्ययन गरिरहेको छ । सोही सडकका खहरे खोला, भतेरीको ओरालो, गाईघाट, सेतीदोभान, जलवीरे, २६ किलो र चार किलो क्षेत्रका ११ ठाउँमा अध्ययन गर्न उक्त संस्थाले सडक विभागलाई पत्राचार गरेको छ ।

तामाकोशीको पुल निर्माणमा ढिलासुस्ती

0

मन्थली (रामेछाप): पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गतको तामाकोशीको सेलेघाट नजिक निर्माणाधीन पुल निर्माण कम्पनीको लापर्बाहीले अलपत्र परेको छ । विसं २०८० असार २६ गते काम सम्पन्न गर्ने गरी कालिका÷प्यासिफिक जेभीले २०७७ असार २६ गते निर्माणको जिम्मा लिएकामा हालसम्म खासै प्रगति भएको छैन । उक्त कम्पनीले रु १४ करोड २७ लाखमा निर्माण पूरा गर्नेगरी सरकारसँग सम्झौता गरेको थियो ।

पुष्पलाल राजमार्गका सूचना अधिकारी हर्कबहादुर प्रधानका अनुसार निर्माण कम्पनीले पेस्कीबापत रु ७१ लाख ३५ हजार लिइसकेको छ । उहाँले भन्नुभयोे, “उक्त पुल निर्माणको वित्तीय प्रगति शून्य छ । भौतिक प्रगति भने तीन प्रतिशत भएको छ ।” निर्माण कम्पनी म्याद थपका निम्ति आवेदन गरेको तथा त्यो विचाराधीन रहेको जानकारी दिँदै उहाँले काम नगरे पेस्की रकम जफत गरिने बताउनुभयो ।

विश्वकप टी-२० क्रिकेट: अमेरिकालाई हराउँदै भारत विश्वकपको सुपर आठमा

0

काठमाडौँ: आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा अमेरिकालाई पाखा लगाउँदै भारत विजयी भएको छ । अमेरिकाको न्यूयोर्कमा गए राति सम्पन्न खेलमा अमेरिकालाई सात विकेटले हराउँदै भारत विश्वकपको सुपर आठमा पुगेको हो । लगातार तेस्रो जित हात पारेको भारत छ अङ्क जोड्दै समूह ‘ए’ बाट सुपर ८ मा प्रवेश गर्ने पहिलो टोली बन्यो । सोही समूहमा रहेको अमेरिका तीन खेलबाट चार अङ्कसहित दोस्रो स्थानमा छ । पाकिस्तान र क्यानाडाको समान दुई अङ्क छ ।

आयरल्यान्डले अङ्क खाता खोल्न सकेको छैन । खेलमा अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ११ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा भारतले १८ दशमलव ३ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतका लागि सूर्यकुमार यादवले ४९ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक ५० रनको योगदान दिए । त्यस्तै ऋषभ दुबेले ३१ रन बनाए भने ऋषभ पन्तले १८ रनको योगदान दिए । अमेरिकाका सौरभ नेत्रवालकरले दुई विकेट लिए भने अली खानले एक विकेट झारे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाका ओपनर सायन जहान्गिरलाई अर्शदीप सिंहले पहिलो बलमै आउट गर्दै दबाब दिएका थिए । त्यसपछि नितिश कुमारले २३ बलमा सर्वाधिक २७ रनको योगदान गरे भने अर्का ओपनर स्टेभन टेलरले ३० बलमा २४ रन बनाए । भारतका अर्शदीप एक्लैले चार विकेट लिए भने हार्दिक पाण्डेयाले दुई तथा एक्सर पटेलले एक विकेट लिए ।

एकल महिलालाई आत्मनिर्भर बनाउने पालिकाद्वारा बाख्राको पाठी वितरण

0

मुग्लिन (चितवन): कालिका नगरपालिकाले नगर क्षेत्रका ५५ जना एकल महिलालाई आयआर्जनका लागि बाख्राको पाठी वितरण गरेको छ । यहाँ बुधबार आयोजित एक कार्यक्रममा प्रत्येक वडाका पाँच जना एकल महिलालाई पाठी वितरण गरिएको हो । नगर क्षेत्रका एकल महिलालाई उत्पादन, आयआर्जन र उद्यमशीलतामा जोड्ने उद्देश्यले बाख्राको पाठी वितरण गरिएको कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले बताउनुभयो ।

सीमित बजेटका कारण प्रतिव्यक्ति एउटा पाठी प्रदान गरिएको उहाँले बताउनुुभयो । उहाँले एकल महिलाको साथमा नगरपालिका रहेको र हरेक समस्यामा साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । पाठी बिरामी भएमा नगरपालिकाको पशु सेवा कार्यालयबाट उपचारको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

नवलपरासीपूर्वका किसानलाई चैतेधान भित्र्याउने चटारो

0

मध्यविन्दु (नवलपरासी): नवलपरासी (बर्दघाट सुस्तापूर्व)का किसानलाई हाल चैतेधान भित्र्याउन भ्याइनभ्याइ छ । जिल्लामा यस वर्ष कूल एक हजार तीन सय २५ हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलचन्द्र तिवारीले बताउनुभयो । विगत चार वर्षदेखि सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रमा चैतेधान लगाउने क्रम जिल्लामा बढेको उहाँले बताउनुभयो । “चैतेधान थन्काएपछि असारमा फेरि धान रोप्नुपर्ने भएकाले गर्मीलाई बेवास्ता गर्दै किसानहरू धान भित्रउन व्यस्त छन्”, उहाँले भन्नुभयो, “यस वर्ष छ हजार सात सय ५५ मेट्रिक टन चैतेधान उत्पादन हुने अनुमान छ ।” दुई बाली धान लगाउन मिल्ने जिल्लाका विभिन्न स्थान र सिमसार क्षेत्रका किसानले चैतेधान लगाउने गरेका छन् ।

तुलनात्मक रूपमा यहाँ मकैभन्दा धान बढी उत्पादन हुने र दुई बाली धान लगाउँदा एक बाली बिक्री गरेर आम्दानी गर्न सकिने हुँदा किसानहरू यसतर्फ आकर्षित भएका प्रमुख तिवारीले बताउनुभयो । विगत चार वर्षदेखि जिल्लाको गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी, बुलिङटार, बौदीकाली गाउँपालिकामा चैतेधान खेतीको क्षेत्र छुट्याएर खेती गरिएको उहाँले बताउनुभयो । “जिल्लाको कावासोती नगरपालिका–८ देखि १७, गैँडाकोट नगरपालिका १०, ११, १२ र १३, देवचुली नगरपालिका–१७, मध्यविन्दु नगरपालिका २ र ३, विनयी त्रिवेणी गाउँपालिका १ र ५, बुलिङटार गाउँपालिका–३ र बौदीकाली गाउँपालिका–४ मा हिउँदे धान भित्र्याउन अहिले किसान व्यस्त भएका छन्”, उहाँले भन्नुभयो ।

कृषि ज्ञान केन्द्रले चैतेधान उत्पादन हुने सिँचाइ सुविधा पुगेको तथा पर्याप्त क्षेत्रफल भएको स्थानमा धानको पकेट क्षेत्र निर्माण गरी किसानलाई प्रोत्साहन गर्दै आएको छ । “गत वर्ष जिल्लामा एक हजार दुई सय १० हेक्टर क्षेत्रफलमा चैते धान खेती हुँदा छ हजार एक सय २३ मेट्रिक टन धान उत्पादन भएको थियो”, उहाँले भन्नुभयो, “गत वर्षभन्दा यो वर्ष एक सय १५ हेक्टर क्षेत्रफलमा खेती विस्तार भएको छ ।” बर्खे धान प्रतिहेक्टर तीन टनभन्दा बढी उत्पादन हुनेमा चैतेधान प्रतिहेक्टर चारदेखि पाँच टनसम्म उत्पादन हुने प्रमुख तिवारीले जानकारी दिनुभयो । “चैतेधानमा रोग तथा किरा पनि कम लाग्ने भएकाले किसानका लागि यो राम्रो मानिन्छ ”, उहाँले भन्नुभयो, “जिल्लामा विशेष गरी चैते–५ र हर्दिनाथ–१ जातको चैतेधान रोप्ने गरिन्छ ।”

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको प्रारम्भिक चरण प्रारम्भ

0

महेन्द्रनगर (कञ्चनपुर): भारत सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा दोधारा चाँदनीमा आगामी आर्थिक वर्षभित्रै सुक्खा बन्दरगाह निर्माण आरम्भ गर्ने लक्ष्यका साथ प्राविधिकहरूको एक टोली वातावरणीय व्यवस्थापन योजना तयार गर्न निर्माणस्थलमा परिचालन भएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले वन तथा वातावरण मन्त्रालयले वातावरणीय व्यवस्थापन योजना बनाउन पत्राचार गरेसँगै समितिबाट इन्जिनियरको नेतृत्वमा प्राविधिक टोली कञ्चनपुरमा खटिएको बताउनुभयो । “वन मन्त्रालयले पहिले स्वीकृत भएको इआइएलाई टेकेर फेरि वातावरणीय व्यवस्थापन योजना बनाउन भनेपछि टोली शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसित सहकार्य गरेर सो काममा खटिएको छ”, कार्यकारी निर्देशक गजुरेलले भन्नुभयो, “हाम्रो गुरुयोजनाभन्दा आकारमा सानो तर पर्याप्त हुने विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) भारतले बनाएको रहेछ ।” उहाँले आकारमा पहिलेभन्दा सानो विस्तृत परियोजना प्रतिवेदन बनेकाले अब ४२ हेक्टरबाट घटेर २५ हेक्टरमा सुक्खा बन्दगाह निर्माण हुने बताउनुभयो । “रुख कटान र जग्गा पनि प्रयोग कम हुने भएकाले पुनः वातावरणीय व्यवस्थापन योजना बनाउनु परेको हो”, उहाँले भन्नुभयो, “त्यो बनेपछि हामी वन मन्त्रालयमा पेस गर्छौं ।”

आगामी आवको नीति तथा कार्यक्रममा सुक्खा बन्दरगाह निर्माणलाई समावेश गरिएको उहाँले बताउनुभयो । दोधारा चाँदनी नगरपालिकाको मायापुरी र गौरीशङ्कर मध्यवर्ती वन क्षेत्रमा निर्माण प्रस्ताव भएर विस्तृत परियोजना प्रतिवेदनसमेत तयार भइसकेको सुक्खा बन्दरगाहका लागि जग्गा प्राप्तिको विषय मन्त्रिपरिषद्बाट निर्णय गराउन बाँकी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गत जेठमा भएको भारत भ्रमणका क्रममा दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणगर्नेसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

श्रीलङ्काका राष्ट्रपति र सार्क महासचिवबीच भेटवार्ता

0

काठमाडौँ: परिचयात्मक परामर्श भ्रमणमा रहनुभएका दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव गुलाम सरवारले श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेसँग बुधबार कोलम्बोमा शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा महासचिव सरवारले स्थापनाकालदेखि नै सार्क प्रक्रियालाई श्रीलङ्काबाट निरन्तर सहयोग भएकामा त्यसको सराहना गर्दै सङ्गठनलाई थप सुदृढ बनाउन श्रीलङ्काबाट सहयोग र मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको सार्क सचिवालयले जनाएको छ ।

महासचिवले श्रीलङ्काका राष्ट्रपतिलाई सार्कका वर्तमान गतिविधि र यसका चुनौतीहरूबारे अवगत गराउँदै सार्क प्रक्रियालाई पुनः सशक्त बनाउन श्रीलङ्काको सहयोगको अपेक्षा गर्नुभएको थियो । सार्क अध्यक्ष नेपालसँगको परामर्शमा शिखर सम्मेलनलगायत अन्य उच्चस्तरीय बैठक यथाशीघ्र हुनेमा आफू विश्वस्त रहेको महासचिवले बताउनुभयो । सार्क क्षेत्रका जनताको आशा र आकाङ्क्षालाई मूर्तरूप दिनुपर्नेमा जोड दिँदै राष्ट्रपति विक्रमासिङ्घेले सार्क प्रक्रियालाई पुनरुत्थानका निम्ति थप कदम चाल्न आवश्यक भएको बताउनुभएको थियो ।

उहाँले कोलम्बोमा सार्क सांस्कृतिक केन्द्र स्थापनाका लागि स्थायी स्थान उपलव्ध गराउन सहमति जनाउनुभएको सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । राष्ट्रपति विक्रमासिङ्घेले सार्कप्रति श्रीलङ्काको प्रतिबद्धता दोहोर्याउँदै सार्क क्षेत्रमा दिगो र एकीकृत विकास हासिल गर्न तथा सङ्गठनका लक्ष्य पूरा गर्न हरसम्भव सहयोग गर्ने प्रतिबद्धता दोहोर्याउनुभएको थियो।

विद्यालयमा सीपमूलक तालिमसँगै पढाइ

0

म्याग्दी : बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई घरमा रङ लगाउने तालिम दिइएको छ । बेनी नगरपालिकाको ‘हामी सक्छौं, हामी गर्छौं’ कार्यक्रममार्फत धौलागिरि माविले विद्यार्थीलाई व्यावसायिक सीप सिकाउन घरमा रङ लगाउने तालिम दिएको हो । कक्षा १० का २५ जना विद्यार्थीलाई सात दिनसम्म रङ लगाउने तालिम दिइएको विद्यालयका शिक्षक खोमराज पौडेलले बताउनुभयो । “दुई जना प्रशिक्षकबाट २५ जना विद्यार्थीलाई सात दिनसम्म रङरोगनसम्बन्धी आधारभूत तालिम दिएका छौँ”, उहाँले भन्नुभयो, “यसअघि विद्यार्थीहरुलाई च्याउ खेती गर्न र मुढा बुन्न सिकाएका थियौँ ।” रङ लगाउने सीप दैनिक जीवनयापनका अलावा पढाइ पूरा गरेपछि व्यवसाय सञ्चालन र रोजगारीका क्रममा उपभोगी हुने विद्यार्थीले बताएका छन् । डिलबहादुर किसान र मुकेश शाहले तालिम दिनुभएको थियो ।

तालिमका क्रममा विद्यार्थीले विद्यालयको भवनमा रङ लगाएर चिटिक्क पारेका छन् । रङ खरिद र प्रशिक्षकलाई भत्ता खर्च विद्यालयले उपलब्ध गराएको थियो बेनी नगरपालिकाका प्रमुख सुरत केसीले विद्यार्थी र शिक्षालाई सीप र श्रमसँग जोड्न १६ वटा विद्यालयका माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमै सीप सिकाउन हामी सक्छाँै, हामी गर्छौं कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । हालसम्म दुई हजार जनाभन्दा बढी विद्यार्थी सीपमूलक तालिममा सहभागी भएका छन् । ‘हाउस वायरिङ, प्लम्बिङ,’ कपाल काट्ने, अतिथि सत्कार, खाना पकाउने, प्रेसर कुकर बनाउनेलगायत सीपमूलक तालिम सञ्चालन गर्न नगरपालिकाले १६ वटा विद्यालयलाई चालु आर्थिक वर्षमा रु एक लाखका दरले बजेट उपलब्ध गराएको छ ।

बुर्तिवाङ स्वास्थ्य केन्द्र ५० शय्याको अस्पतालमा स्तरोन्नति हुँदै

0

गलकोट (बागलुङ): जिल्लाको बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई आगमी आर्थिक वर्षदेखि प्रदेश अस्पतालका रूपमा सञ्चालन गरिने भएको छ । ढोरपाटन नगरपालिकाको केन्द्रमा रहेको उक्त स्वास्थ्य केन्द्रलाई ५० शय्रयाको अस्पतालमा स्तरोन्नति गरिने गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ । यसअघि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको जिल्ला अस्पतालमा रूपान्तरण गर्ने योजनाअनुसार भौतिक पूर्वाधार निर्माण गरिएको भए पनि त्यो पूरा भएको थिएन ।

तत्कालीन बागलुङ जिल्ला अस्पताल खारेज भएर बागलुङ बजारमा धौलागिरि अस्पताल बनेपछि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्ला अस्पताल बनाउन भवन निर्माण गरिएको थियो कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलगायतका विषयलाई प्राथमिकतामा राखेर मङ्गलबार गण्डकी प्रदेशसभा बैठकमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा बागलुङको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र गोरखाको आँपपीपल अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गरिने जनाइएको छ । ।

गण्डकी प्रदेश सरकारको सिफारिसमा सङ्घीय सरकारले बागलुङको बुर्तिवाङ र गोरखाको आँपपिपलमा ५० शय्याको प्रदेश अस्पताल बनाउन गत फागुन ६ गते मन्त्रिपरिषदले निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयन गर्ने विषय नीति तथा कार्यक्रममा उल्लेख छ । स्वास्थ्य केन्द्र ५० शय्याको अस्पताल भएमा ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकाका स्थानीय लाभान्वित हुनेछन् । विसं २०५२ मा स्थापना भएको उक्त स्वास्थ्य केन्द्रबाट नियमित रूपमा बहिरङ्ग सेवा, गर्भ जाँच, सुत्केरी सेवा, आधारभूत प्रयोगशाला परीक्षण, खोप सेवा, परिवार नियोजन, क्षयरोग र कुष्ठरोगको उपचार हुँदै आएको छ ।

यस क्षेत्रका जनतालाई स्वास्थ्य सेवा दिने उद्देश्यले जिल्ला अस्पताल बनाउने निर्णय गरी रु. ३२ करोडको लागतमा संरचना निर्माण भइसकेका छन् । स्वास्थ्य केन्द्रलाई प्रदेश मातहतको अस्पताल बनाउने निर्णयपछि सङ्घीय सरकारले प्रदेश सरकार मार्फत आगमी आर्थिक वर्षका लागि रु. १५ करोड बजेट विनियोजन गरेको ढोरपाटन नगरपालिकाका स्वास्थ्य शाखा संयोजक केशव थापाले राससलाई जानकारी दिनुभयो । उक्त बजेट बुर्तिावाङ स्वास्थ्य केन्द्र र गोरखाको आँपपिपलमा अस्पतालको हो । तीन शय्याको प्राथमिक स्वास्थ्य केन्द्रलाई ढोरपाटन नगरपालिका स्थापना पछि १५ शय्याको पालिका अस्पतालका रूपमा सञ्चालन गरिरहेको छ ।

हाल स्वास्थ्य केन्द्रमा दुई जना विशेषज्ञ र तीन जना मेडिकल अधिकृत कार्यरत छन् । नीति तथा कार्यक्रममा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न मनाङ र मुस्ताङ अस्पताललाई २५ शय्या, पर्वत, स्याङ्जा, दमौली, मध्यबिन्दु र मातृशिशु मितेरी अस्पताललाई ५० शय्या क्षमतामा र अमरापुरी स्वास्थ्य चौकी, गैंडाकोटलाई स्तरोन्नति गरिने उल्लेख छ ।

काठमाडौँ उपत्यकाको तापक्रम आज पनि उच्च रहने

0

काठमाडौँ: हाल देशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भूभागमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । कोशी, मधेस प्रदेश र वाग्मती प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुनेछ भने बाँकी भागमा मौसम सफा छ । कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमविद् गोविन्द झाका अनुसार काठमाडौँ उपत्यकामा स्थानीय वायुको प्रभावले आज अपराह्नतिर केही स्थानमा छिटपुट वर्षा हुने सम्भावना छ ।

यद्यपि तापक्रम उच्च नै रहने छ । मनसुन भित्रन अझै केही दिन लाग्नेछ । शनिबारदेखि यहाँ आंशिक बदली हुनेछ । यहाँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । आज दिउँसो कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसमसफा रहने छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागका अनुसार आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी र मधेस प्रदेशका तराईका केही स्थानहरुमा हुरी चल्ने सम्भावना रहेको छ । आगामी २४ घण्टामा कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । विभागले कोशी प्रदेश र मधेस प्रदेशका तराईका केही स्थानमा हुरीको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।