Wednesday, May 13, 2026
Home Blog Page 765

पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

0

लमजुङ: गए रातिदेखिको निरन्तर वर्षाले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाइँले जानकारी दिनुभयो ।

सडक खुलाउन प्रहरी टोली परिचालन भए पनि पानी निरन्तर परिरहेकाले समस्या भएको उहाँले बताउनुभयो । सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका छन् । बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवनलगायतका स्थानमा जाने यात्रु र सो स्थानबाट बेँसीसहर र बेँसीसहर हुँदै हिमाली जिल्ला मनाङ जाने यात्रु समस्यामा परेका हुन् । बिरामी बोकेको एम्बुलेन्ससमेत रोकिएका छन् । डुम्रे–बेँसीसहर ४२ किलोमिटर रहेको छ । यस वर्ष यो सडक पहिलोपटक अवरुद्ध भएको हो ।

सूर्यविनायक–धुलिखेल सडक विस्तार सुस्त : डेढ वर्षमा २५ प्रतिशत प्रगति

0

भक्तपुर: अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडकको छ लेन विस्तारको काम सुस्ताएको छ । भक्तपुरको सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्मको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै गरी दुई चरणमा ३६ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी सडक विस्तार सुरु भएको डेढ वर्ष बितिसक्दा बल्ल करिब २५ प्रतिशतमात्रै प्रगति भएको आयोजनाले जनाएको छ । विसं २०७९ पुस २४ गते निर्माण कम्पनीले दुई खण्डमा गरी तीन वर्षभित्र सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको थियो । सडक विस्तारका लागि सात दशमलव पाँच किमी लामो सूर्यविनायक–साँगा सडकखण्ड रु तीन अर्ब ८८ करोड ९३ लाख र साँगा–धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड विस्तारका लागि रु चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

सूर्यविनायक–धुलिखेल, सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार धुलिखेलसम्मको मुख्य सडक र सर्भिस लेन गरी छ लेनको सडक विस्तारको कार्य बजेट अभावका कारणले ढिलाइ भएको छ । आयोजना प्रमुख राजेन्द्रप्रसाद दासले सडक विस्तारका क्रममा रहेका अस्थायी घरटहरा र संरचना भक्तपुर जिल्ला प्रशासन कार्यालय र सूर्यविनायक नगरपालिकाको सहयोगमा भत्काउने काम सम्पन्न भएको जानकारी दिनुभयो । सडक मापदण्डभित्र परेका केही स्थायी संरचनाले सडक विस्तारमा अवरोध पुगेको जनाउँदै उहाँले बीचबीचमा काम छाड्दै अगाडि बढ्नुपरेको छ भन्नुभयो ।

‘उहाँले स्थायी संरचना हटाउनेबारेमा छिटो निर्णय गर्न सम्बन्धित मन्त्रालयमा पत्राचार गरेको जनाउँदै अहिलेसम्म क्षतिपूर्ति दिनेबारेमा निर्णय नहुँदा पनि समस्या भइरहेको जानकारी दिनुभयो । आयोजना प्रमुख दासले भन्नुभयो, “वर्षा लागिसक्यो, महत्त्वपूर्ण काम छिटो सम्पन्न गर्ने भनेर दिनरात नभनी काम गरिरहेका छौँ, सडकको दायाँबायाँ टेवा पर्खाल लगाउने, नाली निर्माण गर्ने र ‘कलभर्ट’ निर्माण अन्तिम चरणमा पुगेको छ । छिटोभन्दा छिटो सूर्यविनायक र त्यसमाथिका तीनवटा कलभर्ट सञ्चालन गर्ने तयारी गरेका छौँ, कलभर्ट सञ्चालनमा आएपछि सवारी आवागमनमा समस्या हुँदैन ।” सडक निर्माणका क्रममा ठूलो घुम्ती, तल ठूलो भिर भएकाले साँगामा निकै समस्या परिरहेको उहाँले बताउनुभयो । रु आठ अर्बभन्दा बढीको लागतमा ठेक्का सम्झौता भएको यो सडकखण्डमा यस वर्ष सरकारले रु ५४ करोड अर्थात् सात प्रतिशतमात्रै बजेट निकासा गरेको छ । यस्तो अवस्थामा काम गर्न गाह्रो, मजदुर थप्न समस्या, सामान खरिदमा समस्या हुने भएकाले पनि काममा ढिलाइ हुन गएको छ । सरकारले सम्झौताअनुसार बजेट निकासा गरिदिए अझै पनि निर्धारित समयमा सडक निर्माण सम्पन्न गर्न सक्ने आयोजनाको दाबी छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले सूर्यविनायकबाट साँगासम्मका अस्थायी संरचना, घरटहरा हटाउने काम सम्पन्न भइरहेको जानकारी दिनुभयो । उहाँले सूर्यविनायक नगरपालिकाको समन्वयमा अस्थायी संरचना हटाउने काम भइसकेको र स्थायी संरचना हटाउन भने प्रतिवेदन र मूल्याङ्कनको प्रतिक्षामा रहेको बताउनुभयो । स्थायी टहरा हटाउनेबारेमा जिम्मेवार निकायबाट प्रतिवेदन आउने, त्यस्ता संरचनाको मूल्याङ्कनसहितको मुआब्जा दिनेबारेमा निर्णय आएर प्रक्रिया अगाडि बढेपछि स्थायी संरचना पनि हटाइने उहाँले जानकारी दिनुभयो । प्रजिअ श्रेष्ठले भन्नुभयो, “यो सडकखण्डमा अस्थायी संरचना, घरटहरा ५३ थियो, त्यो हटाएका छौँ । अब सडकमा ७८ वटा स्थायी संरचना छन्, त्यो हटाउन मूल्याङ्कनसहितको प्रतिवेदन आउन बाँकी छ, सडक विभागमा फाइल छ, हटाउनुपर्ने स्थायी संरचनाको मुआब्जा दिनु अगाडि २०७२ सालको भूकम्पमा ती घरले राहत लिएका छन् कि छैनन् भनेर बुझ्ने काम पुनःनिर्माण प्राधिकरणबाट भइरहेको जानकारी पाएका छाँै । मुआब्जा निर्धारणमा ढिलाइ हुँदा त्यस्ता स्थायी संरचना हटाउन ढिलाइ भइरहेको छ ।” जिल्ला प्रशासन कार्यालयले त्यसका लागि पनि सहजीकरण गरिरहेको जनाउँदै उहाँले अहिले बजेट न्यून आएकाले सडक विस्तार सुस्ताएको जानकारी पाएको बताउनुभयो ।

जेठमा पानी पर्दा केही काम रोकिएको, सडकको डिपिआरमै नभएको चौबाटोमा समेत थप काम गर्नुपर्ने भएकाले डिपिआर नै संशोधनको तयारी भइरहेको प्रजिअ श्रेष्ठले बताउनुभयो । विद्युत् प्राधिकरणले सडकमा परेका पोल नसारिदिँदा काममा थप समस्या आएको जनाउँदै उहाँले प्रशासनबाट पोल सारदिन समन्वय गरिरहेको बताउनुभयो । सडकमा करिब २० वटाभन्दा बढी पोल रहेको तर प्राधिकरणले पोल सार्न आउँछौँ भनेर पटकपटक भनेर पनि नआएकाले ताकेता गरिरहेको उहाँले बताउनुभयो । उहाँले वर्षा सुरु भइसकेकाले दुईतर्फी सडक आवागमनमा समस्या नहोस् भनेर मुख्य काम छिटो सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

बागमती प्रदेशसभा सदस्य किरण थापाले बर्खा लागिसकेकाले जगातीबाट साँगासम्मको सडकखण्डअन्तर्गतका अप्ठ्यारो काम तत्कालै सम्पन्न गर्न आयोजना र सरकारले ध्यान जानुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “नगरपालिका र स्थानीयबाट समस्या आउँदैन, आएका समस्या हामी सुल्झाउँछौँ, तर सरकारले बजेट नपठाएपछि आयोजनाको काम सुस्ताएको छ, बर्खा लागिसक्यो अप्ठ्यारा ठाउँमा काम नसके समस्या आउँछ, त्यसैले छिटो काम गर्नु आवश्यक छ ।” यो सडकमा पुलहरू थप निर्माण गर्न आवश्यक पर्ने भएकाले पुलका लागि रु एक अर्ब लाग्ने आयोजनाले अनुमान गरेको छ । अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०–२० मिटरको तीन पुल, जगाती र महादेवखोला पेट्रोल पम्पनजिक निर्माण गरिने भएको छ ।

यसका लागि प्रतिमिटर रु १५ लाख लाग्ने अनुमान गरिएको छ । साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडकमा जाने–आउने लेन तल–माथि हुने भए पनि ‘सर्भिस लेन’ भने निर्माण गर्न नसकिने देखिएको डिपिआर अध्ययनले देखाएको छ । उक्त दूरीमा सडक विस्तार गर्न भौगोलिक बनावट कमजोर भएकाले सुरुङ निर्माण योजनालाई रोकेर यो योजना अघि बढाइने जनाइएको हो । यस्तै प्रतिवेदनले यो सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाका लागि करिब रु एक अर्ब मुआब्जा दिनुपर्ने छ । विसं २०१७ मा राजमार्ग बन्दा सडक दायाँबायाँ २५–२५ गज अर्थात् २२ दशमलव ८६ मिटर कायम गरिएको थियो । यस्तै २०२१ सालमा सरकारले कानुन बनाएर यो मार्गमा त्यही नियमलाई यथावत कायम गर्यो ।

यही आधारमा सडकका दायाँ–बायाँमा घर बनेको थिए । सडक विस्तार भएपछि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुला भए यो सडकखण्डमा अझै सवारी चाप बढ्ने छ । यो सडकमा हाल कोटेश्वरबाट लामा दूरीका सवारीमात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेको जनाइएको छ । सङ्घीय राजधानी काठमाडौँबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका बिपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको दूरी यही सडकबाट पार गरिन्छ भने यो सडकबाट अरनिको राजमार्ग हुँदै कोशी र मधेस प्रदेशका नागरिकसमेत काठमाडौँ आवतजावत गर्दै आएका छन् ।

विकासे कार्यालय नै बजेट खर्चिन असमर्थ

0

बलेवा (बागलुङ): पूर्वाधार विकास कार्यालय बागलुङको चालु वर्षको विकास बजेट रु एक अर्ब छ करोड १७ लाख थियो । जेठ सकिँदा पूर्वाधारले रु ५१ करोड ६३ लाख खर्चेको छ । यो ४८ प्रतिशत खर्च हो । जलस्रोत तथा सिँचाइ विकास डिभिजनले विनियोजन गरेको रु आठ करोड ४२ लाख बजेटमा ४३ दशमलव तीन प्रतिशतमात्रै खर्च गरेको छ । ढोरपाटनस्थित बुर्तिवाङ नयाँ सहरी आयोजनाले चालु वर्ष राखेको लक्ष्य रु सात करोड १६ लाख बजेटमा पुँजीगत खर्च रु तीन करोड ८० लाख छ ।

सघन सहरी विकास तथा भवन निर्माण आयोजनाले चालु वर्ष खर्चनुपर्ने रु ६३ करोड ५६ लाख बजेटमा जेठ मसान्तसम्म रु ३० करोड ६८ लाखमात्रै खर्चेको हो । सडक डिभिजनले चालु वर्ष ७५ प्रतिशत बजेट खर्चेको छ । रु २६ करोड ९६ लाख बजेटमा जेठ मसान्तसम्म रु २० करोड २८ लाख खर्चेको प्रमुख कोष तथा लेखा नियन्त्रक धर्मभक्त बस्यालले बताउनुभयो । उहाँका अनुसार जेठ सकिँदा बागलुङका विकासे कार्यालयको पुँजीगत खर्च ५५ प्रतिशत छ । यो अवधिमा उनीहरूले चालु खर्च ८५ प्रतिशतसम्म गरेका छन् ।

गलकोट नगरपालिकाको प्रशासकीय भवनको आगामी पुस मसान्तभित्र काम सक्नुपर्ने गरी ठेक्का लगाइएकामा अहिलेसम्म २० प्रतिशत प्रगति भएको छ । रु १२ करोड ४१ लाख खर्चनुपर्ने भवनको म्याद सकिन सात महिना बाँकी रहँदा रु दुई करोड ४८ लाख पेश्की लगेका ठेकेदारले रु एक करोड ६७ लाखमात्रै भुक्तानी लगेका छन् । यस्ता धेरै योजना खर्च गर्न नसकेर अलपत्र छन् । कतिपय योजनाको बजेट फ्रिज हुँदा नागरिकले सास्ती खेप्नुपर्ने बाध्यता छ । आयोजना सञ्चालन गर्ने सरकारी कर्मचारीले असारमा धेरै रकम खर्च हुने बताउनुभयो । “योजनाहरूमा धेरै काम भएका छन्, तर अन्तिम भुक्तानी असारमा हुँदा खर्च बढी देखिन्छ”, सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयका प्रमुख सुनिता श्रेष्ठले भन्नुभयो, “ठेक्कामा लगाएका काम समयमा नसकिँदा खर्च कम देखिएको हो ।” कतिपय कार्यालयले भने सालबसाली काम गर्दा खर्च गर्नै नसकेको श्रेष्ठले बताउनुभयो ।

जिल्लामा सङ्घीय बजेटमार्फत काम गरेका कार्यालयले पनि ६७ प्रतिशतमात्रै प्रगति देखाएका छन् । चालु वर्षका लागि आएको रु एक अर्ब २७ करोड ४८ लाख पुँजीगत बजेटमा जेठ मसान्तसम्म रु ८१ करोड ८५ लाखमात्र खर्चन सकेका हुन् । सोही अवधिमा गण्डकी प्रदेशमातहतका विकासे कार्यालयले रु एक अर्ब ९० करोड बजेटमा रु एक अर्ब चार करोडमात्र खर्च गरेका हुन् । जुन ५५ दशमलव २० प्रतिशत हो । चालु वर्षका लागि सरकारले विनियोजन गरेको रु तीन खर्ब दुई अर्ब पुँजीगत बजेटमा रु एक खर्ब ३२ करोडमात्र खर्च भएको हो ।

लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा

0

सोलुखुम्बु: मौसम प्रतिकूलताका कारण यहाँस्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् । गत जेठ २६ गतेदेखि अतिव्यस्त सो विमानस्थलमा कुनै पनि जहाजले उडान भर्न नसक्दा खुम्बु भ्रमणमा आएका पर्यटक मर्कामा परेका हुन् । अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा लुक्लामा जहाज र हेलिकप्टरले उडान भर्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका एयर ट्राफिक कन्ट्रोलर दिवस दाहालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी तथा स्वदेशी पर्यटक फर्कने सिजन हो ।

यतिखेर आउनेभन्दा फर्किने पर्यटक ज्यादा हुन्छन्, तर मौसमअनुकूल छैन । त्यसैले सबै उडान तालिका १० दिनदेखि रद्द भइरहेको छ, हुस्सुले वरको वस्तु परबाट देखिन्न, झन् जहाज उडान हुने त कुरै छैन ।” लुक्ला विमानस्थलमा मौसमका कारण हेलिकप्टरसमेत अवतरण हुन नसक्दा लुक्लाभन्दा तल रहेको सुर्के हेलिप्याडबाट हेलिकप्टरहरूले उडान गरिरहेको एयर ट्राफिक कन्ट्रोलर दाहालले जानकारी दिनुभयो । सुर्के केही होचो स्थान भएकाले त्यहाँबाट हेलिकप्टरले पर्यटक काठमाडौँ लैजाने गरेको उहाँले बताउनुभयो । भौगोलिक बनावटका कारण पनि लुक्लामा बढी हुस्सु लाग्ने भएकाले उडानमा समस्या हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।

मौसम सामान्य प्रतिकूल हुनेबित्तिकै लुक्लामा उडान ठप्प हुने भएकाले पर्यटक मर्कामा पर्ने गरेको तारा एयरका लुक्ला स्टेशन प्रमुख अमृत मगरले बताउनुभयो । यतिखेर खुम्बुमा पर्यटक यामको सकिन लागेकाले लुक्ला भित्रिनेको तुलनामा बाहिरिने बढी छन् । यद्यपि मौसमका कारण सबै उडान तालिका रद्द गर्नुपरेको उहाँ बताउनुहुन्छ । “विदेशीहरू यतिबेला आउनेभन्दा फर्किने बढी छन् आउने फाट्टफुट्ट छन् तर आएकाहरू फर्कने अलि बढी छन्”, उहाँले भन्नुभयो । लुक्लाभन्दा तल करिब चार घण्टाको पैदल दूरीमा पर्ने थामडाँडासम्म गाडी पुग्ने गर्छ । यसका कारण कतिपय पर्यटक तीनदेखि चार घण्टाको पैदल हिँडेर थामडाँडा झरेर त्यहाँबाट गाडीमार्फत सदरमुकाम सल्लेरी हुँदै काठमाडौँ फर्कने गरेका छन् । थामडाँडाबाट सल्लेरीको दूरी करिब ७० किलोमिटर छ । उक्त सडक कच्ची भएकाले बोलेरो गाडीमात्रै सञ्चालन हुने गरेको छ ।

थामडाँडाबाट सल्लेरीको गाडी भाडा प्रतिव्यक्ति रु दुई हजार दुई सय लिने गरेको यातयात व्यवसायी रामबहादुर विश्वकर्माले बताउनुभयो । थामडाँडाबाट आएको दिन सल्लेरी बास बस्ने पर्यटक भोलिपल्ट विमान, जिप तथा बसमार्फत काठमाडाँै फर्कने गरेका छन् । सल्लेरीबाट दुई सय ७५ किलोमिटरको दूरीमा पर्ने काठमाडौँको जिपभाडा प्रतिव्यक्ति रु दुई हजार लिने गरेका छन् । छैन मौसममा सुधारको सङ्केत मौसम तत्काल खुल्ने सम्भावना नरहेकाले हवाई उडान अझै केही दिन अवरुद्ध हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । पूर्वको कोशीमा भित्रिएको मनसुन निरन्तर सक्रिय भइरहेकाले कोशीसहितका क्षेत्रमा झरीको सम्भावना उच्च रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मौसम अहिले तत्काल सुधार हुने सम्भावना छैन, त्यसैले हवाई उडान अझ केही दिन प्रभावित हुनसक्छ, मनसुन सक्रिय भइरहेकाले अझै धेरै वर्षात् हुनसक्छ ।” सगरमाथा क्षेत्रमा पर्ने एकमात्र विमानस्थल भएकाले तेन्जिङ हिलारी विमानस्थललाई महत्वका साथ हेर्ने गरिन्छ ।

विश्वको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित सगरमाथा क्षेत्र भ्रमण गर्न आउने अधिकांश स्वदेशी तथा विदेशी पर्यटकले यही विमानस्थल प्रयोग गर्ने गर्छन् । यहाँ काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र रामेछापको मन्थली विमानस्थलबाट उडान हुने गर्दछ । यो विमानस्थल भएर बर्सेनि ६० हजारभन्दा बढी विदेशी तथा स्वदेशी पर्यटक सगरमाथा क्षेत्र भ्रमणका लागि पुग्ने गरेको नेपाल नागरिक उड्डयन प्राधिरणको तथ्याङ्क छ । लुक्लासम्म सडक सञ्जाल नपुगेकाले यस विमानस्थलको महत्व बढिरहेको लुक्लाका तोयाकुमार श्रेष्ठले बताउनुभयो । काठमाडौँबाट जहाजमार्फत लुक्ला .ओर्लिने पर्यटक यहाँबाट पदमार्ग हुँदै उकालो लाग्ने गर्छन् । यसभन्दा माथि सञ्चालनमा रहेका अन्य विमानस्थल नभएकाले खुम्बु भ्रमणका लागि हवाईमार्ग रोज्ने हरेक पर्यटकले यही विमानस्थल प्रयोग गर्नुपर्ने बाध्यता छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लामा सरएडमण्ड हिलारीको सहयोगमा सन् १९६० मा निर्माण गरिएको यस विमानस्थल विसं २०६४ पुसमा तेन्जिङनोर्गे शेर्पा र सरएडमण्ड हिल्लारीको सम्मानमा उनीहरूकै नामबाट नामकरण गरिएको थियो । लुक्ला बजारको तलपट्टि पहाडको काखमा अवस्थित यस विमानस्थल समुद्री तहबाट दुई हजार आठ सय मिटरको उचाइमा अवस्थित छ । यस विमानस्थलको धावनमार्गको लम्बाइ चार सय ६० मिटर अर्थात् एक हजार पाँच सय फिट रहेको जनाइएको छ । ‘हिस्ट्री च्यानलको मस्ट एक्स्ट्रिम एयरपोर्ट र्याङ्किङ’मा लुक्ला विमानस्थल विश्वकै डरलाग्दो विमानस्थलको सूचीमा समावेश गरेको छ । जसलाई अन्तर्राष्ट्रिय वेबसाइड ‘प्राइभेटफ्लाइ डटकम’ले सूचीकृत गर्दै विश्वभरका रोमाञ्चक अनुभुति दिने विमानस्थलको आठौँ स्थानमा सूचीकृत गरेको छ ।

यस विमानस्थलमा उडान तथा अवतरणका लागि मौसम नै प्रमुख चुनौती हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका उमेशकुमार पन्थी बताउनुहुन्छ । भिरको काखमा रहेको र छिनछिनमा यहाँको मौसममा फेरबदल भइरहने भएकाले उडान र अवतराणमा चुनौती थपिने गरेको उहाँ बताउनुहुन्छ । यद्यपि, पर्यटकीय विमानस्थल भएकाले यामका बेला एकैदिन एक सयभन्दा बढी हवाई उडान हुने गरेको प्राधिकरणको तथ्याङ्क छ । सगरमाथा क्षेत्र पुग्ने पर्यटक यही विमानस्थलमा ओर्लिएर उकालो लाग्ने भएकाले यसको महत्व र व्यस्तता बढेको स्थानीय जानकार बताउँछन् ।

मल्कवाङमा नौमती बाजा बजाउन तालिम

0

म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका २६ जनालाई नौमती बाजा बजाउने र पुख्र्याैली नाचसम्बन्धी तालिम दिइएको छ । मौलिक लोकबाजा, कला र संस्कृतिको संरक्षणका लागि पुस्ता हस्तान्तरण गर्ने उद्देश्यले धवलागिरि गाउँपालिकाको आर्थिक सहयोगमा वडा कार्यालयले तालिम सञ्चालन गरेको हो । असार १ गते शनिबार सुरु भएको तालिम सोमबार सकिएको वडासचिव बेदनाथ सुवेदीले जानकारी दिनुभयो । संस्कारगत कार्य, सभा, समारोहमा नौमती बाजा बजाउने र पुख्र्याैली नाच्ने कलाकार अभाव हुन थालेपछि युवायुवतीलाई तालिम दिइएको उहाँले बताउनुभयो ।

मल्कवाङ अल्पसङ्ख्यक छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको बस्ती हो । यहाँ मगर र दलित समुदायको पनि बसोबास छ । पुख्र्यौैली नाच्ने र सोरठी गाउने छन्त्याल र मगर समुदायको मौलिक परम्परा हो । पछिल्लो समय वैदेशिक रोजगारीका कारण पलायन हुने र पुराना पुस्ताका कलाकार निधन भएपछि पुख्र्यौली नाच सञ्चालन गर्न कलाकारको अभाव हुन थालेपछि नयाँ पुस्तालाई सिकाइएको धवलागिरि–५ का वडाध्यक्ष अमर छन्त्यालले बताउनुभयो ।

एघार जना सहभागी नौमती बाजा तालिमको दीपेन्द्र परियार र जीवन परियारले सहजीकरण गर्नुभएको थियो । उहाँहरूले दमाह, कर्णाल, ढोलकी, सहनै, ट्याम्को, झ्याली, नरसिङ्गालगायत बाजा बजाउने सीप सिकाउनुभएको थियो । सोह्र जना सहभागी पुख्र्याैली नाच तालिममा दिलीप छन्त्यालले सोरठी गाउने, सरस्वती जगाउने, सुख र दुःखको अवस्थामा नाच्ने तरिका सिकाउनुभएको थियो । कछाड, सर्ट, पेटी, भाङ्ग्रा, टोपीमा सजिएर कम्मरमा मादल भिरेर नाच्नेलाई मादले भनिन्छ ।

महिला र पुरुषको समूहले सोरठी गीत गाउँछन् । मादलेसँगै नाच्ने मारुनीले गुनियो, टिकिया, पटुकी, पछ्यौरी, कानमा ढुङ्ग्री, पोते, कन्ठीलगायत गहना लगाउँछन् । मौलिक कला, संस्कृति संरक्षण गर्न गत वर्ष मल्कवाङका नौमती बाजा खरिद गरेर उपलब्ध गराइएको थियो । यसपालि पोशाक उपलब्ध गराइएको छ ।

मध्यपहाडी लोकमार्ग : निर्धारित समयअगावै भालुखोला र मेवाखोलामा पुल निर्माण

0

खोटाङ: दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने दुईवटा खोलामा तोकिएको समयभन्दा अगावै मोटरेबल पक्की पुल निर्माण सम्पन्न भएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने उक्त सडकखण्डको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित भालुखोला र मझुवागढी – ६ नेर्पास्थित मेवाखोलामा पुलको काम सम्पन्न भएको हो ।

विसं २०८१ असार २२ गते दुवै मोटरेबल पुलको काम सक्नेगरी विसं २०७९ असार २२ गते निर्माण कम्पनीले सडक विभागसँग सम्झौता गरेको थियो । मूल्य अभिवृद्धि कर (भ्याट)बाहेक रु सात करोड ७४ लाख २५ हजारमा ती पुल बनेका थिए । हालै सम्पन्न भएको दुवै पक्की पुल २०–२० मिटर लम्बाइको छ । निर्माण सम्पन्न गरेर सञ्चालनमा आइसकेको दुवै पुलको वारि र पारि दुवैतर्फको ‘एप्रोच रोड’को कामसमेत सम्पन्न भएको बताइएको छ ।

तोकिएको समयअगावै मोटरेबल पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि आवतजावत सहज भएको खोटाङ यातायात प्रालि खोटाङका महासचिव राम हिङमाङले बताउनुभयो । सोही सडकखण्डको नेर्पा र सोल्माको सिमानामा पर्ने छेपेखोलामा अर्को २० मिटर लम्बाइको मोटरेबल पुल पनि सम्झौता मितिभन्दा अघि नै निर्माण सम्पन्न भएको छ । अहिले सञ्चालनमा रहेको छेपेखोलाको मोटरेबल पक्की पुल निर्माणको जिम्मा सगरमाथा सजीव जेभी खोटाङले लिएको हो ।

विसं २०८० कात्तिक ११ गते पुल बनाइसक्नेगरी २०७८ मङ्सिर १४ गते भ्याटबाहेक रु तीन करोड पाँच लाख ८० हजार एक सय ३७ मा ठेकेदार कम्पनीले सडक विभागसँग सम्झौता गरेको थियो । यद्यपि, यो छेपेखोला पुलको सम्झौता म्याद सकेर ठेकेदार कम्पनीले अर्को म्याद थपेको हो । निर्माण सम्पन्न गरेर सञ्चालनमा आइसकेको पुलको अन्तिम भुक्तानी लिएर सडक विभागलाई हस्तान्तरण गर्ने तयारी भइरहेको निर्माण कम्पनीका प्रतिनिधि कृष्ण घिमिरेले जानकारी दिनुभयो ।

छेपेखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुलको पहिलोपटक थपिएको समयसीमा असार २५ गते सम्पन्न हुँदैछ । दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा निर्माणाधीन मोटरेबल पक्की पुल छिटो सक्न तथा गुणस्तर कायम गर्न ठेकेदार कम्पनीलाई पटक–पटक निर्देशन गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताउनुभएको छ । “निर्माणाधीन तीनवटा पुलमध्ये दुईवटाले समयअगावै सम्पन्न गरेको छ । तोकिएको मितिअगावै पुल निर्माण सम्पन्न गर्न हामीले पनि हौसला प्रदान गर्यौैँ”, उहाँले भन्नुभयो, “वर्षा सुरु भएपछि त्यो काम सम्भव थिएन ।

तोकिएको समयभन्दा अगाडि नै पुल सम्पन्न गरेकाले ठेकेदार कम्पनीलाई पुरस्कृत गर्ने योजना बनाएका छौँ ।” छिमेकी जिल्ला भोजपुर जोड्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको बुवालुङस्थित बुवासुङ–लामीडाँडा जोड्ने पङ्खुखोलाको १५ मिटर मोटरेबल पुलको काम सिरुवा कन्ट्रक्सन काठमाडौँले नगरेपछि गत वर्ष जेठ १२ गते ठेक्का तोडिएको छ । ठेक्का सम्झौता तोडिएको पङ्खुखोला पुलका लागि अर्को ठेक्का लगाउन हालसम्म सम्बन्धित निकायले चासो नदिएको जनाउँदै जिल्लावासीले असन्तुष्टि पोख्न थालेका छन् । पाँचखण्डमा विभाजन गरेर कालोपत्र गरिएको दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको निर्मलीडाँडाभन्दा यता (दिक्तेलतर्फ)का सडकखण्डमा पर्ने भुल्केखोला, लप्सेखोला, दाम्देखोला, साप्सुखोलालगायत विभिन्न पाँचवटा खोलामा भने यसअघि नै पक्की पुल तयार सञ्चालनमा आइसकेको छ । तीनवटा निर्माण भर्खरै सम्पन्न भएको तथा एउटा ठेक्का सम्झौता तोडिएको ४८ किलोमिटर लामो दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने नौवटा खोलामा मोटरेबल पक्की पुल निर्माण हुनेछ ।

विसं २०७२ चैतबाट कालोपत्र थालिएको दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सेखुवा–चखेवाभञ्ज्याङ (१० किलोमिटर) सडक कालोपत्र भएको छैन । भारत कन्स्ट्रक्सन÷मैनाचुली÷सिद्धिसाई जेभीले जिम्मा लिएको यो सडकखण्ड कालोपत्र नहुँदा स्थानीय बासिन्दा चिन्तित छन् । भोजपुर हुँदै पाँचथरको चिवाभञ्ज्याङ जोडिने दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको सेखुवा–चखेवाभञ्ज्याङ (१० किलोमिटर) सडक ठेकेदार कम्पनीले कालोपत्र नगरेपछि ठेक्का तोडिएको थियो । तर, ठेकेदार कम्पनीले उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाबाट ‘स्टेअर्डर’ ल्याए पनि निर्माणको काम अगाडि नबढाएको बताइएको छ ।

ट्याङ्कर चालक सङ्घको हडताल फिर्ता, आजैदेखि इन्धन सहज हुने

0

काठमाडौँ : सरकारसँग चारबुँदे सहमतिपछि आन्दोलनरत नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घको आन्दोलन फिर्ता भएको छ । आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दुई पक्षबीच भएको वार्तामा चारबुँदे सहमति भएको छ । बजारमा आजैदेखि इन्धनको सहज आपूर्ति हुने नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो । आयल निगमका सञ्चालक समिति अध्यक्ष तथा वाणिज्य सचिव दिनेशकुमार घिमिरेको रोहवरमा भएको वार्तामा सहमति जुटेको हो ।

सहमतिपत्रमा निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्ट र सङ्घका अध्यक्ष ईश्वर लामाले हस्ताक्षर गर्नुभयो । नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घको सातबुँदे मागलगायत यस क्षेत्रमा देखापरेका समस्याको समाधान गर्ने गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न निगमका नायब कार्यकारी निर्देशकको संयोजकत्वमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि तथा नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन र अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक सङ्घका प्रतिनिधित्व हुने गरी एक उपसमिति गठन गर्ने सहमति भएको छ ।

नेपाल आयल निगमले व्यवसायीहरुलाई दिँदै आएको पारिश्रमिक र सुविधा ट्याङ्कर चालक÷सहचालक तथा यस क्षेत्रमा कार्यरत श्रमिकलाई उपलब्ध गराउने प्रतिबद्धता व्यवसायीले गर्नेगरी सहमति भएको छ । हाललाई आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने र उपभोक्ताको हितलाई ध्यानमा राखी पेट्रोलियम पदार्थको सहज ढुवानी गर्ने सहमति भएको छ । विद्यमान कानुनी व्यवस्थाहरुको पालना सम्बन्धमा नियमित अनुगमन गर्ने विषयमा पनि दुई पक्ष सहमत भएका छन् । नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले विभिन्न सातबुँदे माग राख्दै अत्यावश्यक पेट्रोलियम पदार्थको ढुवानीमा हडताल गरेपछि आइतबारदेखि उपत्यकाका पेट्रोलपम्पहरुमा डिजेल तथा पेट्रोल अभाव देखिएको थियो । इन्धन सहज आपूर्ति रोकिएसँगै पेट्रोल पम्पहरुमा सवारी साधनको लाइन लागेको थियो ।

आवश्यक सेवा सञ्चालन ऐन २०१४ तथा आवश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन २०१७ ले पेट्रोलियम पदार्थलाई अत्यावश्यक सेवाभित्र राखेको छभने यी सेवामा बन्द तथा हडताल गर्न वर्जित छ, तर चालकहरु विद्यमान कानुनी व्यवस्थाको उल्लङ्घन गर्दै आन्दोलनमा उत्रिएका थिए ।

कर्णाली प्रदेश : ६ वर्षमा तीन अर्ब आन्तरिक आम्दानी

0

भेरीगङ्गा (सुर्खेत): कर्णाली प्रदेश सरकारले विगत ६ वर्षमा रु दुई अर्ब ८६ करोड १० लाख ६३ हजार आन्तरिक आम्दानी गरेको छ । प्रदेश सरकार स्थापनाको पाँच वर्ष र चालु आर्थिक वर्षको जेठ मसान्तसम्म गरी सो आम्दानी गरेको पाइएको छ । आर्थिक वर्ष २०७९/८० सम्मको आन्तरिक राजस्व सङ्कलन रु दुई अर्ब २४ करोड १३ लाख ६३ हजार भएको छ ।

यो कूल राजस्व लक्ष्यको ९४.८ प्रतिशत रहेको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८०/८१ मा प्रदेशको आन्तरिक राजस्व सङ्कलन जेठ मसान्तसम्म रु ६१ करोड ९७ लाख अर्थात् लक्ष्यको तुलनामा ७४.१० प्रतिशत रहेको छ । आन्तरिक आम्दानीतर्फ कमजोर रहेको कर्णाली प्रदेश सरकारको विगत ६ वर्षको कूल बजेट भने रु एक खर्ब ६६ अर्ब ५६ करोड रहेको छ ।

बजेटको संरचना हेर्दा चालुतर्फ ३७.४६ प्रतिशत र पुँजीगततर्फ ६२.५४ प्रतिशत विनियोजन भएको आर्थिक मामिलामन्त्री केसीले बताउनुभयो । विनियोजनको चालुतर्फ ६२.७१ प्रतिशत र पुँजीगततर्फ ५५.०१ प्रतिशत खर्च भई समग्रमा ५७.९० प्रतिशत खर्च भएको छ । चालु आर्थिक वर्ष सकिन अब एक महिना मात्रै बाँकी रहँदा सरकारको बजेट कार्यान्वनयको अवस्थासमेत कमजोर देखिएको छ । संसद्मा आगामी वर्षको बजेट पेस गर्दै मन्त्री केसीले आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्मको खर्च चालुतर्फ ४९.३८ प्रतिशत र पुँजीगततर्फ २९.८७ प्रतिशत खर्च भई समग्रमा ३७.९३ प्रतिशत खर्च भएको बताउनुभयो ।

आर्थिक वर्ष २०७५/७६ देखि आव २०७९/८० सम्मको अवधिमा सङ्घीय सरकारबाट प्राप्त बजेटमा ससर्त, समपुरक र विशेष अनुदानमा कूल रु २७ अर्ब ५२ करोड प्राप्त भएकामा सो आर्थिक वर्षभित्र खर्च नसकी रु सात अर्ब ७८ करोड सङ्घीय सञ्चित कोषमा फिर्ता भएको छ ।

राष्ट्रपति पौडेलद्वारा भत्किएको बर्लिनको पर्खाल अवलोकन

0

काठमाडौँ: मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले आज तत्कालीन पूर्वी र पश्चिम जर्मनीबीचको भत्किएको बर्लिनको पर्खाललगायत एतिहासिक स्थलको अवलोकन गर्नुभएको छ । सो अवसरमा प्रथम महिला सविता पौडेलसहित भ्रमण दलका अन्य सदस्यहरु पनि सहभागी हुनुहुन्थ्यो । जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी पुग्नु भएको हो ।

राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टाइनमायरबीच वर्लिनमा आजै भेटवार्ता हुने कार्यक्रम रहेको जर्मनीस्थित नेपाली दूतावासले जनाएको छ । स्वीटजरल्याण्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटनसत्रमा सहभागीपछि उहाँ जर्मनी भ्रमणमा जानुभएको हो ।

कर प्रणाली सुधार गर्नसके करिब तीन खर्ब राजस्व थपिन्छ : मल्लिक प्रतिवेदन

0

काठमाडौँ: कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले सरकारलाई बुझाएको प्रतिवेदनले मुलुकको विद्यमान कर प्रणाली सुधार गर्न सके करिब रु तीन खर्ब राजस्व थपिने देखाएको छ । विभिन्न वस्तुमा दिइएको मूल्य अभिवृद्धि कर (भ्याट) छुट खारेज गरिनुपर्ने, आयकरको स्लाब संशोधन गर्नुपर्ने, स्वास्थ्यमा हानी गर्ने वस्तुबाहेकको अन्तःशुल्क हटाउनुपर्ने, हरित कर लगाइनुपर्ने, सामाजिक सुरक्षा करमा परिमार्जन गर्नुपर्ने, नगद भुक्तानीको सीमा घटाएर डिजिटल भुक्तानीको सीमा बढाइनुपर्नेलगायत सुझाव समितिले दिएको हो ।

सरकारको विसं २०८० भदौ २९ गतेको निर्णयानुसार विद्याधर मल्लिकको अध्यक्षतामा गठन भएको चार सदस्यीय समितिले गत फागुनमा प्रतिवेदन बुझाएको थियो । अर्थ मन्त्रालयले सार्वजनिक गरेको उक्त प्रतिवेदनअनुसार कर प्रणाली सुधारका लागि स्थायी बोर्ड गठन, प्रभावकारी न्याय निरुपण संयन्त्र निर्माण, विभिन्न कानुनी, नीतिगत तथा प्रक्रियागत सुधारलगायत सुझाव आएका छन् । कर प्रणाली सुधारका लागि सिफारिस गरिएका सुझावको प्रभावकारी कार्यान्वयनका लागि राजस्व सचिवको संयोजकत्वमा एक कार्यान्वयन सहजीकरण तथा अनुगमन इकाई स्थापना गर्ने प्रस्ताव समितिले गरेको छ । समितिले तयार पारेको कार्ययोजनामा उल्लिखित सुधारहरू कार्यान्वयन हुन सकेमा कर प्रणालीमा सुधार भई सरकारले प्रक्षेपण गरेको भन्दा करिब रु दुई खर्ब ९१ अर्ब थप राजस्व सङ्कलन हुने प्रतिवेदनमा उल्लेख छ । समितिमा लक्ष्मण अर्याल, प्रा डा रामप्रसाद ज्ञवाली र श्यामप्रसाद दाहाल सदस्य हुनुहुन्थ्यो ।

कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिका अध्यक्ष विद्याधर मल्लिक पर्याप्त अध्ययन र क्षेत्रगत रुपमा हिसाब गरेरै करिब रु तीन खर्बको राजस्व थप गर्न सकिने सम्भावना प्रतिवेदनमा राखिएको बताउनुहुन्छ । “आयकर, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर, भन्सारलगायतका कुन क्षेत्रमा कति राजस्व उठाउन सक्ने सम्भावना छ भनेर हिसाब गरेरै यो तथ्याङ्क राखिएको हो”, अध्यक्ष मल्लिक भन्नुहुन्छ, “विभिन्न कर छुट खारेज गरिनुपर्ने सुझाव समितिले दिएको छ । यो कठिन कार्य भएपनि असम्भव होइन ।” आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यको बुँदा नम्बर तीन सय १९ मा कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिको प्रतिवेदन कार्यान्वयन गर्दै लगिने उल्लेख छ । सरकारको यो प्रतिवद्धताले ढिलो चाँडो प्रतिवेदन कार्यान्वयन हुनेमा आफु आशावादी रहेको अध्यक्ष मल्लिक बताउनुहुन्छ । “प्रतिवेदनले दिएका सुझाव एकैपटक कार्यान्वयनमा लैजानुपर्छ भन्ने पनि होइन । सरकारले कार्यान्वयन गर्छु भनेको छ । तीनदेखि पाँच वर्षभित्र कार्यान्वयन गर्नसके राम्रो नतिजा देखिन्छ”, उहाँले भन्नुभयो ।

समितिका सदस्य एवम् पूर्व सचिव लक्ष्मण अर्याल प्रतिवेदनमार्फत् दिइएका सुझाव कार्यान्वयन गर्न सके तत्काल करिब रु तीन खर्ब थपिने दाबी गर्नुहुन्छ । “यो प्रतिवेदन कार्यान्वयनमा गयो भने अहिलेकै अवस्थामा करिब रु तीन खर्ब राजस्व थपिने देखिएको छ । दीर्घकालमा अझ बढी थपिन्छ । त्यो कसरी र कहाँबाट सम्भव छ भनेर प्रतिवेदनमा स्पष्टरुपमा उल्लेख छ”, उहाँले भन्नुभयो । प्रतिवेदन कार्यान्वयनका लागि राजस्व सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण तथा अनुगमन इकाई स्थापना गर्ने प्रस्ताव समितिले गरेको भए पनि सरकारले यस्तो संयन्त्र हालसम्म बनाइसकेको छैन । त्यस्तै, स्थायी प्रकृतिको स्वायत्त राजस्व बोर्ड गठन गर्ने, करसम्बन्धि न्यायिक निरुपणका लागि छुट्टै संयन्त्र स्थापना गर्नुपर्ने, कर प्रशासनसँग सम्बन्धित कामहरु राजस्व समूहका कर्मचारीमार्फत् गर्नेलगायतका सुझाव समितिले दिएको छ । नेपालको भ्याटको दर विश्वको औसत भ्याटदर भन्दा कम भए पनि आगामी पाँच वर्षसम्म यो एकल दरलाई स्थिर राख्ने एवं कर छुटको अनुसूचीमा रहेका वस्तु र सेवाको पुनरावलोकन गरी कर छुट हटाई कराधारको विस्तार गरिनुपर्ने सुझाव समितिले दिएको छ । हाल भ्याटमा कूल कर छुट करिब रु दुई खर्ब बराबर देखिएकोले तत्कालै समयवद्ध रुपमा कर छुटको प्रणालीलाई न्यून करका दर र केही वस्तु तथा सेवामा कर खर्च प्रणालीमा लैजाने व्यवस्था गरिनुपर्ने समितिको प्रतिवेदनमा उल्लेख छ । “अबको पाँच वर्षभित्रमा सबै प्रकारका कर छुटका प्रबन्ध खारेज गर्नुपर्दछ ।

प्राकृतिक विपत्ति, महामारी, काबु बाहिरको परिस्थिति सिर्जना भएमा र समष्टिगत आर्थिक सङ्कटहरू देखिएको अवस्थामा मात्र सरकारले कानुन बनाएर कर छुट दिनसक्ने गरी व्यवस्था गर्ने र हाल अभ्यासमा रहेका आर्थिक ऐनबाट दिइने सबै प्रकारका राजस्व छुटको व्यवस्थालाई हटाउनु पर्दछ”, प्रतिवेदनमा भनिएको छ । स्वास्थ्य तथा वातावरणलाई हानी तथा प्रकृतिजन्य वस्तुको संरक्षणका लागि अन्तःशुल्क वृद्धि गर्ने र अन्य वस्तुमा लागेको अन्तःशुल्क क्रमशः हटाउँदै जाने नीति लिइनुपर्ने सुझाव समितिको छ ।

कार्बन उत्सर्जन गर्ने, अतिरिक्त अन्तःशुल्क लाग्ने वस्तु तथा सेवामा हरित करको अवधारणा बमोजिम प्रणालीको विकास गर्ने र अन्तःशुल्क लागेका वस्तुलाई हरित करको क्षेत्रमा लैजानुपर्ने सुझाव छ । आर्थिक विधेयक २०८१ मार्फत् सरकारले पेट्रोलियम तथा कोइलाजन्य वस्तुको आयातमा हरित कर लगाउन सुरु गरिसकेको छ । मुलुकको आर्थिक अवस्थामा सुधार आएसँगै आयकरका दर घटाउन पनि समितिले सुझाव दिएको छ । “संस्थागत आयकरको दरलाई प्रत्येक वर्ष एक प्रतिशतले कम गरी हालको २५ प्रतिशतबाट २० प्रतिशतमा ल्याई १० वर्षको लागि यो करको दर स्थिर राख्ने नीति घोषणा गर्नुपर्दछ”, प्रतिवेदनमा भनिएको छ, “व्यक्तिगत आयकरका तीनवटा दर कायम गर्नेगरी पुनरावलोकन गर्ने र व्यक्तिगत आयकरको अतिरिक्त कर (सरचार्ज) समेतको दर संस्थागत आयकरको दर भन्दा पाँच विन्दुले मात्र बढी कायम गर्नुपर्ने देखिन्छ ।” मदिरा तथा सुर्तिजन्य र बैंक तथा वित्तीय संस्थालाई तोकिएको ३० प्रतिशतको संस्थागत करको दरलाई यथावत राखी यस वर्गमा रहेका अन्यको हकमा क्रमशः २५ प्रतिशतको दर कायम गर्नुपर्ने सुझाव आएको छ । त्यस्तै, निर्यातमूलक व्यापार तथा व्यवसायलाई आयकरको दर १० प्रतिशत र अन्य सबै व्यवसायको संस्थागत आयकरको दर २० प्रतिशत कायम गरिनुपर्ने प्रतिवेदनमा जनाइएको छ । प्राकृतिक व्यक्तिको रु ५० लाख भन्दा माथिको ब्याज, लाभाङ्श र दीर्घकालीन पुँजीगत लाभमा कर क्रमशः १० प्रतिशत पु¥याउनुपर्ने निष्कर्ष समितिको छ ।

धितोपत्र खरिद विक्रीको लाभमा तीन सय ६५ दिनभन्दा बढी अवधिको लागि साढे सात प्रतिशत र सो भन्दा घटी अवधिको हितको निसर्गमा १० प्रतिशत करको दर कायम गरिनुपर्ने एवं कूल कारोबारको दुई प्रतिशतका दरले न्यूनतम वैकल्पिक कर लगाउने व्यवस्था सुरु गर्न पनि सुझाव गरिएको छ । सामाजिक सुरक्षा करमा पनि परिमार्जन गर्न समितिले सरकारलाई सुझाव दिएको छ । “हाल कायम रहेको एक प्रतिशतको सामाजिक सुरक्षा करलाई खारेज गरी व्यक्तिगत करयोग्य आयमा छुट बापतको रकम घटाइ सुरुको १० वर्षसम्म तीन प्रतिशतबाट सुरु गरी त्यसपछि क्रमशः यसलाई पाँच प्रतिशतको दरले सामाजिक सुरक्षा योगदान कर लगाई दिगो रुपमा सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रम सञ्चालन गर्नुपर्दछ”, प्रतिवेदनमा भनिएको छ । लगानीमैत्री कर प्रणाली, करको आधार एवं दायराको विस्तार र राष्ट्रिय कराधारको संरक्षणका लागि नेपालको कर प्रणालीमा सुधारको खाँचो औंँल्याइएको छ । “करका दर, कानुनी प्रबन्ध र कर प्रणालीका प्रक्रियागत व्यवस्थामा नीतिगत स्थिरता दिनुपर्ने देखिन्छ”, प्रतिवेदनमा उल्लेख गरिएको छ, “समानता कायम गर्ने, उच्च आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्ने कर नीतिको प्रमुख लक्ष्य निर्धारण गरी तदनुकूल सङ्घीय राजस्व नीति र दीर्घकालीन कर सुधारको समयबद्ध कार्य योजना बनाइ कार्यान्वयन गर्नुपर्ने देखिएको छ ।” अर्थतन्त्रको उत्पादन र उत्पादकत्वमा सुधार तथा कर तटस्थताको सिद्धान्तलाई अनुपालन गर्न पनि सरकारलाई सुझाव दिइएको छ ।

घरजग्गा, शेयर र विभिन्न सम्पत्तिको खरिद बिक्री एवं सम्पत्ति निसर्ग बमोजिमको वार्षिक कारोबार अङ्ग तथा कारोबारको पटक सङ्ख्याको सीमा निर्धारण गरी त्यस्तो बिक्री÷निसर्गबाट प्राप्त लाभलाई व्यावसायिक आय मानी करारोपण गर्न र प्राकृतिक व्यक्तिले वार्षिक रु ४० लाख भन्दाबढीको आयको अनिवार्य रुपमा आयविवरण दिने व्यवस्थाको अनुपालनामा जोड दिन सुझाव गरिएको छ । विद्यमान ११ तहको भन्सार दरलाई छ तहमा झार्ने र त्यसपछिका वर्षमा तीन चरणमा गरी शून्य, १० र २० स्लाबहरूमा सीमित राख्नुपर्ने समितिको सुझाव छ । सार्वजनिक संस्थानले जगेडा राख्नुपर्ने वैधानिक कोषको लागि आवश्यक रकम छुट्याइ बाँकी सबै रकम लाभाङ्श आयको रूपमा नेपाल सरकारले प्राप्त गर्न व्यवस्था मिलाउन पनि सरकारलाई समितिले सुझाएको छ । डिजिटल अर्थतन्त्रको विस्तार र यस क्षेत्रमा कराधारको विस्तारमा ध्यान दिइनुपर्ने प्रतिवेदनमा उल्लेख छ । “नेपाली कम्पनीले सफ्टवेयरलगायत विद्युतीय सेवा विदेशमा निर्यात गरेमा त्यस्तो कारोबारको आयमा आगामी दश वर्ष सम्मलाई निकासी सरहको दर कायम गर्ने, विदेशमा रहेका नेपालीले विकास गरेका सफ्टवेयर आदिको खरिदमा सरकारले प्राथमिकता दिने व्यवस्था गर्ने र विद्युतीय माध्यमबाट सिधैँ वस्तु तथा सेवाको आपूर्ति गर्ने गैर बासिन्दालाई नेपालमा अनिवार्य दर्ता गर्नुपर्ने प्रबन्ध मिलाउनुपर्दछ”, समितिको सुझावमा भनिएको छ, “विद्युतीय लाग्ने कर, मूल्य अभिवृद्धि कर र सूचना प्रवाहको आयतनको आधारमा विद्युतीय डाटा कर लगाउन र यस क्षेत्रमा लाग्दै आएको मौजुदा करको पुनःसंरचना गर्नुपर्दछ । अन्तर्राष्ट्रिय भुक्तानी गेट–वे प्रणालीलाई सहज बनाउने र मोबाइल वालेट तथा फोन पेको अधिकतम सीमा तत्कालै बढाइनुपर्छ ।” अनौपचारिक अर्थतन्त्रलाई करको दायरामा ल्याउन भुक्तानी कार्ड, विद्युतीय माध्यम र चेकबाट गरिने भुक्तानीलाई प्रोत्साहित गरी नगद भुक्तानी क्रमशः घटाउँदै लान भनिएको छ । “हालको दश लाखसम्मको नगद भुक्तानी गर्न पाउने रकमको सीमालाई पाँच लाखमा ल्याउनुपर्दछ ।

साथै, बैंकिङ कारोबारलाई प्रबद्र्धन गर्ने र बैंक खातामा अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिने गरी प्रबन्ध गर्नुपर्दछ”, सुझावमा भनिएको छ । कर प्रणालीको सुधार र सक्षमताको लागि राजस्व संरचना र प्रणालीमा तत्काल आवश्यकता टड्कारो रूपमा देखिएको सन्दर्भमा सङ्घीय राजस्व बोर्डको गठनको प्रक्रिया थाल्न ढिला भइसकेको समितिले औँल्याइएको छ । करदाता र सरकार दुवैकोहित संरक्षण गर्न सक्ने गरी कर विवादको स्थायी समाधान गर्ने संयन्त्रको स्थापना गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।