Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search

Logo

Wednesday, May 13, 2026
Facebook

Logo

  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Home Blog Page 758

पर्यटकको रोजाइमा वेतना सिमसार

By
Himalayan Tribune
-
June 22, 2024
0

बेलबारी (मोरङ): पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा रहेको वेतना सिमसार आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको वेतनामा प्रत्यक्ष रुपमा देख्न पाइने साइबेरियाबाट आउने पर्यटक चराका साथै कछुवा, माछा, अजिङ्गरका साथै हरिणलगायत पशुपन्छीले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेको हो । दुई प्रजातिका वेत वनस्पतीको जङ्गल रहेकाले यस क्षेत्रलाई वेतना सिमसार क्षेत्र भनिएको वेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शम्भु भटराईले बताउनुभयो । यहाँ विषेश गरी चिसो पानी, स्वच्छ हावा र मनोरम दृश्य भएकाले आन्तरिक पर्यटकको रोजाइमापर्न थालेको उहाँको भनाइ छ ।

उहाँका अनुसार सिमसार घुम्न आउने पर्यटकका लागि पाइडल डुङ्गाको पनि व्यवस्था गरिएको छ । करिब ६५ बिघा क्षेत्रफल ओगटेको यस सिमसारमा साइबेरियाबाट आउने चराका साथै २५ प्रजातिका दुर्लभ चरा पाइन्छन् । साथै अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा फेला परेको अध्यक्ष भटराईले जानकारी दिनुभयो ।

यहाँ पाइने वनस्पती, पशुन्छीको संरक्षणमा उपभोक्ता समिति लागिरहेको उहाँको भनाइ छ । उहाँका अनुसार विश्वमै दुर्लभ प्रजातिका कछुवा, विभिन्न जातका माछा, जीवजन्तु, वनस्पती यस क्षेत्रमा पाइन्छन् । सिमसारबाट आउने पानीले करिब एक हजार दुई सय बिघा खेतीयोग्य जमीनमा सिँचाइ हुँदै आएको समितिका सचिव सुजित बस्नेतले जानकारी दिनुभयो । “यहाँ आउने पर्यटका साथै सय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले राजमार्ग क्षेत्रतर्फ तारले घेराबारा गरिएको छ भने यस क्षेत्रलाई थप आकर्षक बनाउन फुलबारी, विश्रामस्थल, वनभोजस्थल निर्माण गरिएको छ”, उहाँले भन्नुभयो ।

बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईका अनुसार वेतना सिमसारलाई पुर्वी नेपालको एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय विभिन्न गोष्ठी र सेमिनरका लागि देशका विभिन्न स्थानबाट समूहमा आगन्तुक आउने गरेका छन् । वेतनामा दैनिक तीन सयभन्दा बढी र बिदाको समयमा पाँच सयभन्दा बढीको सङ्ख्यामा आन्तरिक पर्यटक अवलोकन गर्न आउने गरेका समितिका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार सिमसार प्रवेशवापत रु ३० को टिकट निर्धारण गरिएको छ ।

पाँच हजारबाट व्यवसाय थालेकी मीनाकुमारीलाई अहिले माग पूरा गर्न हम्मे

By
Himalayan Tribune
-
June 22, 2024
0

पाँचथर: याङवरक गाउँपालिका–३ ओयामको देवीस्थानकी मीनाकुमारी गुरुङले भेडाको ऊनका सामग्री उत्पादन गर्न थालेको ३० वर्ष पूरा भयो । तत्कालीन घरेलु तथा साना उद्योग कार्यालय पाँचथरले तालिम दिएपछि नियमित रुपमा ऊनका सामग्री निर्माण गर्दै आउनुभएका उहाँलाई अहिले माग पूरा गर्न कठिन परेको छ । गुरुङले स्थापना गर्नुभएको लेकाली राडीपाखी उद्योगले उहाँको परिवारलाई मात्रै फाइदा भएको छैन, छिमेकका ऊनको काम गर्न चाहने महिलाका लागि रोजगारी र आम्दानीको बाटो पनि बनेको छ । विसं २०५१ मा यहाँको चरिभञ्ज्याङमा घरेलु तथा साना उद्योग कार्यालयबाट तालिम लिएपछि मीनाकुमारीले ऊनका सामग्री निर्माण गर्न थाल्नुभएको थियो । “पहिले मैले केही पनि जानेको थिइनँ । म त भारत मै जन्मे हुर्केको हुँ ।

विवाह गरेर यहाँ आएपछि के चाँही गरौं भनेर खोज्दा यहाँ बावु बाजेले गरिराखेको काम गर्नु ठीक लाग्यो”, उहाँले भन्नुभयो, “तर मलाई सीप केही नआउने । तालिम लिने अवसर पाएपछि मैले नियमित रुपमा सामग्री उत्पादन गर्दै आएकी छु ।” विवाह गरेर घरमा आउँदा उहाँको २८ जनाको परिवार थियो । घरमा भेडापालन पनि भएकाले यो व्यवसाय गर्न उहाँलाई सबैतिरबाट सहज भयो । तालिम लिएपछि नै उहाँले आफ्नो कामलाई व्यवसायको रुप दिन सोही कार्यालयबाट रु पाँच हजार ऋण पाउनुभएको थियो । “त्यही ऋणबाट व्यवसाय सुरुआत गरेँ ।

ऋणबाट व्यवसाय थाल्दाको चिनो मसँग अझै छ तिनपाटे राडी”, उद्यमी गुरुङले भन्नुभयो, “त्यसयता यही व्यवसायले घर परिवार चलाउँदै आएका छौँ ।” घरेलुको ऋण चुक्ता गरेपछि उहाँले कृषि विकास बैंकबाट २० हजार ऋण लिएर किस्ता तिर्न थाल्नुभएको थियो । तत्कालीन सशस्त्र द्वन्द्वका समयमा उक्त ऋण पनि तिर्न जान बन्देज भयो । उहाँको व्यवसाय पनि धराशायी भयो । उत्पादित सामग्री सहजै बजार पुग्न कठिन भयो । सङ्कटकालमा रोकिएको उहाँको ब्यवसाय पुनः पुरानै स्थितिमा पुग्यो । उहाँको व्यवसायले उचाइ लिन घरेलु कार्यालयबाट आएको एउटा फोन निकै महत्वपूर्ण भयो । “गाउँघरको घरपाला (गाउँकै भेडाको) ऊनबाट सामग्री निर्माण गरिरहेकी थिएँ । पछि घरेलु कार्यालयबाट मलाई फोन आयो”, उहाँले भन्नुभयो, “परम्परागत पेशालाई ब्यवसाय बनाउनेहरुलाई तालिम दिने कार्यक्रम रहेछ । त्यसपछि मैले व्यवसायीक रुपमा काम गर्ने तालिम लिने अवसर पाएँ ।” उहाँले आफ्नो व्यवसायलाई बढाएपछि भेडाको ऊनको खाँचो पनि भएन । भेडापालकले घरमै ऊन पठाइदिन थाले । “पहिले त २० जनासम्म दिदीबहिनीले मेरोमा काम गर्नुहुन्थ्यो ।

अहिले चाही उहाँहरुले ऊन जोखेर आफ्नै घरमा खोसलेर धागो बनाएर ल्याइदिनु हुन्छ”, उद्यमी गुरुङले भन्नुभयो, “धेरै माग आउँदा दिदीबहिनीहरुलाई भेला पारेर बुन्छौँ । माग आएपछि सबैलाई बोलाउँछु । अहिले गाउँका धेरै जना ऊनका सामग्री बुन्न सक्षम भइसकेका छन् ।” गुरुङको उद्योगमा अहिले चेयर म्याट, सोफा सेट, बुर्कासन, दुई र तीन पाटे राडी, लुकुनी, स्टकोट, कोट, झोला, पर्स, गमलामा राख्ने फूललगायत सामग्री निर्माण हुने गरेका छन् । उहाँका अनुसार ऊनका २०८ प्रकारका सामग्री निर्माण गर्न सकिन्छ । यद्यपि यहाँ ती सबै सामग्री उत्पादन हुँदैनन् । उद्योगमा प्रयोग हुने ऊन भने जिल्लाकै फालेलुङमा रहेको भेडी गोठसहित ताप्लेजुङका विभिन्न स्थानबाट आपूर्ति गर्ने गरिएको छ । गुरुङले सामग्री निर्माणका लागि विभिन्न प्रकारका ऊन काठमाडौँबाट ल्याउने गर्नुभएको छ । विदेश पुग्छन् अधिकांश सामग्री उद्यमी गुरुङका अनुसार उत्पादित सामग्रीका आधारमा फाइदा हुने गर्छ । “सानो सामग्रीमा रु सय हाराहारी नाफा हुने गरेको छ, ठूलो सामग्रीमा रु दुई हजारसम्म फाइदा राखेर बिक्री गर्छौँ”, उहाँले भन्नुभयो, “धेरै मूल्य राखौँ बिक्री हुन गाह्रो हुन्छ, कम मूल्य राख्दा फाइदा हुँदैन ।” यद्यपि आफैँ बजार गएर बिक्री गर्दा भने आकर्षक मूल्य प्राप्त गर्न सकिने गुरुङ वताउनुहुन्छ ।

यहाँ उत्पादित ऊनका सामग्री देशका विभिन्न स्थान सहित छिमेकी मुलुक भारत र अन्य देशमा समेत विक्री हुने गरेको छ । अमेरिका, अष्ट्रेलिया, जापानलगायत देशमा बस्ने नेपालीले घरमा सजावटका लागि यहाँका सामग्री माग गर्ने गर्दछन् । पछिल्ला दिनमा लुकुनी मृत्यु कार्यमा प्रयोग गर्न थालिएको छ । जसकारण यसको माग क्रमश बढिरहेको मीनाकुमारीको भनाइ छ । उहाँको उद्योगमा केन्द्रित भई अहिले ऊन खोस्रिने, धागो तान्ने, तान बुन्नेलगायत काममा औषत १० महिला सम्लग्न भइ रोजगारी प्राप्त गरिरहेका छन् । तर कठिन ठानेर ऊनको काम गर्नेको सङ्ख्या घटिरहेको छ । अब प्रविधिको प्रयोगमार्फत व्यवसायलाई सरल बनाउन मीनाकुमारीसहितका महिलाले चासो राखिरहनुभएको छ । आफूहरुले गरी आएको परम्परागत पेशाको सम्वद्र्धनका लागि अहिलेसम्म कुनै पनि सहयोग प्राप्त नभएको उहाँहरुको गुनासो छ । “अहिले हामीलाई ऊन फड्किने सामग्री चाहिएको छ । ऊन फड्कार्न धेरै गाह्रो छ । त्यही कारण आउने माग समयमा पूरा गर्न सकिरहेका छैनौँ”, उहाँले भन्नुभयो, “तान जसले पनि बुन्छ । ठूलो समस्या भनेको पिउरी बनाउन गाह्रो छ । त्यही गर्न मेसिन पाए हुन्थ्यो भन्ने आशा छ ।” केही समयअघि घरेलु तथा साना उद्योग कार्यालय पाँचथरबाट मीनाकुमारीको उद्योगमा प्रविधि विस्तार गर्न बजेट विनियोजन पनि भएको थियो ।

तर कार्यालयबाट विनियोजित रु एक लाख बजेटमा मेसिन नआउने भएपछि बजेट प्रयोग नै हुन सकेन । भेडाको ऊनबाट धागो कात्न उनमा रहेको लट्टा फुटाउनुपर्छ । लट्टा फुटाउन प्रयोग हुने को¥यासो भाँचिएर डालोभरि रहेको मीनाकुमारीको गुनासो छ । “अहिले युट्युबमा के–के नयाँ सामग्री पाइन्छ भनेर बुझ्न थालेका छौँ”, उहाँले भन्नुभयो, “हामीलाई चाहिएको ऊन फड्किने नै हो । हामीले काठमाडौँमा प्रदर्शनीका क्रममा धान कात्ने, ऊन फड्कार्नेलगायत सामग्री देखेका थियौँ । मेसिनबाट सामग्री बनाउँदा अलि नरम पनि हुने रहेछ ।” यहाँ उत्पादन हुने सामग्री कतिपय घरबाटै बिक्री हुन्छ भने कतिपय गाडीमा हालेर पठाउने गरिएको छ । सामग्री बिक्रीका आधारमा आम्दानी हुने गरेको तर उपभोक्ताको माग पूरा गर्न नसकिरहेको मीनाकुमारीको भनाइ छ ।

राष्ट्रिय औद्योगिक प्रदर्शनीलगायत स्थानसम्म पुग्नुभएका मीनाकुमारी गुरुङलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसहित विभिन्न सरकारी निकायले उत्कृष्ट उद्यमीका रुपमा पुरस्कृत गरिसकेका छन् । यहाँ उत्पादन भएको राडीपाखी याङ्वरक गाउँपालिका तथा जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रममा उपहारका रुपमा वितरण हुँदै आएको छ । सामग्रीले पहिचान बनाए पनि प्रविधिलाई प्रयोगमा ल्याउन नसक्दा सामग्री उत्पादन कठिन बन्दै गएको मीनाकुमारीकी छोरी युनुसा गुरुङको भनाइ छ । प्रविधिको प्रयोगमार्फत व्यवसायलाई सरल बनाइ दीर्घकालीन आम्दानीको स्रोत बनाउने अभिलाषा मीनाकुमारीजस्तै यहाँका अधिकांश महिलाले राखेका छन् । यसका लागि सरकारी निकायले प्रविधि र उपकरण हस्तान्तरण गर्नुपर्ने उहाँहरुको माग छ । शिक्षकसमेत रहनुभएका मीनाकुमारीका श्रीमान पूर्णकुमार गुरुङ पनि प्रविधि हस्तान्तरण गरी सरकारले मद्दत गर्नुपर्ने वताउनुहुन्छ । राडीपाखी बुन्ने चलन क्रमश घट्दै गएकाले उत्पादन हुने उद्योगी व्यवसायीलाई सहयोग भए मात्रै परम्परागत पेशा जीवन्त रहने उहाँको भनाइ छ । उक्त स्थानमा मीनाकुमारीले मात्रै उद्योग दर्ता गर्नुभएको छ ।

तर ऊनका सामग्री बनाउने काम उहाँका गुरुङ समुदायका अधिकांश महिला र अन्य समुदायका केही महिलाले गर्दै आएका छन् । यहाँकी माया गुरुङ कहिले आफ्नै घरमा त कहिले मीनाकुमारीको उद्योगमा गएर ऊनका सामग्री बनाउने काम गर्दै आउनुभएको छ । “घरमा फुर्सदको समयमा ऊनकै काम गरिरहन्छौँ । अलिअलि आम्दानी हुन्छ । नानीहरुलाई खर्च पु¥याउन सकिन्छ”, आफ्नो अनुभव सुनाउँदै मायाले भन्नुभयो । वर्षमा ३० धार्नीसम्म ऊनबाट सामग्री बनाउन सके अलिअलि बचत गर्न सकिने उहाँको अनुभव छ । ऊनका सामग्री निर्माण गर्ने काम सहज भने पक्कै छैन् । “नगर्ने मानिसले जीउभरि ऊन लाग्छ के गरेको भन्नुहुन्छ ? त्यही आम्दानी हुने भएरै हामी यो काम गरिरहेका छौँ । हामीलाई राम्रै लाग्छ”, मायाले भन्नुभयो । ६५ वर्षकी मैना गुरुङ पनि यही व्यवसायबाट घरको खर्च जुटाउने गरेको बताउनुहुन्छ । “६५ वर्षको भएँ । उनको काम गरेर ठीकै आम्दानी गरिरहेकी छु ।

भ्याएको बेला काम गरौँ–गरौँ लाग्छ”, मैनाले भन्नुभयो, “बिक्री पनि भइरहेकै छ । म अरुले जस्तो सबै सामग्री बनाउन त जान्दिनँ । आफूले जानेअनुसारका राडीसहितका सामग्री बनाइरहेकी छु ।” यो पेशालाई छोरी बुहारीले अङ्गाल्ने अपेक्षामा मैना हुनुहुन्छ । “हामीले त उमेरका कारण काम गर्न सक्न छाड्यौँ । हाम्रो छोरी बुहारीहरुले सीप सिकेर कहिलेकाही बुन्ने गरेका छन्”, उहाँले भन्नुभयो, “बावु बाजेको पेशालाई निरन्तरता दिन्छन् भन्ने आशा छ ।”

शान्ति प्रक्रियामा दमननाथ ढुङ्गाना र पद्मरत्न तुलाधरको योगदान बिर्सन नसकिने

By
Himalayan Tribune
-
June 22, 2024
0

पाटन (ललितपुर): उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियामा दमननाथ ढुङ्गाना र पद्मरत्न तुलाधरको योगदान बिर्सन नसकिने बताउनुभएको छ । पद्मरत्न लुमन्ति गुथिद्वारा आज यहाँ आयोजित ‘स्मृतिमा पद्मरत्न तुलाधर’ पुस्तक विमोचन तथा व्यक्तित्व सम्मान कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले भाषिक, साहित्यिक आन्दोलनमा मात्रै नभएर नेपाली राजनीतिको निरंकुशताविरुद्धको आन्दोलनमा पनि तुलाधरको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो ।

नेवा समुदायका अग्रज, मानवअधिकारवादी व्यक्तित्व, नेपालभाषा मङ्का खलका पूर्वअध्यक्ष तुलाधरको व्यक्तित्व समेटेर उक्त पुस्तक प्रकाशित गरिएको हो । “तुलाधरको बहुआयामिक व्यक्तित्व र प्रतिभाबाट धेरै कुरा सिक्न सकिन्छ, नेपाली समाजमा लोकतान्त्रिक उपलब्धि हासिल गर्न तुलाधरले गर्नुभएको योगदान अतुलनीय छ । उहाँ साहित्यकार, सिद्धहस्त पत्रकार, लेखक तथा जनप्रतिनिधिसमेत हुनुहुन्थ्यो ।

उहाँको योगदानलाई सम्मान गर्दै उहाँले देख्नुभएका सपना साकार पार्न सबै एकजुट भएर लाग्नुपर्छ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “लोकतान्त्रिक आन्दोलनको योद्दाका रुपमा समन्वयकारी भूमिका खेल्ने र सहकार्यको सूत्राधार गर्ने व्यक्तित्व तुलाधर हुनुहुन्थ्यो ।” उपप्रधानमन्त्री श्रेष्ठले पद्मरत्नसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको स्मरण गर्दै यस्ता सुयोग्य पात्रको सम्झानमा पुस्तक प्रकाशन गरेर उत्कृष्ट कार्य गरिएको बताउनुभयो । पुस्तकले एउटा यतिहासलाई जीवन्त बनाइराख्नुका साथै उहाँहरुको महत्वपूर्ण योगदानको स्मरण सदैव भइरहेको उहाँको भनाइ छ । “पद्मरत्न र दमननाथ संविधानसभाको प्रवक्ता हुनुहुन्थ्यो, उहाँहरुकै कारण आज यो व्यवस्थाका लागि सहज भएको छ, अब प्राप्त उपलब्धिलाई माध्यम र साधन बनाएर समृद्धि हासिल गर्न सकेमा समृद्ध मुलुक निर्माण हुनेछ । उहाँहरुले नेपाली समाजको परिवर्तनका लागि दिनुभएको योगदान महत्वपूर्ण छ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो ।

ढुङ्गाना र तुलाधरले शान्ति प्रक्रियामा पुर्याउनुभएको योगदान बिर्सन नसकिने भन्दै उहाँले सङ्क्रमणकालीन न्याय यथाशीघ्र पूरा गरिने बताउनुभयो । कार्यक्रममा पद्मरत्न तुलाधरसँग सहकार्य, भाषा साहित्यको योगदानमा लाग्ने, राजनीतिक मानवअधिकार आन्दोलनमा काम गर्ने सहकर्मी पूर्वसभामुख दमननाथ ढुङ्गाना, पूर्वराजदूत एवं पूर्वसांसद हिरण्यलाल श्रेष्ठ, भाषिक आन्दोलनका अग्रजद्वय वीरसिंह कंसाकार र नर्मदेश्वर प्रधानलाई सम्मान गरिएको थियो । पूर्वसभामुख ढुङ्गानाले तुलाधरको अभावमा शान्ति प्रक्रियासँग सम्बन्धित काम पूरा हुन नसकेको बताउँदै उहाँ भएको भए हालसम्म सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुगिसक्ने थियो होला भन्नुभयो । “अब देशको राजनीतिलाई धेरै जिम्मेवारीपूर्ण बनाउनुपर्नेछ, नेपाललाई उन्नत राष्ट्र बनाउने नीतिअनुसार छिमेकीप्रतिको नीति र विश्वप्रतिको नीति हुनु आवश्यक छ ।

अहिलेका नेताहरुले नैतिक धरातलमा उभिएर राष्ट्र र जनताका पक्षमा काम गर्नुपर्छ । उहाँ(तुलाधर)सँग नैतिक धरालत थियोे, उहाँको जीवनीबाट सबैले नैतिकताको पाठ सिक्नुपर्छ”, उहाँले भन्नुभयो । पूर्वराजदूत तथा पूर्वसांसद श्रेष्ठले तुलाधरसँग भाषा र पत्रकारिताको माध्यमबाट पहिलो सम्बन्ध बनेको स्मरण गर्दै तुलाधर एउटा जात वा समुदायको मात्रै नेता नभएको बताउनुभयो । “उहाँ नेपाली भाषाको पनि सम्पादक हुनुहुन्थ्यो । उहाँ राजनीतिक व्यक्तित्व मात्रै हैन देशभक्त पनि हुनुहुन्थ्यो, उहाँले साहित्य र शान्ति प्रक्रियामा विशेष योगदान पुर्‍याउनुभएको छ”, उहाँले भन्नुभयो । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले तुलाधरको योगदानलाई जीवन्त राख्न गुठीले गर्ने हरेक कार्यक्रममा महानगरका तर्फबाट सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

काठमाडौँ महानपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले तुलाधरले पुर्‍याउनुभएको योगदानलाई स्मरण गर्दै गुठीले आगामी दिनमा रचनात्मक र सिर्जनात्मक काम गर्ने विश्वास रहेको बताउनुभयो । डेनमार्कका लागि प्रस्तावित राजदूत, गुठीका उपाध्यक्ष तथा पद्मरत्न तुलाधरकी छोरी सुम्निमा तुलाधरले बुवाले जनताको मुक्तिका लागि जीवन अर्पण गर्नुभएकामा गौरवान्वित बनाएको बताउनुभयो । भाषा, साहित्य तथा राष्ट्र हितका लागि उहाँले पुर्‍याउनुभएको योगदान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा अध्ययन गर्न उपयोगी हुने ठानेर पुस्तक प्रकाशन गरिएको उहाँको भनाइ छ ।

काभ्रेपलाञ्चोकमा विपद् व्यवस्थापनको पूर्वतयारी

By
Himalayan Tribune
-
June 22, 2024
0

काभ्रेपलाञ्चोक: मनसुन सुरु भएसँगै प्राकृतिक प्रकोप तथा हुनसक्ने विपद्जन्य घटना र अवस्थाको व्यवस्थापन गर्न जिल्लास्थित सुरक्षाकर्मीले आपत्कालीन विपद् प्रतिकार्यको तयारी थालेका छन् । पाँचखालमा रहेको सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेडक्वाटरले उद्धार टोलीका लागि बनेपा नजिकमा ‘अस्थायी वेश’ राखेको छ । पनौती नगरपालिका–५ स्थित आइटी पार्कमा निर्माणाधीन सुरक्षण मुद्रण प्रेस भवनमा बसेको टोलीले जिल्लाको मुख्य सहर बनेपा आसपासका स्थानीय तहमा हुने मनसुन तथा विपद्मा उद्धार गर्ने जनाएको हो ।

उद्धार सामग्रीसहित सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ सशस्त्र प्रहरी टोलीलाई उद्धारमा खटिन तयारी अवस्थामा राखिएको जिल्लास्थित विपद् व्यवस्थापन समितिले जनाएको छ । गृह मन्त्रालयको निर्णय अनुसार पाँचखालमा रहेको हेडक्वाटरबाट रेखदेख तथा सञ्चालन हुने गरी उद्धारमा खटिनुपर्दाको अवस्थामा सडक र दूरीका हिसाबले पायक पर्ने स्थानमा छनोट गरी अस्थायी वेश राखिएको समितिले जनाएको छ । यसअघि काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका सशस्त्र प्रहरी टोलीले सुनकोशी नदीमा उद्धारको पूर्वाभ्यास गरेको थियो ।

संयुक्त पूर्वाभ्यासमा सशस्त्र प्रहरी अधिकृत तथा जवानद्वारा बाढीमा बगेका, डुबेका, पहिरोमा फसेका तथा बाढीमा फसेका व्यक्तिलाई उद्धार गरी अभ्यास गरिएको थियो । साथै उद्धारकर्मी आफैँ बाढीमा फसेर जोगिन सफल भएको प्रदर्शन गरिएको थियो । दुई जिल्ला विपद्को उच्च जोखिममा रहेकाले संयुक्त पूर्वाभ्यास गरिएको जनाइएको छ । जिल्लास्थित नेपाली सेनाको कालीजङ्ग गण धुलिखेलले सामुदायिक विपद् प्रतिकार्यका लागि काभ्रेपलाञ्चोकको १३ मध्ये १० स्थानीय तहमा ८० सामुदायिक विपद् प्रतिकार्य तालिम दिई जनशक्ति तयार पारेको छ ।

तालिममा विपद्को परिचय र व्यवस्थापन चक्र, प्रतिकार्यका लागि आवश्यक सामग्री, सीप तथा कला, बाढीपहिरो, डुबान, आगलागीलगायत विपद्का घटनाका दौरान उद्धार गर्ने तरिका, प्राथमिक उपचार, स्थानीय स्रोतसाधनको प्रयोग गरी उद्धार गर्ने, आधुनिक उपकरणको प्रयोगलगायत विषयमा जानकारी गराइएको गणका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले जानकारी दिनुभयो । काभ्रेपलाञ्चोकका अधिकांश भू–भाग पहाडी क्षेत्र, जिल्ला भएर बग्ने तीन ठूला नदी विपद्को हिसाबले जोखिमयुक्त मानिन्छन् । वर्षायाममा पहिरोको जोखिम, पुराना घर, बजार क्षेत्रमा बाक्लो बस्ती तथा जङ्गल इलाका धेरै भएकाले आगलागीका घटना हुँदै आएको घटनाक्रमले देखाएको छ ।

विपद्का घटनामा तत्काल उद्धारकर्मी पुग्न सम्भव नहुँदा कयौँ मानिसको ज्यान जानसक्ने सम्भावनालाई न्यूनीकरण गर्न स्थानीयद्वारा नै प्रतिकार्य गर्न सक्ने क्षमताको विकास गर्न तालिम दिइएको सिंहले बताउनुभयो । उहाँका अनुसार विपद्का क्रममा उद्धारकर्मीको उपस्थिति विना स्थानीयद्वारा ‘फस्ट रेस्पोन्डर’ का रुपमा युवाको क्षमता विकास गरिएको हो । प्राथमिक उपचार तथा मेडिकलसम्बन्धी प्रशिक्षण र अभ्यास, शिक्षार्थीबाट ‘डेमोन्स्ट्रेशन’ गरिएको गणपति प्रमुख सेनानी सिंहको भनाइ छ । गणले गत जेठमा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकको सीमास्थल भएर बग्ने इन्द्रावती नदीमा ‘मनसुन–४’नामक विपद् प्रतिकार्य अभ्यास गरेको थियो । गणले गत वर्ष पनि ‘मनसुन–३’ नामाकरण गर्दै अभ्यासमा बगेको र डुबेको, पहिरोमा फसेको व्यक्तिको उद्धार प्रदर्शन गरेको थियो ।

यसैबीच समितिको बैठकमा मनसुन तथा विपद्बाट प्रभावित हुनसक्ने स्थान पहिचान गरी सङ्कटको अवस्थामा रहेका समुदाय एवं बस्तीको पहिचान र जोखिम न्यूनीकरणका उपाय अवलम्वन गर्ने, विपद् प्रतिकार्यका लागि अवश्यक समग्रीको सम्बन्धित सबै निकायले तयारी अवस्थामा राख्ने, एम्बुलेन्स, दमकलसहितका उपकरण अन्तर स्थानीय तह समन्वय गरी परिचालन गर्नेलगायत निर्णय भएका छन् । विपद्को समयमा तत्काल सेवा दिनसक्ने गरी स्वास्थ्य संस्था, औषधि र जनशक्तिलाई तयारी अवस्थामा राख्ने, विकासका आयोजना सञ्चालन गर्दा र निर्माण सामाग्री उत्पादन गर्दा विपद् जोखिम न्यूनीकरणका उपाय अवलम्बन गरी मापदण्डको पूर्णपालना गर्नुपर्ने पनि निर्णय भएका समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी सूर्य सेढाईंले जानकारी दिनुभयो ।

उहाँका अनुसार मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१ तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएअनुसार जिल्लाका स्थानीय तहसँग मनसुनजन्य विपद्को प्रकृतिगत रुपमा सम्भावित स्थान र जोखिमको पूर्वानुमान विवरण मागिएको छ ।

समझदारीअनुरूप नै सत्तासमीकरण निरन्तर रहन्छ : प्रधानमन्त्री

By
Himalayan Tribune
-
June 22, 2024
0

काठमाडौँ : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ दलहरूबीच भएको समझदारीअनुरूप नै वर्तमान सत्तासमीकरण निरन्तर रहने बताउनुभएको छ । तामाङ राष्ट्रिय मुक्तिमोर्चाको सातौँ राष्ट्रिय महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्रीले वर्तमान सत्तासमीकरणमा कुनै समस्या र असमझदारी नरहेको स्पष्ट पार्दै समझदारीअनुरूप नै सत्तासमीकरणले निरन्तरता पाउने बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, “आजभोलि बजारमा सरकार के हुन्छ, सत्तासमीकरण के हुन्छ भन्ने किसिमको प्रश्न उठाउन खोजिएको छ ।

यस्तो प्रचार र आशङ्का म प्रधानमन्त्री भएको दिनदेखि नै थियो । तर कुनै समस्या छैन । अहिले पनि सरकार के हुन्छ भन्ने जिज्ञासा र भ्रम पनि देख्छु । तर केही हुँदैन । हामी समझदारीका साथ नै अगाडि बढेका छौँ ।समझदारीका साथ नै अगाडि बढ्छौँ । सत्तासमीकरणमा कुनै समस्या छैन र हुँदैन ।” प्रधानमन्त्रीले मुलुकका जाति, जनजातिले गरेको त्याग र सकारात्मक योगदानका कारण देशमा ठूलो राजनीतिक परिवर्तन सम्भव भएको बताउनुभयो। उहाँले भन्नुभयो,”विभिन्न जाति, जनजातिहरूको योगदान नभएको भए आजको राजनीतिक परिवर्तन सम्भव थिएन ।

उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गका विषय हाम्रा हुन् । उत्पीडित वर्गले जति अधिकार पाएका छन्, त्यो माओवादीका कारण प्राप्त भएको हो ।” प्रधानमन्त्रीले जनयुद्ध कुनै पार्टी विशेषको नभएर आमनेपाली मुक्तिकामी जनताको सङ्घर्ष भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “जनयुद्ध जनताको युद्ध थियो । लाखौँ जनताले आफ्नो मुक्तिका लागि सङ्घर्ष नगरेको भए आजको परिस्थिति आउँदैनथ्यो । आज हामी नितान्त भिन्न परिस्थितिमा छौँ । हामी परिवर्तनका उपलब्धि रक्षा गर्न र समाजवादको आधार तयार पार्न शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धासहितको समझदारीमा आएका हौँ ।

यही आधारमा टेकेर समाजवादको मार्ग तयार गर्छौं । प्रधानमन्त्रीले चाँडै पार्टी केन्द्रीय समितिको बैठक गरेर विशेष महाधिवेशनको मिति निर्धारण हुने बताउँदै पार्टीका सबै नेताकार्यकर्ताले फुर्सद नपाउनेगरी अभियान सञ्चालन गरिने जानकारी दिनुभएको प्रधामन्त्रीको निजी सचिवालयले जनाएको छ ।

पोखरामा इन्ड्राइभलगायतका ‘राइड सेयरिङ’ सञ्चालनमा रोक

By
Himalayan Tribune
-
June 22, 2024
0

गण्डकी: कास्कीको पोखरामा अनधिकृत रुपमा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने कार्य तत्कालका लागि बन्द गरिएको छ । यातायात व्यवस्था कार्यालय कास्कीले उक्त एपमार्फत यात्रु ओसारपसार गर्ने कार्य तुरुन्त बन्द गर्न शुक्रबार सार्वजनिक सूचना जारी गरेको हो । सूचनाको अटेर गरी यात्रु बोक्ने कार्य जारी राखेमा यसमा संलग्नलाई कारबाही गरिने सूचनामा उल्लेख छ ।

यातायात कार्यालय पोखराका प्रमुख डिल्लीराम रिजालले कानुनविपरीत निजी सवारीसाधनले ‘राइड सेयरिङ’ सेवा सञ्चालन गरिरहेको पाइएकाले त्यसलाई रोक लगाइएको बताउनुभयो । “अनधिकृत रुपमा एपको प्रयोग गरी यात्रु बोकेमा सवारी तथा यातायात व्यवस्था ऐनअनुसार कारबाही हुन्छ”, उहाँले भन्नुभयो, “प्रकाशित सूचना अनुसार काम भए नभएको बारेमा प्रहरीको सहयोगमा कडाइका साथ अनुगमन गर्छौं ।” गण्डकी प्रदेशमा ‘राइड सेयरिङ’ एपमार्फत हुने यातायात सेवालाई वैधानिक बनाउन सवारी तथा यातायात व्यवस्था नियमावली–२०८० मा व्यवस्था भए पनि नियमनका लागि कार्यविधि भने बनेको छैन ।

नियमावलीमा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधनले यात्रु बीमासहित तोकिएको प्रक्रिया पूरा गरेर यात्रु बोक्न पाउने व्यवस्था छ । साथै यातायात कार्यालयले नै सार्वजनिक सवारीका लागि भाडादर तोक्ने गर्छ । तर हाल सञ्चालनमा रहेका इन्ड्राइभलगायतका निजी सवारीसाधनले भने आफै एप बनाएर भाडादर आफै लागु गर्ने गरेका छन्, तर कानुनअनुसार यस्तो कार्य अवैध हो । “नियमवली बनेपछि मापदण्ड नबन्दा गण्डकी प्रदेशमा राइड सेयरिङ सेवालाई नियमन गर्न सकिएको छैन”, कार्यालय प्रमुख रिजालले भन्नुभयो, “अहिले यातायात कार्यालयको अनुमतिसमेत नलिई आफूखुसी एपमार्फत यात्रु ओसारपसार गर्ने कार्य भइरहेको छ, आफै भाडा तोकेर सञ्चालन भएको छ । यातायात कार्यालयले समायोजन गर्ने गरेको भाडाबमोजिम छ कि छैन भनेर पनि निजी सवारीसाधनले हेर्ने गरेका छैनन् । गण्डकी प्रदेशमा राइड सेयरिङ सेवा गैरकानुनी छ ।” मापदण्ड र कार्यविधि बनेपछि मात्र निजी सवारीसाधन ‘राइड सेयरिङ’मा दर्ता हुन पाउने छन् ।

मोबाइल एपको प्रयोगमार्फत यातायात सेवा लिन सकिने ‘राइड सेयरिङ’हरु पोखरामा यात्रु भने बढ्दै छन् । यहाँ यी सवारीसाधन लोकप्रिय बन्दै गएका भए पनि नियमन गर्न र वैधानिक बनाउन भने सकिएको छैन । नेपालमा पठाओ, टुटल, सहारा, इनड्राइभ, सजिलो, ट्याक्सिमान्डु, क्याब ट्याक्सीलगायत राइड सेयरिङ एप सञ्चालनमा छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा कम्पनी रजिष्ट्रारको कार्यालय तथा उद्योग विभागमा दर्ता भएको इनड्राइभलगायत ‘राइड सेयरिङ’ चलिरहेको छ । यातायातसम्बन्धी कानुनअनुसार यसले गण्डकीमा हालसम्म वैधानिकता पाएको छैन । ‘राइड सेयरिङ’ सेवाका लागि दुई पाङ्ग्रे सवारीसाधन दर्ता गर्न रु २५ हजार र नवीकरण शुल्क प्रतिवर्ष रु १२ हजार पाँच सय तोकिएको छ ।

चार पाङ्ग्रे सवारी साधनको दर्ता तथा अनुमति शुल्क रु ५० हजार र नवीकरण शुल्क रु २५ हजार कायम गरिएको छ । दुई पाङ्ग्रे र चार पाङ्ग्रेको दर्ता अनुमतिका लागि रु ७० हजार र वार्षिक नवीकरण रु ३५ हजार तोकिएको छ । सार्वजनिक यातायात क्षेत्रमा यात्रु ठगिने र दुःख पाउने अवस्थाको अन्त्यका लागि ‘राइड सेयरिङ’लाई वैधानिकता दिनुपर्ने माग हुँदै आएकाले राइड सेयरिङ एपहरुको नियन्त्रण र व्यवस्थापन जरुरी रहेको बताइएको छ ।

यातायात व्यवसायी महासङ्घ गण्डकी प्रदेशका संयोजक केदार पौडेलले राइड सेयरिङ सेवालाई कानुनको दायरामा ल्याउनुपर्ने बताउनुभयो । “जसलाई मन लाग्यो उसैले एप राखेर यात्रु बोक्न पाइँदैन, सरकारले नियमन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “निजी सवारीसाधनले आफूखुसी यात्रु बोकेपछि सार्वजनिक यातायात किन चाहियो ?”

ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै

By
Himalayan Tribune
-
June 22, 2024
0

गलकोट (बागलुङ) : बागलुङमा ठूला राजमार्गसँग जोडिएका ग्रामीण सडक कालोपत्र भइसक्दा पनि जिल्लाका मुख्य सडक भने कालोपत्र हुनसकेका छैनन् । यहाँका तीन मुख्य सडक वर्षौंदेखि कालोपत्र हुन सकेका छैनन् । विसं २०७२ मा कालोपत्र गर्न ठेक्का सम्झौता भएको मध्यपहाडी पुष्पलाल राजमार्ग अझै धुलाम्य अवस्थामा छ ।

गण्डकी प्रदेश सरकार अन्तरगतका चार सडक सम्पन्नको चरणमा छन् । एउटा सडक अझै अधुरै छ । गलकोटको हटियादेखि ताराखोला जोड्ने सडक, बागलुङ नगरपालिका–४ कुडुलेदेखि मालिका हुँदै पञ्चकोट पुग्ने सडक र ढोरपाटनदेखि म्याग्दी जोड्ने सडक निर्माण सम्पन्न भइसकेका छन् । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तरगत बागलुङ बजारदेखि घोडाबाँधे सम्मको २५ किमि सडक पाँच पटक म्याद थप्दासमेत सम्पन्न हुन सकेको छैन । बागलुङ नगरपालिका–४ कुडुँलेदेखि मालिका हुँदै पञ्चकोट पुग्ने सडक सम्पन्न भएको छ ।

गलकोटको हटियादेखि ताराखोला जोड्ने सडक र ढोरपाटनदेखि म्याग्दी जोड्ने सडक कालोपत्र गरिएको छ । राङ्खानी–बरेङ सडकमा कालोपत्र गर्ने काम अन्तिम चरणमा छ । पछिल्लो तीन महिनायता ग्रामीण सडक ४० किमि कालोपत्र गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले ग्रामीण सडक धमाधम कालोपत्र गरिँदा मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ सदरमुकाम खण्ड र राष्ट्रिय प्राथमिकताको आयोजनाको रुपमा रहेको शालझण्डी ढोरपाटन सडक र राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोर अझै कालोपत्र हुन नसक्नु दुःखद भएको बताउनुभयो । “कतै निर्माण व्यवसायीको लापरबाही त कतै सरकारले भुक्तानी नदिँदा ठूला सडक कालोपत्र हुन सकेका छैनन्”, उहाँले भन्नुभयो । सिगानाको एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक र कालीगण्डकी करिडोरको बागलुङ खण्ड सरकारले भुक्तानी दिन नसक्दा कालोपत्र भएको छैन ।

कुश्मिसेरादेखि राङ्खानीसम्मको १० किमि सडक पनि अधुरै छ । विसं २०७२ मा दुई वर्षमा सक्ने गरी ठेक्का सम्झौता भए पनि पाँच पटकसम्म म्याद थप गर्दासमेत बागलुङ बजारदेखि बिहुँ खण्डको १३ किमि सडक ६ किमि मात्रै कालोपत्र भएको छ । बिहुँदेखि घोडाबाँधे सम्मको १२ किमि सडक कालोपत्र सम्पन्न नहुँदै ठेक्का रद्द गरेर नयाँ ठेक्का लगाइएको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतका इञ्जिनीयर उज्जल शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– “सम्झौताको नौ वर्षसम्म सडक कालोपत्र भएको छैन ।”

पाँच ओटा प्रदेशमा मनसुनको प्रभाव

By
Himalayan Tribune
-
June 22, 2024
0
काठमाडौँ: देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । कोशी प्रदेशबाट भित्रिएको मनसुन मधेस, बागमती र गण्डकी प्रदेशको अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य प्रदेशमा भने अझै पश्चिमी वायु र स्थानीय वायुको प्रभाव न्यून छ ।
मनसुन र पश्चिमी वायुको प्रभावले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आज बिहान पूर्णतया बदली छ भने बाँकी भूभागमा आंशिक बदली छ । अहिले गण्डकी प्रदेशका केही भूभाग तथा बागमती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, कोशी र मधेश प्रदेशका थोरै तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ । गण्डकी प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

By
Himalayan Tribune
-
June 22, 2024
0

मुग्लिन (चितवन): पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार उक्त सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा गए राति १ः३० बजेदेखि सडक दुइतर्फी अवरुद्ध भएको थियो । पहिरो पञ्छाएसँगै अवरुद्ध सडक आज बिहान ५ः३० बजेदेखि दुइतर्फी सञ्चालनमा आएको हो । सडक अवरुद्ध हुँदा रोकिएका सबै सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

अमेरिकामा ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’

By
Himalayan Tribune
-
June 22, 2024
0

काठमाडौँ: अमेरिकाको मेरिल्याण्डमा ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को सातौँ संस्करण सुरू भएको छ । नवीन सुब्बाले निर्देशन गर्नुभएको चलचित्र ‘गाउँ आएको बाटो’ को अमेरिका प्रदर्शनी (युएसए प्रिमियर) सँगै सुरू भएको उक्त महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका चलचित्र, वृत्तचित्र, छोटा र सजीवता (एनिमेसन) विधाका गरी ३५ चलचित्र प्रदर्शन गरिने महोत्सव निर्देशक पूर्णसिंह बराइलीले जानकारी दिनुभयो । “नेपाल र अमेरिकाको कला, संस्कृति, परम्परा, ज्ञानलाई चलचित्रमार्फत जोड्ने उद्देश्यले महोत्सव आयोजना गरेका हौँ ।

यसपटकको संस्करणमा हामीले छनोट गरेका चलचित्रले नेपालको आम जनजीवन र प्रवास नियतिलाई प्रष्ट्याउने छ”, उहाँले भन्नुभयो । यही असार ९ गतेसम्म चल्ने उक्त महोत्सवमा प्रदर्शन गरिएकामध्येबाट उत्कृष्ट चलचित्रलाई विभिन्न अवार्ड प्रदान गरिने छ । महोत्सवको उद्घाटन समारोहमा निर्देशक सुब्बासँगै सहभागी हुनुभएका अभिनेता दयाहाङ राईले यस्ता गतिविधिले नेपाली चलचित्रको प्रवद्र्धनमा मद्दत पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अमेरिकामा बस्ने नेपालीको सक्रियतामा आयोजना हुने महोत्सवले नेपाली चलचित्रका दर्शक बढाउने छन् ।

यसले नेपाली मात्र नभई विदेशी दर्शकलाई पनि आकर्षित गरेको छ । साथै, यस्ता महोत्सवमा देखाउन योग्य चलचित्र गाउँ आएको बाटो लिएर आउन पाउँदा झनै हर्षित छु ।” महोत्सवलाई नेपाल अमेरिका फिल्म सोसाइटीले आयोजना गरेको हो ।

1...757758759...1,302Page 758 of 1,302

हिमालयन ट्रिब्युनको लागि

  • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
  • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
  • सम्पादक: गजे घले
  • व्यवस्थापक: आशिष पोखरेल
  • CONTACT
  • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
  • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune