Wednesday, May 13, 2026
Home Blog Page 756

सरकारी कर्मचारीको मर्यादाक्रमका आधारमा तलबमान निर्धारण गर्न परमादेश

0

काठमाडौँ : सर्वोच्च अदालतले सरकारी कर्मचारीको मर्यादाक्रमका आधारमा तलबमान निर्धारण गर्न परमादेश गरेको छ ।न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आज सरकारी कर्मचारीको मर्यादाक्रमका आधारमा तलबमान निर्धारण गर्न सरकारको नाममा परमादेश जारी गरेको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतका उपरजिस्टारहरू निराजन शर्मा र निराजन पाण्डे, सर्वोच्च अदालतकै इजलास अधिकृत भेषराज कोइराला र ज्ञानेन्द्र दाहाल, गृह मन्त्रालयमा कार्यरत कानुन अधिकृत ऋषि पौडेल, महालेखापरीक्षकको कार्यालयका निर्देशक मुकुन्द घिमिरे, सर्वोच्च अदालतका शाखा अधिकृत वसन्त मैनाली, महान्यायाधिवक्ता कार्यालयका सहायक न्यायाधिवक्ता बाबुराम भट्टराई, लेखा अधिकृत कृष्णप्रसाद पन्थ, सर्वोच्चका लेखा अधिकृत टामलाल अधिकारीसहित विभिन्न कार्यालयमा कार्यरत ३३ जना कर्मचारीले रिट निवेदन दायर गर्नुभएको थियो । रिट निवेदनमा २०७६ वैशाख १६ गते सरकारले कर्मचारीको मर्यादाक्रम निर्धारण गरेकामा सोअनुसार आफूहरूले तलब नपाएको उल्लेख गरिएको थियो ।

सांसदका १२ प्रश्नमा अर्थमन्त्री पुनको जवाफ

0

काठमाडौँ: अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि अर्थ मन्त्रालयको वार्षिक कार्यक्रमबारे प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । आज प्रतिनिधिसभा बैठकमा मन्त्री पुनले सांसदका प्रश्न र जिज्ञासाको जवाफ दिँदै अबण्डामा ठूलो रकम राखेको भन्ने सांसदहरुका प्रश्नको खण्डन गर्नुभयो । उहाँले अर्थ मन्त्रालयका लागि आगामी आवमा रु ४८ अर्ब ६१ करोड मात्र विनियोजन गरिएको बताउनुभयो ।

वित्तीय हस्तान्तरणअन्तर्गत वित्तीय समानीकरण अनुदानतर्फ रु एक खर्ब ४८ अर्ब, समपूरक अनुदानतर्फ रु १३ अर्ब २० करोड र विशेष अनुदानतर्फ रु १२ अर्ब ९० करोड गरी एक खर्ब ७४ अर्ब बढी रकम प्रदेश र स्थानीय तहमार्फत खर्च हुने रकम भएको उहाँले संसद्लाई जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “छलफलका क्रममा सांसदले अर्थ मन्त्रालयले रु दुई खर्ब रकम अबण्डामा राखेको आरोप लगाएका थिए, अर्थ मन्त्रालयलाई विनियोजन गरिएको जम्मा रु ४८ अर्ब ६१ करोड मात्र हो ।

बाँकी बजेट वित्तीय हस्तान्तरणअन्तर्गत वित्तीय समानीकरण अनुदानतर्फ रु एक खर्ब ४८ अर्ब, समपुरक अनुदानतर्फ रु १३ अर्ब २० करोड र विशेष अनुदानतर्फ रु १२ अर्ब ९० करोड गरी रु एक खर्ब ७४ अर्बभन्दा बढी रकम प्रदेश र स्थानीय तहमार्फत खर्च हुने रकम भएको जानकारी सम्मानित संसदमा गराउन चाहन्छु ।” अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षका लागि चालु खर्च ६१ दशमलव ३१ प्रतिशत, पुँजीगततर्फ १८ दशमलव ९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १९ दशमलव ७४ प्रतिशत प्रस्ताव गरिएको जानकारी दिनुभयो । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि चालु खर्च घटाइएको र पुँजीगत खर्चतर्फ बजेट वृद्धि गरिएको बताउनुभायो ।

बजेट कार्यान्वयन प्रभावकारी बनाउन आयोजना अवधिभर आयोजना प्रमुखको सरुवा नगर्ने, राष्ट्रिय प्राथमिकताका आयोजनामा दुई सिफ्टमा काम गर्ने, विकास आयोजना कार्यान्वयनसम्बन्धी कानुन तर्जुमा गर्ने, बजेट कार्यान्वयन कार्ययोजना असार मसान्तभित्र तयार गर्ने र आवश्यक कार्यविधि, मापदण्ड, निर्देशिका श्रावण मसान्तभित्र तयार गर्नुपर्ने व्यवस्था बजेटमा गरिएकाले पुँजीगत खर्चमा सुधार हुने तथा बजेट कार्यान्वयन उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो । सबै क्षेत्रको सन्तुलित विकासमा सरकार प्रतिबद्ध छ मन्त्री पुनले बजेट तर्जुमा गर्दा प्रचलित ऐन, कानुन, बजेट तर्जुमा दिग्दर्शन एवं स्वीकृत प्रणालीअनुरूप छलफल तथा स्वीकृति गर्ने प्रक्रियामा सबै जनप्रतिनिधिको अहम् भूमिका र अधिकार समान छ भन्नेमा सरकार स्पष्ट रहेको उल्लेख गर्नुभयो ।

सरकार सबै भौगोलिक क्षेत्र, वर्ग, समुदायको समानुपातिक र सन्तुलित विकासप्रति प्रतिबद्ध रहेको उहाँको भनाइ छ । यद्यपि सरकारले बजेट विनियोजन गर्दा आयोजना बैंकमा आबद्ध भएका, बहुवर्षीय स्रोत सहमति दिएका, आगामी आवमा सम्पन्न हुने, सिर्जित दायित्व भुक्तानी गर्नुपर्ने, क्रमागत रूपमा रहेका तथा अनिवार्य दायित्वअन्तर्गत खर्च हुने आयोजना तथा कार्यक्रममा प्राथमिकतापूर्वक अनिवार्य बजेट प्रस्ताव गर्नुपर्ने स्पष्ट गर्नुभयो । “त्यसरी प्रस्ताव गर्दा सबै निर्वाचन क्षेत्रमा समान विनियोजन नभएको हुनसक्छ”, उहाँले भन्नुभयो, “तर नेपाल सरकारले कुनै दल वा नेता वा मन्त्रीको निर्वाचन क्षेत्रका लागि मात्रै बढी बजेट छुट्याइएको भन्ने सत्य होइन र सरकारको प्राथमिकता सन्तुलित एवं समानुपातिक विकास रहेकाले त्यसमा हामी प्रतिबद्ध छौँ ।” ठूला आयोजना सङ्घ, मझौला प्रदेश र साना स्थानीय तहमा आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्दा व्यावहारिक र प्रतिफल प्राप्त होस् भन्ने उद्देश्यले सङ्घ, प्रदेश र स्थानीय तहबीच दोहोरोपना हुन नदिने, ठूला आयोजना सङ्घबाट कार्यान्वयन गर्ने, मझौला प्रकृतिका आयोजना प्रदेशबाट र साना आयोजना स्थानीय तहबाट कार्यान्वयन गर्ने विषयमा सरकार दृढ रहेको मन्त्री पुनले उल्लेख गर्नुभयो ।

वित्तीय हस्तान्तरणअन्तर्गत शसर्त अनुदानतर्फका कतिपय आयोजना सम्पन्न गर्नका लागि रु तीन करोडभन्दा न्यून विनियोजन भएका केही आयोजना तथा कार्यक्रम हुनसक्ने भन्दै त्यसबारे थप जानकारी सम्बन्धित मन्त्रीहरुबाट हुने उहाँले बताउनुभयो । जलवायु कोषको प्रयोग तथा ग्रीन ‘फाइनान्सिङ’ प्रयोग गर्ने सम्बन्धमा वातावरणीय न्यायको सिद्धान्तअनुरूप अधिकारमुखी अवधारणामा उपलब्ध हानी तथा क्षति कोषलगायत जलवायुकोष तथा सुविधाका आधारमा सहायता परिचालन गरिने विश्वास मन्त्री पुनले दिलाउनुभयो ।

सार्वजनिक ऋणको भारका सन्दर्भमा उहाँले कूल ग्रार्हस्थ उत्पादनमा कूल सार्वजनिक ऋणको अनुपात ४० प्रतिशतभन्दा तल नै रहेको हुँदा सार्वजनिक ऋणको उपयोग उत्पादनमूलक क्षेत्रमा गर्ने व्यवस्था मिलाइएको र त्यसले मुलुकको समृद्धिमा टेवा पुर्याउने विश्वास लिएको उल्लेख गर्नुभयो । स्रोत सुनिश्चित गरिएका आयोजना र सिर्जित दायित्व भुक्तानी तथा आगामी वर्ष सम्पन्न हुने अधुरा आयोजनाका लागि आवश्यक रकम विनियोजन गरिनुका साथै युवा तथा खेलकुद मन्त्रालयलाई विगतको तुलनामा आगामी आवका लागि झण्डै २२ प्रतिशतले बजेट वृद्धि गरिएबाट खेलकुद क्षेत्रलाई बजेटले उच्च महत्व दिएको स्पष्ट गर्नुभयो ।

चालु आवको राजस्व सङ्कलनको तुलनामा आगामी आवको राजस्व सङ्कलनको लक्ष्य सन्तुलित रहेको जानकारी पुनले दिनुभयो । अर्थतन्त्र चलायमान गराउने स्पष्ट कार्ययोजनासहित राजस्व सङ्कलन एवं सघन बजार अनुगमन बढाउने र राजस्व चुहावट नियन्त्रण गर्ने कार्यलाई समन्वयात्मक ढङ्गले परिचालन गर्दा राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न सकिने विश्वास रहेको उहाँको भनाइ थियो ।

सांसदहरूले बजेटमाथिको छलफलका क्रममा अर्थ मन्त्रालयमा अबण्डा शीर्षकमा ठूलो रकम राखिएको, पुँजीगत खर्च न्यून तथा खर्च गर्ने क्षमता कमजोर रहेको, सार्वजनिक ऋण, चालु खर्च र वित्तीय व्यवस्थातर्फको खर्च बढ्दै गएको, चालु खर्च नै राजस्वले धान्न नसक्ने, आयोजना बैंकको अवधारणालाई मूर्तरूप दिन नसकिएको, प्रभावशाली नेता र मन्त्रीहरूका जिल्ला र निर्वाचन केन्द्रका लागि बढी बजेट विनियोजन गरिएको सहित १२ वटा प्रश्न गरेका थिए ।

नदीमा पानीका बहाब बढेपछि मेलम्ची खानेपानी आयोजना बन्द

0

काठमाडौँ: सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गरिएको छ । मेलम्ची नदीको बहाब बढेर बाढी आइ पानी धमिलिन थालेपछि आपूर्ति बन्द गरिएको जनाइएको छ । माथिल्लो तटीय क्षेत्रमा पानी परिररहेको र मेलम्ची नदीमा आएको बाढीले आयोजनाको बाँधमा क्षति पु¥याएको थियो ।

साथै आयोजनासम्म जाने पुल बगाएपछि आयोजनालाई सुरक्षित गर्न आजदेखि आपूर्ति बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिनुभयो । “नदी नधमिलिएसम्म उपत्यकावासीलाई खानेपानीको आपूर्ति सहज बनाउन हामीले मेलम्ची खानेपानी आयोजना सञ्चालन नै राखेका थियौँ”, उहाँले भन्नुभयो, “तर नदीमा बाढी आउन थालेपछि आजदेखि बन्द गर्न बाध्य भएका हौँ, मनसुन सक्रिय रहुञ्जेल आयोजना बन्द नै रहनेछ ।” गत जेठ ३१ गतेदेखि नै आपूर्ति बन्द गर्ने भनिए पनि ठूलो वर्षा नहुँदा बन्द गरिएको थिएन् ।

समितिले गत शुक्रबार पनि मेलम्ची बन्द गर्ने तयारी गरेको थियो । तर नदीमा पानीको वहाब नबढेपछि आयोजना सञ्चालन नै राखिएको थियो । लामिछानेका अनुसार परामर्शदाता तथा एसियाली विकास बैंक (एडिबी) ले मनसुनी जोखिमबाट आयोजनालाई जोगाउन मेलम्ची बन्द गर्न सुझाव दिएका थिए । मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्समा हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले वर्षा सुरुभएसँगै आयोजना बन्द गर्ने र वर्षा सकिएपछि सञ्चालन गर्दै आएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा सरदर मनसुन जुन १३ मा भित्रिने गरे पनि यो पटक तीन दिन चाँडो मनसुन भित्रिएको थियो । मनसुन अक्टोबर २ मा बाहिरने अनुमान छ ।

सरकारले विश्व बैंकलगायत दातृराष्ट्रबाट प्राप्त हुने अनुदान र सहुलियतपूर्ण ऋण स्वीकार्ने

0

काठमाडौँ: सरकारले विश्व बैंकलगायत विभिन्न दातृराष्ट्रबाट प्राप्त हुने अनुदान र सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले स्थानीय पूर्वाधार सहयोग कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशमा भूकम्पका कारण भएको क्षतिको पुनःनिर्माण र पुनःस्थापनाका लागि बेलायत सरकारबाट प्राप्त हुने थप आठ दशमलव एक मिलियन पाउण्ड स्टर्लिङ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको बताउनुभयो ।

यस्तै, यही असार २७ गतेदेखि २९ सम्म चीनको बेइजिङमा आयोजना हुने उच्चस्तरीय सम्मेलनमा अर्थमन्त्रीको भ्रमण स्वीकृत गर्ने निर्णय गरिएको छ । आर्थिक वर्ष २०८०/८१ मा स्थानीय तहलाई वित्तीय समानीकरण अनुदानतर्फ विनियोजन भएको कूल रकम रु ८७ अर्ब ३५ करोड २९ लाखको ९३ प्रतिशतले हुने रकम रु ८१ अर्ब २३ करोड ८१ लाखमध्ये रु ६४ अर्ब २४ करोड ५९ लाख हस्तान्तरण भएकाले हस्तान्तरण हुन बाँकी रकम रु १६ अर्ब ९९ करोड २२ लाखलाई तत्तत् स्थानीय तहमा सोही अनुपातका आधारमा हस्तान्तरण गर्ने पनि बैठकले निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठकले निलम्वित मुख्यसचिव डा वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना अयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिवस्तरको पद सिर्जना गरी उहाँलाई उक्त पदमा सरुवा गर्ने निर्णय गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको यही असार ९ को पत्रानुसार मुख्यसचिव डा वैकुण्ठ अर्यालविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दर्ता भएको हुँदा प्रचलित कानुनबमोजिम निज स्वतःनिलम्वन हुनुभएको छ । बैठकले विद्युत् नियमन आयोगको रिक्त अध्यक्ष पदमा डा रामप्रसाद धिताललाई नियुक्त गरेको छ । आयोगको सदस्यमा डा मधुसुधन अधिकारी र झमकप्रसाद शर्मा नियुक्त हुनुभएको छ । यस्तै राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक पदमा डा राजेन्द्रप्रसाद यादवलाई नियुक्त गर्ने निर्णय गरेको सरकारले नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशक नियुक्तिका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवको संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ ।

सरकारले अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्य कार्यक्षेत्र रहनेगरी सञ्जिवकुमार शर्मा र भिक्टोरिया राज्य कार्यक्षेत्र रहनेगरी श्री निराजन गौलीलाई अवैतनिक वाणिज्यदूत नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले नेपाल र चीनबीच द्विपक्षीय परामर्श संयन्त्रको १६औँ बैठक २०८१ असार १० देखि १२ सम्म काठमाडौँमा आयोजना गर्ने, बैठकमा भाग लिन परराष्ट्र सचिवको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन गर्ने र उक्त बैठकको कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको छ । यस्तै, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङको १५ श्ययाको अस्पताल भवन निर्माण र यातायात व्यवस्था सेवा कार्यालय बर्दिवासको भवन निर्माणका लागि सरकारी जग्गा उपयोग गर्न स्वीकृति दिने निर्णय भएको छ ।

यसैगरी सरकारले साझा प्रकाशन (सहकारी संस्था लि) को सञ्चालक समितिको सदस्य पदमा रमेशप्रसाद भट्टराईलाई तोक्ने निर्णय गरेको छ भने समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समितिमा उद्धवप्रसाद तिमल्सेनालाई मनोनयन गरिएको छ । धादिङ र गोरखा जिल्लामा रहेको ‘श्री ५ को वायु गुठी’ का जग्गाको अध्ययन गरी समस्या समाधानार्थ तीन महिनाभित्र रायसुझावसहितको प्रतिवेदन पेस गर्न पद्मनिधि सोतीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरिएको सञ्चारमन्त्री शर्माले बताउनुभयो ।

बैठकले सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजनाअन्तर्गत पुर्कोटदह–म्यालपोखरी–सिर्सेनी सडकखण्डमा पर्ने गुल्मी जिल्ला मदाने गाउँपालिका वडा नं २, ४ र ६ का घरटहरा संरचना क्षतिपूर्ति दिइ हटाउन स्वीकृति दिएको छ । मन्त्रिपरिषद्ले यही असार १४ गतेदेखि २० गतेसम्म गणतन्त्र कोरियाको सिओलमा आयोजना हुने कार्यक्रममा सहभागिताका लागि युवा तथा खेलकुदमन्त्रीको वैदेशिक भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको पनि त्यसअवसरमा जानकारी दिइयो । महाकाली सिँचाइ आयोजना (तेस्रो चरण) मूल नहर निर्माण, चौँरीदेउराली गाउँपालिका काभ्रेपलाञ्चोकको प्रशासनिक भवन निर्माण र माथिल्लो म्याग्दी जलविद्युत् आयोजना निर्माणका लागि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिने निर्णय भएको छ ।

साथै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने, पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी नियमावली, २०८१, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति (तेस्रो संशोधन) आदेश, २०८१ स्वीकृत गर्ने र प्रतिलिपि अधिकारसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरिएको पनि मन्त्री शर्माले पत्रकारहरुलाई जानकारी दिनुभयो ।

मध्यकाली गण्डकीलाई नौ अर्ब लगानी जुट्यो

0

बिर्तामोड–शनिश्चरे सडक कालोपत्र : स्थानीयवासी खुसी

0

‘वर्षमा दश जोर लुगा सिलाएर बिक्री गर्दा घरखर्च राम्रैसँग चलेको छ’

0

वेदकोट (कञ्चनपुर): कञ्चनपुरको लालझाडी गाउँपालिका–४ खल्लाजाइँकी ४६ वर्षीया मन्तुरा राना परम्परागत पहिरन सिलाउने काम गर्नुहुन्छ । राना थारु समुदायका लोप हुँदै गएका पहिरन सिलाउँदै उहाँले आफ्नो परिवारको घरखर्च जोहो गर्दै आउनुभएको छ ।

दोदा नदीको बगरमा मन्तुराले बगर खेती पनि गर्नुभएको छ । तरकारी हेरचाह गर्न छाप्रो बनाएर बस्नुभएकी उहाँ फुर्सदको समयमा पहिरन सिउने काममा व्यस्त हुनुहुन्छ । “आजभोलि लुगा सिउने मेसिनले कपडा सिउँदा निकै सजिलो भएको छ । परम्परागत पहिचान बोकेका पहिरन लगाउने क्रम अहिले घट्दो छ”, उहाँले भन्नुभयो, “कुनै कार्यक्रम, चाडबाडमा मात्रै यस्तो लुगा लगाउँछन् । पहिचान संरक्षणका लागि टेवा पु¥याउन सकेकोम खुसी लाग्छ ।” रानाथारु समुदायले लगाउन अङ्गिया (चोली), घगरिया, उनिया (चुन्नी) लगायतका पोसाक तयार पार्ने गरेको उहाँले बताउनुभयो ।

ती कपडामा फूलजस्तै देखिने फुर्का लगाउनुपर्छ । आमाबाट सिकेको सीपले मेहनत गर्दै आकर्षक पहिरन तयार पारेर पस्किने गर्नुभएको छ । “ आमासँग लुगा सिलाउने सिकँे । अहिले त्यहीँ सीपले गुजारा चलेको छ । एक जोर लुगा तयार गर्न एक महिनाभन्दा बढी समय लाग्छ ”, उहाँले भन्नुभयो, “लुगा आफैँले ल्याएर तयार गरेको रु आठ हजार लिन्छौँ ।

हामीले नै लुगा किनेर तयार पारेको पहिरनको रु २० हजारसम्म लिने गरेका छौँ ।” डाँडाजाइँकै घुम्नी राना पनि आफ्नो समुदायका मौलिक पोसाक बनाउने काम सक्रिय हुनुहुन्छ । सानैमा आमा र हजुरआमाबाट उहाँले पहिरन सिलाउने सीप सिक्नुभएको हो । तत्कालीन समयमा हातले नै पहिरन सिउने गरिएको उहाँ बताउनुहुन्छ । “हातले पहिरन बनाउन निकै बढी समय लाग्थ्यो । हातले बनाउनेबाट अहिले मेसिनको प्रयोग हुनथालेको छ ।

यसले छोटो समयमै लुगा तयार गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “वर्षमा दश जोर लुगा सिलाउँछु । बालबालिकाको पठनपाठनदेखि घरखर्च राम्रैसँग चलेको छ ।” पहिरन बनाउन गाउँकै मानिस उहाँको घरमा आउने गर्छन् । पहिरन बनाउन आवश्यक पर्ने कपडादेखि फुर्क बनाउने साम्रगी स्थानीय बजारमा नपाइदा केही असहजता हुने गरेको घुम्नीको भनाइ छ । “बेलौरीमा खोजेकोजस्तो सबै सामान पाइँदैन । महेन्द्रनगर, धनगढी नभए भारततिर जानुपर्छ”, उहाँले भन्नुभयो, “सितारा, ऊनी धागो, विभिन्न रङका कपडा बढी मात्रामा आवश्यक पर्छ ।”

वीरगञ्जमा खानेपानीको अभाव हुन थालेपछि खानेपानीको लाइन जडान

0

वीरगञ्ज (पर्सा): वीरगञ्ज महानगर क्षेत्रमा चापाकल सुकेर खानेपानीको चर्काे अभाव हुन थालेपछि सर्वसाधारणले खानेपानीको लाइन जडान गर्न थालेका छन् ।
चालु आर्थिक वर्षको साउनदेखि यही असार ६ गतेसम्मको अवधिमा मात्रै थप दुई हजार आठ सय १० घरधुरीले खानेपानी संस्थान शाखा कार्यालयबाट नयाँ धारा जडान गरेका हुन् ।

खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जका वितरण प्रमुख सञ्जीवकुमार यादवले सर्वसाधारणको घरआँगन परिसरमा जोडेको चापाकल सुकेसँगै खानेपानी संस्थानको धारा जोड्नेक्रम ह्वात्तै बढेको जानकारी दिनुभयो । “पहिला वीरगञ्जवासीले संस्थानको धारा जडानमा खासै रुचि देखाउँदैन्थे तर अहिले घरमा गाडिएको चापाकलमा पानी आउन छाडेसँगै अहिले संस्थानको धारा जडान गर्न भन्दै आउने गरेका छन्”, उहाँले भन्नुभयो ।

वितरण प्रमुख यादवले गत आवको असार मसान्तसम्म संस्थानका खानेपानीका ग्राहक आठ हजार चार सय मात्रै रहेका थिए । तर यो हिउँदेयाममा चर्काे खडेरी लागेसँगै खानेपानी सस्थानको लाइन जोड्नेको सङ्ख्या बढिरहेको छ । विसं २०८१ असार ६ गतेसम्म संस्थानका खानेपानीका कूल ग्राहक सङ्ख्या ११ हजार दुई सय १० पुगेका छन् ।

संस्थानले वीरगञ्ज महानगरभित्र दुई सय ८५ सार्वजनिक धारामार्फत खानेपानी पनि उपलब्ध गराउँदै आइरहेको छ । प्वाल पारेर पानी चोरी खानेपानी संस्थान शाखा कार्यालयले वीरगञ्जको छपकैयाँ क्षेत्रमा अवैध ढङ्गले खानेपानीको पाइपमा प्वाल पारेर खानेपानीको चुहावट भइरहेको नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयसँग सहयोग मागेको छ । “वीरगञ्जको छपकैयाँ क्षेत्रमा सर्वसाधारणले खानेपानीको पाइपलाई क्षति पुर्याएर खानेपानी चोरी गरिरहेका छन्”, शाखा प्रबन्धक मन्दिप श्रेष्ठले भन्नुभयो, “खानेपानीको चोरी नियन्त्रण गर्नका लागि आवश्यक सहयोग गरिदिन अनुरोध गर्दछु ।” सो क्षेत्रमा दुई सयभन्दा धेरै घरधुरीले खानेपानीको अबैध रुपमा प्रयोग गर्दै आइरहेका छन् ।

वितरण प्रमुख यादवले वीरगञ्ज महानगरवासीको चापाकल सुकेसँगै खानेपानी कार्यालयमा नयाँ धारा जडानका लागि आउनेको सङ्ख्या बढिरहेको जानकारी दिनुभयो । “चुरे क्षेत्रको विनाशकै कारणले पनि वीरगञ्ज आसपास क्षेत्रको भूमिगत पानीको सतह घट्दै गइरहेकाले पनि खानेपानीकोसमस्या देखिएको हो”, उहाँले भन्नुभयो । कार्यालयका अनुसार वीरगञ्ज क्षेत्रको खानेपानीको मुख्य स्रोत नै भूमिगत पानी नै हो । अन्य पहाडी जिल्लामा जस्तो यहाँ कुनै नदीबाट पानी ल्याएर वितरण गर्न सक्ने अवस्था छैन ।

खानेपानी संस्थानसँग दैनिक एक करोड ६८ लाख लिटर खानेपानी उत्पादन गर्ने क्षमता रहेको छ । सो क्षमतामध्ये अहिले वीरगञ्ज महानगर क्षेत्रमा एक करोड १५ लाख ५० हजार लिटर पानीको दैनिक माग रहेको छ तर कूल उत्पादन क्षमता भने ४० प्रतिशत खानेपानी चोरी तथा चुहावट हुने गरेको छ । कार्यालयसँग साना÷ठूला गरेर डेढ दर्जन खानेपानीका बोरिङ रहेका छन् ।

तीमध्ये ११ भूमिगतबाट पानी तान्ने ठूला प्रकृतिका बोरिङ रहेका छन् । कार्यालयसँग कम्तीमा पनि वीरगञ्जका २० हजार घरधुरीलाई खानेपानी खुवाउन सक्ने क्षमता छ । तर अहिले पूर्वाधार र बजेट अभावको कारणले सकिरहेको छैन । वितरण प्रमुख यादवले बजेट अभावकै कारणले चाहे जति खानेपानीको पाइपलाइन विस्तार गर्न नसकिरहेको बताउनुभयो ।

टी २० विश्वकप क्रिकेट: अमेरिकालाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा

0

काठमाडौँ: आइसिसी टि ट्वान्टी विश्वकप २०२४ अन्तर्गत अमेरिकालाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ । ब्रिजटाउन बार्बाडोसमा गए राति सम्पन्न खेलमा इङ्ल्यान्डले अमेरिकालाई १० विकेटले हराउँदै सो प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको हो । अमेरिकाले दिएको एक सय १६ रनको लक्ष्य पन्छाउने क्रममा इङ्ल्यान्डले ९ दशमलव ४ ओभरमै कुनै विकेट नगुमाई भेटायो ।

इङ्ल्यान्डको जितमा कप्तान जस बटलरले ३८ बलमा ६ चौका र ७ छक्कासहित सर्वाधिक ८३ रनको योगदान दिए । त्यस्तै फिल साल्ट २१ बलमा २५ रनमा अविजित रहे । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अमेरिका १८ दशमलव ५ ओभरमा एक सय १५ रनमा समेटिएको थियो । अमेरिकाका लागि नितिश कुमारले सर्वाधिक ३० रन र कोरी एन्डरसनले २९ रन जोडे । त्यस्तै हर्मित सिंहले २१ तथा स्टेभेन टेलरले १२ रन बनाए ।

इङ्ल्यान्डका लागि क्रिस जोर्डनले चार विकेट लिए भने स्याम करन र आदिल राशिदले समान दुई दुई तथा लियम लिभिङस्टोनले एक विकेट लिए । यस जितसँगै इङ्ल्यान्ड अन्तिम सुपर आठको समूह २ मा तीन खेलबाट चार अङ्कका साथ सेमिफाइनलमा पुगेको हो । समान दुई खेलमा दक्षिण अफ्रिका चार र वेस्ट इन्डिजको दुई अङ्क छ । अमेरिका भने अङ्कविहीन हुँदै प्रतियोगिताबाट बहिरिएको छ । सोही समूहमा रहेका दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको अहिले प्रतिस्पर्धा जारी छ ।

विपद प्रतिकार्यलाई प्रभावकारी बनाउन सहायता कक्ष

0