Thursday, May 14, 2026
Home Blog Page 754

परराष्ट्रमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको भेट

0

काठमाडौँ: उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गर्नुभएको छ । परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा कुराकानी भएको उक्त मन्त्रालयले जनाएको छ । साथै उहाँहरूबीच आपसी सहयोगका परियोजनाबारे पनि छलफल भएको थियो ।

परराष्ट्रमन्त्रीले नेपालको विकास प्रयासमा चीनबाट प्राप्त सहयोगका निम्ति आभार व्यक्त गर्दै भविष्यमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो । उपविदेशमन्त्री सुन नेपाल–चीन परराष्ट्रसचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुने सिलसिलमा गत सोमबारदेखि नेपालको तीनदिने औपचारिक भ्रमणमा हुनुहुन्थ्यो । उहाँ आजै स्वदेश फर्कनु भयो । उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा मन्त्रालयका उत्तरपूर्वी एसिया महाशाखाका प्रमुख कृष्णप्रसाद ढकाल तथा नेपालका लागि चिनियाँ राजदूत छन सङले बिदाइ गर्नुभयो ।

मधेश प्रदेशको आर्थिक समुन्नतिको आधार पर्यटन : मुख्यमन्त्री सिंह

0

वीरगन्ज (पर्सा): मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशलाई आर्थिक समुन्नतिमा लैजाने मुख्य आधारको रुपमा पर्यटक क्षेत्र रहेको बताउनुभएको छ । पर्यटन विकास कार्यालय वीरगञ्जद्वारा आज यहाँ आयाजित सरोकारवालासँगको संवाद कार्यक्रममा उहाँले पर्यटन क्षेत्रको विकासले मात्रै मधेश प्रदेशको आर्थिक तथा सामाजिक रुपमा कायापलट हुन्छ भन्नुभयो । ‘‘मधेश प्रदेशलाई माथि उकास्ने भनेको नै पर्यटन क्षेत्रले हो,’’ उहाँले भन्नुभयो,“पर्यटन एउटा यस्तो माध्यम हो जुन तत्कालै भित्र्याउन सकियो भने मधेश प्रदेशको समग्र आर्थिकस्तर सुधार्न सकिन्छ ।’’

मुख्यमन्त्री सिंहले मधेश प्रदेश सरकारको एकल प्रयासले मात्रै मधेशमा पर्यटनको विकास गर्न सम्भव नभएको जनाउँदै मधेश प्रदेशको विकासका लागि सरोकारवाला सबै निकायले हातेमालो गरेर अघि बढ्न जरुरी छ भन्नुभयो । ‘‘मधेश प्रदेशका ऐतिहासिक मठमन्दिर, धार्मिकस्थल छिमेकीमूलुक भारत लगायतका धेरै मुलुकमा प्रख्यात रहेको छ,’’ उहाँले भन्नुभयो,‘‘धार्मिक पर्यटक पूजा गरेर सोही दिन फर्किहाल्ने जुन बाध्यात्मक स्थिति छ । भारतीय पर्यटकहरुका लागि सुविधा सम्पन्न बस्ने र खाने ठाउँ नहुँदा पनि पर्यटकको बसाइ चाहेर पनि लम्बाउन सकिरहेका छैनौँ ।’’ मुख्यमन्त्री सिंहले मधेश प्रदेशमा पर्यटकका लागि आवश्यक पूर्वाधार निर्माण गर्न निजी क्षेत्रलाई पनि आह्वान गर्नुभयो । ‘‘मधेश प्रदेश सरकारले पर्यटनसँग सम्बन्धित सबै कुरा पूरा गरिदिन सक्ने अवस्थामा पनि छैन ।

त्यसैले प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्र सबै हातेमालो गरेर पर्यटन क्षेत्रको विकासमा अघि बढ्नुपर्ने आवश्यकता भइसकेको छ,’’ मुख्यमन्त्री सिंहले भन्नुभयो, ‘‘हाम्रा आवश्यकता र चाहना असिमित रहेका छन् । त्यसैले प्रदेशले मात्रै सबै खालको बजेट उपलब्ध गराउन नसक्ने भएकाले पनि सार्वजनिक निजी साझेदारी लगायतका मोडलमा पर्यटन क्षेत्रको विकास गर्न आवश्यक रहेको छ ।’’ कार्यक्रममा मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराईले २०८२ लाई ‘मधेश भिजिट वर्ष’का रुपमा अघि सार्ने योजना अघि बढाइरहेको बताउनुभयो । उहाँले २०८२ लाई ‘मधेश भिजिट वर्षका रुपमा अघि बढाउने गरी काम थालिएको जानकारी दिनुभयो । प्रदेश सरकारले यो वर्ष ‘घुमौँ मधेश, बुझौँ मधेश’को नारालाई अघि सार्दै आइरहेको छ ।

मन्त्री भट्टराईले मधेश प्रदेशमा रहेका आठ जिल्लाका ऐतिहासिक तथा धार्मिकस्थललाई चार वटा सर्किटमा बाँडेर विकास गर्नेतर्फ अग्रसर भइरहेको बताउनुभयो । ‘‘मधेश प्रदेश सरकारले आठ जिल्लालाई चार वटा सर्किटमा बाँडेर पर्यटन क्षेत्रको विकास गर्नेतर्फ लागिरहेका छौँं,’’ उहाँले भन्नुभयो,‘‘एकै वर्षको बजेटमा चारवटै सर्किटको पर्यटन क्षेत्रको विकास गर्न सम्भव नहोला भनेर आगामी आवको बजेटमा जनकपुरसर्किटलाई केन्द्रमा राखेर बजेट विनियोजन गरेका छौँ ।’’ उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका पूर्व राज्यमन्त्री तथा प्रदेशसभा सदस्य रहमान अन्सारीले प्रदेश सरकारले धार्मिक मठमन्दिर तथा मस्जिदलाई टुक्रे बजेट विनियोजन गरेर मात्रै समग्र प्रदेशको पर्यटन विकास नहुने बताउनुभयो ।

अर्का प्रदेश सभासदस्य जनार्दन सिंह क्षेत्रले मधेश प्रदेशले धार्मिक पर्यटनलाई भन्दा पनि पर्सा राष्ट्रिय निकुञ्ज र कोशीटापु वन्यजन्तु आरक्षणलाई पर्यटकीय केन्द्रको रुपमा स्थापित गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘चितवनको सौराहाले जसरी विदेशी पर्यटकलाई आकर्षित गरेर विदेशी डलर आर्जन गरिरहेका छन् । त्यसैगरी हामीले पनि विदेशी पर्यटकलाई आकर्षित गर्ने खालका पूर्वाधार निर्माणमा जोेड दिन आवश्यक भइसकेको छ ।’’ प्रदेश सभासदस्य श्याम पटेलले पर्सा जिल्लामा पर्याप्त मात्रामा पर्यटकीय सम्भावना भए पनि पर्यटकको बसाइ लम्बाउन सकिएको छैन भन्नुभयो । भारतका महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत देवी सहाय मीनाले नेपाल र भारतबीच प्राचीनकालदेखि सामाजिक र सांस्कृतिकसम्बन्ध कायम रहेकाले पनि दुवै मुलुकमा पर्यटनको अथाह सम्भावना रहेको बताउनुभयो । ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले प्रदेश सरकारले ठोरीलाई पर्यटकीय गन्तव्य घोषणा गरेर पनि बजेट उपलब्ध नगराएको भन्दै दुःखेसो पोख्नुभयो ।

महागढीमाई नगरपालिका नगरप्रमुख उपेन्द्रप्रसाद यादवले पाँच–पाँच वर्षमा महागढीमाई मन्दिरमा ठूलो मेला लाग्ने भए पनि सङ्घीय सरकारले मन्दिर आसपासको पूर्वाधार निर्माणमा ध्यान नदिएको आरोप लगाउनुभयो । ‘‘आगामी मङ्सिर महिनामा पनि पाँच वर्षे मेला लाग्ने भएकाले पनि विदेशी पर्यटकलाई आकर्षित गर्ने खालका कार्यक्रम अघि बढाउन जरुरी देखिएको छ ।’’ उहाँले भन्नुभयो । मधेश विश्वविद्यालयका उपकुलपति दीपक शाक्यले विदेशी पर्यटनलाई आकर्षित गराउनको यातायातको सहज पहुँच, खाना बासको उचित व्यवस्थापन, सुरक्षा र रिक्रियसन र रिफ्रेस लगायतका पूर्वाधार आवश्यक पर्ने बताउनुभयो । पर्यटन अभियन्ता ओमप्रकाश सर्राफले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तह र निजी क्षेत्र हातेमालो गरेर पर्यटन क्षेत्रको विकासमा लागूपर्ने बताउनुभयो ।

अवकाश प्राप्त स्वयंसेविकालाई एक लाखसहित सम्मान

0

झापा: महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई मेचीनगर नगरपालिकाले रु एक लाख नगदसहित सम्मान गरेको छ । नगर कार्यापालिकाको दोस्रो नगरसभाको पाँचौँ अधिवेशन समापनका अवसरमा स्वयम्सेविका तेजमणि मेचेलाई सम्मान गरिएको हो ।

विगत लामो समयदेखि निरन्तर समुदायस्तरमा स्वास्थ्य सेवा प्रवाह गर्दै मेचीनगर–८ निवासी ६० वर्षका मेचेले अनिवार्य अवकाश लिनुभएको छ । पालिकाले यसअघि १२ जना स्वयंसेविकालाई सम्मान गरेको थियो । मेचीनगर नगरपालिका झापाको सबैभन्दा बढी बजेट भएको पालिका हो । मेचीनगरले यो वर्ष रु दुई अर्ब पाँच करोड २९ लाखको बजेट नगरसभामा पेस गरेको छ ।

यूरो कप: अष्ट्रिया अन्तिम १६ मा नेदरल्यान्ड्स स्तब्ध, फ्रान्स दोस्रो स्थानमा सीमित

0

बर्लिन । यूरो कप २०२४ अन्तर्गतको खेलमा नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रियाले अन्तिम १६मा सिट पक्का गरेको छ। उक्त अन्तिम खेलमा ३–२ को जित हासिल गर्दै अष्ट्रिया समूह डीको समूह विजेता बनेको हो ।

फ्रान्ससमेत रहेको कठिन समूहमा परे पनि राल्फ राग्निकको टोली तीनमध्ये दुई खेल जित्दै समूहको शीर्ष स्थानमा रहन सफल भयो । पराजयका बाबजुद पनि नेदरल्यान्ड्स तेस्रो स्थान हासिल गर्दै नकआउट चरणमा प्रवेश गरेको छ।

मंगलबार राति भएको खेलमा डोनयेल मालेनको आत्मघाती गोलको मद्दतले अस्ट्रियाले खेलको सुरुवातमा नै अग्रता लिएको थियो । त्यसपछि पहिलो हाफ थप कुनै गोल नभई सकिएको थियो ।

दोस्रो हाफमा भने गोलको वर्षा भयो । ४७ औँ मिनेटमा नै नेदरल्यान्ड्सका कोडी गाक्पोले सुन्दर गोल गर्दै खेल बराबरी गरे । ५९ औँ मिनेटमा रोमानो स्मिडले पुनः अस्ट्रियालाई अग्रता दिलाए ।

७५ औँ मिनेटमा मेम्फिस डिपायले गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो । तर, ५ मिनेटपछि नै मार्सेल साबिट्जरले गोल गर्दै अस्ट्रियालाई जित दिलाए ।

उता फ्रान्सले पोल्यान्डसँग बराबरी खेलेपछि टोली दोस्रो स्थानमा नै चित्त बुझाउन बाध्य बन्यो । दुई टोलीबिचको खेल १–१ को बराबरीमा टुङ्गियो ।

५६ औ मिनेटमा किलियान एम्बाप्पेले पेनाल्टीमार्फत फ्रान्सलाई अग्रता दिलाए पनि ७९ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीबाटै बराबरी गोल फर्काए ।

३ खेलपछि समूह डीमा अष्ट्रियाको ६ अङ्क रह्यो । फ्रान्सले ५ अङ्क बटुल्दा नेदरल्यान्ड्स ४ अङ्कमा सीमित बन्यो । जितविहीन पोल्यान्ड मात्र १ अङ्कमा चित्त बुझाउन बाध्य बन्यो ।

 

लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता

0

लमजुङ: लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुम गाउँमा गए राति पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता भएका छन् । पहिरोमा परी एकजना घाइते भएका छन् । लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो ।

पहिरोमा परी रुद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिनुभयो । अहिले प्रहरी टोली घट्नास्थलमा उद्धारका लागि जाँदै छ ।

प्रवासी नेपाली मञ्च पोर्चुगलको अध्यक्षमा खत्री

0

लिस्बन (पोर्चुगल): प्रवासी नेपाली मञ्च पोर्चुगलको छैटौँ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सोमबार राजधानी लिस्बनमा सम्पन्न अधिवेशनबाट दीपक खत्रीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।

अधिवेशनले उपाध्यक्षमा सुमन शर्मा चौलागाईँ, सचिवमा मिलन रेग्मी तथा उपसचिवमा प्रकाश तामाङ र मञ्जु अधिकारीलाई चयन गरेको छ । यस्तै सदस्यमा यज्ञप्रसाद डुम्रे, पुरन घर्ती, नवीनकुमार थापा, राजेन्द्रप्रसाद डुम्रे, राजन कार्की, सुनिल बन्जरा, सङ्गीता शर्मा सिलवाल, हेमन्त केसी, शिवसागर बुढाथोकी, कमल बस्नेत, सुमन सिलवाल, चित्रप्रसाद सुवेदी, सुरज विष्ट, गणेश थापा, काजीमान श्रेष्ठ, पुष्कर पन्थी, हेमराज सुवेदी, भक्त सिंह, माया खरेल र यामबहादुर पुर्काेटी सर्वसम्मत चयन गरेको छ ।

मञ्चका अध्यक्ष राजाराम लामिछानेको अध्यक्षता तथा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय कमिटीका सचिव हेम शेर्पा, केन्द्रीय सदस्य गोविन्द पौडेल, प्रवासी नेपाली मञ्च स्पेनका अध्यक्ष केदार ढुङ्गाना, एनआरएनए पोर्चुगलका अध्यक्ष्य उमेश खड्कालगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डेढ दशकपछि बेनी–भकिम्ली सडक स्तरोन्नति

0

म्याग्दी: डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति थालिएको छ । उक्त सडकले बेनी नगरपालिका–२, ३, ४ र मङ्गला गाउँपालिका–३ र ४ वडालाई सदरमुकाम बेनी बजारसँग जोड्छ । गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत बेनी–२ को बगरफाँटबाट दूधेखोला–हल्लेगौडा–डोले–मुसुङ जोड्ने सडक ग्राभेल र ढलान गर्ने योजना कार्यान्वयन गरेको हो ।

गत जेठ २९ गते रु पाँच करोड ५९ लाखमा ठेक्का सम्झौता गरेको माछापुच्छ्रे–हिमालयन जेभी कार्यक्षेत्रमा परिचालित भएको पूर्वाधार विकास कार्यालयका सवइन्जिनियर रविन चोखालले जानकारी दिनुभयो । यसको लागत रु सात करोड ७२ लाख रहेको छ । आगामी १८ महिनामा बगरफाँटबाट दूधेखोलासम्मको तीन किलोमिटर सडक ग्राभेल र दूधेखोलाबाट भकिम्लीतर्फ तीन सय ९० मिटर सडक ढलान गरिने छ । सडक सात मिटर चौडा बनाइने छ । विसं २०६५ मा सडक निर्माण गरिएको हो ।

उक्त सडक हाल चार मिटर चौडा छ । गण्डकी प्रदेश सरकारद्वारा चालु आवमा रु दुई करोड बजेट विनियोजन गरिएको उक्त सडकलाई बहुवर्षीय ठेक्का लगाउन रु १० करोड बजेटको स्रोत सुनिश्चितता गरिएको सवइन्जिनियर चोखालले बताउनुभयो । विसं २०७६ मा सुरु भएको रघुगङ्गा गाउँपालिकाको पिप्ले–भगवती सडक यस वर्ष निर्माण सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाको चित्रेबाट पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिको तयारी छ ।

देशभर मनसुनी वायुको प्रभाव

0

काठमाडौँ : देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा सिरहाको गोलबजारमा ४७.२, झापाको अनारमनीमा १२७.४, उदयपुरको सुन्दरपुरमा ११८.८, सिन्धुपाल्चोकको ढुंगेमा ९६.८, संखुवासभाको तुर्केघाटमा ९४.४, सिन्धुपाल्चोकको भोताङमा ९४.४, लमजुङको बेसीसहरमा १११, कास्कीको लामापाटनमा ११५.४ तथा डडेलधुराको साहुखर्कमा ८०.६ मिलिमिटर वर्षा भएको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

वन्यजन्तुले मकै सखाप पारेपछि उदयपुरका किसान केराखेतीमा आकर्षित

0

कटारी (उदयपुर): कटारी नगरपालिका–८ का किसानलाई दुम्सी, सुगा र बाँदरबाट खेती जोगाउन समस्या भएपछि उनीहरु बैकल्पिक खेतीमा आकर्षित भएका छन् । मकै, कोदोबालीलाई जङ्गली पशुपक्षीले सखाप पारेपछि उनीहरु केराखेतीमा लागेका हुन् ।

केराखेतीबाट आम्दानी हुन थालेपछि आफूहरु व्यावसायिक रूपमै खेती गर्न थालेको किसान लाखबहादुर राई बताउँनुभयो । “चार सय जति केराको बोट लगाएको छु, यसबाट आम्दानी लिन थालको छु”, उहाँले भन्नुभयो, “गत वर्ष पनि झण्डै रु एक लाखको केरा बेचेँ यस वर्ष झनै केराखेती बढाएको छु ।” भोटाङ्गे, मर्चे, जहाजी जातका केराखेती गरिरहेका किसानको मुख्यबजार पहाडी जिल्ला सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ बनेको छ । “पहाडी जिल्लाका व्यापारी घरमै केरा लिन आउँछन् त्यसैले बजार लैजानुपर्ने झन्झट पनि हटेको छ ।” कटारी–८ ढापटारका किसान रत्नबहादुर विश्वकर्माले भन्नुभयो, “फलाएपछि भयो, व्यापारीले बारीबाट आफैँ केरा उठाउँछन् ।” किसान साङ्दोेर्जे तामाङले मकै सखाप पार्ने दुम्सी, सुगा चराबाट आजित हुननपरेको बताउनुभयो ।

स्थानीय किसानले थोरैमा प्रतिघर बर्सेनि रु ५० हजारदेखि दुई लाखसम्म केराबाटै आम्दानी लिने गरेका जनाइएको छ । पाखो झाडी सफा गरेर केराखेती सुरु गरेका किसानले यसैलाई पहिलो नगदे बालीका रूपमा मन पराउन थालेको कटारी –८ वडाध्यक्ष नवीन्द्र तामाङले बताउनुभयो । नौ रोपनी जग्गामा केराखेती गरिरहेका ढापटारकै मोहन कोइरालाले व्यापारीले बारीमै प्रतिखापा रु ५० ले लैजाने गर्दा आम्दानी राम्रो भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अझै गाउँगाउँसम्म जाने बाटो राम्रो छैन, त्यसैले मूलबाटोसम्म लैजाने बिचौलियाले यहीँको यहीँ रु ८० खापामा बेच्ने गरेका छन् ।” वडाध्यक्ष तामाङका अनुसार वडाका हलेदे, मरुवाखानी, केराबारी, पटना, कवासे, गेरु, सिक्रे, ढापटार, वड्मी, माटे, खलङ्गेका गरी चार सय ५० हाराहारीका किसानले केराखेती गर्दै आइरहेका छन् । केराखेती फस्टाएपछि कृषि ज्ञान केन्द्रले पनि खेती प्रणालीसम्बन्धी तालिम किसानलाई दिइसकेको छ । तालिम लिएपछि झनै केराखेतीमा हौसिएका किसानले वडालाई केरा पकेट क्षेत्र बनाउन माग गरेका छन् । परम्परागत अन्नखेतीभन्दा केराबाट तेब्बर आम्दानी हुने गरेको किसान बताउँछन् ।

नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक सुरु

0

काठमाडौँ: नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज विहान साढे १० बजेदेखि सुरु भएको छ । काठमाडौँको एक होटलमा भएको बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयो । बैठकमा शिक्षा, स्वास्थ्य पूर्वाधार, कृषि, आर्थिक सहयोग, व्यापार, लगानी, पर्यटन, सम्पर्क सञ्जाललगायत क्षेत्रमा सहयोग आदानप्रदानबारे छलफल हुने बताइएको छ ।

परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ भने प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरु सम्मिलित हुनुहुन्छ । त्यस्तै चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व उपविदेश मन्त्री सुन वेइतोङले गर्नुभएको छ । बैठकका सहभागी हुन जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन नेपालको तीन दिने औपचारिक भ्रमणका लागि आइतबार विहान यहाँ आइपुग्नुभएको थियो ।

भ्रमणका क्रममा उहाँले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्तासमेत गर्नुहुने कार्यक्रम छ । उपविदेशमन्त्री सुन भ्रमण सम्पन्न गरी भोलि असार १२ गते काठमाडौँबाट प्रस्थान गर्नुहुनेछ ।