Thursday, May 14, 2026
Home Blog Page 735

पहिरो पीडितलाई आर्थिक सहयोग

0
तस्बिर: रासस

गलकोट (बागलुङ) : सरकारले बाढी, पहिरोजस्ता विपदबाट ज्यान गुमाएका बागलुङका तीन जनाका परिवारलाई राहतस्वरुप रु छ लाख ५० हजार नगद प्रदान गरेको छ ।

यही असार २७ गते राति बागलुङ नगरपालिका–७ तितौरेमा पहिरोमा परी ज्यान गुमाएकी ५५ वर्षीया खिलकुमारी शर्माकी छोरी निर्मलालाई जिल्ला प्रशासन कार्यालयले रु दुई लाख ५० हजार नगद प्रदान गरेको हो ।

यसैगरी, यही असार १५ गते राति घर पुरिँदा गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र निजकी ५० वर्षीया श्रीमती वसन्ती विकको मृत्यु भएको थियो । विकका परिवारलाई रु चार लाख नगद प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले राससलाई बताउनुभयो । उक्त रकम सङ्घीय र प्रदेश सरकारबाट प्राप्त भएको हो ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

0

काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।कोशी प्रदेश, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने विभागको पूर्वानुमान छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पनि केही स्थानमा मेघगर्जन र चट्यङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, मधेस, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढीपहिरोको क्षतिबाट बच्न विभागले अनुरोध गरेको छ ।

प्रहरी जवानको परीक्षा दिँदै गरेका छ नक्कली परीक्षार्थी पक्राउ

0

काठमाडौँ: प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा दिँदै गरेका छ जना नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले आज विभिन्न स्थानमा भएको परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार रित शाहीको नाममा परीक्षा दिँदै गरेका कालिकोटका २२ वर्षीय अभिषेक शाही, हिक्मतबहादुर थापाको नाममा परीक्षा दिँदै गरेका कञ्चनपुरका ईशाक तामाङ, शर्मिला शाहीको नाममा परीक्षा दिने दोलखाकी तृप्ती सुन्दास पक्राउ परेका हुन् ।

यस्तै पारस बुढाको नाममा परीक्षा दिने रोशन खत्री, सविन महराको नाममा परीक्षा दिने दार्चुलाका रविन्द्र महरा र प्रदीप बस्यालको नाममा परीक्षा दिने बैतडीका दिनेश चन्द रहेका प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । दुई जनालाई प्रहरी वृत्त गौशाला, तीन जनालाई वृत्त बानेश्वर र एक जनालाई प्रहरी वृत्त सिंहदरबारको टोलीले पक्राउ गरेको उहाँले जानकारी दिनुभयो ।

 

ट्रम्पको फेसबुक र इन्स्टाग्रामको प्रतिबन्ध हट्यो

0

काठमाडौं: मेटाले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम खातामाथिको प्रतिबन्ध हटाएको छ।

२०२१ को जनवरी ६ मा अमेरिकी क्यापिटलमा आक्रमण गर्ने समर्थकहरूको प्रशंसा गरेपछि पूर्व अमेरिकी राष्ट्रपतिको फेसबुक र इन्स्टाग्राम खाताहरू २०२१ मा निलम्बन गरिएको थियो। यस मामिलामा ट्रम्पलाई पनि दोषी ठहर गरिएको थियो।

मेटाले एक ब्लगमा मेटाका सबै प्लेटफर्महरूमा ट्रम्पका ६० मिलियन भन्दा बढी फलोअरहरू रहेको उल्लेख गर्दै उनका एकाउन्टहरू २०२३ मा पुनर्स्थापित गरिएको भएपनि उनका एकाउन्ट थप निगरानीको अधीनमा रहेकोमा अहिले सबै प्रतिबन्ध हटाइएको जानकारी दिएको छ।

मेटाले राजनीतिक अभिव्यक्तिलाई अनुमति दिनु आफुहरुको जिम्मेवारी भएको र अमेरिकीहरूले राष्ट्रपति पदका उम्मेदवारहरूबाट सुन्नको लागि समान अवसर पाउनुपर्ने उल्लेख गरेको छ।

मेटाले भनेको छ– ‘अमेरिकी राष्ट्रपति पदका उम्मेदवारहरू सबै फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताहरू जस्तै सामुदायिक मापदण्डहरूको अधीनमा हुनेछन्, जसमा घृणायुक्त भाषण र हिंसालाई उक्साउने नीतिहरू समावेश छन्।’

 

भारतीय गायक लक्की अलीले भने: मुस्लिम हुनु भनेको एक्लो हुनु हो

0

मुम्बई । वरिष्ठ अभिनेता मेहमुदका छोरा तथा गायक लक्की अलीले देशमा मुस्लिमहरूको अवस्थाको बारेमा कुरा गर्दै चकित पार्ने बयान दिएका छन् । उनले आफ्नो एक्लोपनको दोष धर्मलाई दिएका छन् ।

उनले आफ्नो पोस्टमा लेखेका छन्, ‘आजको संसारमा मुस्लिम हुनु भनेको एक्लो हुनु हो । पैगम्बरको सुन्नत को पालना गर्दा एक्लो हुनुहुन्छ । तपाईंका साथीहरूले तपाईंलाई छोड्नेछन् र संसारले तपाईंलाई आतङ्कवादी भन्नेछ।’

अलीले ३ वर्षको उमेरमा फिल्म ‘छोटे नवाब’ (१९६१) बाट डेब्यू गरेका थिए। केही फिल्महरूमा देखा परेपछि, अली पूर्ण रूपमा संगीतमा समर्पित भए। लक्की अलीले मेहमुदको फिल्म ‘एक बाप चाह बेटे’ को लागि आफ्नो पहिलो गीत पनि गाएका थिए।

सन् १९९६ मा लक्कीले आफ्नो पहिलो म्युजिक एल्बम ‘सुनो’ सार्वजनिक गरे । उनी ‘ओ सनम’, ‘एक पल का जीना’, ‘सफरनामा’ र ‘ना तुम जानो ना हम’ जस्ता गीतहरूका लागि परिचित छन्।

 

कांग्रेसले बनायो मन्त्री छनोटको मापदण्ड

0
फाइल तस्बिर

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा सहभागी नेपाली कांग्रेसले मंत्रीको मापदण्ड बनाएको छ।

बैठकले योगदान र योग्यता, समावेशीता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गरिने मापदण्ड बनाएको सो पार्टीको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । सकेसम्म एकैपटक मन्त्रीहरुको टुंगो लगाएर जाने तयारी गरिएको समेत प्रवक्ता महतले बताए ।

उनले भने, ‘नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी एमालेबिच २०८१ साल असार १७ गते सम्पन्न राष्ट्रिय सहमतिको सरकार गठन सम्बन्धी सहमति भए अनुसार नेपालको संविधानको धारा ७६ (२) बमोजिम गठन हुने नेकपा (एमाले)का अध्यक्ष माननीय केपी शर्मा ओली नेतृत्वको सरकारमा नेपाली काँग्रेसको विधान २०१७ संशोधनसहितको धारा २२ को उपधारा ११ बमोजिम सहभागी हुने यो बैठकले निर्णय गरेको छ । योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशिता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर मन्त्रीहरू चयन गर्ने यो बैठकले निर्णय गरेको छ ।’

नारायणी किनारमा २ जनाको शव भेटियो

0
तस्बिर :रासस

नवलपरासी: नारायणी नदी किनारमा आज दिउँसो दुई ओटा शव फेला परेका छन्। नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट-७ गैरीस्थित नारायणी नदीमा दुई जना पुरुषको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलकानुसार नवलपुरतर्फ नारायणी नदीको बीच भागको टापुमा दिउँसो ३ः३० बजेको समयमा शव फेला परेका हुन्।

नदीले बगाएर ल्याएका अन्दाजी २५-३० वर्षका पुरुषको शव फेला परेको स्थानीय बोटेहरूले जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको थियो। घटनास्थलमा इलाका प्रहरी कार्यालय गैँडाकोटबाट प्रहरी निरीक्षक हस्तबहादुर सुनारको नेतृत्वमा खटेको पाँचजनाको टोलीले अर्को शव पनि फेला पारेको पौडेलले बताए।

पहिलो शवभन्दा करिब १० फिटको दूरीमा करिब १८-२० वर्षको देखिने अर्का पुरुषको शव फेला परेको र दुवै शवको प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए।

शव चितवनको भरतपुर-२७ सिमलतालमा पहिराका कारण शुक्रबार बेपत्ता बसका यात्रु हुनसक्ने भन्दै उनले जानकारी दिए।

 

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

0

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। साथै भारतको उत्तर प्रदेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

उक्त प्रभावका कारण अहिले गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा साथै मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, आज राती देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अक्षय कुमारलाई कोरोना सङ्क्रमण

0

मुम्बई । बलिउड अभिनेता अक्षय कुमारलाई कोरोन संक्रमण भएको छ।

स्रोतका अनुसार हालै फिल्म ‘सरफिरा’ को प्रमोशनका क्रममा अक्षयको स्वास्थ्यमा समस्या आएको थियो । फिल्मको प्रमोसनको क्रममा एक क्रु सदस्य कोभिड-१९ ले बिरामी परे, त्यसपछि अक्षय पनि बिरामी परे । उनमा शुक्रबार बिहान कोभिड पोजेटिभ भेटिएको थियो ।

यसअघि सन् २०२२ मा पनि अक्षय फिल्म ‘राम सेतु’ को सुटिङका ​​क्रममा कोरोना सङ्क्रमित भएका थिए । त्यति बेला अक्षयबाहेक टोलीका अन्य सदस्यहरू पनि कोभिड पोजेटिभ भेटिएका थिए।

अक्षय सन् २०२१ मा पनि कोभिड पोजेटिभ थिए तर उनी छिट्टै निको भए। त्यसबेला अक्षयले पीएम केयर फन्डमा २५ करोड भारतीय रुपैयाँ दान गरेका थिए । उनी त्यसो गर्ने पहिलो सेलिब्रेटी बनेका थिए ।

 

४१ वर्षीय एन्डरसनले लिए क्रिकेटबाट बिदा

0

लर्ड्स । इंग्ल्याण्डका तीव्र गतिका बलर जेम्स एन्डरसनले क्रिकेटबाट बिदा लिएका छन्।
सन् २००२ देखि २० वर्षको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेट सुरु गरेका थिए एन्डरसनले ४१ वर्षको उमेरमा उनले क्रिकेटबाट बिदा लिएका हुन्।

टेस्टमा ७०४ विकेट, एक दिवसीयमा २६९ र टी–२० मा १८ गरी उनले करियरमा कुल ९९१ विकेट लिए। २१ वर्षसम्म इङ्ल्यान्ड टोलीको पेस बलिङको नेतृत्व गरेका उनले लर्ड्समा अन्तिम टेस्ट खेलेका हुन् ।

खेल जितेपछि उनी बालकनीमा आए, मैदानमा जम्मा भएका सयौँ फ्यानलाई सम्बोधन गर्दै उनले भने, ‘इङ्ल्यान्डका लागि क्रिकेट खेल्नु संसारकै उत्कृष्ट काम हो ।’ र त्यसपछि अलबिदा भने।

खेलपछि सम्पूर्ण टोली र पूर्व कप्तान नासिर हुसेन लर्ड्सको ड्रेसिङ रुममा उपस्थित थिए । हुसैनले एन्डरसनलाई भने, ‘तपाईंले इङ्ल्यान्डका लागि जे गर्नुभयो त्यो उत्कृष्ट थियो। सबै कुराका लागि धन्यवाद।

एन्डरसनले आफ्नो एकदिवसीय करियर २००२ मा अस्ट्रेलिया विरुद्ध सुरु गरे र अन्तिम खेल सन् २०१५ मा अफगानिस्तानविरुद्ध खेले। उनले सन् २००३ मा जिम्बाब्वेविरुद्ध आफ्नो टेस्ट करियर सुरु गरेका थिए । शुक्रबार वेस्ट इन्डिज विरुद्ध आफ्नो अन्तिम खेल खेले।

त्यस्तै उनको टी–२० करियर को सुरुवात सन् २००७ मा अस्ट्रेलियासँग भएको थियो भने अन्तिम खेल सन् २००९ मा दक्षिण अफ्रिकासँग खेलेका थिए ।

जेम्स एन्डरसनले आफ्नो पहिलो बल १५ डिसेम्बर २००२ मा २० वर्षको उमेरमा गरेका थिए। यो खेल अस्ट्रेलियाको मेलबर्नमा भएको थियो । यस खेलमा एन्डरसनले ६ ओभरमा ४६ रन दिएर १ विकेट लिए । उनले अस्ट्रेलियाका लेजेन्ड एडम गिलक्रिस्टलाई आउट गरेका थिए ।

एन्डरसनले एकदिवसीय डेब्यू गरेको एक वर्षपछि टेस्ट डेब्यू गरेका थिए। जिम्बावेविरुद्धको खेलमा एन्डरसनले ५ विकेट लिएका थिए । यो खेल इंग्ल्याण्डको लर्ड्समा भएको थियो ।

एन्डरसनले सन् २००७ मा अस्ट्रेलियाविरुद्ध टी–२० डेब्यु गरेका थिए । यो खेल अस्ट्रेलियाको सिड्नीमा भएको थियो । यो खेलमा एन्डरसनले १ विकेट लिए । उनले म्याथ्यु हेडनलाई आउट गरेका थिए ।