Wednesday, June 10, 2026
Home Blog Page 717

नेपालगञ्जमा बरामद सुनचाँदी सार्वजनिक,एउटा गाडीसहित चार जना नियन्त्रणमा

0

नेपालगञ्ज: प्रहरीले नेपालगन्जमा बरामद गरेको अवैध सुनचाँदी सार्वजनिक गरेको छ ।

करिब ३५ तोला सुन, १० किलो ६१३ ग्राम चाँदी, एउटा गाडीसहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिका–११ बिपी चोक आसपासमा अवैध सुनचाँदीको अवैध कारोबार भइरहेको सूचनाका आधारमा जाँच गर्ने क्रममा उक्त परिणामको अवैध सुनचाँदीसहित चार जनालाई पक्राउ गरिएको हो । वडा नं २ स्थित महेश मुराउले सञ्चालन गरेको पशुपति सुनचाँदी रिफाइन कारखानाबाट केही सुनचाँदी बरामद भएको बताइएको छ । बरामद भएको सुनचाँदी र सवारी साधनसहित रु एक करोड पाँच लाख ३३ हजार चार सय ४७ मूल्य बराबरको भएको प्रहरीले जनाएको छ ।

बर्दियाको राजापुर नगरपालिका–८ बस्ने ४० वर्षीय नेपाली थारुले चलाएको प्रदेश ०३०१०२४ च ६७६३ नं को कारमा सवार रहेका राजापुर नगरपालिका ४ बस्ने ४२ वर्षीय नीमप्रकाश सुनार, नेपालगञ्ज–१९ निवासी २१ वर्षीय राहुल सुनार, बाँकेको राप्तीसोनारी–४ बस्ने २४ वर्षीय ओमजङ्ग चौधरी प्रक्राउ परेको प्रहरीले जनाएको छ । बरामद सुनचाँदी र गाडीलाई राजस्व अनुसन्धान कार्यालय, कोहलपुरमा बुझाइएको छ ।

बेनी–जोमसोम–कोरला सडकः सिरुबारीको पहिरोमा दुर्घटनाको जोखिम

0

म्याग्दी: चीन र भारत जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुबारी क्षेत्रको पहिरोले दुर्घटनाको जोखिम बढेको छ ।

कालीगण्डकी किनारको पाखोमा निर्माण भएको सडकमा खस्ने पहिरोका कारण बेनी–जोमसोम सडकमा नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम बढेको हो ।

स्तरोन्नतिका क्रममा रहेको बेनी–जोमसोम–सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले गत वर्षदेखि सृजना भएको सिरुबारीको पहिरोले दुःख दिइरहेको बताउनुभयो । “करिब एक किलोमिटरमाथिको पाखो बगेको छ”, उहाँले भन्नुभयो “खसेको पहिरो पन्छाउदै सावधानी अपनाएर यातायात सञ्चालन गरिएको छ ।” वर्षा हुनेबितिक्कै पाखोबाट ढुङ्गा, लेदो र गेगरसहितको पहिरो खसेर सडकमा थुप्रिन्छ । हिलोमा सवारीसाधन फस्ने, गुुडिरहेका सवारीमाथि ढुङ्गा खस्ने, यात्रीलाई चोटपटक लाग्ने जोखिम छ ।

यही भदौ ४ गते पोखराबाट बेनी हुँदै जोमसोमतर्फ जाँदै गरेको ग१ख ७७१७ नम्बरको बस सिरुबारीको पहिरोमा गुडिरहेको अवस्थामा ठूलो ढुङ्गा खसेर च्यापिदा दुईजना यात्रा घाइते भएका थिए । पहिरोले सयौँ रोपनी खेतीयोग्य जमिन र जङ्गल नष्ट भएको छ ।

सवारी चालक तम परियारले त्रासैत्रासमा गाडीलाई पहिरो पार गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । सिरुबारी क्षेत्रमा करिब पाँच सय मिटर सडक पहिरोले छियाछिया बनाएको छ । मुस्ताङ जिल्ला, म्याग्दीको अन्नपूूर्ण गाउँपालिकाका बासिन्दाका साथै पर्यटक र तिर्थयात्रीलाई पहिरोका कारण जोखिम र सास्ती भएको छ ।

सिरुबारी, महभिर, बैसरी, गुइँठेभिरलगायत ठाउँमा पहिरोको उच्च जोखिम भएकाले रातको समयमा यात्रा नगर्न र सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय, रघुगङ्गा, अन्नपूूर्ण गाउँपालिका र बेनी–जोमसोम–कोरला सडक आयोजनाले अपिल गरेका छन् । ती ठाउँमा खस्ने पहिरो पन्छाएर यातायात सञ्चालन गर्न सडक विभागको डोजर, लोडर, ब्याकुहोलोडर तयारी अवस्थामा राखिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख धु्रवकुमार झाले बताउनुभयो ।

पहिरो, कटान र बाढीको जोखिम भएको ठाउँमा दीर्घकालीन समाधानका लागि अध्ययन गरेर भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा योजना माग गरिएको उहाँले बताउनुभयो । योजना र बजेटको अभावमा पहिरो रोकथामका लागि दीर्घकालीन काम गर्न नसकेको झाले बताउनुभयो ।

बिजुली निर्यातः विद्युत प्राधिकरणले कमायो महिना दिनमै चार अर्ब १९ करोड

0
File Photos: THT

काठमाडौँ: आठ वर्ष पहिले लोडसेडिङको तालिका सार्वजनिक गर्ने नेपाल विद्युत प्राधिकरणले यतिबेला महिना दिनमै बिजुली बिक्रीबाट चार अर्ब १९ करोड बराबरको आम्दानी गर्न थालेको छ ।

प्राधिकरणको प्रणालीमा हाल झण्डै तीन हजार तीन सय मेगावाट बराबरको बिजुली उपलब्ध छ । त्यसमध्ये आन्तरिक रुपमा कूल एक हजार नौ सय २९ मेगावाट बराबरको खपत भइरहेको छ । यस्तै देशभित्रको कूल माग भने दुई हजार छ सय ३३ मेगावाट बराबर रहेको प्राधिकरणले जनाएको छ । यस प्रकारको माग भने एकाध घण्टाको मात्रै हो ।

साँझ र बिहान बिजुलीको बढी माग भएपनि रातको समयमा माग घट्न जाँदा निर्यात गर्नुको विकल्प प्राधिकरणसँग छैन । रातको समयमा बढी भएको बिजुली भारत निर्यात गर्दा त्यसबाट प्राधिकरणले उल्लेख्य मात्रामा आम्दानी गर्न सफल भएको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको पहिलो महिनामा नै प्राधिकरणले उक्त मूल्य बराबरको बिजुली निर्यात भएको विवरण सार्वजनिक गरेको हो ।

मुलुकभित्र खपत गरी बढी भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गरी अतिरिक्त आम्दानी गर्न प्राधिकरण सफल भएको हो । दैनिक हिसाब अनुसार साउनमा रु १३ करोड ११ लाख बराबरको बिजुली निर्यात भएको छ ।

भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँमा हुने गरेको छ । त्यसैले साउन महिनामा विद्युत् बिक्रीबाट मात्रै दुई अर्ब ६२ करोड १२ लाख तीन हजार भारु आम्दानी भएको छ । साउनमा निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट आठ रुपैयाँ ५१ पैसा छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आठ वर्षअघिसम्म वर्षायाममा दैनिक ८/९ घण्टा र सुक्खायाममा १८ घण्टासम्मको लोडसेडिङ बेहेर्नुपर्ने अवस्थाको अन्त्य भई हाल वर्षायाममा देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रुपमा ७ सय मेगावाटभन्दा बढी निर्यात गर्ने अवस्थामा आइपुगेको बताउनुभयो ।

प्राकृतिक र प्राविधिक कारणले यदाकदा केही क्षण बत्ति जाने आउने भएपनि हाल मागअनुसार विद्युत् आपूर्ति गर्न नसकेर लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको उहाँले उल्लेख गर्नुभयो ।

कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “हाम्रो पहिलो प्राथमिकता देशभित्रको विद्युत् खपत बढाउने नै हो, खपत बढाउन प्रसारण र वितरण प्रणाली सुधार एवम् विस्तारका कार्य अभियानकै रुपमा कार्यान्वयन भइरहेको छ । आन्तरिक रुपमा खपत गरी अतिरिक्त भएको विद्युत् छिमेकी देश भारत र बङ्गलादेशलाई निर्यात गरिने छ ।”

घिसिङले वर्षायाममा भारततर्फ विद्युत् निर्यात गरी उल्लेख्य विदेशी मुद्रा आर्जन हुँदा देशको विदेशी मुद्राको सञ्चिति एवम् नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न समेत सकारात्मक योगदान पुगिरहेको जानकारी दिनुभयो ।

“हिउँदयाममा केही महिना अझै विद्युत् आयात गर्नु परे पनि आयातको परिमाण क्रमशः घट्दै जाने छ, गत आवबाट देशभित्र खपत गरी बढी भएको विद्युत् भारतीय बजारमा बिक्री गरी खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनिसकेका छौं” उहाँले भन्नुभयो ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को ‘डे अहेड’ तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन)लाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।

प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित नौ सय ४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ ।

केही दिनअघि द्विपक्षीय सम्झौतमा बमोजिम भारतका बिहार र हरियाणा राज्यलाई थप दुई सय ५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको थियो । यसमध्ये एनभिभिएनमार्फत हरियाणा राज्यलाई थप दुई जलविद्युत् आयोजनाबाट उत्पादित एक सय २५ दशमलव ८९ मेगावाट बिक्री गरिने छ । हाल दुई आयोजनाबाट उत्पादित एक सय नौ दशमलव ६१ मेगावाट विद्युत् हरियाणा राज्यमा बिक्री हुँदै आएको छ ।

कूल १० जलविद्युत् आयोजनाबाट उत्पदित एक सय २५ मेगावाट विद्युत् मध्यकालीन सम्झौता बमोजिम पिटिसी, भारतमार्फत बिहार राज्यमा निर्यात हुने छ । बिहारलाई पहिलो पटक र हरियाणालाई थप विद्युत् निर्यातका लागि प्राविधिक प्रक्रिया पूरा गरी छिट्टै निर्यात सुरु हुने छ ।

हाल १४ आयोजनाबाट उत्पादित पाँच सय ८० दशमलव ८९ मेगावाट विद्युत् प्रतिस्पर्धी दरमा बिक्री भइरहेको छ । केही दिनअघि स्वीकृति पाएको परिमाणको विद्युत् निर्यात सुरु भइनसकेकाले हाल आइएक्स र हरियाणालाई गरी दैनिक रुपमा छ सय ९० दशमलव ५० मेगावाट विद्युत् निर्यात भइरहेको छ । स्वीकृत परिमाणको १० प्रतिशत थप विद्युत् निर्यात गर्न सकिन्छ । त्यसैले हाल दैनिक रुपमा सात सय मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ ।

गत आवमा भारतबाट रु १६ अर्ब ९३ करोडको विद्युत् आयात गरिएको थियो । यही अवधिमा रु १७ अर्ब ६ करोडको विद्युत् निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा रु १३ करोड बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।
प्राधिकरणले २०७९ जेठ २० गतेदेखि विद्युत् निर्यात सुरु गरेको थियो । पहिलो चरणमा ३९ मेगावाट निर्यात गरेको थियो । सुरुआती चरणमा त्रिशुली र देवीघाट जलविद्युत् केन्द्रबाट उत्पादित बिजुली भारत निर्यात भएको थियो ।

दुई देशबीच १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने गरी दीर्घकालीन विद्युत् सम्झौता समेत भइसकेको छ । यस्तै, बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण तत्कालका लागि ४० मेगावाट निर्यात गर्ने अन्तिम तयारी भएपनि स्थगित भएको छ ।

बाइडेन र मोदीबीच टेलिफोन वार्ता

0

काठमाडौँ: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच फोनमा कुराकानी भएको छ। दुई नेताबीच युक्रेनलगायत विश्वका विभिन्न विषयमा छलफल भएको बताइएको छ।

कुराकानीका क्रममा प्रधानमन्त्री मोदीले युक्रेनमा शान्ति र स्थायित्वका लागि भारतको समर्थन दोहोर्‍याएका थिए ।

मोदी र बाइडेनबीच बंगलादेशको विषयमा पनि छलफल भएको थियो । मोदी र बाइडेनले बंगलादेशको अवस्था छिट्टै सामान्य बनाउन जोड दिएका थिए । साथै बंगलादेशमा कानून र व्यवस्थाको चाँडो पुनर्स्थापना र अल्पसंख्यक, विशेष गरी हिन्दूहरूको सुरक्षा सुनिश्चित गर्नमा जोड दिए ।

प्रधानमन्त्री मोदी गत हप्ता २३ अगस्टमा युक्रेनको भ्रमणमा थिए । यसै क्रममा राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेटेका मोदीले भनेका थिए, ‘भारत सधैं शान्तिको पक्षमा रहेको छ । मैले केही दिनअघि रुसी राष्ट्रपति पुटिनलाई भेटेको थिएँ । त्यसपछि मैले उनलाई मिडियाको अगाडि आँखा चिम्लेर हेरें र भने कि यो युद्धको समय होइन।

युक्रेनको मारिन्स्की प्यालेसमा मोदी र जेलेन्स्कीबीच करिब ३ घण्टा भेटवार्ता भएको थियो । मोदी जेलेन्स्कीसँगै युक्रेनको राष्ट्रिय संग्रहालय पनि गए, जहाँ उनले युद्धमा मारिएका बालबालिकालाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।

रुसद्वारा युक्रेनमा ठूलो हवाई आक्रमण: पाँच जनाको मृत्यु

0

काठमाडौं । रुसले सोमबार बिहान युक्रेनमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा पाँच जनाको ज्यान गएको छ ।

यसबारे युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले आक्रमणका लागि १०० भन्दा बढी मिसाइल र १०० ड्रोन प्रयोग गरेको बताए । यी आक्रमणहरू कीभ, खार्किभ, ओडेसा र पश्चिमी क्षेत्रहरूमा गरिएका छन्।

युक्रेनका प्रधानमन्त्री डेनिस श्म्याहलले देशका १५ क्षेत्रका धेरै सहरमा विष्फोट भएको बताएका छन् । नले भने ‘हाम्रो ऊर्जा पूर्वाधार लक्षित छ। यसैलाई मध्यनजर गर्दै हवाई आक्रमणको अलर्ट जारी गरिएको छ ।’

युक्रेनी वायुसेनाले रुसले लगातार हवाई हमला गरिरहेको बताएको छ । ड्रोन अझै युक्रेनको क्षेत्रमा छन्।

युक्रेन कुर्स्क क्षेत्रमा धेरै ठाउँमा प्रवेश गरेको बेला रुसले आक्रमण गरेको हो । रुसले २४ फेब्रुअरी २०२२ मा युक्रेनमा हमला गरेको थियो र त्यसयता दुई देशबीच युद्ध चलिरहेको छ ।

प्रहरीको ३० वर्षे सेवा अवधिको आदेशविरुद्ध सरकारद्वारा भ्याकेट निवेदन दर्ता

0

काठमाडौं: सर्वोच्च अदालतले नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि लागू नगर्न दिएको अन्तरिम आदेश विरुद्ध गृह मन्त्रालयले मंगलबार भ्याकेट निवेदन दर्ता गराएको छ।

गृह मन्त्रालयले महान्यायाधिवक्ता कार्यालयमार्फत् सर्वोच्च अदालतमा भ्याकेटको निवेदन दर्ता गराएको गृह मन्त्रालय कानून महाशाखाका प्रमुख भरतमणि रिजालले जानकारी दिए।

मुलुकको शान्ति सुरक्षा र अमन चयन कायम गर्ने निकायमा कार्यरत प्रहरी कर्मचारीहरुको सेवा, शर्त सम्बन्धी कानून बनाउने जारी गर्ने विधायिकी अधिकार र विधायिकाले दिएको अधिकार अनुसार कार्यपालिकाबाट भइ आएको कानून बमोजिमको कामलाई बिनाकानूनी आधार एकतर्फी सुनुवाईबाट जारी भएको अन्तिरम आदेश रद्द गर्न सर्वोच्चमा भ्योकट निवेदन दर्ता गरिएको कानून महाशाखाका प्रमुख रिजालले जानकारी दिए।

प्रहरीको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै प्रहरी अधिकृतहरू एकसाथ सर्वोच्च अदालत पुगेका थिए। भदौ १६ गते अवकाश हुन लागेका प्रहरीहरूले गत बुधबार सर्वोच्च अदालतमा ३० वर्षे सेवा अवधि खारेजीको माग गर्दै रिट दायर गरेका थिए।

सोही प्रकारको दाबीसहित सर्वोच्च अदालत पुगेका सशस्त्र प्रहरीका केही अधिकारीको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। मंगलबार सर्वोच्चले सशस्त्र प्रहरी अधिकारीहरुको रिटमा कारण देखाऊ आदेश मात्र जारी गरेको हो।

ब्राजिलमा ट्रान्जिटमा रहेका १७६ नेपाली सकुशलः नेपाली दूतावास

0

काठमाडौं: ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिटमा रहेका एक सय ७६ नेपाली नागरिक सकुशल रहेको ब्राजिलस्थित नेपाली दूतावासले जनाएको छ।
उनीहरूलाई आवश्यकताअनुसार मानवीय सहायता पुर्‍याउन पनि दूतावासले तयारी अवस्थामा रहेको जनाइएको छ।

दूतावासले आज विज्ञप्तिमार्फत विमानस्थलको ट्रान्जिटमा नेपालीसहित करिब सात सय विदेशी रोकिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै नेपाली नागरिकलाई मानवीय सहायता पुर्‍याउन तयारी अवस्थामा रहेको उल्लेख गरेको छ।

दक्षिण अमेरिकाका ब्राजिललगायत मुलुक हुँदै अवैध रुपमा संयुक्तराज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकमा आउने प्रवृत्ति बढ्दो छ। संगठित रुपमा सञ्चालित मानव तस्करको प्रलोभन र उक्साहटमा परी नेपालबाट युवा यस क्षेत्रमा आउने गरेको जानकारी बेलाबेलामा हुने गरेको दूतावासले जनाएको छ। कैयौँले अकल्पनीय पीडा व्यहोर्नुका साथै ठूलो धनराशि खर्च गर्नुपर्ने परिस्थितिमा फस्न पुगेको पाइएको छ।

‘यसैबीच ब्राजिल सरकारले तत्काल लागू हुनेगरी नेपाललगायत केही देशका राहदानीबाहकलाई प्रवेशाज्ञा लिएको भएमा मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको छ’, विज्ञप्तिमा उल्लेख छ, ‘अब उप्रान्त नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने र त्यसरी नगएमा सोही विमानमार्फत फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइएको छ।’

मानव तस्करको सञ्जाल प्रयोगगरी गरिने यस प्रकारको यात्रा अवैध, जोखिमपूर्ण र अनिश्चित हुने सन्दर्भमा जायज कारण भएमा सो पुष्टि गर्ने कागजात र प्रवेशाज्ञा लिई मात्र ब्राजिल वा ब्राजिल हुँदै अन्य मुलुकको भ्रमणमा निस्कनु हुन दूतावासले अनुरोध गरेको छ।

प्रम ओली र ओमानका विदेशमन्त्रीको शिष्टाचार भेट

0

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ ।

भेटका अवसरमा उहाँहरूबीच दुई पक्षीय हित र चासोसहित पारस्परिक लाभका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा प्रधानन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साललगायतको उपस्थिति थियो ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको निमन्त्रणामा ओमानका विदेशमन्त्री दुईदिने औपचारिक भ्रमणका क्रममा हिजो नेपाल आउनुभएको हो । नेपालको ओमानसँग ‘सन् १९७७ जनावरी २१’ मा कूटनीतिक सम्बन्ध कायम भएको हो ।

नेप्से परिसूचकमा निरन्तर गिरावट

0

काठमाडौँ: यो सातामा कारोबारको दोस्रो दिन पनि पूँजीबजारमा उच्च अङ्कको गिरावट देखिएको छ । आइतबार ७९ दशमलव ८८ अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज एक सय ११ दशमलव ९६ अङ्कले घटेर दुई हजार सात सय ८२ दशमलव ६० को बिन्दुमा कायम भएको छ ।

आज नेप्से परिसूचक तीन दशमलव ८६ प्रतिशतले घटेको हो । आज तीन सय ३० कम्पनीको चार करोड ३८ लाख ६८ हजार नौ सय ७० कित्ता शेयर दुई लाख ३४ हजार तीन सय ६० पटक खरिदबिक्री हुँदा रु १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार एक सय ७० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

होटल तथा पर्यटन समूह शून्य दशमलव ४३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै बैंकिङ चार दशमलव ९२, विकास बैंक चार दशमलव १८, वित्त चार दशमलव ६९ र लगानी समूह चार दशमलव १३ प्रतिशतले घटेको छ ।

त्यस्तै, जलविद्युत् तीन दशमलव ९६, जीवन बीमा तीन दशमलव ६५, उत्पादन तथा प्रशोधन दुई दशमलव ९३, लघुवित्त दुई दशमलव ९६, म्युचुअल फन्ड एक दशमलव ०९, निर्जीवन बीमा दुई दशमलव ४५, व्यापार दुई दशमलव १६ र अन्य समूह तीन दशमलव ८५ प्रतिशतले घटेको छ ।

तारागाउँ रिजेन्सी होटल लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र दोल्ति पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ६५ करोड ४२ लाख नौ हजार पाँच सय ८२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अपि पावर कम्पनी लिमिटेडको १४ लाख ५९ हजार चार सय ५० बराबरको कारोबार भएको छ ।

बिल नभएका एक करोड ३१ लााखभन्दा बढी मूल्यका सामान बरामद

0

वीरगञ्ज (पर्सा): वीरगञ्जमा रु एक करोड ३१ लाख १५ हजार छ सय ९८ मूल्य पर्ने बिलबी नभएका औषधि तथा लत्ताकपडासहित सामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–८ स्थित घण्टाघरबाट बिलबीजकभन्दा धेरै समान बोकेका दुईवटा ट्रकसहितको सामान बरामद गरेको प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिनुभयो ।

उहाँले बिलबीजकभन्दा धेरै सामान बोकेका लत्ताकपडा र औषधि बोकेका ट्रकलाई आइतबार राति पक्राउ गरिएकामा राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको बतानुभयो । प्रदेश ७–०१–००१ ख ३०८८ र ना ३ ख ५१६५ नंको मालवाहक ट्रकबाट कपडा, औषधि र खुद्रा मालवस्तु लोड गरी चितवन तथा कैलालीतर्फ लैजाने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।