Thursday, June 11, 2026
Home Blog Page 709

आठ महिनामा भित्रिए सात लाखभन्दा बढी पर्यटक, के छ पर्यटक बढाउने सरकारी योजना ?

0

काठमाडौँ: सन् २०२४ को आठ महिनामा सात लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगस्त महिनासम्म सात लाख २० हजार तीन सय ३४ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । बोर्डकानुसार अगस्तमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ । सो महिनामा मात्र ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका छन् ।

सन् २०२३ को अगस्तको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार पाँच सय ६६ बढी पर्यटक नेपाल भित्रिएका हुन् । गत वर्ष कुल ६७ हजार एक सय ५३ जना पर्यटक आएकामा सन् २०२४ को अगष्टमा ७२ हजार सात सय १९ पर्यटक नेपाल भित्रिएका छन् । बोर्डका निर्देशक मणिराज लामिछानेले पछिल्ला दिनमा विदेशी पर्यटक आवागमनमा वृद्धि भइरहेको बताउनुभयो । उहाँले छिमेकी मुलुक भारत र चीनलक्षित पर्यटन प्रवर्द्धनात्मक कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइएकाले आगामी दिनमा छिमेकीसहित अन्य मुलुकबाट पनि उल्लेख्य सङ्ख्यामा पर्यटक आउने विश्वास व्यक्त गर्नुभयो ।

बोर्डको आँकडाअनुसार अगस्तमा भारतबाट सबैभन्दा बढी २५ हजार आठ सय ३२, चीनबाट छ हजार छ सय १४, अमेरिकाबाट पाँच हजार छ सय १४, श्रीलङ्काबाट चार हजार आठ सय ५१ र बङ्गलादेशबाट तीन हजार ७७ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२२ को अगस्तमा ४१ हजार तीन सय चार, सन् २०२१ को सोही अवधिमा छ हजार ९३ र सन् २०१९ को अगस्तमा ९४ हजार सात सय ४९ जना विदेशी पर्यटक नेपाल आएका थिए ।

कुन महिनामा कति पर्यटक

मार्च महिनामा सबैभन्दा बढी एक लाख ११ हजार तीन सय ७६ पर्यटक आएका छन् भने सबैभन्दा कम जुलाईमा ६४ हजार पाँच सय ९९ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अप्रिलमा एक लाख ११ हजार तीन हजार ७६, जनवरीमा ७९ हजार एक सय, फेब्रअरीमा ९७ हजार चार सय २६, मेमा ९० हजार दुई सय ११, जुनमा ७६ हजार सात सय ३६ र अगस्तमा ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका छन् ।

के छ पर्यटक बढाउने सरकारी योजना ?

कोरोना महामारीपछि विदेशी पर्यटक आगमन निरन्तर बढिरहेको छ । सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८५ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सरकारले चालु आर्थिक वर्षको बजेटमा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पर्यटन रणनीति योजना (सन् २०१६–२५) र नेपाल भ्रमण दशकलाई कार्यान्वयनमा ल्याएर यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको हो । पर्यटकीय गन्तव्यको विकास, विस्तार तथा पहिचान, पदमार्ग निर्माण, पर्यटकीय उपजका बारेमा स्वदेश तथा विदेशमा प्रचारप्रसार तथा प्रवर्द्धनात्मक कार्यक्रम निरन्तर हुँदै आएको मन्त्रालयले जनाएको छ । पर्यटन बोर्डबाट एक सय पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटन विभागले पूर्वाधार निर्माणसमेत गरिरहेको छ ।

धुलिखेलमा खेल मैदान निर्माणका लागि एन्फासँग सम्झौता

0

काभ्रेपलाञ्चोक: काभ्रेपलाञ्चोकको धुलिखेलमा अन्तर्राष्ट्रिय खेल मैदान निर्माणका लागि अखिल नेपाल फुटबल सङ्घ(एन्फा) र धुलिखेल नगरपालिकाबीच सम्झौता भएको छ । बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र नगरप्रमुख अशोककुमार ब्यान्जु श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो । द्विपक्षबीच प्रारम्भिक चरणमा रु एक करोड ३४ लाखको लागतमा पूर्वाधार निर्माण गर्ने सम्झौता भएको छ ।

एन्फाले विशेषगरी अन्तर्राष्ट्रियस्तरको हक्की खेलका लागि स्टेडियम निर्माण गर्न धुलिखेलमा जग्गा व्यवस्थान र स्टेडिएम निर्माणार्थ आर्थिक सहयोग गर्ने जनाएको छ । यसका लागि नगरपालिकाले वडा नं १२ स्थित खेल मैदान उपलब्ध गराउने नगरप्रमुख ब्यान्जुले बताउनुभयो ।

बागमती प्रदेशको खेलकुद विकास परिषद्द्वारा स्टेडियमको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को तयारी अन्तिम चरणमा पुगेको र तीन वर्षमा तीन चरणमा खेल मैलान निर्माण हुने जनाइएको छ ।

एन्फा कार्यसमिति बैठकले यही भदौ दोस्रो साता उक्त खेल मैदान निर्माणका लागि रु एक करोड ३२ लाख विनियोजन गरेको त्यस अवसरमा जनकारी दिइयो ।

कार्यक्रममा नगरप्रमुखसहित एन्फा महासचिव किरण राई र धुलिखेल–३ का वडाअध्यक्ष गणेश आचार्यलगायतको सहभागिता रहेको थियो ।

यातायात कार्यालय झापाद्वारा ९३ करोड राजस्व सङ्कलन

0

भद्रपुर (झापा): यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८०/८१ मा रु ९३ करोड २१ लाख ६६ हजार आठ सय १३ राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०७९/८० को तुलनामा रु पाँच करोड १४ लाख ७९ हजार पाँच सय ६६ बढी राजस्व सङ्कलन गरेको हो ।

यातायात व्यवस्था कार्यालय झापाका निमित्त प्रमुख गोपीचन्द्र बोहराका अनुसार आव २०७९/८० मा रु ८८ करोड छ लाख ८७ हजार दुई सय ४७ राजस्व सङ्कलन भएको थियो । गत आव २०८०/८१ मा २० हजार ६३ कूल सवारी दर्ता हुँदा १९ हजार नौ सय २० सवारी चालक अनुमतिपत्र वितरण भएको उहाँले बताउनुभयो । यसैगरी कार्यालयले सवारी जाँचपास ११ हजार चार सय ४१ र रुट अनुमति पाँच सय ३४ दिएको थियो ।

गत आव २०८०/८१ मा सबैभन्दा धेरै सात हजार छ सय १५ मोटरसाइकल दर्ता हुँदा एक हजार सात सय पाँच इ–रिक्सा दर्ता भएको यातायात व्यवस्था कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार बस एक सय ५६, मिनिबस १०, माइक्रोबस १८, जिप एक सय ६०, कार दुई सय ७०, भ्यान एक सय ३६, पिकअप एकस २९, ट्र्याक्टर एक सय ४५, ट्रक ७८, मिनिट्रक १४ टिपर १४ गत आवमा दर्ता भएका छन् ।

दर्ता भएका जम्मा सवारीमध्ये एक हजार दुई सय ५७ सार्वजनिक, नौ हजार चार सय ४९ निजी, ११ सरकारी, १३ लिलाम दर्ताका र एक हजार नौ सय ७५ सवारी सरुवा दर्ताअन्तर्गत रहेको यातायात कार्यालय झापाले जनाएको छ ।

निमित्त कार्यालय प्रमुख बोहराले हप्ताको चार दिन (आइतबारदेखि बुधबार) चालक अनुमतिपत्रको लिखित परीक्षा र हप्ताको पाँच दिन (आइतबारदेखि बिहीबार) चालक अनुमतिको प्रयोगात्मक परीक्षा सञ्चालन हुने गरेको जानकारी दिनुभयो ।

शिलान्यास गरिएको छ वर्षमा भयो; नमुना सदरमुकाम निर्माणकार्य शुन्य

0

त्रिवेणी (नवलपरासी): नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमुना सदरमुकाम निर्माण अलपत्र बनेको
छ । जिल्लाको कावासोती नगरपालिका–३, मा नमुना सदरमुकाम निर्माण हुने क्षेत्रमा रहेका रूख कटान नहुँदा सो काम अगाडि बढ्न नसकेको हो । आयोजना सम्पन्न गर्ने जिम्मेवारी पाएको सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय चितवनले निर्माण अघि बढाउनुपूर्व रूख कटानको आदेश पर्खिरहेको कार्यालयका इञ्जिनियर द्रोण कट्वालले बताउनुभयो ।

नवलपुरको सदरमुकाम निर्माणका लागि यहाँ एक सय ८४ बिघा जग्गा सरकारको नाममा ल्याइएको छ । उक्त जग्गामा सङ्घ र प्रदेशका सबै कार्यालय निर्माण गर्ने योजनाका साथ विसं २०७६ वैशाख ७ गते नमुना सदरमुकामको शिलान्यास गरिएको थियो । शिलान्यासको भएको छ वर्षको अन्तरालमा अहिले भवन निर्माणको काम अघि बढ्न थालेको छ । पहिलो चरणमा हाल विनियोजन गरिएको रु ८० करोडको लागतमा जिल्ला प्रशासन कार्यालयसहित अन्य दुई वटा भवन निर्माणको काम अघि बढाउन थालिएको छ । यस कामका लागि चौधरी कन्स्ट्रक्सन रौतहट छनोट भएको छ ।

सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय चितवनले असोजदेखि स्थलगत रुपमा नमुना सदरमुकाम निर्माणको काम अघि बढाउने तयारी गरेको छ । तर निर्माणको प्रक्रिया अघि बढाउन थाल्दा यहाँ रहेका रूख कटानको आदेश भने अझै आई नसकेको इञ्जिनियर कटवालले बताउनुभयो । “हाल निर्माण गर्न थालिएको भवनको ठाउँमा रूख पर्दैनन् कि भन्ने हो, तर उक्त आदेश आए काम गर्न सहज हुने थियो”, इञ्जिनियर कटवालले भन्नुभयो । रुख कटानको आदेश नआए निर्माणको काम प्रभावित हुनसक्ने उहाँले बताउनुभयो ।

नमुना सदरमुकाम निर्माणस्थलमा ठूला पाँच सय ५२ र साना ९० गरी छ सय ४२ रूख रहेका छन् । नमुना सदरमुकाम निर्माणस्थलमा रूख हटाउने मापदण्डअनुसार प्रक्रिया अघि बढेको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख वसन्त केशव अधिकारीले बताउनुभयो । आवश्यक निर्णयका लागि सबै कागजातसहित वन तथा वातावरण मन्त्रालयमा फाइल पुगेको उहाँले बताउनुभयो । मन्त्रालयको निर्णय पछि रूख कटान अघि बढ्ने उहाँले बताउनुभयो ।

वन तथा वातावरण मन्त्रालयले जतिसक्दो चाँडो निर्णय गरिदिन्छ उति चाँडो काम अघि बढाउन सहज हुने सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालयका इञ्जिनियर कट्वालले बताउनुभयो । हाल तीन वटा कार्यालय भवन निर्माण सुरु हुने साथै यस वर्ष थप अन्य भवन निर्माणको प्रक्रिया अघि बढ्ने उहाँले बताउनुभयो ।

नमुना सदरमुकाम निर्माणको थालनी गर्न ढिलो भइसकेको र जतिसक्दो चाँडो स्थलगत रुपमा काम सुरु गर्नुपर्ने यसै क्षेत्रका पूर्व सांसद तिलक महतले बताउनुभयो । जिल्लाकै गौरवको आयोजनाका रुपमा रहेको नमुना सदरमुकाम निर्माण गर्ने कामलाई चाँडो सुरु गराउन सम्बन्धित सरोकारवालाले आवश्यक पहल गरिदिनुपर्ने उहाँले बताउनुभयो ।

“जिल्लाका सबै कार्यालय अहिले पनि भाडामा रहेका छन्, साँघुरा ठाउँबाट सेवा दिइरहेका छन्, यसले सेवा प्रवाहमा कठिनाइ हुने गरेको छ, यी सबै समस्याको समाधान भनेकोजति सक्दो चाँडो भवन निर्माण गर्नु हो”, उहाँले भन्नुभयो ।

नमुना सदरमुकाम निर्माणको गुरुयोजनाअनुसार यहाँ सङ्घ र प्रदेश मातहतका सबै कार्यालय, पार्किङ, बाटिका, २५ हजार दर्शक क्षमताको फुटबल स्टेडियम, १५ हजार दर्शक क्षमताको क्रिमेट स्टेडियम, कर्मचारीका लागि आवसगृह, अतिथिगृह, सभाहल, पुस्तकालय, खाजा घरलगायत संरचना निर्माण हुनेछन् । प्रारम्भिक गुरुयोजनाअनुसार आयोजनाको कूल लागत रु १६ अर्ब २५ करोड ५३ लाख ९० हजार रहेको छ ।

एक सय ८४ बिघा क्षेत्रमध्ये ४१ प्रतिशत भूभागमा मात्र भौतिक पूर्वाधार निर्माण हुनेछन् । वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदनअनुसार अन्य भूभाग कङ्क्रिटविहीन राखिनेछ । आयोजना निर्माणस्थलमा हरियाली क्षेत्र राखिनेछ । गण्डकी प्रदेशका ११ जिल्ला परिदृश्य गर्ने ११ खण्डको एक लाख १८ हजार नौ सय १९ वर्ग मिटर क्षेत्रफलमा हरियाली क्षेत्र निर्माण गरिनेछ ।

हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ पहिरोका कारण अवरुद्ध

0

बागमती: पहिरोका कारण हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा आज पहिरो खस्दा सो सडकमा आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

सडक डिभिजन कार्यालयसँग समन्वय गरेर पहिरो हटाउने काम भइरहेको उहाँले बताउनुभयो । यसैबीच मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लिपुरस्थित राप्ती खोलाको बगरमा अलपत्र परेका चार जनालाई गएराति नेपाल प्रहरीले उद्धार गरेको छ ।

बगरमा घाँस काट्न गएका चारैजना राप्ती खोलामा आएको बाढीसँगै बगरको बीचमा अलपत्र परेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय नेवारपानी, इलका प्रहरी कार्यालय मनहरी, बागमती प्रदेश विपत् व्यवस्थापन गुल्म थानाभ¥याङ, सशस्त्र प्रहरी बल १४ नम्बर गण मकवानपुर र नेपाली सेनाको सुपारेटार ब्यारेकबाट खटिएको संयुक्त टोलीले उहाँहरुको उद्धार गरेको हो । टोली विभिन्न उपाय अपनाइएर बगरमा अलपत्र परेका चारैजनालाई सकुशल उद्धार गरिएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो ।

वीरगञ्ज कृषि औजार कारखानामा नयाँ ‘ट्रान्सफर्मर’ जडान

0

वीरगञ्ज (पर्सा): नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले बुधबार कृषि औजार कारखाना वीरगञ्जमा पाँच सय केभीए क्षमताको विद्युत् ट्रान्सफर्मर जडान गरिदिएको छ । राष्ट्रिय अविष्कार केन्द्रले कृषि कारखानाको व्यवस्थापन र सञ्चालनको जिम्मा लिएसँगै उच्च क्षमताको विद्युत्को अभावले विभिन्न समस्या झेल्नुपरेको बताउँदै आइरहेको थियो । प्राधिकरणले कारखानामा देखिएको विद्युत्को समस्या अन्त्य गर्नका लागि बुधबारदेखि नयाँ ट्रान्सफर्मर जडान गरेर सञ्चालनमा ल्याएको हो ।

राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अबदेखि कृषि औजार कारखानाका लागि आवश्यकपर्ने विद्युत्को अभाव नहुने बताउनुभयो । “विगतमा ६५ केभीए क्षमताको विद्युत् अस्थायी लाइनले काम चलाउँदै आइरहेका थियौँ”, उहाँले भन्नुभयो, “अब कारखानाका लागि आवश्यकपर्ने विद्युत्को अभाव हुने छैन”, केन्द्रका अध्यक्ष पुनले ट्रान्सफर्मर जडानका लागि प्राधिकरणको रु १५ लाख र केन्द्रको १२ लाख खर्च भएको बताउनुभयो । केन्द्रले विगत २३ महिनादेखि कृषि औजार कारखानाको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी लिएको हो । केन्द्रले हालसम्म करिब डेढ दर्जन कृषि औजार अनुसन्धान र विकास गरेको जनाएको छ ।

गिरफ्तारीको जोखिमका बीच रूसी राष्ट्रपति पुटिन मंगोलियामा

0

काठमाडौं: रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को गिरफ्तारी वारेन्टको जोखिमका बीच मंगोलिया पुगेका छन् ।

राष्ट्रपति उख्नागिन खुरेलसुखले पुटिनलाई देशको राजधानी उलानबाटोरमा स्वागत गरेका छन् । मार्च २०२३ मा, आईसीसीले पुटिनको गिरफ्तारीको लागि वारेन्ट जारी गरेको थियो। अदालतले युद्ध अपराधका लागि पुटिन जिम्मेवार रहेको बताएको छ ।

आइसीसी प्रवक्ता डा. फादी अल-अब्दल्लाहले हालै बीबीसीलाई भने, “अदालतले अदालतको आदेशको पालना गराउन मंगोलिया लगायतका सदस्य राष्ट्रहरूमा निर्भर गर्दछ। आईसीसीका अन्य सदस्य राष्ट्रहरू जस्तै यो मङ्गोलियाको दायित्व हो कि उसले यसमा सहयोग गर्नुपर्छ।”

रुसले पुटिनमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएको छ । आईसीसीले पुटिनको नाममा वारेन्ट जारी गर्नुलाई रुसले ‘लज्जास्पद’ भनेको थियो।

 

फ्रान्समा आप्रवासीले भरिएको डुङ्गा पल्टिँदा १२ जनाको मृत्यु, धेरै घाइते

0

काठमाडौं: फ्रान्सको ले पोटेल नजिकैको समुन्द्रमा आप्रवासीले भरिएको डुङ्गा पल्टिएको छ । यसबाट हालसम्म १२ जनाको मृत्यु भइसकेको छ । फ्रान्सको कोस्टगार्डले अहिलेसम्म ५३ जनाको सकुशल उद्धार गरिएको जनाएको छ ।

कोस्ट गार्डले उद्धार गरिएका धेरैलाई तत्काल उपचार आवश्यक रहेको बताएको छ । समुन्द्रमा खोजी कार्य जारी छ । मृतक र घाइतेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

उत्तरी फ्रान्सका मानिसहरूले लगातार बेलायत प्रवेश गर्ने प्रयास गरिरहेका छन्। यो वर्ष हालसम्म २० हजार मानिस फ्रान्सबाट बेलायत पुगेका छन् । यसले यहाँको सरकारलाई दबाब दिएको छ ।

पारा ओलम्पिकमा पदक विजेता पलेशा राष्ट्रपतिद्वारा सम्मानित

0

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गर्नुभएको छ। बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो।

राष्ट्रपतिले पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिनुभयो । सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै यसबाट देशको शिर उचों पार्ने काम भएको र अर्को पटक स्वर्ण पदक राष्ट्रले अपेक्षा गरेको बताए।

सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मंगलधुन बजाएर स्वागत गरेको थियो। कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बाबु आमा र खेल संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो।

पलेशाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै काँस्य पदक जितेकी थिइन्।

पारा ओलम्पिकको कास्य पदक विजेता पलेशाले ६५ लाख नगद पुरस्कार पाउने

0

काठमाडौं: पेरिस पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले ६५ लाख रुपैयाँ पुरस्कार पाउने भएकी छन् ।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ ले व्यवस्था गरे अनुसार पलेशाले सो रकम पुरस्कार स्वरूप पाउने भएकी हुन्।

नियमावलीमा व्यक्तिगत प्रतिस्पर्धामा ओलम्पिक खेल, गृष्मकालीन, शीतकालीन, पारा र विशेष तथा विश्वकप फुटबलमा कास्य पदक जित्ने खेलाडीले ६५ लाख रुपैयाँ पुरस्कार दिइने उल्लेख छ।

साथै नियमावलीमा पलेशाका प्रशिक्षक कविराज नेगी लामाले ५ लाख पचासी हजार र नेपाल तेक्वान्दो संघले ११ लाख ७० हजार पुरस्कार पाउने व्यवस्था गरिएको छ । नियमावलीले ओलम्पिकमा व्यक्तिगततर्फ स्वर्ण विजेता खेलाडीलाई १ करोड ३० लाख र रजत पदक जित्ने खेलाडीलाई ९७ लाख नगद पुरस्कार दिने व्यवस्था गरेको छ।

पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत भएको के–४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिष्पर्धामा मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै पलेशाले काश्य पदक जितेकी हुन्। योसँगै पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन्।