Thursday, June 11, 2026
Home Blog Page 703

आफ्ना सांसदलाई उपत्यका नछोड्न कांग्रेसको निर्देशन

0

काठमाडौं: नेपाली कांग्रेसले असोज ३ गतेसम्म आफ्ना सांसदलाई उपत्यका नछोड्न निर्देशन दिएको छ। उपसभामुख इन्दिरा रानामगरले पदीय आचरण विपरीत काम गरेको निष्कर्ष निकाल्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेकाले कांग्रेसले आफ्ना सांसदलाई उपत्यका नछोड्न निर्देशन दिएको हो।

बुधबार सबै सांसदलाई असोज ३ सम्म उपत्यका नछोड्न कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले निर्देशन पठाएका छन्। उनले उपत्यका बाहिर रहेका सांसदलाई पनि काठमाडौं फर्किन भनेका छन्।

‘काठमाडौं नछाड्न पार्टीले ह्वीप जारी गरेको छ। उपत्यका बाहिर भएका सांसदलाई पनि तत्काल काठमाडौं फर्किन भनिएको छ,’ एक सांसदले भने।

बुधबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले उपसभामुख रानामगरले पदीय मर्यादा विपरित काम गरेको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो।

बैठकले विभिन्न व्यक्तिको नाम बिभिन्न व्यक्तिको नाम उल्लेख गरेर अमेरिकी दूतावासलाई अन्तर्वार्ताको मितिका लागि पत्र लेख्ने कामले सदनको शिर निहुराएको भन्दै राजीनामा दिन आग्रह गरेको थियो।

उपसभामुख रानाले राजीनामा नदिए संसदबाट प्रक्रिया अनुसार हटाइने सत्तारुढ दलको तयारी छ। उपसभमुख रानामगरको दल रास्वमा र प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले भने उपसभामुखलाई हटाइएको प्रतिवाद गर्ने चेतावनी दिँदै आएका छन्।

उपसभामुख रानामगरले २०२३ को फेब्रअरीको संयुक्त राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा जान लागेको भन्दै आफूहरुको भिसा अन्तर्वार्ता छिटो गरिदिन अमेरिकी दूताबासलाई पत्र लेखेकी थिइन्। त्यही विषयलाई लिएर सत्तारुढ दलहरुले उनीमाथि प्रश्न उठाएका छन्।

भोलि बिहीबार साँझदेखि शनिबार बिहानसम्म मनसुन सक्रिय हुने सम्भावना

0

काठमाडौँ: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले बिहीबारदेखि वर्षा सुरु भएर तीन दिनसम्म वर्षा हुने पूर्वानुमान गरेको छ । विभागद्वारा आज जारी विशेष मौसमी बुलेटिनमा देशका केही स्थानमा भारी वर्षासमेत हुने जनाउँदै आवश्यक सतर्कतासमेत अपनाउन आग्रह गरेको छ ।

महाशाखाका मौसमविद् शान्ति कँडेलले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको बताउनुभयो । उहाँले मौसमको यस्तोस्थिति तापनि हाल भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय प्रणाली थप विकसित भई उत्तर–पश्चिमतिर (नेपाल नजिक) सर्ने सम्भावना देखिएको जानकारी दिनुभयो । “उक्त प्रणालीको प्रभावले बिहीबार साँझदेखि शनिबार बिहानसम्म विशेषगरी नेपालको पश्चिमी क्षेत्रमा मनसुन सक्रिय भई वर्षा हुने सम्भावना छ,” उहाँले भन्नुभयो, “तसर्थ आवश्यक सतर्कता अपनाउन आवश्यक छ ।”

महाशाखाद्वारा जारी बुलेटिनमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि साधारणतया बदली रहने उल्लेख छ । “गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,” जारी विशेष बुलेटिनमा भनिएको छ, “लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको
छ ।”

बुलेटिनअनुसार आज राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

महाशाखाले वर्षाका कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने जनाएको छ । यसैगरी दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध गरको छ ।

अब सरकारी कार्यालयमा सेयर कारोबारको ‘टिएमएस’ चलाउन प्रतिबन्ध

0

काठमाडौँ: सेवाग्राहीलाई प्रभावकारी सेवा दिनुपर्ने सरकारी कर्मचारी शेयर कारोबारमा व्यस्त भई आफ्नो जिम्मेवारी बेवास्ता गर्दै नाफा घाटाको हिसाबमा समय बिताउन थालेपछि सरकारले कार्यालयमा त्यस्तो कार्यमा प्रतिबन्ध लगाएको छ ।

विशेष गरी प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र कार्यालय समयमा आवश्यक काम छाडेर कर्मचारी शेयर कारोबारमा व्यस्त भएको भनी लिखित तथा मौखिक उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुमगन गरेको थियो ।

आयोगको अनुमगनपछि यही भदौ २१ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्राचार गरेको थियो । आयोगको निर्देशनका आधारमा मन्त्रिपरिषद् कार्यालयले कार्यालय समयमा शेयर कारोबार गर्ने प्रणाली (टिएमएस) सञ्चालन नगर्न आग्रह गरेको छ । कार्यालयमा बसेर शेयर बजारमा निजी कारोबार गर्नु जायज नभएको ठहर गर्दै सबै मन्त्रालय, आयोग, सचिवालय, सात वटै प्रदेशका प्रमुख सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरिएको हो ।

“नेपाल सरकारका सबै सरकारी तथा सार्वजनिक निकायमा कार्यालय समयमा टिएमएस नचलाउने व्यवस्था हुन र सो समयमा टिएमएस चलाएको वा नचलाएको सम्बन्धमा सूचना प्रविधिको प्रयोग गरी आवश्यक जाँच गर्न सकिने व्यवस्था मिलाउनु”, पत्रमा उल्लेख गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आयोगले गरेको पत्राचारको छायाप्रति राखेर सबै मन्त्रालय, आयोग र सचिवालयलाई आग्रह गरेको छ ।

मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सामाजिक सञ्जालमार्फत सरकारी कार्यालयमा टिएमएस प्रतिबन्ध लगाएको जानकारी दिनुभएको थियो । उहाँले उल्लेख गर्नुभएको थियो,“सरकारी कार्यालयमा बसेर शेयर बजारमा निजी कारोबार गर्नु कानुनी दृष्टिले पनि अमान्य छ । यसले सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको छ र सेवाग्राहीको काम प्रभावित भएको गुनासो आइरहेको छ । यही जनगुनासोलाई सम्बोधन गर्दै अब सरकारले देशभरिका सबै सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाएको छ । सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको छ । सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न अनुरोध गर्दछु ।”

आज काठमाडौँका यी स्थानमा बिजुली बल्दैन

0

काठमाडौँ: काठमाडौँको प्रमुख स्थानमा भूमिगत प्रसारण लाइनको काम गर्ने प्रयोजनका लागि आज बिजुलीको लाइन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरणले एक सूचना प्रकाशित गरी रत्नपार्क वितरण केन्द्र मातहतका विभिन्न स्थानमा लाइन काटिने जनाएको छ । उक्त वितरण केन्द्र मातहतका अधिकांश स्थानमा प्रसारण लाइन भूमिगत गरिएको छ । भूमिगत गरिएका प्रसारण लाइनमा आवश्यक काम गर्ने प्रयोजनका लागि बिजुली काटिन लागेको सूचनामा उल्लेख छ ।

रतनपार्क वितरण केन्द्रअन्तर्गत महाबौद्ध फिडरअन्तर्गत पर्ने न्यूरोड गेट, रञ्जना हल, विशालबजार सवस्टेशनभित्र, विशाल बजार अगाडि, गणेशस्थान, ट्रमा सेन्टरसम्मको केबल हेडसम्मको स्थानमा बिहान ६.३० देखि ११ बजेसम्म लाइन काटिनेछ ।

यस्तै, रत्नपार्क बगैचा, भोटाहिटी साझा भण्डार, असनचोक, बाङ्गेमुढा, भेडासिंह, इन्द्रचोक, सुर्ज आर्केड, मसला गल्लीमोडसम्म पनि सोही समय सीमाभित्र बिजुली काटिनेछ । लैनचौर सवस्टेशनबाट लैनचौर चोक उपराष्ट्रपति कार्यालय, केशरमहल दरबारमार्ग ट्राफिक कार्यालय, पुरानो जय नेपाल हल, हात्तीसार चोक, काठमाडौँ प्लाजा, मेरियट होटल, नागपोखरी र नारायणचौरसम्म बिहान ६ः३० देखि ११ बजेसम्म बिजुली आप्रवाह बन्द हुने प्राधिकरणको सूचनामा उल्लेख छ ।

ती स्थानमा काम नलाग्ने पोल हटाउने तथा वितरण ट्रान्सफर्मरको मर्मतको काम पनि हुने भएकाले लाइन काटिन लागेको सूचनामा उल्लेख छ । “तोकिएको कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न भएको खण्डमा त्यसभन्दा पहिल्यै बिजुली आउन सक्ने छ । बिजुली काटिन गई सेवाग्राहीमा पर्न गएको मर्काप्रति प्राधिकरण क्षमायाचना गर्दछ”, सूचनामा भनिएको छ । प्राधिकरणले काठमाडौँ उपत्यकाभित्र भूमिगत गरेको प्रसारण लाइनमार्फत बिजुली प्रवाहका लागि आवश्यक प्राविधिक तयारी गरिरहेको छ ।

भूकम्पले क्षतिग्रस्त नुवाकोटको साततले दरबार पुनःनिर्माणमा जुटे चिनियाँ

0

त्रिशूली (नुवाकोट): भूकम्पले क्षतिग्रस्त नुवाकोटको साततले दरबारसहित यस आसपासका धार्मिक एवं पुरातात्विक सम्पदाको पुनःनिर्माणकार्य सुरु भएको छ।

नौ वर्षअघिको भूकम्पले भत्काएका यहाँका सम्पदाको पुनःनिर्माण गर्ने जिम्मेवारी चीन सरकारले लिएपछि सो निर्माणकार्यमा चिनियाँ पक्ष जुटेको हो ।

चिनियाँ पक्षले अब भने नियमित काम अघि बढाउने जनाएको विदुर नगरपालिकाको प्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो । चिनियाँ पक्षको मागअनुसार दरबार क्षेत्रसम्म निर्माण सामग्री पुर्याउन सडक पहुँचमार्ग, नियमित र भरपर्दो विद्युत् प्रसारण लाइन, निर्माण सामग्री राख्ने स्थलका साथै पानीको प्रबन्ध मिलाइएको छ ।

भूकम्पले क्षति पुर्याएका संरचना पुनःनिर्माणमा सहयोग पुर्याउने कार्यक्रमअन्तर्गत नेपाल र चीन सरकारबीच नुवाकोटको साततले दरबारसहित यहाँको धार्मिक तथा पुरातात्विक महत्वका विभिन्न आठवटा संरचनाको पुनःनिर्माण गर्ने समझदारी भएको हो ।

सम्झौताअनुसार पहिलो चरणमा साततले दरबारसहित दरबार परिसरमा रहेको गारदघर र रङमहलको आवश्यकताका आधारमा पुनःनिर्माण तथा प्रवलीकरण गरिने चिनियाँ पक्षले जनाएको छ । त्यसपश्चात् लिच्छविकालीन तलेजु (तुलजा भवानी)को मन्दिर, सेतोपाटी, लामपाटी, विष्णु र नारायण मन्दिरको पुनःनिर्माण गर्ने योजना छ । सबै सम्पदाको मौलिकपन कायम गरिने नुवाकोट दरबार हेरचाह कार्यालयका प्रमुख सुनिल पौडेलले जानकारी दिनुभयो ।

विसं २०७६ जेठमा भएको सम्झौताअनुसार ४५ महिनाभित्र दरबारसहितको संरचना निर्माणको जिम्मेवारी चीन सरकारले लिएको थियो । त्यसपश्चात् सोही वर्षको असारमा दरबार पुनःनिर्माणअन्तर्गत कार्यप्रारम्भ गर्न चिनियाँ पक्ष कार्यक्षेत्रमा आइपुगेको थियो ।

द्विपक्षीय सम्झौतापश्चात् असारमा काम गर्न आएको चिनियाँ टोली ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ले यहाँको सम्पदालाई थप क्षति हुन नदिन खट बनाएर नयाँ वर्ष मनाउन भन्दै फर्किएको थियो । विसंं २०७६ को मङ्सिर अन्तिम साता चीनमा देखापरेको कोरोना सङ्क्रमणका कारण चिनियाँ टोली फर्केको थिएन । त्यसको तीन वर्षपश्चात् २०७९ साल असोजमा चिनियाँ प्राविधिक टोली आएर साततले दरबारको भूमितह, गारो र छानाको वस्तुस्थिति अध्ययनपश्चात् प्रवलीकरण गरेर फर्किएको थियो ।

वैदेशिक रोजगारमा पठाइदिने भन्दै एक करोड ७४ लाख ठगी गर्ने दुई जना पक्राउ

0

काठमाडौँ: वैदेशिक रोजगारमा ईटली तथा क्यानडा पठाइदिने भन्दै विभिन्न व्यक्तिहरूबाट रु एक करोड ७४ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा डडेलधुराको नवदुर्गा गाउँपालिका–४ घर भइ हाल काठमाडौँ महानगरपालिका–२९ अनामनगर बस्ने ३४ वर्षीय कर्णसिंह साउद तथा रोल्पाको माडी गाउँपालिका–१ जवाड घर भइ हाल कलङ्की बस्ने २९ वर्षीय रणबहादुर घर्ती रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार साउदले ईटली पठाउने भन्दै आठ जनाबाट रु नौँ लाख तथा घर्तीले शिवराम थापासमेत आठ जनालाई क्यानडा पठाउने भन्दै पीडितहरूबाट पटकपटक गरी रु एक करोड ६५ लाख रकम लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

साउदलाई आज काठमाडौँ महानगरपालिका–२८ बागबजार तथा रणबहादुर घर्तीलाई काठमाडौँ महानगरपालिका–१६ वनस्थलीबाट हिजो पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनालाई आजै आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

बन्दीपुरमा केबलकार सञ्चालनमा आएपछि चलपहल बढ्यो

0

दमौली (तनहुँ) : तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार सञ्चालनमा आएपछि यहाँ चलपहल बढेको छ । गत जेठ ३१ गतेदेखि केबलकार व्यावसायिक रुपमा सञ्चालनमा आएपछि केबलकार चढ्न चहलपहल बढेको हो ।

बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बन्दीपुर र समग्र तनहुँ जिल्लाकै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित केबलकार सञ्चालनमा ल्याइएको बताउनुभयो । “यहाँ पहिलो चरणमा केबलकार, जीपलाइन र साइक्लिङि सञ्चालनमा आएको छ । सबै सेवा प्रयोगमा हाल ६० प्रतिशत छुट दिइएको छ”, उहाँले भन्नुभयो,“करिब तीन महिनामा आन्तरिक पर्यटकको चहलपहलले उत्साहित बनाएको छ ।”

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा केबलकार बन्दीपुरको पर्यटन प्रवर्द्धनमा कोशेढुङ्गा हुने बताउनुहुन्छ । “देश तथा विदेशमा परिचित बन्दीपुरमा नयाँ नयाँ पर्यटकीय पूर्वाधार थपिनु राम्रो हो । यसले पक्कै पनि यहाँका पर्यटकीय सम्भावनालाई आर्थिक गतिविधिसँग जोडेर लाभ लिन सघाउ पुग्ने छ”, उहाँले भन्नुभयो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार पोखरेलले अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र (टियुभी सर्टिफिकेट) प्राप्त गरी केबलकार सञ्चालनमा ल्याइएको र अब यसको प्रचारप्रसारको काम भइरहेको सुनाउनुभयो ।

केबलकारबाट यहाँको प्रसिद्ध खड्गदेवी मन्दिरको दर्शनसमेत गर्न सकिन्छ । यसअघि वर्षको नवरात्रको नौ दिन मात्र खुला हुने मन्दिर अब हरेक दिन दर्शन गर्न सकिने व्यवस्था मिलाइएकाले पनि धार्मिक पर्यटकलाई थप सहज भएको छ ।

प्रति घण्टा पाँच सय यात्री बोक्न सक्ने क्षमता रहेको केबलकार विभिन्न सिफ्ट गरेर दैनिक बिहान ६ बजेदेखि राति ११ बजेसम्म चल्ने, साँझ ५ बजेदेखि राति ११ बजेसम्म छ वटा रेष्ट्रो क्याबिन रेस्टुरेण्ट एवं आराम कक्ष सञ्चालन गर्ने योजनासमेत कम्पनीको छ ।

यहाँ जङ्गली म्युजियम, चिल्डे«न जोन, ३३ कोटी देवीदेवताका मूर्तिसहितको आकर्षक पार्क सञ्चालनमा आइसकेको छ । यहाँ कूल रु छ सय २९ करोडमध्ये हालसम्म रु चार सय ३३ करोडको काम सम्पन्न भइसकेको अध्यक्ष शर्माले जानकारी दिनुभयो । समग्र बन्दीपुरहिल गुरुयोजना अनुसारका संरचना आगामी दुई वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । यस्तै निर्माणाधीन १७ तले कुइन टावर नामक पाँच तारे होटल आगामी पाँच महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाइएको छ ।

यस्तै, दुई वर्षभित्र स्काइ वाक, ८५ मिटर लामो क्यान्टी लिभर ग्लास वाक थ्रु, संसारकै अग्लो दावी गरिएको दुई सय ९३ मिटर अग्लो बन्जी जम्प, सेभेन आकारको २८ सय मिटर लामो जिपलाइन, बन्दीपुरदेखि सिद्ध गुफासम्मको चियर लिफ्ट केबलकारलगायत संरचनाको काम पनि हुने हुने कम्पनीले जनाएको छ ।

भियतनाममा शक्तिशाली आँधीले पुल भत्काउँदा कैयौँ गाडी नदीमा खसे, ६० भन्दा बढीको मृत्यु

0

काठमाडौं: उत्तरी भियतनाममा ‘सुपर टाइफुन’ यागीका कारण एक पुल भत्किँदा कैयौँ सवारीसाधन नदीमा डुबेका छन्। त्यस क्रममा हराइरहेका १३ जनाको खोजी भइरहेको छ।

शनिवार भियतनाममा बज्रिएयता उक्त आँधीका कारण त्यहाँ ६० जनाभन्दा धेरै मानिसहरूको मृत्यु भएको छ।

‘ड्यासक्याम’बाट खिचिएका भिडिओ फूटेजमा सोमवार फु थोक प्रान्तको फोङ चाउ पुल भत्किएको क्षण देखिन्छ।

पछिल्लो ३० वर्षमा भियतनाममा आएको सबैभन्दा शक्तिशाली आँधीले देशको उत्तरी भागमा विनाश निम्त्याएको छ भने १५ लाख मानिसलाई बिजुलीविहीन बनेका छन्।

पश्चिमतर्फ सर्ने क्रममा रहेको यागीले थप विनाश गर्ने अधिकारीहरूले चेतावनी दिएका छन्।

प्रतिघण्टा २०३ किलोमिटरको वेगको यस आँधीबाट २४० भन्दा धेरै मानिसहरू घाइते बनेका छन्।

यो एशियामा यस वर्ष देखा परेको सबैभन्दा शक्तिशाली तुफान हो।

फोङ चाउ पुल भत्किँदा दश वटा कार र दुई वटा स्कूटर रेड नदीमा खसेको भियतनामका उपप्रधानमन्त्री हो डुच पोचले जनाएका छन्।

चालकले रोक्न नभ्याउँदै अगाडिको पुल भत्किँदा लरी पानीमा खसेको क्षण क्यामेरामा कैद भएको थियो।

हालसम्म नदीबाट कम्तीमा तीन जना मानिसहरूको उद्धार गरिएको छ।

नुयाङ मिन्ह हइले पुल भत्किँदा आफूले उक्त पुलमा मोटरसाइकल चलाइरहेको बताउँछन्।

“तल खस्दा म निकै आत्तिएँ,” अस्पतालबाट बोल्दै उनले भने।

“मलाई भर्खर मैले मृत्यु छलेँ भन्ने अनुभूति भइरहेको छ। मलाई पौडी खेल्न आउँदैन त्यसैले अब म मर्छु जस्तो लागेको थियो।”

कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीचको पहिलो राष्ट्रपति बहसको मुखमा कस्तो छ वातावरण ?

0

काठमाडौं: अमेरिकामा राष्ट्रपतीय निर्वाचनअघि आज डेमोक्रेटिक र रिपब्लिकन पार्टीका उम्मेदवार कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच राष्ट्रपति पदको बहस हुँदैछ ।

यो बहस एबीसी न्यूजले आयोजना गरेको हो । दुवै उम्मेदवारलाई कर कटौती र विदेश नीतिका विषयमा प्रश्न सोधिने विश्वास गरिएको छ ।

तर बहसमा दर्शकको ध्यान कुन उम्मेदवारप्रति झुक्छ वा कसले अर्को बहसमा हावी हुन्छ भन्ने कुरामा रहन्छ। ट्रम्पका सल्लाहकारहरूले ट्रम्पले नीतिहरूबारे विशेष तयारी गरेको बताएका छन्।

उनले टेलिभिजन दर्शकहरूको प्राथमिकताहरू राम्ररी बुझेको त्यसैले उनले आफ्नो प्रदर्शनको नाटकीय सुधार गर्न प्रयास गर्ने उनका सल्लाहकारले बताएका छन् ।

ट्रम्पले यसअघि नै ६ पटक राष्ट्रपतिको बहसमा भाग लिइसकेका छन् भने कमला ह्यारिसको यो पहिलो पटक हो ।

राष्ट्रपति जो बाइडेन दौडबाट ढिलो पछि हटेको कारण, कमला ह्यारिसले केही हप्तामा विश्व-स्तरीय प्रदर्शनको लागि तयारी गर्न पर्याप्त पूर्वाभ्यास समय पाएकी छैनन्।

नीतिका विषयमा धेरै तयारी गरे पनि उनका सल्लाहकारहरूले पनि टिभी दर्शकको मन जित्ने तयारी गरेका थिए ।

रिपोर्ट अनुसार, कमला ह्यारिसको लागि तयारी गर्न, उनको टोलीले टेलिभिजन स्टेजमा एक पूर्वाभ्यास गर्यो, जहाँ एक बहस पोडियम बनाइएको थियो र विधिवत प्रकाश व्यवस्था गरिएको थियो।

कमलाले हालैको सीएनएन अन्तर्वार्तामा खासै प्रभाव पार्न नसक्दा उनको टोली अलिकति नर्भस छ। अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

गठबन्धन उपसभामुखलाई हटाउने कसरतमा

0

काठमाडौं: सत्तारूढ दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरेका छन्। सोमबार अपराह्न बालुवाटारमा बसेको सत्ता गठबन्धन दलहरूको बैठकले उपसभामुख रानालाई हटाउने विषयमा छलफल भएको हो।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखलाई हटाउन प्रस्ताव गरेको बुझिएको छ। प्रधानमन्त्री ओलीले एमाले र नेपाली कांग्रेसको साझा प्रस्ताव भन्दै रानामालाई हटाउने प्रस्ताव गरेका थिए।

उपसभामुख रानामगर काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्रका कारण विवादमा परेकी थिइन्।

उपसभामुख सन् २०२३ फ्रेब्रुअरी २६ मा रानाले अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजिओ सिएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वाताको मिति मिलाइदिन दूतावासलाई पत्र लेखेकी थिइन्। सत्तारुढ दलहरुले यसैलाई आधार बनाएर उनलाई हटाउने तयारी गरेका हुन्।

खासगरी प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको रणनीति भने संवैधानिक परिषदमा बहुमतमा नभएको कारण उपसभामुखलाई हटाउन खोजेका हुन्। संबैधानिक परिषदले गर्ने निर्णयहरुमा बहुमतले निर्णय हुने अहिले प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ।

जसमा सदस्यहहरू मध्ये प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, उपसभामुख इन्दिरा राना सरकारको विपक्षमा छन्।

महाभियोग बारे संविधानको धारा ९१ को उपधारा ६ को (ग) मा उपसभाखुले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा उपसभामुख पद रिक्त हुने व्यवस्था छ।

उपसभामुखलाई हटाउने संवैधानिक प्रावधान:

संविधानको धारा ९१ को उपधारा ६ मा उपसभामुखको पद रिक्त हुने निम्न बमोजिमको प्रावधान रहेको छ।

(क) निज प्रतिनिधिसभाको सदस्य नरहेमा । तर प्रतिनिधिसभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधिसभाका सभामुख र उपसभामुख प्रतिनिधिसभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहने छन्।

(ख) निजले लिखित राजीनामा दिएमा,

(ग) निजले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधिसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा ।

हाल सत्तामा रहेका दलहरुसँग १८८ सिट रहेकाछन्, जो दुई तिहाई बहुमतभन्दा ४ सिट बढी रहेकाले सरकारले प्रतिनिधि सभामा उपसभामुखलाई हटाउने प्रस्ताव ल्याएमा सजिलै पारित हुने अवस्था रहेको छ।