Thursday, June 11, 2026
Home Blog Page 699

नेशनल किड्स एण्ड टिन्स सुपरस्टारको ग्राण्ड फिनाले सम्पन्न

0

काठमाडौँ: नेशनल किड्स एण्ड टिन्स सुपरस्टारको ग्राण्ड फिनाले बालकुमारीस्थित म्यूजिक सिटी हलमा भव्य रुपमा सम्पन्न भएको छ । प्रतिनिधी सभा सदस्य तथा नेकपा एमालेकी सचेतक सुनिता बरालको प्रमुख आतिथ्यता तथा संचारकर्मी राजेन्द्र लुईटेल(राज)को विशेष आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगितामा विजयी बन्न सफल भएका थिए ।

संचारकर्मी तथा ईभेन्ट डाईरेक्टर सोनीतराज ढुंगेल,संचारकर्मी अरुणा श्रेष्ठ,एमएस ईन्टरनेशनल तथा डान्सर सीता सुवेदी तथा मिस्टर नेपाल अभिषेक श्रेष्ठको निणार्यक टिमले प्रतियोगीताको निणार्यक भूमिका निर्वाह गरेका थिए ।

किड्स, टिन र व्वायज गरेर ३ क्याटगोरी रहेको प्रतियोगीतामा कक्षा ३ देखि ९ सम्म का प्रतियोगीहरु रहेका थिए । काठमाडौं उपत्यकाका विभिन्न विद्यालयहरुबाट छनौट भएका विद्यार्थीहरुले ग्राण्ड फिनालेमा आ आफ्ना प्रस्तुती प्रर्दशन गरेका थिए । ब्ल्याक बर्ड इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडको आयोजनामा आयोजित उक्त प्रतियोगीताको प्रतियोगीहरुलाई करिव एक महिनाको विभिन्न लाभदायिक प्रशिक्षण पश्चात ग्राण्ड फिनाले मा उतारिएको थियो । सुमी बानियाको कोरियोग्राफी रहेको प्रतियोगीताको कार्यक्रम संयोजन नृत्य प्रशिक्षक सन्दिप भूजेलले गरेका थिए ।

बालवालिकाहरुको नेपाली कला संस्कृतिको जानकारी दिनुका साथै उनीहरुको प्रतिभामा थप निखारता ल्याई कार्यक्रमको माध्यमबाट प्रतिभा प्रस्फुटन गर्नु संस्थाको उद्देश्य रहेको आयोजक प्रमुख सबिना श्रेष्ठले जानकारी दिईन । विजेतालाई विभिन्न संघ संस्थाबाट क्राउन,ट्रफी सहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

मेची भन्सार कार्यालयबाट दुई महिनामा ५२ प्रतिशतले बढ्यो चिया निर्यात

0

भद्रपुर: मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा चियाको निर्यात ५२ प्रतिशतले बढेको छ ।

मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार चालु आवका साउन र भदौमा चार हजार ४१२ मेट्रिक टन चिया निर्यात भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५२ प्रतिशतले बढी हो । गत आवको पहिलो दुई महिनामा नेपालबाट दुई हजार ९०२ मेट्रिक टन चिया निर्यात भएको थियो ।

प्राप्त तथ्याङ्कअनुसार चिया निर्यातको परिणामसँगै यसको मूल्य पनि बढेको छ । चालु आव २०८१/८२ को दुई महिनामा एक अर्ब १३ करोड ३४ लाख १७ हजार बराबरको निर्यात भएको छ । जुन गत आव २०८०/८१ को सोही अवधिको तुलनामा ६२ प्रतिशतले बढी हो । गत आवमा सो अवधिमा ६९ करोड ९३ लाख ६४ हजार बराबरको चिया निर्यात गरिएको थियो ।

दक्षिण भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपालबाट चियाको निर्यात बढेको नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले बताए । भारतबाट अझै माग बढेकाले चियाको निर्यात यो वर्ष थप बढ्ने उनको दाबी छ ।

गत आव २०८०/८१ मा १३ हजार ४३३ मेट्रिक टन अर्थात् तीन अर्ब १६ करोड ३८ लाख ३६ हजार बराबरको चिया भारत निर्यात भएको थियो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा सात दशमलव ६८ प्रतिशले घटेको थियो ।

एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु

0

काठमाडौँ: मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल)मार्फत् निर्माण हुन लागेको सवस्टेशनअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यक पर्ने तनहुँका विभिन्न ठाउँको जग्गाको मुआब्जा वितरण प्रक्रिया सुरु गरिएको छ ।

एमसिए नेपालद्वारा सञ्चालित ४०० केभी विद्युत् प्रसारण आयोजनाअन्तर्गत रातमाटे सवस्टेसनदेखि दमौली सवस्टेशन हुँदै नयाँ बुटवल सबस्टेन खण्डअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यकपर्ने जग्गाको मुआब्जा वितरण प्रक्रिया सुरु गरिएको हो

जिल्ला प्रशासन कार्यालयले असोज १ गते सूचना प्रकाशितगरी मुआब्जा प्राप्त गर्ने जग्गाधनीहरुले हकदैया भोगचलनसम्बन्धी प्रमाणसहित सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र प्रशासन कार्यालय वा एमसिए नेपालको तनहुँ जिल्लास्थित सम्पर्क कार्यालय वा आयोजनाको सार्वजनिक सूचना केन्द्रमा निवेदन दिन आग्रह गरेको छ ।

सूचनामा चित्त नबुझ्ने व्यक्तिले जग्गा प्राप्ति ऐन, २०३४ को दफा १८ को उपदफा (२) बमोजिम १५ दिनभित्र गृहमन्त्रालयमा उजुरी गर्नसक्ने सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिनुभयो ।

प्रशासन कार्यालयमा मूल्य निर्धारण समितिको गत बुधबार बसेको बैठकले प्रसारण लाइनअन्तर्गत टावरहरु रहने जग्गाको अन्तिम मूल्य निर्धारण गरेको थियो । प्रभावित क्षेत्रका स्थानीय तहका प्रमुखहरुको उपस्थितिमा बसेको बैठकले तनहुँ जिल्लाभित्र निर्माण हुने सबै टावर रहने जग्गाको उचित मूल्य निर्धारण गरेको सहायक प्रजिअ भण्डारीले बताउनुभयो ।

जिल्लास्थित आबुँखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, व्यास नगरपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकाअन्तर्गत करिब एक सय ९९ वटा टावर निर्माण हुनेछन् । तीमध्ये कतिपय टावर सरकारी जग्गामा पर्ने र कतिपय विवादित जग्गामा पर्ने हुँदा ती टावरलाई छोडेर बाँकी रहेको टावर रहने जग्गाको मूल्य निर्धारण गरिएको सहायक प्रजिअ भण्डारीको भनाइ छ ।

मूल्य निर्धारण समितिले जग्गाको मूल्य निर्धारण गर्नुअघि स्थलगत रुपमा जग्गाको निरीक्षण गरेको र धेरैपटक छलफल गरिएको जनाएको छ । जग्गाको वर्गीकरणअनुसार मुआब्जा निर्धारण गरिएको भन्दै सहायक प्रजिअ भण्डारीले मालपोत कार्यालयले तोकेको मूल्याङ्कन, सम्बन्धित वडा कार्यालयको चलन चल्तीको मूल्य, बैंक तथा वित्तीय संस्थाले तोकेको मूल्य, बाटोको दूरी तथा जङ्गल क्षेत्रको आधारमा जग्गाको मूल्याङ्कन गरिएको बताउनुभयो ।

मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प्याक्टअन्तर्गत निर्माण हुने रातमाटे, न्यू दमौली, लेखनाथ र न्यू बुटवल सवस्टेशनमा विद्युत् प्रवाहका लागि विद्युत् प्रसारण आयोजनाअन्तर्गत काठमाडौँको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)स्थित नेपाल–भारत सीमानासम्म तीन सय १५ किलोमिटर प्रसारण लाइन निर्माण गर्न लगानी हुनेछ । उक्त प्रसारण लाइनअन्तर्गत तनहुँका पाँच वटा पालिकामा एक सय ९९ वटा टावर रहनेछ ।

एमसिए नेपालले ४०० केभी न्यू दमौली सबस्टेसन निर्माणका गत साउन १६ गते ठेक्का सम्झौता गरिसकेको छ । न्यू दमौली सबस्टेसनले रातामाटे, लेखनाथ र न्यू बुटवल सबस्टेसनसँग विद्युत् प्रवाहका लागि महत्वपूर्ण बिन्दुका रुपमा काम गर्नेछ ।

शेरबहादुर देउवा रिसाउने बित्तिक्कै सरकार ढल्छ: लामिछाने

0

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर गृह तथा उपप्रधानमंत्री रवि लामिछानेले शेरबहादुर देउवा रिसाउने बित्तिक्कै वर्तमान सरकार ढल्ने ठोकुवा गरेका छन् । रास्वपाले बिहीबार आयोजना गरेको संविधानबारे छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सभापति लामिछानेले वर्तमान संसदमा सरकार बनाउनको लागि एक वा दुईभन्दा बढी पार्टीहरू मिल्नुको विकल्प नभएको बताए । उनले अहिलेको सरकार दुई तिहाइको भनिए पनि कांग्रेसका सभापति शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमा ढल्ने अवस्था रहेको बताए । उनले संविधानले व्यवस्था गरेको शासकीय स्वरुपमा नै अस्थिरता रहेको बताए ।

सभापति लामिछानेले रास्वपाले शासकीय स्वरुपमा निर्वाचित प्रधानमन्त्री बनाएर विधायकी सांसद बनाउनुपर्ने बताएको उल्लेख गरे । उनले प्रत्यक्ष प्रधानमन्त्रीले विज्ञताका आधारमा मन्त्रीमण्डल बनाउन पाउने शासकीय स्वरुप बनाउनु अहिलेको आवश्यकता भएको उल्लेख गरे । उनले दुई तिहाइको सरकार भएको बेला जनताको आत्मबल बढ्नुपर्ने पनि त्यस्तो नदेखिएको बताए । उनले दुई तिहाइको सरकारका प्रधानमन्त्री र मन्त्रीहरूमा आत्मविश्वास नदेखिएको बताए । उनले सरकारको आत्मबल नहुँदा टिसर्ट लगाएको, बोलेको आधारमा समाउने काम गरेर बसेको बताए । उनले दुई तिहाइको सरकार उपसभामुखलाई हटाउने लगायतका चलखेलमा लाग्नु जायज नभएको बताए ।

सभापति लामिछानेले दुई तिहाइको सरकारको कुनै प्राथमिकता नभएको बताए । उनले वर्तमान सरकारले संविधान संशोधन गर्ने भन्ने नाममा आफ्नो राजनीतिक स्वार्थको सौदाबाजी गर्न खोजेका भन्दै संविधानलाई सौदाबाजी गर्नु राम्रो नभएको बताए ।

अमेरिकामा संविधान दिवस मनाइयो

0

टेक्सस (अमेरिका): अमेरिकास्थित नेपाली राजदूतावासले अमेरिकामा संविधान दिवस मनाएको छ । दूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षमा संविधान दिवस मनाएको हो। कार्यक्रममा कार्यवाहक राजदूत कुमार खरेलले नेपालको संविधान २०७२ का विशेषताका बारेमा जानकारी गराउनुभएको थियो ।

‘नेपाल डे’ कार्यक्रममा गैरआवासीय नेपालीहरुको तर्फबाट गैरआवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष डा अर्जुन बन्जाडेले संविधान दिवसको महत्वबारे चर्चा गर्दै नेपालको संविधानले व्यवस्था गरेअनुसार ऐन कानुन निर्माण गरी गैरआवासीय नेपाली नागरिकतालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाली राजदूतावासका प्रतिनिधिहरु, अमेरिकास्थित नेपाली समुदायका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । नेपाल डे कार्यक्रमको सन्दर्भमा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले नेतृत्वको टोलीले टेक्ससको ड्यालसमा तत्काल कन्सुलर शिविर सञ्चालन तथा ड्यालसमा कन्सुलर अफिस स्थापनाका लागि कार्यवाहक राजदूत खरेललाई ज्ञापनपत्र बुझाएको थियो ।

सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सक निजी अस्पतालमा गए कारवाही हुन्छ – स्वास्थ्य मन्त्री प्रदीप पौडेल

0

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सक निजी अस्पतालमा गए कारवाही हुने स्पष्ट पार्नुभएको छ ।शुक्रबार चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री पौडेलले सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सकहरु उपलव्ध हुनुपर्ने भन्दै त्यसबिपरित निजी अस्पतालमा भेटिए कारवाही हुने बताउनुभयो । उहाँले मन्त्रालयले केही दिनअघि जारी गरेको निर्देशिका अस्पताल र विभागमा कार्यान्वयनको चरणमा रहेको जानकारी दिनुभयो ।

स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गरी व्यवस्थित गर्न सरकार अघि बढेको मन्त्री पौडेलको भनाइ छ । मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको प्रगति हिजोको आजै नदेखिने भएकाले क्रमिक सुधारको बाटोमा लैजाने प्रतिबद्धता जनाउनुभयो । मन्त्री पौडेलले स्वास्थ्य बीमालाई पाँच लाख बनाउने मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्बाट पास भएर कार्यान्वयनमा जाने तयारीमा रहेको बताउनुभयो ।

त्यस्तै मन्त्री पौडेलले सहकारी प्रकरणमा कसैले आफुलाई निर्दोष भन्नुभन्दा पनि प्रतिवेदनलाई राम्ररी अध्ययन गर्न सुझाव दिनुभयो । उक्त प्रतिवेदनलाई सरकारले पूर्ण रुपमा कार्यान्वयन गर्ने उहाको भनाइ छ ।

बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव

0

बलेवा (बागलुङ): धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ ।

धौलागिरि अस्पतालकी सूचना अधिकारी शान्ति शर्माका अनुसार दैनिक ५० देखि सय जनासम्म ज्वरोका बिरामी आइरहेको तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्न किट अभाव भएको छ । केही दिनदेखि किट अभावसँगै रक्त परीक्षणमा पनि समस्या भएको छ ।

अस्पतालले गण्डकी प्रदेश सरकारसँग किट उपलब्ध गराउन माग गरेको छ । स्वास्थ्य कार्यालयकी मलेरिया निरीक्षक कमला थापाले प्रादेशिक अस्पतालले प्रदेश सरकारबाटै माग्न सक्ने भएकोले ग्रामीण क्षेत्रका प्राथमिक स्वास्थ्य केन्द्र र नगर अस्पताललाई मात्र किट प्रदान गरिएको बताउनुभयो ।

बुर्तिवाङ, बडिगाड र गलकोट क्षेत्रमा पनि डेङ्गीका बिरामी बढेका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताउनुभयो । उहाँले खोज र नष्ट गर अभियान चलाएर सङ्क्रमण रोक्ने प्रयास जारी रहेको बताउनुभयो ।

पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्न मन्त्री यादवको आग्रह

0

काठमाडौँ: खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्न र नियमित क्लोरिनेसन प्रक्रिया अपनाउन आग्रह गर्नुभएको छ । ललितपुरको गोदावरी नगरपालिका-१४ स्थित ठैवस्थित इनार निरीक्षणपछि उहाँले उक्त आग्रह गर्नुभएको हो । उक्त इनारबाट केही समयअघि हैजा फैलिएको थियो ।

निरीक्षणपछि मन्त्री यादवले भन्नुभयो, “बर्खामा इनार र ट्युबवेलजस्ता खुला मुहानमा ढल मिसिँदा पानीमा दिसाजन्य किटाणुको जोखिम बढ्छ, जसले हैजा र झाडापखाला फैलिन सक्छ, त्यसैले उपभोक्ताहरुलाई शुद्ध पानी मात्र वितरण गर्नुपर्छ ।”

मन्त्री यादवले समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी उमालेर वा क्लोरिनेसन गरिएको पानी मात्र प्रयोग गर्नुपर्ने सन्देश फैलाउन पनि निर्देशन दिनुभयो ।

उहाँले आजै गोदावरी नगरपालिका-१४ मा रहेको नसारहित समाज नेपाल (सुधार केन्द्र)को इनार, गोदावरी खोलाको पानी र त्यहाँको सतह स्रोतको पानीको समेत निरीक्षण गर्नुभयो ।

खानेपानी विभागअन्तर्गतको गुणस्तर सुधार तथा सेवा नियमन शाखाले मोबाइल परीक्षण भ्यान प्रयोग गरी स्थानीय स्तरमा पानीको गुणस्तर मापन गरेको थियो । पानी परीक्षणको नतिजा २४ घण्टाभित्र आउने जानकारी शाखाका प्रमुख पूर्णप्रसाद उपाध्यायले दिनुभयो ।

निरीक्षण कार्यक्रममा मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका कार्यकारी निर्देशक अशोक पौडेल, ठैव खानेपानी उपभोक्ता समितिका अध्यक्ष महेन्द्र श्रेष्ठ, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशन सञ्जिवबिक्रम राणालगायतको सहभागिता थियो ।

मधेस प्रदेशमा कुपोषण समस्या बढ्दै, निःशुल्क उपचार गर्दै प्रदेश सरकार

0

जनकपुरधाम: मधेस प्रदेशका बालबालिकामा कुपोषणको समस्या देखिएको छ । कुपोषणका कारण समयमा उपचार नपाउँदा कतिपय बालबालिकाको मृत्युसमेत हुने गरेको मधेस प्रदेशको एक तथ्याङ्कले देखाएको छ ।

मधेस प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत प्रादेशिक अस्पताल जनकपुरको पोषणगृहका अनुसार कुपोषणका कारण बालबालिकामा मुटु समस्या, श्वासप्रश्वास, निमोनिया, रक्तअल्पता, क्षयरोग, मस्तिष्कघात, वृत्तिविकासमा कमी, पुडकोपनलगायत समस्या हुने गरेको छ ।

सो प्रतिष्ठानका अनुसार आर्थिक वर्ष २०७९/८० मा एक सय ८६ बालबालिका कुपोषणका कारण उपचारका लागि जनकपुर अस्पतालमा भर्ना भएका थिए भने आव २०८०/८१ मा दुई सय १६ बालबालिका उपचारका लागि भर्ना भएको जनाइएको छ ।

त्यस्तै अस्पतालका बालरोग विभागमा दैनिक एक सय ५० देखि दुई सय ५० बालबालिका उपचारका लागि आउने गरेका छन् । जसमा प्रत्येक १० जनामध्ये चार जनामा कुपोषण समस्या भेटिने गरेको छ । उक्त समस्या छ महिनादेखि पाँच वर्षका बालबालिका अत्यधिक छ ।

बालबालिका कुपोषित हुनुमा गरिबी, अशिक्षा, आर्थिक अभाव, चेतनाको कमी, विपन्नता, समयमा उपचार नगराउनु रहेको छ । साथै सो समस्या दलित तथा पिछडिएको वर्गमा अत्यधिक रहेको छ ।

मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदेशमा करिब ५१ प्रतिशत बालबालिकामा रक्तअल्पता, २९ प्रतिशतमा पुड्कोपन, २७ प्रतिशमा कम तौल तथा १० प्रतिशत बालबालिकामा क्षयरोगलगायत कुपोषण भएको देखिने गरेको बताइएको छ ।

मधेसमा वार्षिक रूपमा एक लाख ४० हजार बालबालिका जन्म लिने गरेको छ । पाँच वर्षमुनिका मृत्युदर प्रति एक हजार जीवित बालबालिकामा ३३ मृत्यु तथा नवजात शिशु मृत्युदर प्रति एक हजार जीवित जन्ममा २१ मृत्यु रहेको बताइएको छ । जसको मुख्य कारण कुपोषण नै रहेको विवरण सार्वजनिक गरिएको छ ।

विगत पाँच वर्षमा कुपोषणको समस्या कम नभएपछि सो समस्याको समाधानका लागि प्रदेश सरकारले जिल्लादेखि वडासम्म पोषणसम्बन्धी कार्य भइरहेको मन्त्रालयले जनाएको छ । यस वर्ष प्रदेश सरकारले पोषणसम्बन्धी कार्यक्रमका लागि रु १० करोड रकम विनियोजन गरेको स्वास्थ्यमन्त्री शत्रुध्नप्रसाद सिंहले जानकारी दिनुभयो ।

पोषणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम, पर्साको वीरगञ्जमा रहेको नारायणी अस्पताल तथा राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा पनि पोषणगृह सञ्चालनमा रहेको सिंहले बताउनुभयो । प्रदेश सरकारले कडा कुपोषण देखिएका बालबालिकाको निःशुल्क उपचार, पोषिलो खानपानका लागि प्रोत्साहन तथा अन्य जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको मन्त्रालयले जनाएको छ ।

सरकारले सन् २०३० सम्ममा पाँच वर्षमुनिका नवजात शिशु तथा बाल मृत्युदर अन्त्य गर्नका लागि दिगो विकास लक्ष्य लिएको छ । त्यो चुनौती मधेस प्रदेशमा देखिएको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री आज न्यूयोर्क प्रस्थान गर्नुहुँदै

0

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अमेरिका प्रस्थान गर्नुहुने भएको छ ।

उहाँले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ ।

प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी हुनुहुनेछ ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्नुहुने मन्त्रालयले जनाएको छ । साथै उहाँले समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्नुहुनेछ ।

प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा असोज ७ गते आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रमुख सम्बोधन गर्नुका साथै असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई पनि सम्बोधन गर्नुहुने कार्यतालिका छ ।

उहाँले भ्रमण क्रममा संयुक्त राष्ट्रसङ्द्धघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्री ओलीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू हुनुहुनेछ । प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कनुहुनेछ ।